प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 मे pp. २०-२५
  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साक्षीकार्यमा लागिरहन यहोवा हामीलाई बल दिनुहुन्छ
  • चुनौतीको बाबजुद वफादार रहन यहोवा हामीलाई बल दिनुहुन्छ
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • ‘उहाँले तिमीहरूलाई बलियो पार्नुहुनेछ’—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “एकअर्काको उत्थान गरिरहो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवाले दुर्बलहरूलाई शक्‍ति दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 मे pp. २०-२५

अध्ययन लेख २१

यहोवाले तपाईँलाई बल दिनुहुनेछ

“जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।”—२ कोरि. १२:१०.

गीत ७३ साहस हाम्रो बढाइदेऊ

परिचयa

१-२. धेरै साक्षीले कस्ता चुनौतीहरूको सामना गर्छन्‌?

प्रेषित पावलले तिमोथिलाई र हामी सबै ख्रिष्टियनलाई सेवाको काम राम्ररी पूरा गर्न प्रोत्साहन दिए। (२ तिमो. ४:५) हामी सबै जना पावलको सल्लाहलाई गम्भीरतापूर्वक लिन्छौँ तर हाम्रो अगाडि थुप्रै चुनौती छन्‌। हाम्रा धेरै भाइबहिनीलाई साक्षीकार्यमा भाग लिन साहस चाहिन्छ। (२ तिमो. ४:२) हाम्रो गतिविधिमाथि कडिकडाउ गरिएको वा प्रतिबन्ध लगाइएको देशमा बस्ने हाम्रा भाइबहिनीबारे विचार गरौँ। आफूलाई गिरफ्तार गरिने सम्भावना भए पनि तिनीहरू साक्षीकार्यमा भाग लिन्छन्‌।

२ यहोवाका सेवकहरूले थुप्रै निराशाजनक परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, आफ्नो परिवारको आधारभूत आवश्‍यकता पूरा गर्न धेरैले घण्टौँ काम गर्नुपर्छ। तिनीहरू साक्षीकार्यमा अझ धेरै भाग लिन चाहन्छन्‌ तर हप्ताको अन्तसम्ममा कामले गर्दा लखतरान भइसकेका हुन्छन्‌। अरू कोही भने ढल्कँदो उमेर वा स्वास्थ्य समस्याले गर्दा आफूले चाहेजति गर्न सक्दैनन्‌। तिनीहरूमध्ये कोही-कोही त घरबाट निस्कन समेत सक्दैनन्‌। कसै-कसैलाई भने आफू बेकामको छु भन्‍ने भावनाले सताइरहन्छ। मध्यपूर्वमा बस्ने मेरीb यसो भन्छिन्‌: “नकारात्मक भावनाहरूसित लड्‌न मैले निकै सङ्‌घर्ष गर्नुपर्छ। कहिलेकाहीँ म भावनात्मक रूपमा थकित हुन्छु। साक्षीकार्यमा दिन सक्ने समय र शक्‍ति यसरी खेर गएकोमा म निकै दोषी महसुस गर्छु।”

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि यहोवा हामीलाई चुनौतीहरूको सामना गर्न र परिस्थितिले दिएसम्म उहाँको सेवा गर्न बल दिन सक्नुहुन्छ। यहोवा हामीलाई कसरी मदत गर्न सक्नुहुन्छ भनेर विचार गर्नुअघि उहाँले पावल र तिमोथिलाई कठिनाइको बाबजुद सेवाको काम पूरा गर्न कसरी बल दिनुभयो, छलफल गरौँ।

साक्षीकार्यमा लागिरहन यहोवा हामीलाई बल दिनुहुन्छ

४. पावलले कस्ता चुनौतीहरूको सामना गरे?

४ पावलले धेरै चुनौतीको सामना गरे। मानिसहरूले तिनलाई कुटपिट गर्दा, ढुङ्‌गाले हान्दा र झ्यालखानामा हाल्दा तिनलाई बल चाहिएको थियो। (२ कोरि. ११:२३-२५) तिनले बेलाबेलामा नकारात्मक भावनासित सङ्‌घर्ष गर्नुपरेको कुरा पनि खुलेआम स्विकारे। (रोमी ७:१८, १९, २४) साथै तिनले “शरीरमा एउटा छेस्को” सहनुपरेको थियो, जुन छेस्को हटाइदिन तिनले परमेश्‍वरलाई बारम्बार बिन्ती गरे।—२ कोरि. १२:७, ८.

