आफूसित जे छ त्यसैमा सन्तुष्ट हुनुहोस्
१ धर्मशास्त्रले हामीलाई आफ्नो परिवारको लागि भौतिक प्रबन्ध मिलाउने सल्लाह दिन्छ तर यही नै हाम्रो जीवनको प्रमुख चासोको विषय भने हुनुहुँदैन। आध्यात्मिक कुराले प्राथमिकता पाउनै पर्छ। (मत्ती ६:३३; १ तिमो. ५:८) यस “डरलाग्दो समय[मा]” उचित सन्तुलन कायम गर्नु निकै चुनौतीपूर्ण छ। (२ तिमो. ३:१) त्यसोभए, हामीलाई कुन कुराले मदत गर्न सक्छ त?
२ बाइबलको दृष्टिकोण अपनाउनुहोस्: धनसम्पत्तिको पछि लाग्दा आध्यात्मिक पतन हुन सक्छ भनी परमेश्वरको वचनले हामीलाई चेताउनी दिन्छ। (उप. ५:१०; मत्ती १३:२२; १ तिमो. ६:९, १०) अहिलेको निर्णायक घडीमा सभा, अध्ययन तथा सेवकाईजस्ता आध्यात्मिक गतिविधिहरूलाई आफ्नो जीवनमा दोस्रो स्थानमा राखेर जागिर वा आर्थिक कुराको चिन्तामा चुर्लुम्मै डुब्नु हामी सबैको लागि खतरनाक साबित हुन सक्छ। (लूका २१:३४-३६) त्यसको ठीक विपरीत बाइबल यस्तो सल्लाह दिन्छ: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमो. ६:७, ८.
३ यसको मतलब मसीहीहरूले दरिद्र जीवन बिताउनुपर्छ भनेको पटक्कै होइन। तर यसले हामी जुन ठाउँमा बस्छौं, त्यहाँको गाँस, बास र कपाससम्बन्धी नभै नहुने आवश्यकताहरू के-के हुन् भनेर बुझ्न मदत गर्छ। यदि हामीसित जीवन धान्न चाहिने आवश्यक कुरा छ भने, जीवनस्तर उकास्न बेकारको दौडधूप गर्नु हुँदैन। कुनै कुरा किन्ने वा थप कार्यभार वहन गर्ने विचार गर्दा, आफैलाई यस्तो प्रश्न सोध्नु बेस हुन्छ: ‘के यो साँच्चै जरुरी छ?’ यसो गर्दा हामीलाई प्रेरित सल्लाहमा ध्यान दिन मदत मिल्नेछ: “रूपैयाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो।”—हिब्रू १३:५.
४ हामीले यहोवामा भरोसा राख्यौं भने, उहाँले हामीलाई मदत गर्नुहुनेछ। (हितो. ३:५, ६) दैनिक आवश्यकताहरू पूरा गर्न हामीले निकै कडा परिश्रम गर्नुपरे तापनि हामी आफ्नो जीवनलाई यसै कुरामा केन्द्रित भने गर्दैनौं। हामीसँग थोरै होस् वा धेरै, हामी हाम्रा आवश्यकताहरूको लागि यहोवामै भर पर्छौं। (फिलि. ४:११-१३) फलस्वरूप अन्य आशिष्हरूसँगसँगै हामी ईश्वरीय सन्तुष्टिको आनन्द पनि उठाउँछौं।
५ अरूको विश्वासको अनुकरण गर्नुहोस्: सच्चाइको मार्गमा आफ्नी छोरीलाई हुर्काइरहेकी एउटी आमाले आफ्नो जीवनलाई बिस्तारै सरल बनाउँदै लगिन्। पहिला तिनी सुविधासम्पन्न घरमा बस्थिन् तर अब तिनी सानो घरमा सरिन् र पछि एउटा अपार्टमेन्टमा बस्न थालिन्। यसले गर्दा तिनले जागिरमा कम समय बिताएर सेवकाईमा बढी समय बिताउन सकिन्। तिनकी छोरी ठूली भएर विवाह गरेपछि आफ्नो आम्दानी घट्ने भए तापनि आमाले जागिरबाट छिटै अवकाश लिइन्। अहिले यस बहिनीले नियमित अग्रगामी गरेको सात वर्ष भइसक्यो र आफ्नो जीवनमा परमेश्वरको राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिनको लागि भौतिक त्यागहरू गरेकोमा तिनलाई अलिकति पनि पछुतो छैन।
६ एक जना प्राचीन तथा तिनकी पत्नीले तीन जना छोराछोरीलाई हुर्काउनुका साथसाथै धेरै वर्षसम्म अग्रगामी गरे। परिवारको हैसियतमा उनीहरूले आफ्नो चाहनालाई नभई आवश्यकतालाई पूरा गरेर सन्तुष्ट हुन सिके। भाइ यस्तो टिप्पणी गर्छन्: “हामीले सरल जीवन बिताउनुपर्थ्यो। कहिलेकाहीं निकै कठिन अवस्थाबाट गुज्रनुपरे तापनि यहोवाले हामीलाई चाहिएको कुरा सधैं जुटाइदिनुभएको छ। यसरी मेरो परिवारले आध्यात्मिक कुरालाई प्राथमिकता दिएको हेर्न पाउँदा मलाई सबै कुरा वास्तवमा जस्तो हुनुपर्ने हो त्यस्तै भइरहेको छ भन्ने अनुभूति हुनुका साथै आफूले केही गर्न सकेंजस्तो लाग्छ।” तिनकी पत्नी अझ यसो भन्छिन्: “[मेरो पति] आध्यात्मिक कामकुरामा व्यस्त भएको देख्दा म गहिरो आन्तरिक सन्तुष्टि महसुस गर्छु।” आफ्नो आमाबाबुले यसरी यहोवाको पूर्ण-समय सेवा गर्ने निर्णय गरेकोमा छोराछोरी पनि खुसी छन्।
७ भौतिक कुराको पछि लाग्नुको सट्टा यस्तो ईश्वरीय भक्तिको मार्ग रोज्नेहरूले अहिले अनि निकट भविष्यमा प्रचुर आशिष् पाउनेछन् भनी बाइबलले प्रतिज्ञा गरेको छ।—१ तिमो. ४:८.