यहोवा धार्मिकता र न्यायको प्रेमी
सराइभोकी एक जवान केटीले तिनको शहरमा केटाकेटीहरूले किन यति धेरै दुःख भोग्नु परेको भनेर आफैलाई सोध्छिन्। तिनी भन्छिन्, “हामीले त्यस्तो अचाक्ली दुःख भोग्नुपर्ने कुनै काम गरेका छैनौं। हामी निर्दोष छौं।” अर्जेन्टिना, बुएनोस् आइरेस्को चोकमा चिन्तित आमाहरूले आफ्ना छोराहरू हराएको विरोधमा विगत १५ वर्षदेखि प्रदर्शन गर्दै आएका छन्। इमानुएल नाउँ गरेका एक अफ्रिकाली व्यक्तिका तीन दिदीबहिनी र आमालाई जातीय हिंसा मच्चिएको दौडान निर्ममतापूर्वक हत्या गरिएको थियो। तिनी जोर दिएर भन्छन्: “प्रत्येकले क्षतिपूर्ति पाउनैपर्छ . . . हामीलाई न्याय चाहिन्छ।”
यहोवा परमेश्वरका मुख्य गुनहरूमध्ये न्याय एउटा हो। बाइबल भन्छ, “उहाँका सबै काम न्यायसँगत छन्।” निस्सन्देह, यहोवाले “धार्मिकता र न्यायलाई निको मान्नुहुन्छ।” (व्यवस्था ३२:४; भजन ३३:५) परमेश्वरलाई राम्ररी चिन्न हामीले न्याय के हो जान्नैपर्छ र त्यसको अनुकरण गर्न सिक्नुपर्छ।—होशे २:१९, २०; एफिसी ५:१.
शायद न्यायबारे हाम्रो धारणालाई मानव विचारहरूले असर गरेको छ। संसारका केही भागहरूमा न्यायलाई प्रायः आँखामा पट्टि बाँधेर हातमा तरवार र तराजु बोकेकी स्त्रीद्वारा चित्रित गरिन्छ। मानव न्याय सम्पत्ति वा शक्तिले असर नगरेको निष्पक्ष हुनुपर्ने हो। यसले दोषी, निर्दोष छ वा छैन होशियारीपूर्वक जोख्नुपर्ने हो। तरवारद्वारा यसले निर्दोषको रक्षा गरेर दोषीलाई सजाय दिनुपर्ने हो।
राइट एन्ड रीजन—एथिक्स् इन थ्योरि एण्ड प्राक्टिस (न्याय अनि तर्क—सिद्धान्त तथा व्यवहारबारेको नीतिशास्त्र) पुस्तकले भन्छ, “न्यायको सम्बन्ध कानुन, दायित्व, अधिकार र कर्तव्यसित हुन्छ। अनि यसले निष्पक्ष वा कार्य र गुनको आधारमा निर्णय दिन्छ।” तर यो परिभाषा यहोवाको न्यायका लागि यथेष्ट छैन। यो कुरा हामी येशू ख्रीष्टका कार्य तथा गुनहरूलाई विचार गऱ्यौं भने, थाह पाउनसक्छौं। किनभने उहाँ आफ्ना स्वर्गीय पिताजस्तै हुनुहुन्छ।—हिब्रू १:३.
