नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्त लक्ष्य
१. नयाँ सेवा वर्षमा हामी कस्तो लक्ष्य राख्ने विचार गर्न सक्छौं?
१ आध्यात्मिक प्रगति गर्न लक्ष्यहरू राख्नैपर्छ। नयाँ सेवा वर्षमा कस्ता लक्ष्यहरू राख्ने विचार गर्नुभएको छ? एक वा केही महिना सहायक अग्रगामी सेवा गर्नु हामीले राख्न सक्ने एउटा राम्रो लक्ष्य हो। यो रमाइलो सेवा गर्न पहिल्यै राम्रो योजना बनाउनुपर्छ। त्यसैले सहायक अग्रगामी सेवा गर्न चाहनुहुन्छ भने अहिलेदेखि योजना बनाउनुहोस्। तर सहायक अग्रगामी सेवालाई लक्ष्य किन बनाउने?
२. सहायक अग्रगामी सेवा गर्ने लक्ष्य किन राख्न सक्छौं?
२ सहायक अग्रगामी सेवा गर्नुपर्ने कारणहरू: सहायक अग्रगामी सेवा, प्रचारकार्यमा धेरै समय बिताएर हाम्रो पिता यहोवालाई “झन्” खुसी पार्ने राम्रो मौका हो। (१ थिस्स. ४:१) यहोवाले हाम्रो लागि गर्नुभएका सबै कुराले अरूलाई उहाँबारे बताउन हामीलाई उत्प्रेरित गर्छ। (भज. ३४:१, २) प्रचारकार्यमा अझ धेरै योगदान पुऱ्याउन हामीले गरेका त्यागहरू यहोवा बिर्सनुहुन्न; बरु त्यसको कदर गर्नुहुन्छ। (हिब्रू ६:१०) हाम्रो मिहेनत देखेर यहोवा खुसी हुनुहुन्छ भनेर थाह पाउँदा हामीलाई पनि आनन्द लाग्छ।—१ इति. २९:९.
३, ४. सहायक अग्रगामी सेवा गर्दा कस्ता फाइदा हुन्छन्?
३ अक्सर कुनै कुरा जति धेरै गर्छौं, उति नै त्यो रमाइलो हुँदै जान्छ। प्रचारमा धेरै समय बिताउँदा घर-घर प्रचार गर्न हामी अझ निर्धक्क हुनेछौं। कुराकानी सुरु गर्न र बाइबल प्रयोग गर्न तपाईं अझै सिपालु हुनुहुनेछ। परमेश्वरमाथिको विश्वासबारे जत्ति अरूलाई बताउनुहुन्छ, तपाईंको विश्वास पनि उत्तिनै बलियो हुनेछ। बाइबल अध्ययन नहुनेहरूले पनि सहायक अग्रगामी सेवा गरेपछि बाइबल अध्ययन सुरु गर्न सकेका छन्।
४ हामी एकोहोरो भइरहेका छौं भने सहायक अग्रगामी सेवाले हाम्रो आध्यात्मिक तालिकामा ताजापन ल्याउन सक्छ। एक जना भूतपूर्व नियमित अग्रगामीले जागिरमा धेरै समय खर्च भएको महसुस भएपछि एक महिना सहायक अग्रगामी सेवा गर्ने निर्णय गरे। तिनी भन्छन्: “मैले त पत्याउनै सकिनँ! सहायक अग्रगामी सेवा सुरु गरेको महिना दिनभित्रै मैले आध्यात्मिक तवरमा फुर्तिलो भएको महसुस गरें! त्यसैले सहायक अग्रगामी सेवा गरिनै रहने निर्णय गरें, जसले गर्दा पछि म फेरि नियमित अग्रगामी भएँ।”
५. आफू अयोग्य छु जस्तो लागेको छ भने त्यसलाई कसरी हटाउन सकिन्छ?
५ बाधाहरू पन्छाउने: प्रचार गर्न आफू त्यति सिपालु छु जस्तो नलागेकोले कोही-कोही सहायक अग्रगामी सेवा गर्न हिचकिचाउँछन्। तपाईंलाई पनि यही कारणले गर्दा सहायक अग्रगामी सेवा गर्न डर लागिरहेको भए नडराउनुहोस्, किनकि यर्मियालाई जस्तै तपाईंलाई पनि यहोवा मदत गर्न सक्नुहुन्छ। (यर्मि. १:६-१०) ‘जिब्रो उत्ति नलाग्ने’ र “बोल्नमा ढीलो” भए तापनि यहोवाले आफ्नो उद्देश्य पूरा गर्न मोशालाई प्रयोग गर्नुभयो। (प्रस्थ. ४:१०-१२) आफू अयोग्य छु जस्तो लागेको छ भने यहोवासित सहास माग्नुहोस्।
६. अस्वस्थता अनि बेफुर्सतीको बावजूद सहायक अग्रगामी सेवा गर्नु कसरी सम्भव हुन सक्छ?
६ अस्वस्थता वा बेफुर्सतीले गर्दा पो सहायक अग्रगामी सेवा गर्न हिचकिचाउनुभएको हो कि? अशक्त हुनुहुन्छ भने, आफूलाई सुविधा हुनेगरि प्रचार गरेर पनि सहायक अग्रगामी सेवा गर्न सकिन्छ। एकदमै व्यस्त हुनुहुन्छ भनेचाहिं, कम महत्त्वपूर्ण कामहरूलाई अर्को महिनामा सार्न सकिन्छ। दिनभरि काम गर्नुपर्नेहरूले समेत कामबाट एक-दुई दिन छुट्टी लिएर सहायक अग्रगामी सेवा गर्न सकेका छन्।—कल. ४:५.
