व्यक्तिगत तथा पारिवारिक बाइबल अध्ययन अत्यावश्यक!
१. परिचालक निकाय अहिले हामीप्रति कस्तो विशेष चासो राख्छ र किन?
१ परिचालक निकाय प्रथम शताब्दीमा जस्तै आज पनि यहोवाका जनहरूको हितमा गहिरो चासो राख्छ। (प्रेरि. १५:६, २८) महासंकष्टको कालो बादल झन्-झनै मडारिदैं जाँदा प्रत्येक राज्य प्रकाशकले यहोवासँग बलियो सम्बन्ध गाँस्नु अत्यावश्यक छ। पहिला मण्डली पुस्तक अध्ययनको लागि छुट्याएको समय तपाईं अब कसरी प्रयोग गर्नुहुन्छ? यो समय पारिवारिक उपासनाको लागि प्रयोग गर्न सबैलाई प्रोत्साहन दिइन्छ। यो समय होसियारीसाथ प्रयोग गरेमा परमेश्वरद्वारा प्रेरित वचनको गहिराइसम्म पुग्न र यसमा भएका जीवनदायी सन्देशबाट लाभ उठाउन हामीलाई मदत मिल्नेछ।—भज. १:१-३; रोमी ११:३३, ३४.
२. साँझको पारिवारिक उपासनाको बन्दोबस्त हामी कसरी मिलाउन सक्छौं?
२ साँझको पारिवारिक उपासना: अर्थपूर्ण पारिवारिक बाइबल अध्ययन नियमित रूपमा गरेर यहोवासामु आफ्नो जिम्मेवारी पूरा गर्न परिवारका शिरहरूलाई प्रोत्साहन दिइन्छ। (व्यव. ६:६, ७) पारिवारिक जिम्मेवारी नभएका एक्लो भाइ वा बहिनीले यो समयलाई व्यक्तिगत बाइबल अध्ययन र अनुसन्धान गर्नमा लगाउन सक्नेछन्। यो ‘खराब समयमा’ यहोवासितको सम्बन्ध बलियो बनाइराख्न अध्ययन र मननको लागि “समयको पूरा सदुपयोग” गर्नु हामी सबैको लागि अत्यावश्यक छ।—एफि. ५:१५, १६, NRV.
३, ४. हामी कस्ता सामग्रीहरू प्रयोग गर्न सक्छौं र ती सामग्री प्रयोग गर्नुको उद्देश्य के हो?
३ के अध्ययन गर्ने: वाच टावर पब्लिकेसन्स् इन्डेक्स वा सी डी-रोममा भएको वाचटावर लाइब्रेरी-ले बाइबल अध्ययनको समयलाई रमाइलो बनाउने जानकारीहरू पाउन तपाईंलाई मदत गर्न सक्छ। परिवारहरूले पारिवारिक आनन्दको रहस्य, बाइबलका कथाहरू भएको मेरो पुस्तक, युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ र आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष जस्ता प्रकाशनहरू प्रयोग गर्न सक्छन्। साथै तिनीहरूले अंग्रेजी प्रहरीधरहरा-मा नियमित रूपमा प्रकाशित हुने “पारिवारिक आनन्दको कुञ्जी,” “आफ्ना छोराछोरीहरूलाई सिकाउनुहोस्” र “हाम्रा युवाहरूका लागि” जस्ता लेखहरू पनि छलफल गर्न सक्छन्। त्यसैगरि, अवेक!-मा “युवाहरू सोध्छन्” शृङ्खला र सृष्टिका आश्चर्यबारे आकर्षक लेखहरू पनि छन्।
४ हतार नगरी बाइबल पढ्दा परिवारमा सबैको मन र हृदयमा ईश्वरीय सिद्धान्त र शिक्षा ठप्प बस्न सक्छ। (हिब्रू ४:१२) कुनै-कुनै दिनचाहिं हाम्रो संगठनको भिडिओ हेर्न र त्यसलाई छलफल गर्न सक्नुहुन्छ। रचनात्मक र सृजनशील हुने मौका प्रशस्तै छन्। परिवारका सदस्यलाई के गर्दा मन पर्छ, सोधे कसो होला?
५. अहिले व्यक्तिगत र पारिवारिक बाइबल अध्ययन गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ?
५ अहिले किन महत्त्वपूर्ण: यहोवासँगको सम्बन्ध बलियो बनाउँदा यसले हामीलाई ‘स्थिर हुन र यहोवाले दिने उद्धारलाई हेर्न’ तयार बनाउँछ। (प्रस्थ. १४:१३) “टेढा र बरालिएको पुस्ताका बीचमा” छोराछोरी हुर्काउन आमाबाबुलाई परमेश्वरको डोऱ्याइ चाहिन्छ। (फिलि. २:१५) छोराछोरीलाई स्कूलमा दिन प्रतिदिन खस्कँदै गएको नैतिकतासँग जुझ्न मदत चाहिन्छ। (हितो. २२:३, ६) पति-पत्नीले यहोवासँग “तीन सुताले बाटिएको डोरी” कसिलो बनाउन प्रयास गर्नु उपयुक्त हो। (उप. ४:१२) त्यसकारण बाँकी रहेको समयलाई हाम्रो “अति पवित्र विश्वास”-मा दृढ हुँदै जान प्रयोग गरेर समयको सदुपयोग गरौं।—यहू. २०.