प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ७/१५ pp. २९-३१
  • के तपाईंसित “आज्ञाकारी हृदय” छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंसित “आज्ञाकारी हृदय” छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूसित आज्ञाकारी हृदय थियो
  • आंशिक तवरमा आज्ञाकारी भएर पुग्दैन
  • तपाईं कत्तिको आज्ञाकारी हुनुहुन्छ?
  • आज्ञाकारी हृदय छ भने आशिष्‌हरू पाइन्छन्‌
  • यहोवा तपाईंको आज्ञाकारिताको मोल गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • ‘हृदयबाटै आज्ञाकारी हुन’ मदत गरौं
    हाम्रो राज्य सेवकाई—२००५
  • येसुले “आज्ञाकारी हुन सिक्नुभयो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ७/१५ pp. २९-३१

के तपाईंसित “आज्ञाकारी हृदय” छ?

पुरातन इस्राएलका राजा हुँदा सुलेमानलाई आफू दक्ष नभएजस्तो लाग्यो। त्यसैकारण, तिनले परमेश्‍वरसित बुद्धि र ज्ञान मागे। (२ इतिहास १:१०) “तपाईंको प्रजालाई ठीकसित शासन गर्न बुझ्ने मन [“आफ्नो दासलाई आज्ञाकारी हृदय,” NW] दिनुहोस्‌,” भनेर पनि सुलेमानले प्रार्थना गरे। (१ राजा ३:९) सुलेमानसित “आज्ञाकारी हृदय” भएको भए तिनले ईश्‍वरीय व्यवस्था तथा सिद्धान्तहरू पछ्याउने थिए र यहोवाबाट आशिष्‌ पाउने थिए।

आज्ञाकारी हृदय हुनु बोझ नभई आनन्दको स्रोत हो। प्रेरित यूहन्‍नाले लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।” (१ यूहन्‍ना ५:३) हो, हामीले परमेश्‍वरको आज्ञा पालन गर्नैपर्ने हो। आखिर, यहोवा हाम्रो महान्‌ सृष्टिकर्ता हुनुहुन्छ। पृथ्वी र पृथ्वीमा भएका यावत्‌ थोकहरूलगायत सम्पूर्ण सुनचाँदीसमेत उहाँकै हुन्‌। अतः वास्तवमा हामी यहोवालाई भौतिक वस्तु केही दिन सक्दैनौं। यद्यपि, हामीलाई आफ्नो सरसम्पत्तिद्वारा उहाँप्रति हाम्रो प्रेम जाहेर गर्न दिनुहुन्छ। (१ इतिहास २९:१४) यहोवा हामीले उहाँलाई माया गरेको चाहनुहुन्छ र उहाँको इच्छा पूरा गर्दै उहाँसित नम्र भएर हिंडेको चाहनुहुन्छ।—मीका ६:८.

व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा के हो भनेर सोध्दा येशू ख्रीष्टले यस्तो जवाफ दिनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो।” (मत्ती २२:३६-३८) यो प्रेम व्यक्‍त गर्ने एउटा तरिका परमेश्‍वरको आज्ञा पालन गर्नु हो। तसर्थ, हामी प्रत्येकले यहोवालाई आज्ञाकारी हृदय दिनुहोस्‌ भनेर प्रार्थना गर्नुपर्ने हो।

तिनीहरूसित आज्ञाकारी हृदय थियो

बाइबलमा आज्ञाकारी हृदय हुनेहरूको उदाहरण प्रशस्त पाइन्छ। उदाहरणका लागि, यहोवाले नूहलाई जीवन जोगाउन एउटा विशाल जहाज निर्माण गर्न अह्राउनुभयो। यो चानचुने काम थिएन, किनकि काम सिध्दिन ४०/५० वर्ष लाग्यो। अहिलेका आधुनिक शक्‍तिशाली यन्त्र तथा औजारहरू नै प्रयोग गरिएको भए तापनि पानीमा उत्रने यस्तो विशाल संरचना तयार पार्नु असाधारण काम नै थियो। यसबाहेक, नूहले त्यस्ता मानिसहरूलाई चेताउनी दिनुपरेको थियो, जसले पक्कै पनि तिनलाई ठट्टामा उडाउने थिए, गिल्ला गर्ने थिए। तैपनि तिनले सानोभन्दा सानो कुरा एक एक गरी पालन गरे। बाइबल भन्छ: “तिनले सबै गरे।” (उत्पत्ति ६:९, २२; २ पत्रुस २:५) वर्षौंसम्म विश्‍वासी भई यहोवाको आज्ञा पालन गरेर नूहले उहाँप्रतिको आफ्नो प्रेम देखाए। हाम्रोनिम्ति कत्ति उत्तम उदाहरण!

