पवित्र र प्रशंसायोग्य बाहिरी रूप
१. जिल्ला अधिवेशनको लागि तयारी गर्दा हामीले किन हाम्रो बाहिरी रूपलाई ध्यान दिनुपर्छ?
१ “यहोवाका साक्षीहरू एकदमै असल मानिसहरू हुन्! तपाईंका मानिसहरू दयालु छन् र चिटिक्क मिलेको लुगा लगाउनुका साथै अरूको गहिरो आदर गर्छन्।” गत वर्ष सम्पन्न एउटा जिल्ला अधिवेशनमा होटलको एक जना मान्छेले हाम्रा भाइबहिनीहरूबारे त्यसो भने। अर्को अधिवेशनमा चाहिं होटलका एक जना कर्मचारीले यस्तो टिप्पणी गरे: “तपाईंका मानिसहरू परमेश्वरलाई प्रसन्न तुल्याउने किसिमको लुगाफाटा लगाउँछन् भन्ने कुरा स्पष्ट छ।” हो, अधिवेशन आएका प्रतिनिधिहरूलाई अरूले याद गरिरहेका हुन्छन्। त्यसकारण हामी “सुसमाचारको योग्य” पहिरन लगाउन चाहन्छौं र यसले गर्दा अक्सर बाहिरका मानिसहरू हाम्रो सराहना गर्न उत्प्रेरित हुनुका साथै यसले हामी परमेश्वरका सेवकहरू हौं भन्ने कुरा छर्लङ्ग पार्छ। (फिलि. १:२७) जिल्ला अधिवेशनको लागि तयारी गर्दा हाम्रो बाहिरी रूपमा पहिल्यै ध्यान पुऱ्याउनु उचित हुन्छ।
२. पवित्रता झल्काउने किसिमको पहिरन लगाउनु र कोरीबाटी गर्नु किन सजिलो छैन?
२ चेला याकूबले यस्तो लेखे, “जुन ज्ञान माथिबाट आउँछ, पहिले ता त्यो पवित्र . . . हुन्छ।” (याकू. ३:१७) हाम्रो बाहिरी रूपमा पवित्रता झल्काउनु सजिलो नहुन सक्छ। शैतानको अनैतिक संसारले मानिसहरूलाई अभद्र, उत्ताउलो र अनौठो किसिमका स्टाइलहरू नक्कल गर्न प्रभाव पार्छ जुन उचित होइन। (१ यूह. २:१५-१७) तसर्थ, पहिरन तथा कोरीबाटीसित सम्बन्धित निर्णयहरू गर्दा हामीले “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर हामीले यस वर्त्तमान युगमा आत्मसंयम . . . को जीवनमा रहनुपर्दछ भन्ने” बाइबलको सल्लाहलाई ध्यान दिनु जरुरी छ। (ती. २:१२) चाहे हाम्रा भाइबहिनीहरू होऊन् वा होटल तथा रेष्टुराँका कर्मचारी अथवा अन्य पर्यवेक्षकहरू नै किन नहोऊन्, आफ्नो बाहिरी रूपद्वारा हामी अरूलाई बाधा पुऱ्याउन चाहँदैनौं।—१ कोरि. १०:३२, ३३.
३. कस्ता प्रश्नहरूले हामीलाई हाम्रो बाहिरी रूप जाँच्न मदत गर्नेछ?
३ भद्र, चिटिक्क मिलेको पहिरन: अधिवेशनको लागि तयारी गर्दा आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘के मेरो लुगाफाटा भद्र किसिमको छ अथवा के यसले मप्रति अरूको अनावश्यक ध्यान खिच्छ? के यसले अरूका भावनाहरूप्रति आदर झल्काउँछ? के मेरो ब्लाउज एकदमै छाती खुलेको अथवा एकदमै छोटो छ? के मेरा लुगाहरू पारदर्शी अथवा छिपिक्क टाँसिने किसिमका छन्? के मेरो लुगा सफा र दुर्गन्धरहित छ? बिहान होटलले निश्शुल्क प्रबन्ध गर्ने चमेना खान जाँदा अथवा अधिवेशन कार्यक्रमपछि आराम गर्दा के मेरो बाहिरी रूप एक जना सेवकको जस्तो सफासुग्घर हुनेछ अथवा के मेरो लुगाफाटा भद्दा, रङ खुइलिएको, असाध्यै अनौपचारिक हुनुका साथै बिल्ला लगाएको अधिवेशन प्रतिनिधिको लागि अनुपयुक्त किसिमको हुनेछ? के फुर्सदको समयमा मैले लगाउने लुगाले मलाई अनौपचारिक रूपमा साक्षी दिन अप्ठ्यारोमा पार्नेछ?’—रोमी १५:२, ३; १ तिमो. २:९.
४. बाहिरी रूपलाई पवित्र बनाउन अरूले कसरी हामीलाई मदत गर्न सक्छन्?
४ परिपक्व मसीहीहरूले दिने सुझावहरूबाट हामी लाभ उठाउन सक्छौं। आफूले लगाएको लुगा अरूलाई कस्तो लाग्न सक्छ भनेर पत्नीहरूले आफ्ना पतिहरूलाई सोध्नुपर्छ। यस सन्दर्भमा ईश्वरभीरु आमाबाबुले आफ्ना किशोर-किशोरी छोराछोरीलाई मदत गर्न सक्छन्। यसबाहेक, श्रद्धेय वृद्ध बहिनीहरूले आफ्नो बाहिरी रूपको विषयमा “तरूणीहरूलाई . . . आत्मसंयमी, पतिव्रता” हुन सिकाउन सक्छन् ताकि “परमेश्वरका वचन निन्दा हुन नपाओस्।” (ती. २:३-५) भद्र, चिटिक्क मिलेको लुगाफाटाको सन्दर्भमा हाम्रा प्रकाशनहरूमा मदतकारी चित्रहरू पाउन सकिन्छ।
५. अधिवेशनको दौडान हामी सबैले कसरी यहोवाको प्रशंसा गर्न सक्छौं?
५ यहोवाको प्रशंसा गर्नुहोस्: जिल्ला अधिवेशनहरूले कार्यक्रममा भाग लिने व्यक्तिहरूका लागि मात्र नभई हामी सबैको लागि यहोवाको प्रशंसा गर्ने एउटा उत्कृष्ट मौका प्रदान गर्छ। हुन त हो, हाम्रो मसीही चालचलन तथा बोलीले उहाँको आदर गर्नेछ। तर अरूले हामीमा सबैभन्दा पहिला याद गर्ने कुरा भनेकै हाम्रो पहिरन तथा कोरीबाटी हो। हाम्रो पवित्र र प्रशंसायोग्य बाहिरी रूपद्वारा हामी सबै जनाले यहोवाको प्रशंसा गर्न सकौं।—भज. १४८:१२, १३.
[पृष्ठ ६-मा भएको पेटी]
प्रशंसायोग्य बाहिरी रूपका लागि मदतहरू
◼ परमेश्वरको वचन
◼ आत्म-परीक्षण
◼ अरूको सुझाव
◼ मसीही प्रकाशनहरू