यशैया ४२:३ का शब्दहरूलाई सुसमाचार लेखक मत्तीले येशू मसीहमाथि प्रयोग गरे। तिनले भने: “फुटेको निगालो पनि तिनले भाँच्नेछैनन्, र धुँवा निस्किरहेको [निभ्नै लागेको, न्युव] सलेतो तिनले निभाउनेछैनन्। जहाँसम्म तिनले न्यायलाई विजयमा पुऱ्याउँदैनन्।” येशूले फुटेको निगालोजस्तै झुक्नुपरेका तथा दबिनुपरेका मानिसहरूलाई सान्त्वनादायी समाचार घोषणा गर्नुभयो। तिनीहरू निभ्नै लागेको सलेदोजस्तै थिए, मानौं तिनीहरूका जीवनको अन्तिम झिल्को समाप्त हुनै लागेको थियो। येशूले प्रतीकात्मक फुटेको निगालोलाई भाँच्नु तथा निभ्नै लागेको सलेदोलाई निभाउनुको साटो कष्टमा परेकाहरूमाथि दया गर्नुभयो, तिनीहरूलाई सिकाउनुभयो र निको पार्नुभयो अनि परमेश्वरको न्याय स्पष्ट पार्नुभयो। (मत्ती १२:१०-२१) यशैयाको भविष्यवाणीमा बताएझैं त्यस प्रकारको न्यायले आशा जगाउँछ।
दया अनि यहोवाको न्याय
दया, परमेश्वरको न्यायको आन्तरिक भाग हो। येशू पृथ्वीमा हुनुहुँदा यो स्पष्ट भयो। उहाँले परमेश्वरका स्तरहरू तथा धार्मिकतालाई सही ढंगमा प्रस्तुत गर्नुभयो। तथापि, यहूदी शास्त्रीहरू तथा फरिसीहरूले व्यवस्थाका कडा नियमहरू चलाएर धार्मिकता कमाउन खोजे। ती नियमहरूमध्ये धेरैजसो त तिनीहरू आफैले रचेका थिए। तिनीहरूको कानुनी न्यायले प्रायः दया झल्काउँदैन थियो। साँचो न्याय र धार्मिकता के हो? भन्ने विवादलाई लिएर येशू र फरिसीहरूबीच धेरै मतभेद भयो।—मत्ती ९:१०-१३; मर्कूस ३:१-५; लूका ७:३६-४७.
अरूलाई न्यायसंगत र धार्मिक तवरमा कसरी व्यवहार गर्ने भनेर येशूले प्रष्ट पार्नुभयो। व्यवस्थामा पोख्त एक जना मानिसले येशूलाई अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर सोधे। उत्तरमा येशूले तिनलाई प्रश्न सोध्नुभयो। त्यस मानिसले जवाफ दिंदै सबैभन्दा महत्त्वपूर्ण दुइटा नियमहरू परमेश्वरलाई सारा हृदय, सारा प्राण, सारा मन र शक्तिले प्रेम गर्नु अनि छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्नु हुन् भनेपछि उहाँले तिनलाई त्यसै गर्नू भन्नुभयो। त्यसपछि त्यस मानिसले सोधे: “मेरो छिमेकी चाहिं को हो त?” यसको उत्तरमा येशूले मित्रैलो सामरीको दृष्टान्त दिनुभयो।—लूका १०:२५-३७.
यहोवाको धार्मिकता र दयालु न्याय येशूले दिनुभएको सामरीको दृष्टान्तबाट झल्किन्छ। आफूले चिन्दै नचिनेको घाइते मानिसलाई निःस्वार्थ भावले सहायता गरेर त्यस सामरीले धर्मी, न्यायी र दयालु कार्य गरे। पृथ्वीमा हुनुहुँदा येशू स्वयंले त्यस्तै मनोवृत्ति देखाउनुभयो। उहाँ धार्मिक तथा न्यायी हुनुहुन्थ्यो। यसबाहेक उहाँले खाँचोमा परेका मानिसहरूका लागि अर्थात् दुःख, बिरामी र मृत्युको दासत्वमा परेका पापी तथा असिद्ध मानवजातिका लागि आफ्नो जीवन अर्पण गर्नुभयो। प्रेरित पावलले धार्मिकतालाई छुडौतीको प्रबन्धसित जोडे। तिनले लेखे: “जसरी एउटै अपराधद्वारा सबै मानिसलाई दोषी ठहराउनलाई इन्साफ आइलाग्यो, त्यसैगरी धार्मिकताको एउटै कामद्वारा सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनालाई अनुग्रहको वरदान आयो।” (रोमी ५:१८) यो “धार्मिकताको एउटै काम” भन्नाले आदमको पापका विनाशकारी परिणामहरूबाट आज्ञाकारी मानवजातिलाई बचाउने परमेश्वरको तरिका थियो। किनकि त्यस पापका लागि ती मानिसहरू प्रत्यक्ष जिम्मेवार थिएनन्।
परमेश्वरको न्यायले एकै चोटि पापी मानिसहरूको उद्धार र धार्मिक सिद्धान्तहरू पालन गर्ने प्रयास गऱ्यो। पाप लुकाउनु अन्याय र प्रेमरहित कुरा हुनेथियो किनभने यसले अधर्मलाई प्रोत्साहित गर्नेथियो। अर्कोतर्फ, यदि परमेश्वरको न्याय इनाम वा सजाय पाउने कुरामा मात्र सीमित भएको भए मानवजातिको परिस्थिति आशाविहीन हुनेथियो। बाइबलअनुसार, “पापको ज्याला मृत्यु हो” अनि “धर्मी कोही छैन, एउटै पनि छैन।” (रोमी ३:१०; ६:२३) आफ्नै र आफ्ना प्रिय पुत्रको ठूलो व्यक्तिगत क्षति सहेर यहोवाले पाप प्रायश्चित हुने बलिदानको प्रबन्ध गर्नुभयो।—१ यूहन्ना २:१, २.