पावललाई सेवाको काम पूरा गर्न केले मदत गऱ्‍यो? (अनुच्छेद ५-६ हेर्नुहोस्‌)c

५. चुनौतीहरूको बाबजुद सेवाको काममा पावल कत्तिको सफल भए?

५ यी सबै चुनौतीको बाबजुद सेवाको काम पूरा गर्न यहोवाले पावललाई बल दिनुभयो। सेवाको काममा पावल कत्तिको सफल भए? उदाहरणको लागि, रोममा नजरबन्दमा छँदा तिनले जोसका साथ यहुदी धर्मगुरुहरू र सायद सरकारी अधिकारीहरूसामु सुसमाचारको पक्षमा बोले। (प्रेषि. २८:१७; फिलि. ४:२१, २२) तिनले सिजरको अङ्‌गरक्षक दलका धेरैलाई र आफूलाई भेट्‌न आउने सबैलाई साक्षी दिए। (प्रेषि. २८:३०, ३१; फिलि. १:१३) त्यही समयमा पावलले परमेश्‍वरको प्रेरणा पाएर पत्रहरू लेखे, जुन पत्रहरूबाट आज पनि साँचो ख्रिष्टियनहरूले लाभ उठाइरहेका छन्‌। साथै पावलको उदाहरणबाट बल पाएर रोमका ख्रिष्टियनहरूले “परमेश्‍वरको वचनबारे निर्धक्क भई बोल्न पहिलेभन्दा झन्‌ धेरै साहस” देखाउन सके। (फिलि. १:१४) हुनत त्यतिबेला पावलले गर्न सक्ने कुरा सीमित थियो। तैपनि तिनले यथासक्दो गरे र त्यसले गर्दा ‘सुसमाचार फैलाउन सहयोग पुग्यो।’—फिलि. १:१२.

६. दोस्रो कोरिन्थी १२:९, १० अनुसार सेवाको काम पूरा गर्न पावललाई केले मदत गऱ्‍यो?

६ यहोवाको सेवामा आफूले गर्न सकेको सबै कुरा आफ्नो शक्‍तिले नभई परमेश्‍वरको शक्‍तिले गर्दा सम्भव भएको हो भनेर पावलले स्विकारे। आफू “कमजोर हुँदा” परमेश्‍वरको “पूरा शक्‍ति” पाएको कुरा तिनले बताए। (२ कोरिन्थी १२:९, १० पढ्‌नुहोस्‌।) खेदो, जेल सजाय र अरू चुनौतीको बाबजुद सेवाको काम राम्ररी पूरा गर्न यहोवाले पावललाई पवित्र शक्‍तिमार्फत बल दिनुभयो।

तिमोथि धर्मशास्त्रको मुठाबाट पाका दाइहरूलाई केही बताउँदै छन्‌।

तिमोथिलाई सेवाको काम पूरा गर्न केले मदत गऱ्‍यो? (अनुच्छेद ७ हेर्नुहोस्‌)d

७. सेवाको काम पूरा गर्न तिमोथिले कस्ता चुनौतीहरूको सामना गर्नुपरेको थियो?

७ पावलको जवान साथी तिमोथिले पनि सेवाको काम पूरा गर्न परमेश्‍वरमा भर पर्नुपर्थ्यो। पावलको लामो मिसनरी यात्राहरूमा तिमोथिले तिनलाई साथ दिए। साथै पावलले उनलाई मण्डलीहरूमा भ्रमण गरेर भाइबहिनीलाई प्रोत्साहन दिन पठाए। (१ कोरि. ४:१७) त्यतिबेला तिमोथिलाई आफू अयोग्य छु जस्तो लागेको थियो होला। सायद त्यही कारणले पावलले उनलाई यस्तो सल्लाह दिए: “तिम्रो कम उमेरले गर्दा कसैले तिमीलाई हेला गर्न नपाओस्‌।” (१ तिमो. ४:१२) यसबाहेक त्यही समयतिर तिमोथिले पनि शरीरमा एउटा छेस्को सहनुपरेको थियो; तिनी ‘घरीघरी बिरामी परिरहन्थे।’ (१ तिमो. ५:२३) तैपनि सुसमाचार सुनाइरहन र भाइबहिनीको सेवा गर्न पवित्र शक्‍तिले आफूलाई बलियो बनाउनेछ भन्‍ने कुरा तिमोथिलाई थाह थियो।—२ तिमो. १:७.

