ठूलो समुदायमा यहोवालाई धन्यवाद चढाउनुहोस्
१, २. जिल्ला अधिवेशनमा हामी के गर्ने सुअवसर पाउँछौं र कुन-कुन तरिकामा हामी यसो गर्न सक्छौं?
१ वर्षेनी सम्पन्न हुने हाम्रा जिल्ला अधिवेशनहरूमा हामी यहोवाको महिमा गर्ने अद्भुत सुअवसर पाउँछौं। हाम्रा भावनाहरू पनि दाऊदको जस्तै छ, जसले यसो भन्दै भजन गाएका थिए: “ठूलो समुदायमा म तपाईंमा धन्यवाद चढाउनेछु। धेरै मानिसहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” (भज. ३५:१८) आगामी “ईश्वरीय आज्ञाकारिता” विषयक जिल्ला अधिवेशनमा एकताबद्ध भई यहोवाको प्रशंसा गर्न हामी कसरी कटिबद्ध हुन सक्छौं?
२ हामीले यसो गर्न सक्ने एउटा तरिका हाम्रो आचरणद्वारा हो। एउटा अधिवेशनभवनको एक जना व्यवस्थापकले यसो भने: “तपाईंहरूले आयोजना गर्नुहुने अधिवेशनहरूको आधारमा हामीले भवन भाडामा लिन चाहने अरू धार्मिक समूहहरूलाई यहोवाका साक्षीहरूले कसरी अधिवेशनको प्रबन्ध मिलाउँछन् आएर हेर्न भनेका छौं किनभने तपाईंहरू एकदमै व्यवस्थित ढङ्गमा प्रबन्धहरू मिलाउनुहुन्छ।” हाम्रो बाहिरी रूप, हाम्रो सहयोग र आचरणद्वारा हामी सबैले यस्तो प्रशंसा कमाउने काममा योगदान पुऱ्याउन सक्छौं र यस्तो प्रशंसा गरिन लायक हाम्रा परमेश्वर मात्रै हुनुहुन्छ।—१ पत्रु. २:१२.
३, ४. हामीलाई अधिवेशन तथा अधिवेशन कार्यक्रमपछि पनि मसीही सेवकहरूलाई सुहाउने किसिमको पहिरन लगाउन नम्रताले कसरी मदत गर्नेछ?
३ व्यक्तिगत रूप: यहोवाको प्रशंसा हुने किसिमको पहिरन लगाउन तथा कोरीबाटी गर्न नम्रता चाहिन्छ। (१ तिमो. २:९) मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ १३२ यसो भन्छ: “नम्र व्यक्ति अरूलाई बेकारमा ठक्कर नपुऱ्याउन र आफूप्रति अनावश्यक ध्यान नखिच्न सजग हुन्छन्।” थुप्रै मुलुकमा अभद्र किसिमको पहिरन लगाउनु सामान्य भएको छ। तथापि, उचित ढङ्गमा यहोवाको प्रतिनिधित्व गर्न हामीले गर्ने प्रयासको उहाँ मोल गर्नुहुन्छ। (प्रेरि. १५:१४) खेलकुद हुने अथवा मनोरञ्जन गर्ने ठाउँहरूमा अधिवेशन आयोजना हुने भए तापनि तीन दिनको अधिवेशनको दौडान त्यो जमघट हाम्रो लागि “ठूलो समुदाय” बन्छ। तसर्थ, यहोवासामु भेला हुँदा हाम्रो पहिरन ब्रह्माण्डका सर्वोच्च व्यक्तिको मान हुने किसिमको मर्यादित हुनुपर्छ।—१ इति. २९:११.
४ हरेक दिनको कार्यक्रमपछिका समयहरूमा पनि हामीले आफ्नो बाहिरी रूपमा ध्यान दिनु आवश्यक छ। हामीलाई फुर्सतको समयमा अथवा रेष्टुराँमा खाना खान जाँदा सजिलो महसुस हुने पहिरन लगाउन मनपरे तापनि हाम्रो पहिरन तथा कोरीबाटी “परमेश्वरको भक्ति गर्ने” व्यक्तिहरूलाई सुहाउने किसिमको हुनु आवश्यक छ। (१ तिमो. २:१०, NRV) संसारमा जे प्रचलित छ त्यसको आधारमा स्वीकार्य पहिरन निर्धारण गर्नु मिल्दैन। (१ यूह. २:१६, १७) विभिन्न परिस्थितिमा पुरुष तथा स्त्रीहरूले भद्र अनि चिटिक्क मिलेको पहिरनहरू लगाएका मदतकारी चित्रहरू हाम्रा मसीही प्रकाशनहरूमा पाउन सकिन्छ। अधिवेशन हुने सहरमा हुँदा हामीले लगाउने बिल्लाले हर समय हामी मसीही सेवकहरू हौं भन्ने कुराको सम्झना दिलाउनेछ।—२ कोरि. ६:३, ४.
