‘हृदयबाटै आज्ञाकारी हुन’ मदत गरौं
१. आफ्ना उपासकहरूबाट यहोवा के चाहनुहुन्छ?
१ आज्ञाकारी भएनौं भने यहोवाले हाम्रो उपासना कहाँ स्वीकार्नुहुन्छ र? (व्यव. १२:२८; १ पत्रु. १:१४-१६) “परमेश्वरलाई नचिन्नेहरू . . . सुसमाचार नमान्नेहरूलाई” उहाँले छिट्टै नाश गर्नुहुनेछ। (२ थिस्स. १:८) परमेश्वरको वचनका शिक्षाहरूप्रति ‘हृदयबाटै आज्ञाकारी’ हुन अरूलाई कसरी मदत गर्ने?—रोमी ६:१७.
२. विश्वास बलियो बनाउन अरूलाई मदत गर्नु किन अत्यावश्यक छ?
२ विश्वास र प्रेम बढाउन मदत दिएर: आज्ञाकारी हुन विश्वास अत्यावश्यक छ भनी बाइबल बताउँछ। “सनातनका परमेश्वरका आज्ञाद्वारा . . . विश्वासको आज्ञाकारिता” भनी प्रेरित पावलले विश्वास र आज्ञाकारिताबीचको सम्बन्धलाई देखाए। (रोमी १६:२६) विश्वास कायम राखेका धेरै उदाहरणहरू हिब्रू अध्याय ११ मा पाइन्छ र तिनीहरूमध्ये अधिकांशले यहोवाले जसो भन्नुभयो त्यसै गरे। (हिब्रू ११:७, ८, १७) अर्कोतिर, अनाज्ञाकारितालाई विश्वासको कमीसित जोडिएको छ। (यूह. ३:३६; हिब्रू ३:१८, १९) विश्वास बढाउन अरूलाई मदत गऱ्यौं भने तिनीहरू हृदयदेखि नै आज्ञाकारी हुन्छन्। त्यसरी मदत गर्न हामीले परमेश्वरको वचन चलाउने कला तिखार्दै जानुपर्छ।—२ तिमो. २:१५; याकू. २:१४, १७.
३. (क) प्रेमबाट आज्ञाकारिता आउँछ भनेर हामी कसरी भन्न सक्छौं? (ख) यहोवाप्रति प्रेम बढाउन बाइबल विद्यार्थीलाई कसरी मदत गर्न सक्छौं?
३ परमेश्वरलाई प्रेम देखाउने एउटा तरिका हृदयबाटै आज्ञाकारी हुनु पनि हो। (व्यव. ५:१०; ११:१, २२; ३०:१६) पहिलो यूहन्ना ५:३ ले भन्छ, “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्।” बाइबल विद्यार्थीलाई यहोवाप्रतिको प्रेम बढाउन कसरी मदत गर्ने? अध्ययन सञ्चालन गर्दा यहोवाका गुणहरूप्रति कृतज्ञता बढाउने मौका खोज्नुहोस्। परमेश्वरप्रतिको आफ्नो न्यानो आत्मियता पोख्नुहोस्। परमेश्वरसित घनिष्ठ हुने गरी विद्यार्थीलाई सोच्न लगाउनुहोस्। आखिर, हामी सबैलाई ‘हृदयबाटै आज्ञाकारी हुन’ उत्प्रेरित गर्ने मुख्य तत्त्व त परमेश्वरप्रतिको प्रेम नै हो।—मत्ती २२:३७.
४. (क) आफूले राम्रो उदाहरण बसाल्नु किन महत्त्वपूर्ण छ? (ख) ‘हृदयदेखि नै आज्ञापालक’ हुन हामीले के गर्नैपर्छ?
४ आफ्नो उदाहरणबाट: आज्ञाकारी हुन अरूलाई मदत गर्ने एउटा प्रभावकारी तरिका आफूले राम्रो उदाहरण बसालेर नै हो। तर ‘हृदयदेखि नै आज्ञापालक भएर’ राम्रो उदाहरण बसाल्न लगनशीलता चाहिन्छ। (१ राजा ३:९; हितो. ४:२३) त्यसोभए, कुन कुरामा लगनशील हुने? नियमित बाइबल अध्ययन गरेर र सभाहरू धाएर हृदयलाई पोषण दिइरहनुहोस्। (भज. १:१, २; हिब्रू १०:२४, २५) दत्तचित्त भएर साँचो उपासनामा लागिरहेकाहरूसित संगत गर्नुहोस्। (हितो. १३:२०) क्षेत्र सेवामा नियमित हुनुहोस्। क्षेत्र सेवामा निस्कँदा आफ्नो इलाकाका मानिसहरूको लागि केही गर्छु भन्ने सोच राख्नुहोस्। हृदय असल राख्न मदतको लागि यहोवालाई पुकारिरहनुहोस्। (भज. ८६:११) हृदय बिगार्ने अनैतिक वा हिंस्रक मनोरञ्जनबाट अलग्गै बस्नुहोस्। परमेश्वरसित कसरी अझ नजिक हुन सकिन्छ र कसरी उहाँसितको सम्बन्धलाई अझ बलियो बनाउन सकिन्छ, केवल त्यही मात्रै सोच्नुहोस्।—याकू. ४:७, ८.
५. हृदयदेखि आज्ञाकारी हुनेहरूलाई यहोवाले के गर्नुहुन्छ?
५ विगतका आफ्ना जनहरूले यहोवाको आज्ञा पालन गरेमा आशिष् पाउने आश्वासन उहाँले दिनुभयो। (व्यव. २८:१, २) आज पनि “आफ्ना आज्ञा मान्नेहरू जत्तिलाई” यहोवाले प्रचुर आशिष् वर्षाउनुहुनेछ। (प्रेरि. ५:३२) अतः अरूलाई यहोवाप्रतिको विश्वास र प्रेम बढाउन मदत दिएर अनि आफूले राम्रो उदाहरण बसालेर हृदयबाटै आज्ञाकारी हुन मदत गरिरहौं।