चुनौतीको बाबजुद वफादार रहन यहोवा हामीलाई बल दिनुहुन्छ

८. आज यहोवा आफ्ना जनहरूलाई कसरी बल दिनुहुन्छ?

८ आज पनि यहोवा आफ्ना जनहरूलाई वफादार भई उहाँको सेवा गरिरहन “असाधारण शक्‍ति” दिनुहुन्छ। (२ कोरि. ४:७) अब हामी यहोवाले हामीलाई बल दिन र उहाँप्रति वफादार भइरहन गर्नुभएको चार वटा प्रबन्धबारे विचार गरौँ। ती हुन्‌: प्रार्थना, बाइबल, ख्रिष्टियन सङ्‌गति र साक्षीकार्य।

एक भाइ प्रार्थना गर्दै छन्‌।

यहोवाले प्रार्थनाद्वारा हामीलाई बल दिनुहुन्छ (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. प्रार्थनाले हामीलाई कसरी मदत गर्छ?

९ प्रार्थनाले हामीलाई बल दिन्छ। एफिसी ६:१८ मा पावलले “हरबखत” परमेश्‍वरलाई प्रार्थना गर्न प्रोत्साहन दिएका छन्‌। परमेश्‍वरले हामीलाई बलियो बनाएर प्रार्थनाको जवाफ दिनुहुन्छ। बोलिभियामा बस्ने जोनीले जीवनमा एकपछि अर्को समस्याहरू सामना गर्नुपर्दा यहोवाको मदत महसुस गरे। तिनकी पत्नी र तिनका बुबाआमा एकैचोटि सिकिस्त बिरामी परे। तीनै जनाको हेरविचार गर्नुपर्दा जोनीलाई निकै गाह्रो भयो। पछि तिनकी आमाको मृत्यु भयो अनि तिनकी पत्नी र बुबा निको हुन धेरै समय लाग्यो। विगतलाई फर्केर हेर्दा जोनी यसो भन्छन्‌: “निकै गाह्रो भएको बेला यहोवालाई तोकेरै प्रार्थना गरेकोले मैले हरेक चोटि यहोवाको मदत पाएँ।” यहोवाले जोनीलाई गाह्रो अवस्था सहन बल दिनुभयो। बोलिभियाका एक एल्डर रोनाल्डले आफ्नी आमालाई क्यान्सर भएको कुरा थाह पाए। एक महिनापछि तिनकी आमाको मृत्यु भयो। त्यतिबेला रोनाल्डलाई केले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “म प्रार्थनामा यहोवालाई मेरो मनका भावनाहरू पोख्ने गर्छु। उहाँ मलाई अरूले भन्दा वा म आफैले भन्दा राम्ररी चिन्‍नुहुन्छ भन्‍ने कुरा मलाई थाह छ।” बेलाबेलामा हामीलाई समस्याहरू सहनै सक्दिनँ जस्तो लाग्न सक्छ वा केको लागि प्रार्थना गर्ने भनेर थाहै नहुन सक्छ। तर आफ्नो सोचाइ र भावनालाई शब्दमा व्यक्‍त गर्न नसक्दा पनि प्रार्थना गर्न यहोवा हामीलाई आग्रह गर्नुहुन्छ।—रोमी ८:२६, २७.

एक बहिनी बाइबल पढ्‌दै छिन्‌।

यहोवाले बाइबलद्वारा हामीलाई बल दिनुहुन्छ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. हिब्रू ४:१२ अनुसार बाइबल पढ्‌नु र पढेको कुरामा मनन गर्नु किन महत्त्वपूर्ण छ?

१० बाइबलले हामीलाई बल दिन्छ। बल र सान्त्वनाको लागि पावल धर्मशास्त्रमा भर परे र हामीले पनि त्यसै गर्नुपर्छ। (रोमी १५:४) हामीले परमेश्‍वरको वचन पढ्यौँ र त्यसमा मनन गऱ्‍यौँ भने आफूले पढेको शास्त्रपद आफ्नो परिस्थितिमा कसरी लागू हुन्छ भनेर बुझ्न यहोवा हामीलाई पवित्र शक्‍तिद्वारा मदत दिन सक्नुहुन्छ। (हिब्रू ४:१२ पढ्‌नुहोस्‌।) अगाडि उल्लेख गरिएका रोनाल्ड यसो भन्छन्‌: “सुत्नुअघि बाइबलको कुनै अंश पढ्‌ने बानी बसाल्न सकेकोमा म खुसी छु। म यहोवाका गुणहरू र उहाँले आफ्ना सेवकहरूसित गर्नुभएको मायालु व्यवहारबारे धेरै मनन गर्छु। यसले मलाई फेरि बलियो हुन मदत गर्छ।”

११. शोकमा परेकी एक बहिनीलाई बाइबलले कसरी बलियो बनायो?

