प्रिय राज्य प्रकाशकहरू:
जून ९, २००८, सोमबार जापान शाखाको अनि नेपाल अनुवाद कार्यालयको बेथेल परिवारलाई बिहानको उपासनामा एउटा घोषणा सुनाइँदा सबैले हर्षोल्लाससाथ ताली बजाएका थिए। उक्त घोषणा यस्तो थियो: “परिचालक निकायले नेपालमा कन्ट्री कमिटी स्थापित गर्ने स्वीकृति दिएको छ . . . जुलाई १, २००८ देखि कन्ट्री कमिटीले आफ्नो काम सुरु गर्नेछ।”
कन्ट्री कमिटी स्थापित हुनु नेपालको ईश्वरतान्त्रिक इतिहासमा निश्चय नै एउटा कोसेढुङ्गो हो। अतः कन्ट्री कमिटीले जापान शाखाको सहयोगविना नै धेरैजसो ईश्वरतान्त्रिक मामिलाहरूको हेरविचार गर्नेछ। मण्डली, प्राचीनहरूको निकाय र क्षेत्रीय निरीक्षकले चिठीपत्र तथा रिपोर्टहरू सीधै कन्ट्री कमिटीलाई पठाउनुपर्छ र जवाफ पनि अझै छिटो दिइनेछ।
नेपालमा भाइबहिनीहरूको उत्तरोत्तर प्रगतिका साथै संगठनको विस्तार भएकोले नै यस्तो उल्लेखनीय परिवर्तन देख्न पाएका हौं। “यरबूक अफ जेहोभाज् विट्नेसेज १९७१”-अनुसार (अंग्रेजी) सेवा वर्ष १९७० मा नेपालमा ४ जना प्रकाशकहरूले प्रचारकार्यमा भाग लिएका थिए र यो त्यतिखेरको शिखर संख्या थियो। अनि अहिले नि? यो पत्र लेखिएको बेला हामीले तपाईंहरूको मे २००८ सम्मको क्षेत्र सेवा रिपोर्ट संकलन गरेका थियौं। उक्त रिपोर्टअनुसार १२ वटा मण्डली र २ वटा पृथक समूहमा ९५० प्रकाशकहरूले सेवा गरिरहेका थिए। हामी आशा गर्छौं, प्रकाशकहरूको संख्या चाँडै नै १,००० पुग्नेछ! यो खुसीको कुरा हो।
आफ्ना “धन-सम्पत्तिहरू” जम्मा गर्ने कामलाई ‘चाँडो पूरा गर्नेछु’ अर्थात् द्रुत गतिले अघि बढाउनेछु भनी यहोवाले आफ्नो वचन बाइबलमा प्रतिज्ञा गर्नुभएको छ। (यशै. ६०:२२; हाग्गै २:७) यहोवाको वचन सत्य छ र नेपालमा पनि उहाँको वचन पूरा हुँदैछ भन्ने कुरामा हामी सबै सहमत छौं। त्यसकारण तन-मनले यहोवाको सेवा गरौं र उहाँको संगठनसँगसँगै अघि बढौं।
तपाईंका भाइहरू,
जापान शाखा कार्यालय