के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?
१ राज्य उद्घोषकहरूको आवश्यकता भएको क्षेत्रमा बसाइँ सर्नेबारे के तपाईंले कहिल्यै सोच्नुभएको छ? “आएर . . . मदत गर्नुहोस्” भन्ने निम्तो पाएको खण्डमा के तपाईंले पनि प्रेरित पावलले जस्तै जवाफ दिनुहुनेछ? (प्रेरि. १६:९, १०) थुप्रै मण्डलीमा आध्यात्मिक तवरमा परिपक्व परिवार, सम्पूर्ण इलाका ढाक्ने गरी प्रचार गर्न मदतको लागि अग्रगामीहरू वा नेतृत्व लिने काममा मदत गर्न योग्य प्राचीन तथा सेवकाई सेवकहरूको आवश्यकता छ। तोकिएको इलाका, स-साना बस्तीहरू छरपस्ट भएको ठूलो ग्रामीण इलाका होला। यस्ता इलाकामा बस्नेहरूका लागि सबैभन्दा नजिकको राज्यभवन पनि निकै टाढा हुनसक्छ। जीविकोपार्जनको लागि काम पाउन पनि गाह्रो हुनसक्छ। मौसम पनि सधैं अनुकूल नहुनसक्छ। के तपाईं यस्ता चुनौतीहरू स्वीकार्न इच्छुक हुनुहुनेछ? यी सबका बावजूद कसरी सफलता हासिल गर्न सकिन्छ?
२ विश्वास र भरोसा चाहिन्छ: परमेश्वरको निर्देशनमा अब्रामले ऊरको आफ्नो घरबार सबै छोडेर आफ्ना पत्नी, भतिजा र वृद्ध पिता, तेरहसँग हजारौं किलोमिटर यात्रा गरेर हारानमा बसाइँ सरे। (उत्प. ११:३१, ३२; नहे. ९:७) तेरहको मृत्युपश्चात्, यहोवाले अब्रामलाई हारान तथा आफ्ना नाता कुटुम्ब छाडेर उहाँले देखाउनुहुने देशमा जाने आज्ञा दिनुभयो र त्यतिबेला अब्राम ७५ वर्ष पुगिसकेका थिए। परमेश्वरले भन्नुभएबमोजिम अब्राम, साराई र लूत “जानलाई निस्के।” (उत्प. १२:१, ४, ५) निश्चय पनि अब्राम सेवकहरूको आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न बसाइँ सरेका थिएनन्। तर यसरी बसाइँ सर्न तिनसित केही कुरा हुनु आवश्यक थियो। त्यो के थियो?
३ यसरी बसाइँ सर्नको निम्ति अब्रामसित विश्वास र भरोसा हुनुपर्थ्यो। तिनले आफ्नो सोचाइ र जीवनशैली परिवर्तन गर्नुपर्ने थियो। तिनी आफ्ना नाता कुटुम्बहरूलाई छोडेर टाढा जानुपर्ने थियो। तर तिनले आफू र आफ्ना जहान-परिवारको रेखदेखको लागि यहोवामा भरोसा राखे। आज पनि धेरैले यहोवामा त्यसरी नै आफ्नो भरोसा राखेका छन्।
४ छोटो अवधिका जिम्मेवारीहरू: कसैलाई नखटाइएको इलाकामा प्रचार गरेर के तपाईंले प्रचुर मात्रामा आशिष्को आनन्द उठाउनुभएको छ? यस्ता आशिष्हरूको आनन्द उठाएका व्यक्तिहरूले धेरै टाढ-टाढासम्म यात्रा गर्नु परेको छ। के तिनीहरूको प्रयास बेकार गयो?