११ परमेश्‍वरको वचनमा मनन गऱ्‍यौँ भने हामीले आफ्नो अवस्थाप्रति सही दृष्टिकोण राख्न मदत पाउँछौँ। शोकमा परेकी एक विधवालाई बाइबलले कसरी मदत गऱ्‍यो, विचार गरौँ। एक जना एल्डरले तिनलाई अय्युबको किताब पढेर त्यसबाट मदतकारी पाठहरू सिक्न प्रोत्साहन दिए। अय्युबको किताब पढ्‌न थालेपछि तिनी सुरुमै अय्युबको गलत सोचाइको आलोचना गर्न पुगिन्‌। तिनले मनमनै उनलाई यसो भनिन्‌: “अय्युब! तिमी यत्ति साह्रै नकारात्मक नहोऊ!” तर पछि तिनले आफ्नो मनोवृत्ति पनि अय्युबको जस्तै थियो भन्‍ने महसुस गरिन्‌। यसले गर्दा तिनले आफ्नो दृष्टिकोण छाँटकाँट गर्न सकिन्‌ र पति गुमाउनुपर्दाको पीडा सहन बल पाइन्‌।

एक भाइ, केही बहिनीहरू र केटाकेटीहरू एकअर्कासित सङ्‌गत गर्दै छन्‌।

यहोवाले ख्रिष्टियन सङ्‌गतिद्वारा हामीलाई बल दिनुहुन्छ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. सङ्‌गी भाइबहिनी चलाएर यहोवा हामीलाई कसरी बल दिनुहुन्छ?

१२ ख्रिष्टियन सङ्‌गतिले हामीलाई बल दिन्छ। यहोवा हामीलाई सङ्‌गी भाइबहिनी चलाएर बल दिनुहुन्छ। आफ्नो आध्यात्मिक भाइबहिनीलाई भेटेर “एकअर्कालाई प्रोत्साहन दिन” प्रतीक्षा गर्दै छु भनेर पावलले पत्रमा लेखे। (रोमी १:११, १२) अगाडि उल्लेख गरिएकी बहिनी मेरी ख्रिष्टियन सङ्‌गतिको निकै मोल गर्छिन्‌। तिनी भन्छिन्‌: “यहोवाले मलाई मदत गर्न मेरा समस्याहरूबारे थाहै नभएका भाइबहिनीलाई चलाउनुभयो। तिनीहरूले मलाई प्रोत्साहन दिए वा कार्डमा केही लेखेर पठाए र त्यो मलाई चाहिएकै कुरा थियो। यसले मेरोजस्तै समस्या भोगिरहेका अरू दिदीबहिनीसित कुरा गर्न र तिनीहरूको अनुभवबाट सिक्न पनि मलाई मदत गरेको छ। साथै एल्डरहरूले म मण्डलीको लागि अनमोल छु भन्‍ने कुरा सधैँ महसुस गराउनुहुन्छ।”

१३. मण्डलीका सभाहरूमा हामी एकअर्कालाई कसरी बलियो बनाउन सक्छौँ?

१३ एकअर्कालाई प्रोत्साहन दिने एउटा सबैभन्दा उत्तम ठाउँ ख्रिष्टियन सभाहरू हुन्‌। सभामा उपस्थित हुँदा भाइबहिनीलाई मायाका दुईचार शब्द भन्‍न र तिनीहरूको प्रयासको लागि धन्यवाद व्यक्‍त गर्न सक्नुहुन्छ कि? उदाहरणको लागि, सभा सुरु हुनुअघि पिटर नाम गरेका एक एल्डरले श्रीमान्‌ विश्‍वासमा नभएको एक बहिनीलाई यसो भने: “तपाईँलाई सभामा देख्न पाउँदा हामी धेरै प्रोत्साहन पाउँछौँ। तपाईँ आफ्नो छ जनै छोराछोरीलाई सधैँ सभामा ल्याउनुहुन्छ र टिप्पणीको लागि पहिल्यै तयार पार्नुहुन्छ।” ती बहिनीले गहभरि आँसु लिँदै यस्तो जवाफ दिइन्‌: “हुनत तपाईँलाई थाह नहोला तर आज मलाई यस्तै प्रोत्साहन चाहिएको थियो।”

एक बहिनी पत्रमार्फत सुसमाचार बाँड्‌दै छिन्‌।

यहोवाले साक्षीकार्यद्वारा हामीलाई बल दिनुहुन्छ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. साक्षीकार्यमा भाग लिँदा हामी कसरी बल पाउन सक्छौँ?