७. सहायक अग्रगामी सेवाबारे निरन्तर प्रार्थना गर्नु किन फाइदाजनक छ?
७ कसरी गर्ने: यहोवालाई प्रार्थना गरेर सहायक अग्रगामी सेवा गर्ने इच्छा जाहेर गर्नुहोस्। प्रचारकार्यमा अझ धेरै योगदान पुऱ्याउने तपाईंको इच्छामाथि यहोवाको आशिष् माग्नुहोस्। (रोमी १२:११, १२) तालिका काँटछाँट गर्ने बुद्धि दिएर यहोवाले तपाईंलाई मदत गर्न सक्नुहुन्छ। (याकू. १:५) अग्रगामी गर्न मन लागेको छैन भने प्रचार गर्दा आनन्दित हुन सकूँ भनेर यहोवालाई बिन्ती गर्नुहोस्।—लूका १०:१, १७.
८. हितोपदेश १५:२२ ले दिएको सल्लाहअनुसार चल्दा सहायक अग्रगामी सेवा गर्ने कस्तो मदत पाउन सकिन्छ?
८ परिवारसित बसेर सहायक अग्रगामी सेवा गर्ने लक्ष्यबारे छलफल गर्नुहोस्। (हितो. १५:२२) परिवारका सबैले सहयोग गर्दा एक जनाले भए पनि सहायक अग्रगामी सेवा गर्न सक्छन् कि? मण्डलीका भाइबहिनीलाई अग्रगामी सेवा गर्ने आफ्नो इच्छा बताउनुहोस्। अझ तपाईंकै जस्तो परिस्थिति हुनेहरूसित कुरा गरे झन् बेस। यसो गर्दा सहायक अग्रगामी सेवा गर्न अरू पनि उत्साहित हुन सक्छन्।
९. तपाईंले कुन महिनामा सहायक अग्रगामी सेवा गर्ने विचार गर्नुभएको छ?
९ नयाँ सेवा वर्षमा तपाईंलाई कहिले सहायक अग्रगामी सेवा गर्न सक्छु जस्तो लाग्छ? दिनभरि जागिर खानुहुन्छ अथवा स्कूल जानुहुन्छ भने बिदा पर्ने महिनाहरूमा वा पाँचवटा शनिबार र आइतबार पर्ने महिनाहरूमा अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? सेप्टेम्बर, डिसेम्बर, मार्च अनि अगस्तमा पाँच-पाँचवटा शनिबार र आइतबार पर्छन्। मे महिनामा पाँचवटा शनिबार र जूनमा पाँचवटा आइतबार पर्छन्। अस्वस्थ हुनुहुन्छ भने मौसम अक्सर राम्रो हुने महिनाहरू छाने कसो होला? अथवा क्षेत्रीय निरीक्षकको भ्रमण हुने महिनामा अग्रगामी सेवा गर्न चाहनुहुन्छ होला। भ्रमणको बेला अग्रगामी सेवा गर्नुभयो भने नियमित अग्रगामीहरूसित हुने सभाको आधा भागमा तपाईं पनि उपस्थित हुन सक्नुहुन्छ। आगामी साल मार्च २२ मा स्मरणार्थ उत्सव पर्ने भएकोले मार्च, अप्रिल र मे महिनामा अग्रगामी सेवा गर्ने योजना बनाउनु एकदम बेस हुन्छ। कुन-कुन महिना अग्रगामी सेवा गर्ने हो, छान्नुहोस् र तोकिएको घण्टा पुऱ्याउन मदत गर्ने तालिका बनाउन थालिहाल्नुहोस्।
१०. सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्न भने पनि केचाहिं गर्न सक्नुहुन्छ?
१० नयाँ सेवा वर्षमा सहायक अग्रगामी सेवा गर्न सकिंदैन भन्ने लागेको छ भने पनि प्रचारमा जोसिलो भएर अग्रगामी मनोवृत्ति देखाउन सक्नुहुन्छ। आफ्नो क्षमताले भ्याएसम्म प्रचारकार्यमा लाग्नुहोस् र तपाईंले तनमनले चढाएको सेवादेखि यहोवा खुसी हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्। (गला. ६:४) सहायक अग्रगामी सेवा गर्न सक्नेहरूलाई सहयोग गर्नुहोस्, प्रोत्साहन दिनुहोस्। सायद, अग्रगामी सेवा गर्ने भाइबहिनीसित हप्तामा अरू एक दिन प्रचारमा जान सक्नुहुन्छ कि?
११. किन हामीले अब ढिलासुस्ती गर्ने समय होइन भन्ठान्नुपर्छ?
११ थोरै समय बाँकी भएकोले अहिले ढिलासुस्ती गर्ने समय होइन भनेर यहोवाका सेवकहरूले राम्ररी बुझेका छन्। हामीलाई सुम्पिएको जिम्मा अर्थात् सुसमाचार प्रचार गर्ने काम सिध्याउनुपरेको छ। मानिसहरूको जीवन खतरामा परेको छ तर समय भने थोरै छ। (१ कोरि. ७:२९-३१) यहोवा र छिमेकीप्रतिको प्रेमले हामीलाई आफूले सकेजति प्रचारकार्यमा भाग लिन उत्प्रेरित गर्नेछ। प्रयास गऱ्यौं र राम्रो योजना बनायौं भने नयाँ सेवा वर्षमा एक महिना मात्र भए पनि सहायक अग्रगामी सेवा गर्न सक्नेछौं! अनि यो हामीले राख्ने सक्ने उपयुक्त लक्ष्य हो।