“उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ”
१ हामी सबै जना कहिलेकाहीं थाक्छौं। कामको बोझ वा दौडधूपले गर्दा थाकेका हुन सक्छौं। त्यति मात्र होइन, अहिले “डरलाग्दो समय” भएकोले भोग्नुपर्ने अनेकन् समस्याहरूले पनि थाक्छौं। (२ तिमो. ३:१) हामी यहोवाका सेवकहरू भएकोले सेवकाईमा सुस्त नहुने आध्यात्मिक बल कसरी पाउन सक्छौं? “सामर्थ्यमा बलियो” यहोवामाथि भर परेर। (यशै. ४०:२६) हाम्रा आवश्यकताहरू के-के हुन्, उहाँलाई थाह छ अनि हामीलाई मदत गर्न साँच्चै चाहनुहुन्छ।—१ पत्रु. ५:७.
२ यहोवाको प्रबन्ध: यहोवाले हामीलाई उहाँको पवित्र आत्माद्वारा बल दिनुहुन्छ। ब्रह्माण्ड सृष्टि गर्न पनि उहाँले यही बलवान् शक्ति चलाउनुभएको थियो। हामी थाकेर चूर हुँदा परमेश्वरको आत्माले हामीलाई “नवीन सामर्थ्य” दिन्छ। (यशै. ४०:३१) आफैलाई यो प्रश्न सोध्नुहोस्: मेरा मसीही जिम्मेवारीहरू पूरा गर्न मलाई पवित्र आत्माको मदत दिनुहोस् भनी किटेरै कहिले प्रार्थना गरेको थिएँ?—लूका ११:११-१३.
३ परमेश्वरको प्रेरित वचन दिनहुँ पढ्छौं र त्यसमा मनन गर्छौं अनि हाम्रा मसीही प्रकाशनहरू नियमित तवरमा अध्ययन गरेर आध्यात्मिक पोषण लिइरहन्छौं भने हामी “खोलाको धारको छेउमा रोपेको बोटजस्तै” हुनेछौं “जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन।”—भज. १:२, ३.
४ मण्डलीका भाइबहिनीहरूद्वारा पनि यहोवा हामीलाई बल दिनुहुन्छ। तिनीहरूले हामीलाई “सान्त्वना” दिन सक्छन् अर्थात् हामीलाई सुदृढ पार्न सक्छन्। (कल. ४:१०, ११) मण्डलीका सभाहरूमा तिनीहरूको उत्थानदायी कुराकानी, टिप्पणी र भाषणद्वारा हामी सुदृढ हुन्छौं। (प्रेरि. १५:३२) विशेष गरी प्राचीनहरूले आध्यात्मिक मदत र उत्साहवर्धक प्रोत्साहन दिन्छन्।—यशै. ३२:१, २.
५ सेवकाई: आफू थकित भएजस्तो महसुस भएको छ भने प्रचारकार्यमा भाग लिन नछोड्नुहोस्! अन्य थुप्रै गतिविधिमा भाग लिंदा हामी थाक्छौं तर सेवकाईमा नियमित तवरमा भाग लिंदा वास्तवमा स्फूर्ति पाउँछौं। (मत्ती ११:२८-३०) अरूलाई सुसमाचार सुनाउँदा परमेश्वरको राज्यमा ध्यानकेन्द्रित गर्न र अनन्त भविष्य तथा त्यसको उज्ज्वल आशाबारे सम्झिरहन मदत पाउँछौं।
६ यस दुष्ट रीतिरिवाज विनाश हुनुअघि थुप्रै कुरा गर्नुछ। ‘परमेश्वरले दिनुहुने बलमा’ भर पर्दै उहाँको सेवामा अटल रहिरहने ठोस कारण हामीसित छ। (१ पत्रु. ४:११) यहोवाको मदत पाएर हामी आफ्नो काम पूरा गर्न सक्छौं किनभने “उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ।”—यशै. ४०:२९.