यहोवाले शक्ति दिनुहुन्छ
१ प्रेरित पावल भन्ने बित्तिकै तपाईं के सम्झनुहुन्छ? हामीले प्रेरितको पुस्तक पढ्दा तिनी यहोवाको सेवामा कत्तिको मेहनत गर्दा रहेछन् भनेर थाह पाउछौं। पावल कसरी आफ्ना सबै काममा सफल हुनसके? तिनले यसो भने: “जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलि. ४:१३) यहोवाले दिनुहुने शक्तिबाट हामीले पनि लाभ उठाउनसक्छौं। कसरी? हामीलाई सुदृढ पार्न अनि आध्यात्मिक तवरमा बलियो बनाउन उहाँले तयार पार्नुभएका छ वटा प्रबन्धहरूबाट लाभ उठाएर।
२ परमेश्वरको वचन: शारीरिक तवरमा बलियो भइराख्न भोजनको आवश्यकता परेझैं आध्यात्मिक तवरमा जागा रहन हामीले पोषिलो आहाररूपी परमेश्वरको वचन लिइरहनुपर्छ। (मत्ती ४:४) हामीले आफूलाई सम्हाल्न सक्ने शक्ति बाइबलले दिन्छ। सच्चाइको लागि हाम्रो जोस तथा उत्साह कायम राख्न हामीले सम्भव भएसम्म दिनहुँ अर्थपूर्ण व्यक्तिगत बाइबल अध्ययन तथा मनन गर्नु आवश्यक छ।—भज. १:२, ३.
३ प्रार्थना: हामी यहोवाको नजिक जानु महत्त्वपूर्ण छ र विशेष आवश्यकता परेको बेला त झनै यसो गर्नु आवश्यक छ। उहाँको पवित्र आत्माद्वारा शक्ति माग्नेहरूलाई उहाँले प्रशस्त बल दिनुहुन्छ। (लूका ११:१३; एफि. ३:१६) धर्मशास्त्रले हामीलाई “प्रार्थनामा अटूटसँग लागिरहो” भनेर प्रोत्साहन दिन्छ। (रोमी १२:१२) के तपाईंले त्यसै गरिरहनुभएको छ?
४ मण्डली: हामी मण्डलीका सभा तथा भाइबहिनीहरूसितको न्यानो संगतिबाट पनि बल अनि प्रोत्साहन पाउँछौं। (हिब्रू १०:२४, २५) हामी संकटमा पर्दा, प्रोत्साहन दिन र मायालु ढंगमा सहायता गर्न उनीहरूले हामीलाई मदत गर्छन्।—हितो. १७:१७; उप. ४:१०.
५ क्षेत्र सेवकाई: सेवकाईमा नियमित तवरमा भाग लिनाले हामीलाई राज्य र यसका आशिष्हरूमा ध्यानकेन्द्रित गर्न मदत गर्छ। हामीले अरूलाई यहोवाबारे सिक्न मदत गर्दा हाम्रो हौसला बढ्छ। (प्रेरि. २०:३५) हामी सबैजना आवश्यकता बढी भएको ठाउँमा सर्न वा पूर्ण-समय सेवकाईमा भाग लिन नसके तापनि अर्थपूर्ण ढंगमा सेवकाईमा भाग लिन विभिन्न कुराहरू गर्नसक्छौं।—हिब्रू ६:१०-१२.
६ मसीही निरक्षकहरू: प्राचीनहरूले दिने प्रोत्साहन र मदतबाट हामी लाभ उठाउँछौं। आफ्नो रेखदेखमा रहेको बगालको ख्याल गर्न यहोवाले तिनीहरूलाई खटाउनुभएको छ। (१ पत्रु. ५:२) पावलले आफ्नो समयमा गरेझैं परिभ्रमण निरीक्षकहरूले आफूले सेवा गर्ने मण्डलीलाई बलियो बनाउँछन्।—रोमी १:११, १२.
७ विश्वासी जनहरूको उदाहरण: प्राचीन समयका र आधुनिक समयका विश्वासी सहकर्मीहरूको प्रोत्साहनदायी उदाहरणहरूलाई ध्यान दिनु उत्थानदायी कुरा हो। (हिब्रू १२:१) तपाईंलाई पुनः स्फूर्ती चाहिएको छ भने हाम्रा पत्रिकामा छापिने प्रोत्साहनदायी जीवनी, यरबूक-को उत्थानदायी रिपोर्ट अथवा प्रोक्लेमर्स पुस्तकमा छापिएका आधुनिक समयका यहोवाका साक्षीहरूको रोचक अभिलेखहरू पढे कसो होला?
८ सन् ९० दशकको मध्यतिर जवान छँदै एक जना भाइले सच्चाइ स्वीकारे। तिनी जवानै छँदा तिनको विश्वासको जाँच भयो। पहिलो त, मण्डलीसित सक्रियतासाथ संगत गर्नेहरूमध्ये कसै कसैले यहोवाको संगठनलाई नै त्यागे। अर्को थियो, तिनलाई गाह्रो लागेको घर घरको प्रचार कार्य। तैपनि, तिनी सधैंभरि यहोवामा भर परे। चाँडै नै तिनले सेवकाईबाट आनन्द उठाउन थाले। आज नि? अस्वस्थताको बावजूद तिनी परिचालक निकायको एक जना सदस्यको हैसियतमा ब्रूकलिन बेथेल परिवारसित काम गरिरहेका छन्। यहोवाको संगठनसँगसँगै चल्नुपरेकोमा तिनी पछुताउँदैनन्।
९ बेलायतको बेथेल परिवारका एक जना बहिनीले १३ वर्षको उमेरमा बप्तिस्मा लिएकी थिइन्। त्यसको अर्को वर्ष तिनले आफ्नो दाजुसित अग्रगामीको काम थालिन् र त्यसको एकवर्षपछि तिनको बुबालाई दोस्रो विश्व युद्धको दौडान तटस्थ रहेको कारण झ्यालखानमा हालियो। तिनले शक्तिको लागि यहोवामा भर गरिरहिन् र साँचो परमेश्वरको सेवा निरन्तर गरिन्। पछि, तिनले एक जना विश्वासी भाइसित विवाह गरिन् र दुवै मिलेर यहोवाको इच्छाअनुसार चले। बिहे गरेको ३५ वर्षपछि अचानक तिनको पतिको मृत्यु भयो। फेरि पनि तिनले यहोवाबाट शक्ति पाइन् र आजसम्मै उहाँको पार्थिव परिवारको सदस्य हुने आशा लिएर यहोवाको सेवा गरिरहेकी छिन्।
१० यहोवाले आफ्ना विश्वासी सेवकहरूलाई मदत गर्नुका साथै बलियो बनाउनुहुन्छ। “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्तिहीनको शक्ति बढ़ाइदिनुहुन्छ।” माथि उल्लिखित छ वटै प्रबन्धहरूबाट लाभ उठाएर हामी शक्तिको यो असीमित श्रोतबाट बल प्राप्त गर्नसक्छौं। नबिर्सनुहोस्: “परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्। . . . दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिंड़ेर जान्छन्, तर क्लान्त हुनेछैनन्।” (यशै. ४०:२९-३१) पावलले यहोवामा पूर्ण भरोसा राखे अनि बल पाए। हामीले पनि त्यसै गर्नुपर्छ।