प्रश्न सोध्दै र जवाफ सुन्दै—चासो देखाऔं
१ धेरैजसो मानिस खुलेर कुरा गर्न पाउँदा दंग पर्छन्। तर अरूले भाषण छाँट्न थाल्यो या कुरा कोट्याउन थाल्यो भने तिनीहरू नाक खुम्च्याउँछन्। त्यसैले, प्रश्न सोध्दै मानिसहरूको विचार खोतल्न हामी मसीही सेवकहरू सिपालु हुनै पर्छ।—हितो. २०:५.
२ हाम्रो प्रश्नले मानिसहरूलाई अप्ठ्यारोमा पार्नु हुँदैन, तर झकझकाएर सोच्न लगाउनुपर्छ। घरघर प्रचार गर्दा एक जना भाइले यसरी सोध्ने गर्छन्: “मानिसहरूले एकअर्कालाई नहेप्ने दिन आउला जस्तो के तपाईंलाई लाग्छ?” त्यसपछि घरधनीले के जवाफ दिन्छन्, त्यसलाई ध्यानमा राख्दै तिनी फेरि सोध्छन्: “के गऱ्यौं भने त्यस्तो दिन आउला?” अथवा “यहाँलाई किन यस्तो लागेको होला?” अनौपचारिक साक्षी दिंदा र सार्वजनिक स्थलमा प्रचार गर्दा अर्को एक जना भाइ छोराछोरी भएकाहरूलाई यसरी सोध्छन्: “आमाबाबु बन्दा सबैभन्दा खुसी लागेको क्षण के हुँदो रहेछ?” त्यसपछि तिनी फेरि सोध्छन्: “यहाँलाई सबैभन्दा बढी चिन्ता के कुरामा लाग्छ?” याद गर्नुभयो होला, यी प्रश्नहरूले मानिसलाई अप्ठ्यारोमा नपारी मनको कुरा पोख्न घचघच्याउँछ। सबैको उस्तै परिस्थिति नहुने हुँदा, हामीले प्रश्न सोध्दा कुन विषयमा कसरी सोध्ने हो, आफ्नो इलाकाअनुसार काँटछाँट गर्नुपर्ने हुन्छ।
३ मनको कुरा तानौं: घरधनीले आफ्नो विचार व्यक्त गर्न खोज्दा उनीहरूको कुरा ध्यानसित सुन्नुपर्छ, बीच-बीचमा प्वाक्क-प्वाक्क बोलिरहनु हुँदैन। (याकू. १:१९) उनीहरूको विचारको कदर गर्नुहोस्। (कल. ४:६) यसो भने पुग्छ: “साह्रै राम्रो कुरा भन्नुभयो। तपाईंको कुरा सुनेर मलाई खुसी लाग्यो।” घरधनीसित सहमत हुनुहुन्छ भने उनीहरूको सराहना गर्नुहोस्। उनीहरू के सोच्छन् र किन, बुझ्न थप प्रश्न गर्नुहोस्। दुवै पक्ष सहमत हुने विषयमा कुरा गर्नुहोस्। बाइबलतिर कुरा मोड्न यसो भन्न सक्नुहुन्छ: “तपाईंलाई यो कुरा कस्तो लाग्छ? के तपाईंले यसबारे कहिल्यै सोच्नुभएको थियो?” आफ्नै कुरामा मात्र जिद्दी गर्दै नचाहिंदो गन्थन नगर्नुहोस्!—२ तिमोथी २:२४, २५.
४ मानिसहरूको कुरा सुरुदेखि नै राम्ररी ध्यान दिएर सुन्नु भयो भने उनीहरूले पनि हाम्रो प्रश्नको जवाफ खुलेर दिनेछन्। हामीले ध्यान दिएर सुनिरहेको हो कि होइन, घरधनीले ठिम्याउन सक्छन् भनेर नबिर्सनुहोस्। एक जना परिभ्रमण निरीक्षकले यसो भने: “अरूको कुरा ध्यान दिएर सुन्नु भनेको उनीहरूको मन छुनु र उनीहरूप्रति व्यक्तिगत चासो देखाउनु हो।” घरधनीको कुरा ध्यान दिएर सुन्दा उनीहरूको आदर गरिरहेका हुन्छौं र उनीहरूलाई पनि हाम्रो सुसमाचार ध्यान दिएर सुन्न उत्प्रेरित गरिरहेका हुन्छौं।—रोमी १२:१०.