ईश्वरीय न्याय मुख्यतः सैद्धान्तिक प्रेमसित (युनानी, अगापे) गाँसिएको छ भनेर छुडौतीको बलिदानले देखाउँछ। वास्तवमा परमेश्वरको न्याय उहाँका धार्मिक सिद्धान्तहरूको कार्यान्वयन अर्थात् परमेश्वरको नैतिक स्तरको प्रतिबिम्ब हो। तसर्थ, ईश्वरीय न्याय परमेश्वरले प्रयोग गर्नुहुने अगापे प्रेममा आधारित छ। (मत्ती ५:४३-४८) यदि हामीले साँच्चै यहोवाको न्यायलाई बुझेका छौं भने, उहाँका न्यायिक फैसलाहरूमा पूर्णतया भरोसा गर्नेछौं। उहाँले “सारा पृथ्वीका न्यायकर्त्ता[को]” हैसियतमा जे कुरा सही छ, सधैं त्यही गर्नुहुन्छ।—उत्पत्ति १८:२५; भजन ११९:७५.
यहोवाको न्याय अनुकरण गर्नुहोस्
बाइबलले हामीलाई “परमेश्वरका देखा-सिकी गर्नेहरू होओ” भनेर प्रोत्साहित गर्छ। (एफिसी ५:१) यसको अर्थ, उहाँको न्याय साथै प्रेमको अनुकरण गर्नु हो। तथापि, हामी असिद्ध भएकोले हाम्रा तौरतरिकाहरू यहोवा परमेश्वरको जस्तो उच्चत्तम छैन। (यशैया ५५:८, ९; इजकिएल १८:२५) त्यसो भए, हामी धार्मिकता र न्यायलाई प्रेम गर्छौं भनेर कसरी प्रमाणित गर्नसक्छौं? “नयाँ मानिसलाई धारण ग[रे]र, जो परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।” (एफिसी ४:२४) त्यसपछि हामी परमेश्वरले जे कुरालाई प्रेम गर्नुहुन्छ, त्यसलाई प्रेम गर्छौं र घृणा गर्नुभएको कुरालाई घृणा गर्छौं। हिंसा, अनैतिकता, अशुद्धता र धर्मत्याग आदिबाट ‘साँचो धार्मिकता’ अलग हुन्छ। किनभने यी कुराहरूले पवित्रलाई अपवित्र पार्छ। (भजन ११:५; एफिसी ५:३-५; २ तिमोथी २:१६, १७) ईश्वरीय न्यायले हामीलाई अरूप्रति निष्कपट रुचि देखाउन पनि उत्प्रेरित गर्छ।—भजन ३७:२१; रोमी १५:१-३.
