‘ग्रहण गर्नुहोस्’
१ एक चोटि आफ्ना चेलाहरूसित विवाहबारे कुराकानी गर्ने क्रममा येशूले अविवाहित रहनुलाई ‘एउटा वरदानको’ रूपमा संकेत गर्नुभयो। त्यसपछि उहाँले यसो भन्नुभयो: “ग्रहण गर्नसक्नेले त्यो ग्रहण गरोस्।” (मत्ती १९:१०-१२, NW) केही वर्षपछि, प्रेरित पावलले अविवाहित रहनुका लाभहरूबारे लेखे र अविवाहित रहने सन्दर्भमा आफ्नो उदाहरण पछ्याउन अरूलाई प्रोत्साहित गरे। (१ कोरि. ७:७, ३८) आज धेरैले अविवाहित रहने कुरालाई ‘ग्रहण’ गर्नुका साथै यसका लाभहरू उठाइरहेका छन्। ती लाभहरूमध्ये केही के हुन्?
२ “बाधा विना” सेवा गर्ने: अविवाहित रहेकै कारण आफूले “बाधा विना” यहोवाको सेवा गर्ने सुअवसर पाएको कुरा पावललाई थाह थियो। त्यस्तै गरी आज, अविवाहित भाइले मिनिस्टेरियल ट्रेनिङ स्कूलको लागि निवेदन दिन सक्छन्। अनि सामान्यतया अविवाहित व्यक्ति अग्रगामीको काम गर्न, अर्को भाषा सिक्न, आवश्यकता बढी भएको ठाउँमा बसाइँ सर्न, बेथेलमा सेवा गर्न वा सेवाका अन्य विशेष सुअवसरहरूको निम्ति धेरै हदसम्म स्वतन्त्र हुन्छन्। गहन व्यक्तिगत अध्ययन अनि मनन गर्न र हार्दिक प्रार्थनामा यहोवासित कुराकानी गर्न तिनले धेरै समय तथा मौका पाउन सक्छन्। अरूलाई सहयोग गर्ने सन्दर्भमा पनि अविवाहित व्यक्तिले धेरै समय दिन सक्छन्। यी सबै काम “आफ्नै लाभको निम्ति” हो।—१ कोरि. ७:३२-३५; प्रेरि. २०:३५.
३ परमेश्वरलाई चढाइने यस्तो बाधाविनाको सेवाले प्रचुर इनामहरू ल्याउँछ। केन्यामा २७ वर्ष सेवा गरिसकेकी एउटी अविवाहित बहिनीले यस्तो लेखिन्: “त्यहाँ धेरै साथीहरू अनि प्रशस्त काम थियो! हामीले मिलेर कामकुरा गऱ्यौं [र] एक-अर्काकहाँ पालैपालो जाने गर्थ्यौं। . . . अविवाहित अवस्थाले प्रदान गरेको बढी स्वतन्त्रता र गतिशीलतालाई सेवकाईमा व्यस्त रहन प्रयोग गर्न सकें र यसबाट मैले ठूलो आनन्द पाएकी छु। तिनी अझै यसो भन्छिन्: “बितेका वर्षहरूको दौडानमा, यहोवासितको मेरो सम्बन्ध गहिरो भएर गएको छ।”
४ यसलाई ग्रहण गर्ने: अविवाहित रहने वरदान विकास गर्नुको मुख्य उद्देश्य “स्वर्गराज्यको निम्ति” हुनुपर्छ भनेर येशूले बताउनुभयो। (मत्ती १९:१२) अन्य वरदानजस्तै आनन्द तथा लाभहरू उठाउन अविवाहित अवस्थालाई पनि सही ढंगमा प्रयोग गर्नै पर्छ। अविवाहित रहँदा पाइने सुअवसरहरूको लाभ उठाउनुका साथै बुद्धि र शक्तिको लागि यहोवामाथि भरोसा गरेर थुप्रै अविवाहित मानिसहरूले यो वरदान ग्रहण गर्नुको महत्त्व बुझेका छन्।