५, ६. यहोवाको आध्यात्मिक टेबुलप्रति हामी कसरी आदर देखाउन सक्छौं?
५ यहोवाको टेबुलको आदर गर्नुहोस्: सार्वभौम यहोवाले हाम्रो अगाडि भोज लगाउनुभएको छ। (यशै. २५:६; १ कोरि. १०:२१) यहोवाको आध्यात्मिक टेबुलमा सहभागी हुन पाउनुलाई ठूलो कदर गऱ्यौं भने हामी तीनै दिन अधिवेशनमा उपस्थित हुने लक्ष्य राख्नेछौं। के तपाईंले आवास, यातायात र कामबाट छुट्टीको प्रबन्ध मिलाइसक्नुभयो? सिटहरू खोज्नको लागि अधिवेशनस्थल चाँडै आइपुग्न, भाइबहिनीसित सरसंगत गर्न र उनीहरूसित मिलेर सुरुको गीत तथा प्रार्थनामा यहोवाको प्रशंसा गर्न के तपाईंले तयारी अनि यात्राको लागि पर्याप्त समय छुट्याउनुभएको छ?—भज. १४७:१.
६ यहोवाको टेबुलप्रतिको आदरले हामीलाई कार्यक्रम ध्यान दिएर सुन्न र काम न काज अरूसित गफ नगर्न, नखान अथवा बरण्डाहरूमा नडुल्न मदत गर्नेछ। विश्वासी र बुद्धिमान् दासमार्फत यहोवाले अहिले हामीलाई आवश्यक आध्यात्मिक खाना उपलब्ध गराइरहनुभएको छ। (मत्ती २४:४५) हामीले एउटै पनि कार्यक्रम छुट्न दिनु हुँदैन। आमाबाबुहरू आफ्ना छोराछोरीसितै बस्नुपर्छ र कार्यक्रमबाट पूरापूर लाभ उठाउन उनीहरूलाई मदत गर्नुपर्छ।—व्यव. ३१:१२.
७. दिउँसोको खानाको लागि के गर्न हामीलाई आग्रह गरिएको छ र किन?
७ दिउँसो खाना खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा बरु खाना लिएर आउन आग्रह गरिन्छ। गत वर्षको अधिवेशनमा अधिकांश प्रतिनिधिहरूले होसियारीसाथ यो निर्देशन पालन गरेर निकै सराहनीय काम गरे। यो वर्ष पनि सबैले यसै गरे कत्ति राम्रो हुनेछ! (हिब्रू १३:१७) यस प्रबन्धले हाम्रा भाइहरूसितको उत्थानदायी संगतिबाट आनन्द उठाउने सुअवसर प्रदान गर्नुका साथै यहोवाको आदर गर्ने एकता र शान्तिपूर्ण वातावरण पनि कायम हुन्छ।—भज. १३३:१.
८, ९. अधिवेशनले यहोवाको प्रशंसा गर्ने कस्तो थप सुअवसर प्रदान गर्नेछ?
८ अनौपचारिक साक्षी दिने: अधिवेशनस्थल जाँदा र त्यहाँबाट फर्कंदा आफ्नो ओठले यहोवाको प्रशंसा गर्ने हामी थुप्रै सुअवसरहरू पाउँछौं! (हिब्रू १३:१५) रेष्टुराँमा खाँदा होस् वा होटलका कर्मचारीसित कुरा गर्दा, हामी साक्षी दिने तरिकाहरू खोजिरहौं। हाम्रो मन र हृदय अधिवेशनमा प्राप्त गरिने आध्यात्मिक धनसम्पत्तिले टन्न भरिनेछ। आउनुहोस्, अनौपचारिक रूपमा भेट हुने व्यक्तिहरूसित हामी यी असल कुराहरू बाँडौं।—१ पत्रु. ३:१५.
