येशूको मनोवृत्ति अनुकरण गर्नुहोस्
१. येशूले कस्तो मनोवृत्ति देखाउनुभयो?
१ हामीले परमेश्वरको पुत्रलाई कहिल्यै नदेखेको भए तापनि येशूको जीवनी र सेवकाईको लिखित विवरण पढेर हामीले उहाँलाई साँच्चै प्रेम गर्न थालेका छौं। (१ पत्रु. १:८) आफ्नो पिताको इच्छा पालन गर्दै आफ्नो महिमित स्वर्गीय स्थान छोडेर उहाँ पृथ्वीमा आउनुभयो। मानवको हैसियतमा उहाँले निःस्वार्थपूर्वक अरूको सेवा गर्नुभयो र मानिसजातिको खातिर आफ्नो जीवन अर्पण गर्नुभयो। (मत्ती २०:२८) परमेश्वरको वचन हामीलाई यस्तो आग्रह गर्छ: “तिमीहरूमा यो मन होस्, जो ख्रीष्टमा पनि थियो।” हामी कसरी उहाँको आत्मत्यागी मनोभाव अनुकरण गर्न सक्छौं?—फिलि. २:५-८.
२. थुप्रै मसीहीहरूले कस्तो चुनौतीको सामना गर्छन् र यसमाथि विजयी हुन कुन कुराले उनीहरूलाई मदत गर्न सक्छ?
२ थकित हुँदा: येशू सिद्ध हुनुभए तापनि उहाँ थकित हुनुभयो। एक चोटि, “यात्राले थाक्नु” भएको बेलामा पनि उहाँले सामरी आइमाईलाई विस्तृत साक्षी दिनुभयो। (यूह. ४:६) आज थुप्रै मसीहीहरूले त्यस्तै प्रकारका चुनौतीहरूको सामना गर्छन्। हप्ताभरिको थकाइलाग्दो कामपछि प्रचारकार्यमा भाग लिन बल नै नहुन सक्छ। तथापि, हामीले प्रचारकार्यमा नियमित रूपमा भाग लिइरह्यौं भने मसीही सेवकाईले हामीलाई आध्यात्मिक तवरमा फुर्तिलो बनाएको पाउनेछौं।—यूह. ४:३२-३४.
३. सिकाउने सन्दर्भमा हामी कसरी येशूको इच्छुकताको अनुकरण गर्न सक्छौं?
३ अर्को एउटा अवसरमा चाहिं, एकैछिन थकाइ मार्न येशू र उहाँका चेलाहरू सुटुक्क एकान्त ठाउँतिर जानुभएको थियो। तथापि, एउटा ठूलो भीडले उहाँहरूलाई भेट्टाइहाल्यो र उहाँहरूलाई भेट्न तिनीहरू अघि-अघि दौडे। दिक्क मान्नुको सट्टा येशू “तिनीहरूमाथि टिठाउनुभयो” र “तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (मर्कू. ६:३०-३४) बाइबल अध्ययन सुरु तथा सञ्चालन गर्न पनि त्यस्तै मनोवृत्ति चाहिन्छ। यसको लागि अथक प्रयास र मानिसहरूप्रतिको साँचो प्रेम आवश्यक छ। यदि तपाईंले हालै बाइबल अध्ययन सञ्चालन गर्नुभएको छैन भने, एउटा भए पनि खोज्न हरेस नखानुहोस्।
४. सहायक अग्रगामीले हामीलाई कसरी ख्रीष्टको मनोवृत्ति अनुकरण गर्न मदत गर्छ?
४ आध्यात्मिक क्रियाकलापलाई प्राथमिकता दिनुहोस्: सहायक अग्रगामीले हामीलाई आध्यात्मिक गतिविधिहरूमा अझ बढी ध्यान केन्द्रित गर्न मदत दिन सक्छ। एउटी जवान बहिनीले यस्तो लेखिन्: “मेरो एक जना साथीकी आमाले हामी दुवै जनालाई एक महिनाको लागि उहाँसँगै सहायक अग्रगामी गर्ने प्रोत्साहन दिनुभयो। उहाँसँगै अग्रगामी गरेकोमा म साँच्चै खुसी छु। भाइबहिनीहरूलाई अझ राम्रोसित चिन्न पाएकोमा मलाई निकै रमाइलो लाग्यो र धेरै समय नबित्दै मलाई उहाँहरू आफ्नो परिवार सरह लाग्न थाल्यो। अरू मानिसहरूलाई यहोवाबारे बताउने धेरैभन्दा धेरै सुअवसर पाएकोमा र उनीहरूलाई अद्भुत राज्य सत्य सिकाउन पाएकोमा पनि मलाई निकै आनन्द लाग्यो। यी सम्पूर्ण कुराहरूले गर्दा मैले यहोवा अनि उहाँको संगठनसित नजिक भएको महसुस गरें।”—भज. ३४:८.
५. हामीले किन येशूको मनोवृत्ति अनुकरण गर्ने प्रयास गरिरहनै पर्छ?
५ हामी सबै जनाले हाम्रो असिद्ध शरीर र यहोवालाई प्रसन्न तुल्याउन चाहने हाम्रो इच्छाबीचको द्वन्द्व सामना गर्छौं। (रोमी ७:२१-२३) हामीले संसारको अनिच्छुक आत्माको प्रतिरोध गर्नै पर्छ। (मत्ती १६:२२, २३) आफ्नो पवित्र आत्माद्वारा यहोवाले हामीलाई यसमा सफल हुन मदत गर्न सक्नुहुन्छ। (गला. ५:१६, १७) परमेश्वरको धार्मिक नयाँ संसारमा प्रवेश गर्ने समयको प्रतीक्षा गर्दै गर्दा राज्यका क्रियाकलाप तथा आफ्नो भन्दा अरूको कुरालाई प्राथमिकता दिएर हामी येशूको मनोवृत्ति अनुकरण गर्न सकौं।—मत्ती ६:३३; रोमी १५:१-३.