१४ साक्षीकार्यले हामीलाई बल दिन्छ। अरूलाई बाइबल सत्य सिकाउँदा तिनीहरूको प्रतिक्रिया जस्तोसुकै भए पनि हामी स्फूर्ति पाउँछौँ। (हितो. ११:२५) साक्षीकार्यले आफूलाई बल दिएको कुरा बहिनी स्टेसीले अनुभव गरिन्‌। परिवारको एक जना सदस्य बहिष्कार हुँदा तिनी निकै दुःखित भइन्‌ र आफैलाई सोधिरहिन्‌, ‘उसलाई मदत गर्न मैले अझै केही गर्न सक्थेँ कि?’ स्टेसीको मनमा यही कुरा मात्र खेलिरह्‍यो। यस्तो निराशाजनक अवस्थाको सामना गर्न तिनलाई केले मदत गऱ्‍यो? साक्षीकार्यले! साक्षीकार्यमा भाग लिँदा तिनले आफ्नो ध्यान आध्यात्मिक मदत चाहिएका मानिसहरूतर्फ केन्द्रित गर्न सकिन्‌। तिनी भन्छिन्‌: “त्यही समयको दौडान यहोवाको मदतले एउटा बाइबल विद्यार्थी पाएँ, जसले छिटोछिटो उन्‍नति गरिन्‌। मैले निकै प्रोत्साहन पाएँ। मेरो जीवनमा मलाई सबैभन्दा धेरै मदत गरेको कुरा नै साक्षीकार्य हो।”

१५. बहिनी मेरीले भनेको कुराबाट तपाईँले के सिक्नुभयो?

१५ कोही-कोही आफ्नो परिस्थितिले गर्दा साक्षीकार्यमा आफूले चाहेजति गर्न नसकेको महसुस गर्छन्‌। यदि तपाईँ पनि त्यस्तै महसुस गर्नुहुन्छ भने तपाईँले गरिरहनुभएको हर प्रयास देखेर यहोवा खुसी हुनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। मेरीको उदाहरण फेरि विचार गरौँ। विदेशी भाषाको इलाकामा सर्दा आफूले केही पनि गर्न नसकेको तिनले महसुस गरिन्‌। तिनी भन्छिन्‌: “केही समयसम्म त म छोटो टिप्पणी दिने, बाइबल पद पढ्‌ने वा पर्चा मात्र दिने गर्थेँ।” त्यो भाषा राम्रोसित बोल्ने भाइबहिनीसित आफूलाई तुलना गर्दा तिनी निराश मात्र भइन्‌। तर तिनले आफ्नो दृष्टिकोण सच्याइन्‌। भाषा राम्ररी बोल्न नजाने पनि यहोवाले आफूलाई प्रयोग गर्न सक्नुहुन्छ भनेर तिनले महसुस गर्न थालिन्‌। तिनी भन्छिन्‌: “बाइबलका जीवनदायी सन्देशहरू सरल छन्‌ र मानिसको जीवन परिवर्तन गर्ने कुरा त्यही नै हो।”

१६. आफ्नो अवस्थाले गर्दा घरबाट निस्कन नसक्ने भाइबहिनीलाई केले बल दिन्छ?

१६ हामीमध्ये कोही-कोही घरबाट निस्कन नसके पनि साक्षीकार्यमा भाग लिने हाम्रो चाहना यहोवा देख्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। उहाँले हाम्रो हेरविचार गर्नेहरूलाई अनि डाक्टर र नर्सहरूलाई साक्षी दिने मौका खोलिदिन सक्नुहुन्छ। हामीले विगतमा गरेका कुराहरूलाई अहिलेको अवस्थासित तुलना गऱ्‍यौँ भने हामी निराश मात्र हुनेछौँ। तर अहिले यहोवा हामीलाई कसरी मदत गर्दै हुनुहुन्छ भन्‍ने कुरा बुझ्यौँ भने खुसीसाथ जस्तोसुकै परीक्षा सहन बल पाउनेछौँ।

१७. उपदेशक ११:६ अनुसार तुरुन्तै राम्रो नतिजा नदेखे पनि हामी साक्षीकार्यमा किन लागिरहनुपर्छ?