कुलपिता अब्राहामलाई पनि विचार गर्नुहोस्‌। परमेश्‍वरले तिनलाई कल्दीहरूको सम्पन्‍न देश ऊरबाट अनजान ठाउँमा बसाइँ सर्न अह्राउनुभयो। के कसो केही नसोधी तिनले यो आदेश पालन गरे। (हिब्रू ११:८) जीवनभर तिनी आफ्नो परिवारसित पालहरूमा बसे। उक्‍त देशमा प्रवासी भएर जीवन बिताएको निकै वर्षपछि यहोवाले तिनी र तिनकी पत्नी सारालाई आशिष्‌स्वरूप एउटा छोरा दिनुभयो जसको नाउँ इसहाक थियो। सय वर्ष पुगिसकेका अब्राहाम बुढेसकालको छोरोलाई असाध्यै माया गर्थे! केही वर्षपछि इसहाकलाई होमबलि चढाउन यहोवाले अब्राहामलाई अह्राउनुभयो। (उत्पत्ति २२:१, २) त्यसो गर्ने सोचाइले मात्र पनि अब्राहामको मन फाटेको हुनुपर्छ। तैपनि, तिनले आज्ञा पालन गर्ने सुर कसे। किनकि तिनी यहोवालाई माया गर्थे र आफ्नो प्रतिज्ञा पूरा गर्न उहाँले इसहाकलाई पुनरुत्थान गर्नुपर्ने भएपनि प्रतिज्ञा गरिएको वंश ऊद्वारा नै आउने थियो भन्‍ने विश्‍वास गर्थे। (हिब्रू ११:१७-१९) तथापि, छोरालाई मार्नै लाग्दा यहोवाले अब्राहामलाई रोक्नुभयो र भन्‍नुभयो: “अब मैले थाह पाएँ तँ परमेश्‍वरसँग डराउँदो रहेछस्‌, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।” (उत्पत्ति २२:१२) आज्ञाकारी भएकोले ईश्‍वरभीरु अब्राहाम “परमेश्‍वरका मित्र” भनेर चिनिए।—याकूब २:२३.

आज्ञाकारी हुने सम्बन्धमा येशू ख्रीष्ट हाम्रोनिम्ति सर्वोत्तम उदाहरण हुनुहुन्छ। मानव रूप धारण गर्नुअघि उहाँ स्वर्गमा हुनुहुन्थ्यो र आफ्नो पिताको आज्ञा पालन गर्न पाउँदा रमाउनुहुन्थ्यो। (हितोपदेश ८:२२-३१) मानिसको रूपमा येशूले यहोवाको एक एक कुरा मान्‍नुभयो, उहाँ सधैं यहोवाको इच्छा पूरा गर्न रमाउनुहुन्थ्यो। (भजन ४०:८; हिब्रू १०:९) त्यसैकारण, येशूले नढाँटी यसो भन्‍न सक्नुभयो: “म आफै केही गर्दिनँ, तर जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु भनेर तिमीहरूले थाह पाउनेछौ। औ मलाई पठाउने मसँग हुनुहुन्छ। उहाँले मलाई एकलै छोड़नुभएको छैन, किनभने म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु।” (यूहन्‍ना ८:२८, २९) अन्ततः यहोवाको सार्वभौमिकता उच्च पार्न र आज्ञाकारी मानिसजातिलाई छुटकारा दिन येशूले राजीखुसी सबैभन्दा अपमानित तथा कष्टप्रद मृत्युको सामना गर्नुभयो। वास्तवमा, “रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” (फिलिप्पी २:८) आज्ञाकारी हृदय हुनुको कस्तो उदाहरण!

आंशिक तवरमा आज्ञाकारी भएर पुग्दैन

परमेश्‍वरप्रति आज्ञाकारी छु भनी दाबी गर्ने जत्ति सबैले वास्तवमा उहाँको आज्ञा पालन गरेका छैनन्‌। पुरातन इस्राएलका राजा शाऊललाई विचार गर्नुहोस्‌। परमेश्‍वरले तिनलाई अमालेकीहरूलाई खत्तम पार्ने निर्देशन दिनुभएको थियो। (१ शमूएल १५:१-३) शाऊलले अमालेकी जातिलाई नाश गरे तर राजालाई मारेनन्‌ र तिनीहरूका केही बस्तुभाउ जोगाए। शमूएलले सोधे: “तपाईंले किन परमप्रभुको आज्ञा पालन गर्नुभएन?” जवाफमा शाऊलले भने: “तर मैले ता परमप्रभुको आज्ञा पालन गरें। . . . परमप्रभुले पठाउनुभएको ठाउँमा म गएँ, र अमालेकीहरूका राजा अगागलाई समातेर ल्याएँ। तिनीहरूमध्येका बाँकीलाई चाहिं मैले नाश पारिदिएँ। लूटका मालबाट [इस्राएलका] मानिसहरूले भेड़ा र गोरु, औ सबैभन्दा असल असल पशुहरूलाई चाहिं . . . परमप्रभु[का] निम्ति बलिदान चढ़ाउनलाई राखेका छन्‌।” पूर्णतया आज्ञा पालन गर्नुपर्ने आवश्‍यकतालाई जोड दिंदै शमूएलले जवाफ दिए: “होमबलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञापालननै रूचाउनु हुन्‍न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्‍नु साँढ़-भेड़ाको बोसोभन्दा असल हो। उहाँको आज्ञा उल्लङ्‌घन गर्नु मंत्र-तंत्रको पापजस्तै हो, हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पद देखि त्याग्नुभएको छ।” (१ शमूएल १५:१७-२३) आज्ञाकारी हृदय नभएकोले शाऊलले कत्रो ठूलो कुरा गुमाए!

आज्ञाकारी हृदयको निम्ति प्रार्थना गर्ने बुद्धिमान्‌ राजा सुलेमानले समेत यहोवाको आज्ञा पालन गरिरहेनन्‌। ईश्‍वरीय इच्छा विपरीत तिनले थुप्रै विदेशी स्त्रीहरूसित विवाह गरे जसले तिनलाई यहोवाको विरुद्ध पाप गर्न लगाए। (नहेम्याह १३:२३, २६) आज्ञाकारी हृदयलाई कायम नराखेको हुँदा सुलेमानले ईश्‍वरीय अनुमोदन गुमाए। हाम्रोनिम्ति कस्तो चेताउनी!

तथापि, यसको अर्थ यहोवाले आफ्ना मानव सेवकहरूबाट सिद्धताको माग गर्नुहुन्छ भन्‍न खोजिएको पक्कै होइन। उहाँ ‘हामी माटो नै हौं भनी सम्झनुहुन्छ।’ (भजन १०३:१४) हामी सबैले कुनै न कुनै बेला पक्कै पनि गल्तीहरू गर्छौं तर साँच्चै उहाँलाई प्रसन्‍न पार्न हार्दिक इच्छा गर्छौं कि गर्दैनौं भनेर यहोवा बुझ्न सक्नुहुन्छ। (२ इतिहास १६:९) मानव असिद्धताको कारण पाप गऱ्‍यौं तर पश्‍चात्तापी छौं भने यहोवाले “प्रशस्त गरी क्षमा गर्नुहुनेछ” भनी ढुक्क भई ख्रीष्टको छुटकाराको बलिदानको आधारमा क्षमा माग्नसक्छौं। (यशैया ५५:७; १ यूहन्‍ना २:१, २) आध्यात्मिक तवरमा निको हुनसक्न अनि स्वस्थ विश्‍वास र आज्ञाकारी हृदय हुन मसीही प्राचीनहरूको मायालु मदत पनि चाहिनसक्छ।—तीतस २:२; याकूब ५:१३-१५.

तपाईं कत्तिको आज्ञाकारी हुनुहुन्छ?

यहोवाका सेवक भएकाले हामीमध्ये धेरैजसोलाई आफूसित आज्ञाकारी हृदय छ भन्‍ने विश्‍वास पक्का पनि लागेको हुन्छ। हामी तर्क गर्नसक्छौं, के मैले राज्य-प्रचार कार्यमा भाग लिइराखेको छैन र? तटस्थताजस्ता गम्भीर विवादहरू खडा हुँदा के म ढलपल नभई बसेको छैन र? अनि के म पावलले आग्रह गरेझैं नियमित तवरले मसीही सभाहरूमा उपस्थित भएको छैन र? (मत्ती २४:१४; २८:१९, २०; यूहन्‍ना १७:१६; हिब्रू १०:२४, २५) हो, यो साँचो हो, समूहगत रूपमा यहोवाका जनहरूले यस्ता महत्त्वपूर्ण मामिलाहरूमा हृदयदेखि आज्ञा पालन गरेका छन्‌।

तर दैनिक जीवनसित मुछिएको हाम्रो आचरणबारे, त्यसमाथि पनि अरू साधारण विषयहरूमा चाहिं के भन्‍न सकिन्छ? येशूले बताउनुभयो: “जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ, औ जो सानो कुरोमा अविश्‍वासी हुन्छ, त्यो धेरैमा पनि अविश्‍वासी हुन्छ।” (लूका १६:१०) त्यसकारण, प्रत्येकले आफैलाई यसरी सोध्नु बेस हुन्छ, अरूले थाहै नपाउने साधारण विषय वा कुराहरूमा पनि के म आज्ञाकारी छु?