यसबाहेक परमेश्वरको दयालु न्यायको मूल्यांकन गऱ्यौं भने, आध्यात्मिक भाइ वा बहिनीहरूको न्याय गर्ने झुकाउ हामीमा पलाउँदैन। यहोवाले जस्तो हामी कसरी तिनीहरूलाई सहजै बुझ्नसक्छौं र? के हामीले तिनीहरूलाई आफ्नो पक्षपाती दृष्टिकोणद्वारा न्याय गर्दैनौं र? त्यसैकारण, येशूले चेताउनी दिनुभयो: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस्। किनभने जुन निसाफले तिमीहरू निसाफ गर्दछौ, उसैगरी तिमीहरूको पनि निसाफ गरिनेछ, र जुन नापले तिमीहरू नाप्तछौ, त्यसैले तिमीहरूलाई नापिदिनेछ। किन तिमी आफ्नो भाइको आँखामा भएको कसिङ्गर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ा चाहिं थाह पाउँदैनौ? अथवा हेर, जब तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने, कसरी तिम्रो भाइलाई भन्नसक्छौ, ‘पर्ख, मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ।’ ए कपटी, पहिले आफ्नै आँखाबाट मूढा निकाल, तब तिम्रो भाइको आँखाबाट कसिङ्गर निकाल्नालाई छर्लङ्गै देख्नसक्छौ।” (मत्ती ७:१-५) आफ्नो असिद्धतालाई इमानदारीपूर्वक जाँच्नाले हामीलाई अर्काको न्याय गर्नदेखि रोक्छ, जुन कार्यलाई यहोवाले अधार्मिक ठान्नुहुन्छ।
गम्भीर गलतीहरू उत्पन्न हुँदा मण्डलीमा नियुक्त प्राचीनहरू न्याय गर्न बाध्य हुन्छन्। (१ कोरिन्थी ५:१२, १३) त्यति बेला तिनीहरूले के याद गर्छन् भने, परमेश्वरको न्यायले सम्भव भएमा दया गर्ने चेष्टा गर्छ। यसका लागि आधार नभएमा अर्थात् पाप गर्नेहरू अपश्चात्तापी भएमा दया गर्न सकिंदैन। तर प्राचीनहरूले यस्तो व्यक्तिलाई बदलाको भावनाले मण्डलीबाट बहिष्कार गर्दैनन्। बहिष्कार गर्नाले त्यस व्यक्तिलाई आफ्नो गलतीको आभास हुनेछ भनी प्राचीनहरू आशा गर्छन्। (तुलना गर्नुहोस् इजकिएल १८:२३) ख्रीष्टको शिरत्वको अधीनमा बसेर प्राचीनहरूले न्याय गर्छन्। अनि यसमा “आँधी-बेह्रीबाट आड़ लिने ठाउँ” जस्ता हुनु समावेश छ। (यशैया ३२:१, २) तसर्थ, तिनीहरूले निष्पक्षता तथा विवेक देखाउनै पर्छ।—व्यवस्था १:१६, १७.
धार्मिकताको निम्ति बीउ रोप्नुहोस्
हामी परमेश्वरको धार्मिक नयाँ संसारको प्रतीक्षा गर्छौं। यद्यपि, हामीले ईश्वरीय अनुग्रहको आनन्द उठाउन “धार्मिकता खोज्नै” पर्छ। (सपन्याह २:३; २ पत्रुस ३:१३) यो विचार होशे १०:१२ मा मीठासपूर्ण ढंगमा यसरी व्यक्त गरिएको छ: “आफ्ना धर्मको निम्ति बिउ रोप, दयाअनुसार कटनी गर। तिमीहरूको बाँझो बारी जोत, किनकि परमप्रभुलाई खोज्ने समय यही हो, र उहाँ आएर तिमीहरूमाथि उद्धारको वृष्टि खन्याउनुहुनेछ।”
येशूले मित्रैलो सामरीको दृष्टान्तद्वारा देखाउनुभएजस्तै हाम्रो दैनिक जीवनमा ‘धार्मिकताको निम्ति बीउ रोप्ने’ हामीसित अनेक मौकाहरू छन्। त्यसै गऱ्यौं भने, यहोवाले हामीलाई “दयाअनुसार कटनी [गर्न]” यहोवाले मदत गर्नुहुनेछ। यदि हामी “इन्साफको मार्ग[मा]” निरन्तर हिंडिरह्यौं भने, हामीले परमेश्वरको राज्य शासनअन्तर्गत धार्मिकताका लागि निर्देशन प्राप्त गरिरहनेछौं। (यशैया ४०:१४) अनि यहोवाले समय बित्दै जाँदा त्यति नै धार्मिकता तथा न्यायलाई प्रेम गर्नुहुन्छ भनेर हामी कुनै शंकाबिना त्यसको पूर्णतया मूल्यांकन गर्नेछौं।—भजन ३३:४, ५.
[पृष्ठ २३-मा भएको चित्र]
मित्रैलो सामरीले यहोवाको न्यायलाई चित्रण गऱ्यो
[पृष्ठ २३-मा भएको चित्र]
फुटेको निगालोजस्ता पीडित मानिसहरूमाथि येशूले दया देखाउनुभयो