परिवारहरूका लागि मदत
१. साप्ताहिक विश्राम दिनमा इस्राएली परिवारहरूले कसरी लाभ उठाउँथे?
१ विश्राम दिन यहोवाले गर्नुभएको एउटा मायालु प्रबन्ध थियो र यसबाट परिवारहरूले लाभ उठाउँथे। इस्राएलीहरूले आफ्नो नियमित कामधन्दाबाट विश्राम लिन्थे अनि यहोवाको भलाइ र उहाँसितको आफ्नो सम्बन्धमा मनन गर्न समय पाउँथे। यो अवसरको फाइदा उठाउँदै आमाबाबुले आफ्ना छोराछोरीको मनमा परमेश्वरको व्यवस्था ठप्प बसालिदिन सक्थे। (व्यव. ६:६, ७) हरेक हप्ता विश्राम दिनमा यहोवाका जनहरूले यहोवासितको आफ्नो सम्बन्धमा ध्यान केन्द्रित गर्न समय पाउँथे।
२. विश्राम दिनले यहोवाबारे हामीलाई के सिकाउँछ?
२ निस्सन्देह, अहिले परिवारहरूले विश्राम दिन मानेको यहोवा चाहनुहुन्न। तैपनि त्यो व्यवस्थाबाट हामी परमेश्वरबारे केही कुरा सिक्न सक्छौं। आफ्ना जनहरूको आध्यात्मिक हितमा उहाँले सधैं गहिरो चासो लिनुभएको छ। (यशै. ४८:१७, १८) यहोवाले आज यस्तो मायालु चासो व्यक्त गर्नुहुने एउटा तरिका साँझको पारिवारिक उपासना हो।
३. साँझको पारिवारिक उपासनाको उद्देश्य के हो?
३ साँझको पारिवारिक उपासनाको उद्देश्य के हो? सन् २००९ जनवरी महिनादेखि मण्डली पुस्तक अध्ययन पनि ईश्वरतान्त्रिक सेवा स्कूल र सेवा सभा हुने साँझमै सञ्चालन गरिन थालियो। यस्तो छाँटकाँट गरिनुको एउटा कारण हप्ताको कुनै एक साँझ पारिवारिक उपासनाका लागि छुट्ट्याएर परिवारहरूले यहोवासितको आफ्नो सम्बन्धलाई बलियो पार्ने मौका पाऊन् भनेर हो। प्रत्येक परिवारलाई आफ्नो पारिवारिक उपासना सम्भव भए पुस्तक अध्ययन सञ्चालन गरिने साँझमै सार्न अनि परिवारको आवश्यकतालाई ध्यानमा राखेर आरामसित बाइबल छलफल गर्नको लागि यो समयको सदुपयोग गर्न प्रोत्साहित गरियो।
४. परिवारहरूले आफ्नो छलफललाई एक घण्टामै सीमित राख्नुपर्छ भन्ने छ? व्याख्या गर्नुहोस्।
४ मण्डली पुस्तक अध्ययनको सभामा उपस्थित हुनको लागि हामीलाई लुगा फेर्न, यात्रा गर्न र यस्तै अन्य कुरा गर्न समय चाहिन्थ्यो। एक घण्टाको यो सभामा आउनजान हामीमध्ये थुप्रैलाई एक घण्टाभन्दा धेरै समय लाग्थ्यो। हाम्रो सभामा गरिएको यो छाँटकाँटले गर्दा अब हामी सपरिवार यो साँझ यहोवाको उपासना गर्न सक्छौं। त्यसैकारण साँझको पारिवारिक उपासनालाई एक घण्टामै सीमित राख्नुपर्छ भन्ने छैन। बरु, आफ्नो परिवारको आवश्यकता र सीमिततालाई ध्यानमा राखी त्यसैअनुसार समय तोक्न सक्छौं।
५. के सम्पूर्ण समय सबै मिलेर छलफल गर्नुपर्छ भन्ने छ? व्याख्या गर्नुहोस्।
५ के सम्पूर्ण समय सबै मिलेर छलफल गर्नुपर्छ भन्ने छ? विवाहित दम्पती तथा छोराछोरी भएका परिवारहरूले सँगै मिलेर धर्मशास्त्रीय विषयहरू छलफल गर्दा तिनीहरूले एकअर्कालाई प्रोत्साहन दिन सक्छन्। (रोमी १:१२) परिवार आपसमा नजिक हुन्छ। त्यसैकारण साँझको पारिवारिक उपासनाको मुख्य भाग धर्मशास्त्रीय विषयहरूको छलफल हुनुपर्छ। तथापि, परिवारका प्रत्येक सदस्य आफ्नो व्यक्तिगत अध्ययनमा पनि लाग्न सक्छन्। उदाहरणका लागि, सबै मिलेर छलफल गरिसकेपश्चात् परिवार एकै ठाउँमा रहे तापनि आ-आफ्नै अध्ययन गर्ने, सायद सभाका लागि तयारी गरिसिध्याउने वा पत्रिकाहरू पढ्ने गर्न सक्छन्। कुनै-कुनै परिवारले भने उपासनाको साँझ टि भी हेर्दै नहेर्ने निर्णय गर्छन्।
६. छलफल कसरी गर्न सकिन्छ?