१७ हामीले छरेको कुनचाहिँ सत्यको बिउ जरा हालेर उम्रने हो, हामीलाई थाह छैन। (उपदेशक ११:६ पढ्‌नुहोस्‌।) उदाहरणको लागि, ८० वर्ष नाघिसकेकी बार्बरा नियमित रूपमा टेलिफोन र पत्रमार्फत साक्षी दिन्छिन्‌। एकचोटि तिनले पत्रसँगै मार्च १, २०१४ को प्रहरीधरहरा पठाइन्‌, जसमा “भगवान्‌ले तपाईंको लागि के गर्नुभएको छ?” भन्‍ने लेख पनि थियो। तिनले पठाएको त्यो पत्र बहिष्कार भएको एक दम्पतीकहाँ पुगेछ तर यो कुरा तिनलाई थाह थिएन। तिनीहरूले त्यो पत्रिका दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढे। यसरी पढ्‌दा यहोवाले सीधै आफूसित कुरा गरिरहनुभएको पतिले महसुस गरे। त्यो दम्पती सभाहरूमा उपस्थित हुन थाल्यो र २७ वर्षभन्दा लामो समयपछि तिनीहरू फेरि सक्रिय भए। आफूले लेखेको एउटा पत्रले यत्ति राम्रो नतिजा ल्याएको देख्दा बार्बराले कत्ति धेरै प्रोत्साहन र बल पाइन्‌ होला, कल्पना गर्नुहोस्‌!

तस्बिरहरूको सँगालो: यहोवाले हामीलाई बल दिनुहुने चार वटा माध्यम। यी दृश्‍यहरूबारे यस लेखको अनुच्छेद ९-१४ मा छलफल गरिएको छ।

यहोवाले (१) प्रार्थना, (२) बाइबल, (३) ख्रिष्टियन सङ्‌गति र (४) साक्षीकार्यद्वारा हामीलाई बल दिनुहुन्छ (अनुच्छेद ९-१०, १२, १४ हेर्नुहोस्‌)

१८. यहोवाबाट बल पाउन हामी के गर्न सक्छौँ?

१८ यहोवा हामीलाई उहाँको अपार शक्‍ति अनुभव गर्ने थुप्रै मौका दिनुहुन्छ। हामीले प्रार्थना, बाइबल, ख्रिष्टियन सङ्‌गति र साक्षीकार्यजस्ता प्रबन्धहरूको पूरापूर सदुपयोग गऱ्‍यौँ भने यहोवासित हामीलाई मदत गर्ने क्षमता र इच्छुकता दुवै छ भन्‍ने कुरामा विश्‍वास गरेको देखाइरहेका हुन्छौँ। त्यसैले “जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति भक्‍त छन्‌, तिनीहरूको खातिर आफ्नो शक्‍ति प्रकट गर्न” खुसी हुनुहुने स्वर्गका बुबामाथि हामी सधैँ भरोसा राखिरहौँ।—२ इति. १६:९.

निम्न प्रबन्धहरूबाट हामी कसरी बल पाउन सक्छौँ?

  • प्रार्थना र बाइबल अध्ययन

  • ख्रिष्टियन सङ्‌गति

  • साक्षीकार्य

गीत ६१ अघि बढ, साक्षी हो!

a हामी चुनौतीपूर्ण समयमा बाँचिरहेका छौँ तर त्यसको सामना गर्न यहोवा हामीलाई मदत दिनुहुन्छ। यस लेखमा कठिनाइको बाबजुद यहोवाको सेवा गरिरहन उहाँले प्रेषित पावल र तिमोथिलाई कसरी मदत गर्नुभयो भनेर छलफल गर्नेछौँ। साथै हामीलाई कठिनाइ सहन मदत दिन उहाँले हाम्रो लागि गर्नुभएको चार वटा प्रबन्धबारे पनि छलफल गर्नेछौँ।

b नाम परिवर्तन गरिएको छ।

c चित्रको व्याख्या: रोममा नजरबन्दमा रहँदा पावल थुप्रै मण्डलीलाई पत्र लेख्छन्‌ र आफूलाई भेट्‌न आउनेहरूलाई सुसमाचार सुनाउँछन्‌।

d चित्रको व्याख्या: मण्डलीहरूमा भ्रमण गर्दा तिमोथि भाइहरूलाई प्रोत्साहन दिन्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने