परमेश्वरको राज्य प्रचारकार्यले जीवन बचाउन मदत गर्छ!
१ यो अहिले संसारमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण काम हो। यहोवा परमेश्वर, येशू ख्रीष्ट र लाखौं स्वर्गदूतहरूले आफ्नो ध्यान यसैमा केन्द्रित गरेका छन्। यो के हो र यो किन जरुरी छ? यो परमेश्वरको राज्य प्रचारकार्य हो र यसले जीवन बचाउन मदत गर्छ!—रोमी १:१६; १०:१३, १४.
२ कतिपय मानिसहरू, अरूलाई अझ बढी मदत गर्न आफू वरपरको संसारलाई सुधार्ने कोसिस पो गर्नुपर्छ त भनेर सोच्छन्। थुप्रै मानिसहरू शान्ति ल्याउने, रोगहरू निको पार्ने तथा अर्थव्यवस्था सुधार्ने प्रयत्नमा व्यस्त छन्। तर कुन कुराले मानिसहरूलाई सबैभन्दा बढी मदत गर्नेछ?
३ एउटा उत्कृष्ट कार्य: परमेश्वरको राज्य सन्देशले जीवनको उद्देश्य, मानव पीडाको कारण र भविष्यको लागि एक मात्र भरपर्दो आशाबारे बताउँछ। सुसमाचारले मानिसहरूलाई यहोवाको मित्र हुन र ‘सारा समझलाई माथ गर्ने परमेश्वरको शान्ति’ पाउन मदत गर्छ। (फिलि. ४:७) परमेश्वरको राज्य सन्देशले मात्र मानिसहरूलाई जीवनका समस्याहरू सामना गर्ने मदतको लागि अहिले व्यावहारिक निर्देशन प्रदान गर्छ र भविष्यमा यो दुष्ट रीतिरिवाज नाश हुँदा कसरी बच्ने भनी बताउँछ। (१ यूह. २:१७) के हामीले परमेश्वरको राज्य प्रचारकार्यमा यथाशक्य प्रयत्न गर्नु उचित छैन र?
४ उदाहरणका लागि: फुट्नै लागेको बाँधको खतराबाट मस्त निदाइरहेका गाउँलेहरूलाई बचाउने सबैभन्दा उत्तम तरिका के हुनेछ? के कमजोर हुँदै गइरहेको बाँधको पानी निकाल्नु हो? नाश हुनै लागेको गाउँलाई सुन्दर बनाउनु पो हो कि? होइन! गाउँलेहरूलाई ब्यूँझाउनुपर्छ, आउँदै गरेको खतराबारे तिनीहरूलाई जानकारी दिनुपर्छ र भाग्न मदत गर्नुपर्छ! आज आध्यात्मिक तवरमा निदाइरहेकाहरू पनि ठूलो खतरामा छन्। (लूका २१:३४-३६) यस रीतिरिवाज चाँडै बितेर जाने भएकोले हामी सकेजति सबैलाई अविलम्ब प्रचार गर्न कोसिस गरौं!—२ तिमो. ४:२; २ पत्रु. ३:११, १२.
५ यसमा लागिरहनुहोस्: घरमा, सडकमा, टेलिफोनद्वारा र अनौपचारिक तवरमा सुसमाचारप्रति निष्कपट चासो राख्ने अझ धेरै मानिसहरूलाई सुनाउने मौका खोजौं। यहोवाले हामीलाई अह्राउनुभएको काम, सम्भवतः हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम हो। हामीले जोसकासाथ यो काम गऱ्यौं भने ‘आफूलाई र आफूलाई सुन्नेलाई समेत उद्धार गर्नेछौं।’—१ तिमो. ४:१६.