५ क्यालिफोर्नियाका एक जना भाइ युटा गएका थिए र उनले यस्तो लेखे: “कहिलेकाहीं मात्र प्रचार गरिएको इलाकामा एउटा समूह लिएर जान मलाई अनुरोध गरिंदा सुरुमा त म हिचकिचाएँ। तर मैले त्यो जिम्मेवारी स्वीकार्ने निर्णय गरें। त्यस जिम्मेवारी स्वीकारेमा मैले पछुताउनु परेन बरु, त्यसले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ। त्यस समूहमा आफू पनि सहभागी हुन पाएकोमा म यहोवालाई हरेक दिन यस विशेषाधिकारको लागि धन्यवाद दिन्छु।” त्यसरी नै, टेनेसी गएका फ्लोरिडाका एक जना भाइले यसो भने, सच्चाइमा मैले बिताएको २० वर्षको अवधिभरि त्यो सबैभन्दा अविस्मरणीय अनुभव थियो! कनेक्टीकटका एक जना भाइ पश्चिम भर्जिनिया गएका थिए। तिनले यसो भने: “त्यो मेरो जीवनको सबैभन्दा उत्तम अनुभव थियो!” आवश्यकता बढी भएको ठाउँमा छोटो अवधिको लागि सेवा गर्दा मात्र पनि त्यसले सेवकाईप्रति गहिरो मूल्यांकन बढाउँछ भनी प्रायजसो प्रकाशकहरू मानिलिन्छन्। यस्तो जिम्मेवारी स्वीकारिसकेका भाइबहिनीहरूसित कुरा गर्नुहोस्। यसो गर्दा तिनीहरूले आध्यात्मिक तवरमा प्रगति गर्न सकेका र अवसर पाएको खण्डमा फेरि यस्तो जिम्मेवारी स्वीकार्न आफू इच्छुक भएको कुरा बताउनेछन्।
६ आवश्यकता बढी भएको ठाउँमा सेवा गर्ने जिम्मेवारीलाई स्वीकार्नेहरूले अर्को एउटा काम पनि गरिरहेका हुन्छन्। यसो गर्नेहरूले अर्को ठाउँमा बसाइँ सर्दा लाग्ने “खर्च . . . हिसाब [सम्बन्धी]” उपयोगी जानकारी पाउनेछन्।—लूका १४:२८.
७ अन्त आउनुअघि “सारा संसारमा” सुसमाचार घोषणा गर्न यहोवा कटिबद्ध हुनुहुन्छ। (मत्ती २४:१४) यस कुरालाई मनमा राख्दै, यदि सक्नु हुन्छ भने, के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा बसाइँ सर्न इच्छुक हुनुहुनेछ? धेरै क्षेत्रहरूमा आवश्यकता छ।
८ आवश्यकता बढी भएको क्षेत्रमा बसाइँ सर्ने: के तपाईं अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ? के तपाईंसित आयआर्जनको भरपर्दो स्रोत छ? छैन भने, जीविकोपार्जनको लागि के तपाईं आफै कुनै काम थाल्न सक्नुहुन्छ? के तपाईं जुनसुकै क्षेत्रमा बसेर पनि टेलिफोन वा कम्प्युटरद्वारा जीविकोपार्जन गर्न सक्नुहुन्छ? आफू अन्तै बसाइँ सर्न नसके तापनि के तपाईं आफ्नो परिवारको कुनै सदस्यलाई अन्य ठाउँमा गएर सेवा गर्न मदत दिन सक्नुहुन्छ?
९ प्रार्थनापूर्वक विचार गरिसक्नुभएपछि आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्दा आइपर्ने चुनौतीहरूको सामना गर्नसक्छु जस्तो लागेमा यसबारे आफ्नो परिवार र मण्डलीका प्राचीनहरूसित छलफल गर्नुहोस्। त्यसपछि, एउटा पत्र लेखेर प्राचीनहरूलाई दिनुहोस्, ताकि उक्त पत्रलाई शाखा कार्यालयमा पठाउनुअघि प्राचीनहरूले त्यस पत्रमा आफ्नो राय र सिफारिस पनि समावेश गर्नसक्ने छन्।
१० पत्रमा तपाईंले कुनकुन कुरा उल्लेख गर्नुपर्छ? तपाईंको उमेर, बप्तिस्मा लिएको मिति, तपाईंले मण्डलीमा निर्वाह गरिरहनुभएका जिम्मेवारीहरू, विवाहित या अविवाहित र साना छोराछोरी छन् कि छैनन्, ती सबै उल्लेख गर्नुपर्छ। आफ्नो व्यक्तिगत आवश्यकताअनुसार तपाईं कस्तो कस्तो क्षेत्रमा काम गर्न इच्छुक हुनुहुन्छ, उल्लेख गर्नुहोस्। उदाहरणका लागि, के तपाईं गर्मी वा आद्रता बढी भएको ठाउँमा बस्न सक्नुहुन्छ? के तपाईं जाडो झेल्न सक्नुहुन्छ? के तपाईं बढी उचाइमा रहेको क्षेत्रमा बस्न सक्नुहुन्छ? के तपाईं अरू कुनै स्थानीय भाषा पनि बोल्न सक्नुहुन्छ?
११ के तपाईंमा जोस र जाँगर छ? आवश्यकता बढी भएको ठाउँमा सेवा गर्न के तपाईंको परिस्थितिले दिन्छ? यदि दिन्छ भने, आत्म-त्यागको भाव देखाउँदै यहोवामा पूर्ण भरोसा राख्नेहरूलाई उहाँले कसरी लगातार प्रचुर मात्रामा आशिष् दिनुहुन्छ, सो महसुस गर्नुहोस्!—भज. ३४:८; मला. ३:१०.