अरूलाई कसरी मनाउने
१ प्रेरित पावलले अरूलाई मनाउनसक्ने सेवक भनेर नाउँ कमाएका थिए। (प्रेरि. १९:२६) राजा अग्रिपाले समेत उनलाई यसो भने: “थोरै कुराले मलाई ख्रीष्टियान तुल्याउने मन गर्दछस्?” (प्रेरि. २६:२८) पावलको सेवकाईलाई केले त्यस्तो प्रभावकारी बनायो? श्रोताहरूलाई मिल्ने खालका तर्कहरू चलाउँदै तिनी धर्मशास्त्रबाट तर्कसंगत बहस गर्थे।—प्रेरि. २८:२३.
२ पावलको अनुकरण गर्दै हामी पनि सेवकाईमा जाँदा अरूलाई मनाउन सक्ने खालको हुनुपर्छ। कसरी? अरूसित बोल्दा अनि तिनीहरूको कुरा सुन्दा विवेकी भएर। (हितो. १६:२३) यसो गर्न सक्न हामीले तीनवटा महत्त्वपूर्ण कदमहरू चाल्नुपर्छ।
३ ध्यान दिएर सुन्नुहोस्: अरू मानिसहरूले बोल्दा कुराकानी थाल्न पारस्परिक समझदारीको विषय कुन हुनसक्ला भनी ध्यान दिएर सुन्नुहोस्। तिनले विरोध गर्न थाले भने त्यसको कारण बुझ्ने प्रयास गर्नुहोस्। यसले तिनी के विश्वास गर्छन्, किन विश्वास गर्छन् अनि कुन कुराले तिनलाई यत्तिविघ्न निर्धक्क बनायो भन्ने कुरा थाह पाउन मदत गर्नेछ। (हितो. १८:१३) चनाखो भई तिनको मनको कुरा बुझ्नुहोस्।
४ प्रश्न सोध्नुहोस्: तिनी त्रिएकमा विश्वास गर्छन् भने तपाईं यस्तो प्रश्न सोध्न सक्नुहुन्छ: “के तपाईं सुरुदेखि नै त्रिएकमा विश्वास गर्नुहुन्थ्यो?” त्यसपछि यो प्रश्न सोध्नुहोस्: “यस विषयमा बाइबलले के भन्छ भनेर के तपाईंले राम्ररी अध्ययन गर्नुभएको छ?” तपाईंले यो पनि सोध्न सक्नुहुन्छ: “परमेश्वर त्रिएकको भाग हुनुहुँदो हो त त्यसबारे बाइबलले स्पष्टै भन्नुपर्ने होइन र?” उक्त व्यक्तिले देखाउने प्रतिक्रियाले तपाईंलाई शास्त्रले यसबारे के भन्छ भनेर तर्क गर्न मदत गर्नेछ।
५ युक्तिसंगत तर्क गर्नुहोस्: येशूलाई नै परमेश्वर मान्ने एउटी आइमाईलाई एक जना साक्षीले यस्तो प्रश्न सोधे: ‘दुई जना मानिस बराबर छ भनेर उदाहरण दिनुपऱ्यो भने तपाईं परिवारको कुन नाता चलाउनुहुन्छ?’ तिनले जवाफ दिइन्: “दाजुभाइको।” त्यस भाइले अझ यसो भने: “अझ जुम्ल्याहा दाजुभाइको नाता होइन र? उसोभए, येशूले परमेश्वरलाई पिता र आफैलाई पुत्र भन्नुको मतलब के हो त?” त्यसपछि ती आइमाईले दुई जनामध्ये एक जना ठूलो र अख्तियारवाला रहेछ भनेर बुझिहालिन्। (मत्ती २०:२३; यूह. १४:२८; २०:१७) त्यो भाइ यसरी तर्क गरेर अरूलाई मनाउन सिपालु भएकाले त्यस स्त्रीको मन अनि हृदय प्रभावित भयो।
६ हो, हामीले जत्तिसुकै तर्कसंगत अनि सही प्रस्तुति प्रस्तुत गरे तापनि सबैले सच्चाइलाई अँगाल्दैनन्। तरैपनि हामी हाम्रो क्षेत्रमा भएका नम्र हृदयका मानिसहरूलाई लगनशीलतासाथ खोजिरहौं र पावलले जस्तै राज्य सन्देश स्वीकार्नलाई मनाऔं।—प्रेरि. १९:८.