९ “समुदायहरूमा” यहोवाको प्रशंसा गर्ने यस सुअवसरको हामी उत्कटसाथ प्रतीक्षा गर्छौं। (भज. २६:१२) “ईश्वरीय आज्ञाकारिता” जिल्ला अधिवेशनमा हामी एकताबद्ध भई यहोवालाई धन्यवाद दिन सकौं।
[पृष्ठ ५-मा भएको पेटी]
जिल्ला अधिवेशनका सम्झौटाहरू
◼ कार्यक्रमको समय: तीनै दिन कार्यक्रम बिहान ९:३० बजे सुरु हुनेछ। बिहान ८:०० बजे अधिवेशनभवनका ढोकाहरू खोलिनेछन्। कार्यक्रमको सुरुको गीत गाउनुअघि केही मिनेट बजाइने राज्य धुन बजिरहेको बेला अध्यक्ष मञ्चमा आएर बसिसकेका हुन्छन्। त्यतिखेर हामी सबै जना आ-आफ्नो सिटमा बस्नुपर्छ किनभने यसो गर्दा कार्यक्रम मर्यादित ढङ्गमा सुरु हुन सक्नेछ। शुक्रबार र शनिबार कार्यक्रम साँझ ५:०५ मा समाप्त हुनेछ भने आइतबारचाहिं साँझ ४:१० समाप्त हुनेछ।
◼ पार्किङ: पार्किङ गर्ने ठाउँहरू पनि जिम्मा लिइएका सम्पूर्ण अधिवेशनस्थलहरूमा कुनै शुल्क नलिइकन पहिला आउने व्यक्तिलाई पहिलो प्राथमिकता दिएर पार्किङ गर्ने ठाउँ उपलब्ध गराइनेछ। अधिवेशनको बिल्ला लगाएको आधारमा पार्किङ गर्न दिइनेछ। पार्किङ गर्ने ठाउँ साधारणतया सीमित हुने भएकोले एउटा गाडीमा एक जना वा दुई जना मात्र आउनुभन्दा सकेसम्म एउटै गाडीमा मिलाएर आउनुहोस्।
◼ सिट रोक्ने: एउटै घरमा बस्ने अथवा आफ्ना बाइबल विद्यार्थीहरूका लागि मात्र सिट रोक्न सकिन्छ।
◼ अनुदान: जिल्ला अधिवेशनको प्रबन्ध मिलाउन धेरै नै खर्च हुन्छ। राज्यभवन अथवा अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी आफ्नो कृतज्ञता प्रकट गर्न सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “वाच टावर”-को नाउँमा भुक्तान गरिनुपर्छ।
◼ दिउँसोको खाना: दिउँसो खाना खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा बरु कृपया खाना लिएर आउनुहोस्। सिटको मुन्तिर राख्न मिल्ने सानो खानदान प्रयोग गर्न सकिन्छ। ठूलो परिवारलाई उपयुक्त हुने पिकनिक खानदान, फुट्ने भाँडाकुँडा र मादक पेय पदार्थहरू अधिवेशनस्थलमा ल्याउन मनाही छ।
◼ रेकर्डिङ: रेकर्ड गर्ने कुनै पनि किसिमका यन्त्रहरू सभाभवनको विद्युतीय अथवा ध्वनि प्रणालीमा जोड्नु हुँदैन र अरूलाई बाधा नपुऱ्याउने किसिमले मात्र यसलाई प्रयोग गर्न सकिन्छ।
◼ फोटो खिच्ने: कार्यक्रमको दौडान फोटो खिच्नुभयो भने क्यामराको फ्ल्यास् प्रयोग नगर्नुहोस्।
◼ पेजर तथा मोबाइल फोन: यिनीहरूलाई अरूको ध्यान भङ्ग नगर्ने किसिमले आवाज नआउने गरी मिलाएर राख्नुपर्छ।
◼ दुर्घटना तथा आपत्कालीन अवस्था: अधिवेशनस्थलमा चिकित्सासम्बन्धी आपत्कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्, जसले प्राथमिक उपचार विभागलाई तुरुन्त जानकारी दिनेछन्। यसो गर्दा अधिवेशनस्थलमा भएका हाम्रा प्राथमिक उपचारका दक्ष भाइहरूले अवस्था कतिको गम्भीर छ र मदत गर्नुपर्छ कि पर्दैन, त्यसबारे निर्धारण गर्नेछन्।
◼ रेष्टुराँ: थुप्रै ठाउँमा सेवाअनुसार टिप्स दिने चलन छ।
◼ होटलहरू: (१) साँच्चै चाहिनेभन्दा बढी कोठाहरू रिजर्भ नगर्नुहोस् र अनुमति पाएभन्दा बढी मानिसहरूलाई आफ्नो कोठामा नराख्नुहोस्। (२) आफूले गरेको रिजरभेसन रद्द गर्नुपरेमा होटललाई तुरुन्त खबर गरिहाल्नुहोस्। (३) सामान ओसार्न लगेज कार्ट साँच्चै चलाउनुपर्छ भने मात्र लिनुहोस्। (४) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्। (५) कोठा सफा गर्ने हाउसकिपरको लागि हरेक दिन टिप्स छोडिराख्नुहोस्। (६) आफ्ना पाहुनाहरू होटलमा बसुन्जेल होटलले निश्शुल्क प्रबन्ध गर्ने बिहानको ब्रेकफास्ट, कफी अथवा बरफजस्ता कुनै पनि प्रबन्धको नाजायज फाइदा नउठाउनुहोस्। (७) विशेष गरी एकदमै व्यस्त हुने चेक-इन र चेकआउटको बेलामा होटलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा आत्माको फल प्रदर्शन गर्नुहोस्।