यहोवाको न्याय अनुकरण गर्नुहोस्
१ “परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ।” (भज. ३७:२८) यसकारण, यस अभक्त संसारलाई नाश गर्ने निर्णय गर्नुभए तापनि उहाँले पहिला चेतावनी दिने प्रबन्ध मिलाउनुभएको छ। (मर्कू. १३:१०) यसले मानिसहरूलाई पश्चात्ताप गर्ने र बच्ने मौका प्रदान गर्छ। (२ पत्रु. ३:९) के हामी यहोवाको न्याय अनुकरण गर्ने प्रयास गर्छौं? मानव परिवारले भोगिरहेको दुःखकष्टले के हामीलाई अरूसित राज्य आशा बाँड्न उत्प्रेरित गर्छ? (हितो. ३:२७) न्यायलाई प्रेम गर्दा त्यसले हामीलाई सक्रियपूर्वक प्रचारकार्यमा भाग लिन प्रेरित गर्छ।
२ निष्पक्ष भई प्रचार गर्नुहोस्: निष्पक्ष भई सबै जनालाई परमेश्वरको उद्देश्य घोषणा गरेर हामी ‘न्याय गर्छौं।’ (मीका ६:८) बाहिरी रूपको आधारमा अरूलाई ऊ यस्तो होला, उस्तो होला भनेर अनुमान गर्ने असिद्ध झुकावको हामीले प्रतिरोध गर्नै पर्छ। (याकू. २:१-४, ९) “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा” यहोवा गर्नुहुन्छ। (१ तिमो. २:४) परमेश्वरको सत्य वचनले मानिसहरूको जीवनमा उल्लेखनीय परिवर्तनहरू ल्याउन सक्छ। (हिब्रू ४:१२) यस तथ्यलाई बुझेको खण्डमा यसले हामीलाई व्यक्तिविशेषसित, त्यसमा पनि अझ विगतमा कुरा सुन्न इन्कार गरेका व्यक्तिहरूसित समेत निर्धक्क भई कुरा गर्न उत्प्रेरित गर्छ।
३ एउटा पसलमा कार्यरत बहिनीलाई एक जना नियमित ग्राहकको बाहिरी रूप देखेर कताकता डर लाग्थ्यो। तैपनि, अवसर मिल्नासाथ तिनले त्यस व्यक्तिलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको प्रमोदवनबारे साक्षी दिने जमर्को कसिन्। यस्तो दन्त्यकथामा म विश्वास गर्दिनँ भनेर त्यस व्यक्तिले रूखो जवाफ फर्काए अनि आफू हिप्पी र लागूऔषधको दुर्व्यसनी भएको पनि बताए। तरैपनि तिनले हरेस खाइनन्। एक दिनको कुरा हो, त्यस व्यक्तिले उसको लामो कपालबारे कस्तो लाग्छ भनेर बहिनीलाई सोद्धा तिनले कौशलतासाथ त्यस विषयमा बाइबलको दृष्टिकोण बताएकी थिइन्। (१ कोरि. ११:१४) भोलिपल्ट उसको दाह्री पनि सफाचट र कपाल पनि छोटो पारेर काटेको देख्दा बहिनी त छक्क परिन्! उसले बाइबल अध्ययन गर्न चाहे र बहिनीले उसको लागि एक जना भाइको प्रबन्ध मिलाइन्, जसले खुसीसाथ त्यस व्यक्तिको अध्ययन सञ्चालन गरे। त्यस व्यक्तिले समर्पण र बप्तिस्मा लिने हदसम्म उन्नति गरे। ती व्यक्तिजस्तै आज यहोवाको सेवा गरिरहेका अन्य थुप्रै मानिसहरू आफूलाई राज्यसन्देश सुनाउने व्यक्तिहरूको निष्पक्ष, लगनशील प्रयासको लागि कृतज्ञ छन्।
४ यहोवाले चाँडै सारा पृथ्वीबाट अधर्मीहरूलाई नामेट पार्नुहुनेछ। (२ पत्रु. ३:१०, १३) बचेखुचेको थोरै समयमा, सबै मानिसहरूलाई आउँदै गरेको शैतानको अभक्त संसारको नाशबाट बाँच्ने मौका दिएर हामी यहोवाको न्याय अनुकरण गरिरहन सकौं।—१ यूह. २:१७.