अरूले देख्न नसक्ने घरभित्र पनि आफू ‘सिद्ध हृदयले हिंड्डुल गरेको’ भजनरचयिताले देखाए। (भजन १०१:२) सायद घरमा तपाईं टेलिभिजन खोलेर कुनै सिनेमा हेरिरहनुभएको होला। त्यतिखेरै तपाईंको आज्ञाकारिताको जाँच हुनसक्छ। सिनेमाको विषयवस्तु अनैतिक हुनसक्छ। अचेल यस्तै सिनेमा देखाइन्छ भन्‍ने तर्क गर्दै के तपाईं सिनेमा हेरिरहनुहुन्छ? अथवा के तपाईंको आज्ञाकारी हृदयले तपाईंलाई धर्मशास्त्रको यो आदेशअनुसार गर्न उत्प्रेरित गराउँछ, ‘व्यभिचार र अशुद्धताको नाउँसमेत पनि तिमीहरूबाट नलिइयोस्‌’? (एफिसी ५:३-५) कथावस्तु निकै सशक्‍त भए तापनि के तपाईं टिभी बन्द गर्नुहुन्छ? अथवा हेरिरहेको कार्यक्रम निकै हिंस्रक भयो भने के तपाईं च्यानल फ्याट्ट बदल्नुहुन्छ? भजनरचयिताले यसरी गाए, “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ” . . . “तर दुष्ट र अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ।”—भजन ११:५.

आज्ञाकारी हृदय छ भने आशिष्‌हरू पाइन्छन्‌

जीवनमा त्यस्ता कतिपय पक्षहरू छन्‌, जहाँ हामी हृदयबाटै साँच्चै परमेश्‍वरको आज्ञा पालन गर्छौं वा गर्दैनौं भनी आत्मपरीक्षण गर्दा हाम्रै फाइदा हुन्छ। यहोवाप्रतिको हाम्रो प्रेमले उहाँलाई प्रसन्‍न पार्न र उहाँले आफ्नो वचन बाइबलमा हामीलाई जे भन्‍नुभएको छ, त्यसै गर्न उत्प्रेरित गर्नुपर्ने हो। आज्ञाकारी हृदयले यहोवासित राम्रो सम्बन्ध कायम राख्न हामीलाई मदत गर्नेछ। हो, हामी पूर्णतया आज्ञाकारी भयौं भने ‘हाम्रो मुखका वचनहरू र हाम्रो हृदयको ध्यान यहोवाको दृष्टिमा ग्रहणयोग्य हुनेछ।’—भजन १९:१४.

यहोवा हामीलाई माया गर्नुहुन्छ। त्यसैले त उहाँ हाम्रै भलाइको निम्ति आज्ञाकारी हुन सिकाउनुहुन्छ। अनि ईश्‍वरीय शिक्षामा हार्दिक ध्यान दियौं भने हामीलाई धेरै फाइदा हुन्छ। (यशैया ४८:१७, १८) त्यसकारण, स्वर्गमा हुनुहुने पिताले आफ्नो वचन, आत्मा तथा संगठन मार्फत दिनुहुने सहयोगलाई प्रसन्‍नचित्तले स्वीकारौं। हामीलाई यति राम्ररी सिकाइँदैछ, कसैले पछिल्तिरबाट “बाटो यही हो, यसैमा तिमीहरू हिंड” भनिरहेको हामी सुन्छौं। (यशैया ३०:२१) बाइबल, मसीही प्रकाशनहरू तथा मण्डलीका सभाहरू मार्फत यहोवाले सिकाउनुहुँदा हामी ध्यान दिनसकौं, सिकेको कुरा प्रयोग गर्नसकौं र ‘सबै कुरामा आज्ञाकारी हुनसकौं।’—२ कोरिन्थी २:९.

आज्ञाकारी हृदय छ भने प्रशस्त आनन्द र थुप्रै आशिष्‌हरू पाइन्छन्‌। यहोवा परमेश्‍वरलाई खुसी पारिरहेका छौं र उहाँको हृदयलाई आनन्दित तुल्याइरहेका छौं भनेर थाह पाउँदा हामीले मनोशान्ति पाउँछौं। (हितोपदेश २७:११) खराब काम गर्न लालायित हुँदा आज्ञाकारी हृदयले हामीलाई जोगाउनेछ। त्यसैले, स्वर्गमा हुनुहुने पिताको आज्ञा हामीले पक्कै पालन गर्नुपर्छ र यसरी प्रार्थना गर्नुपर्छ: “आफ्नो दासलाई आज्ञाकारी हृदय दिनुहोस्‌।”

[पृष्ठ २९-मा भएको चित्र]

किङ जेम्स तथा संसोधित खण्डसमेत भएको सेल्फ-प्रनाउन्सिङ एडिसन अफ द होली बाइबल (अंग्रेजी) बाट लिइएको

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने