पारिवारिक तालिका—मण्डलीका सभाहरू
१ तपाईं एक जना मसीही आमा वा बुबा हुनुहुन्छ भने, छोराछोरी ठूलो भएपछि उनीहरूले यहोवालाई प्रेम गरेको, उहाँको सेवा गरेको अनि अन्ततः परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा अनन्त जीवन पाएको तपाईं चाहनुहुन्छ। आफ्नो जीवनमा यहोवाको उपासनालाई प्राथमिकता दिन तपाईं उनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? सबैभन्दा उत्तम तरिका हो आफ्नै उदाहरणद्वारा। (हितो. २०:७) आफ्नी साक्षी आमाले बसालेको उदाहरण सम्झिंदै एउटी बहिनीले यसो भनिन्: “सभामा जाने कि नजाने भन्ने प्रश्नै उठ्दैनथ्यो।” त्यस कुराले तिनको मनमा अमेट छाप पाऱ्यो।
२ के तपाईंको परिवारले मण्डलीका सभाहरूको उद्देश्य बुझेको छ? यी भेलाहरूमा प्राप्त हुने शिक्षाले परमेश्वरको इच्छा गरिरहन हामीलाई बलियो बनाउँछ र भाइबहिनीहरूसितको सरसंगति प्रोत्साहनको अमूल्य स्रोत हो। (यशै. ५४:१३; रोमी १:११, १२) तथापि, यस्ता सभाहरूको मूल उद्देश्य “समुदायहरूमा” यहोवाको प्रशंसा गर्नु हो। (भज. २६:१२) यस्ता सभाहरूमा हामी यहोवाप्रतिको आफ्नो प्रेम प्रदर्शित गर्ने र उहाँको उपासना गर्ने मौका पाउँछौं।
३ ‘कसरी हिंड्नुहुन्छ ठीकसँग हेर्नुहोस्’: सभाहरूमा उपस्थित हुनुको पवित्र उद्देश्यप्रति मूल्याङ्कन देखायौं भने, कम महत्त्वपूर्ण कुराहरूको लागि सभाहरू छुटाउने बानी नबसाल्न त्यसले हामीलाई ‘कसरी हिंड्छौं ठीकसँग हेर्न’ अर्थात् होसियार हुन उत्प्रेरित गर्नेछ। (एफि. ५:१५, १६; हिब्रू १०:२४, २५) पारिवारिक तालिका बनाउँदा मण्डलीका सभाहरूको समय तालिकाको सुरुमै लेख्न सक्नुहुन्छ। त्यसपछि अरू कुराले यस तालिकामा बाधा पुऱ्याउन नदिन होसियार हुनुहोस्। तपाईंको परिवारको लागि सभामा उपस्थित हुनु अत्यावश्यक छ भनी पक्का गर्नुहोस्।
४ सभा, सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुन अवरोधहरू पार गरेका हाम्रा भाइहरूबारे पढ्दा के हामी उत्साहित हुँदैनौं र? तपाईंको अवस्था त्यति कठिन नहोला तर तपाईंले पनि चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। यहोवाको उपासना गर्न शैतानले परमेश्वरका जनहरूलाई झन्-झनै हम्मेहम्मे पारिरहेको छ। तैपनि, मण्डलीका सभाहरूमा उपस्थित हुन तपाईंको परिवारले गर्ने उत्कट प्रयास छोराछोरीले देखिरहेका हुनेछन् भन्ने कुरामा विश्वस्त हुनुहोस्। साँच्चै, यस प्रकार तपाईं उनीहरूलाई कहिल्यै बिर्सन नसक्ने आध्यात्मिक उपहार दिन सक्नुहुन्छ।