६ छलफल कसरी गर्ने? सधैंभरि प्रश्न-उत्तर नै गर्नुपर्छ भन्ने छैन। साँझको पारिवारिक उपासना जीवन्त र चाखलाग्दो बनाउन थुप्रै परिवारले मध्य-हप्तामा हुने हाम्रा सभाकै शैलीमा कार्यक्रम सञ्चालन गर्छन्। तिनीहरू छलफललाई भाग-भागमा विभाजन गर्छन् र विविध तरिकामा छलफल गर्छन्। उदाहरणका लागि, तिनीहरू सँगै मिलेर बाइबल पढ्ने, सभाका कुनै भागको तयारी गर्ने र क्षेत्र सेवाको लागि अभ्यास गर्ने गर्न सक्छन्। पृष्ठ ६ मा केही सुझावहरू दिइएका छन्।
७. कस्तो वातावरण सृजना गर्न आमाबाबुले प्रयास गर्नुपर्छ?
७ कस्तो वातावरण सृजना गर्न आमाबाबुले प्रयास गर्नुपर्छ? मायालु र तनावमुक्त वातावरणमा तपाईंको परिवारले सबैभन्दा राम्रोसँग सिक्न सक्नेछ। मौसम राम्रो छ भने कहिलेकाहीं तपाईं घरबाहिर बसेर पनि अध्ययन गर्न सक्नुहुन्छ। आवश्यक परेमा बीचमा विश्राम लिन सक्नुहुन्छ। केही परिवारहरूले कार्यक्रमपछि खाजाको बन्दोबस्त पनि मिलाउँछन्। साँझको पारिवारिक उपासनामा आमाबाबुले छोराछोरीलाई गाली गर्ने वा अनुशासन दिने त गर्दैन तर तिनीहरूले आफ्ना छोराछोरीमा याद गरेको कुनै झुकाव वा समस्या छलफल गर्न केही समय दिनुपर्ने हुन सक्छ। तर छोरा वा छोरीसित संवेदनशील मामिलाहरू छलफल गर्नुपर्दा हप्ताको कुनै अर्को समयमा तिनीसित व्यक्तिगत रूपमा कुरा गर्नु राम्रो हुन्छ। यसो गर्दा तिनलाई आफ्नो दाजुभाइसामु लाज हुँदैन। साँझको पारिवारिक उपासना निरस, बढ्तै गम्भीर हुनुहुँदैन तर हामीले उपासना गर्ने आनन्दित परमेश्वरका गुणहरू झल्काउने किसिमले सञ्चालन गर्नुपर्छ।—१ तिमो. १:११.
८, ९. परिवारका शिरहरूले कस्तो तयारी गर्नुपर्छ?
८ परिवारका शिरले कसरी तयारी गर्न सक्छन्? के छलफल गर्ने र त्यसो गर्ने सबैभन्दा उपयुक्त तरिका के हो, त्यो निधो गरेर परिवारका शिरले साँझको पारिवारिक उपासनाको अग्रिम तयारी गर्छन् भने परिवारले भरपूर लाभ उठाउने छन्। (हितो. २१:५) यस सन्दर्भमा पतिले आफ्नी पत्नीसित परामर्श लिनु राम्रो हुन्छ। (हितो. १५:२२) परिवारका शिरहरू हो, कहिलेकाहीं आफ्ना छोराछोरीको पनि सल्लाह माग्नु भए कसो होला? यसो गर्नुभयो भने उनीहरूको चासो र चिन्ताका विषयहरूबारे तपाईंले बहुमूल्य अन्तरदृष्टि प्राप्त गर्न सक्नुहुन्छ।
९ प्रायजसो परिवारका शिरले तयारी गर्नमा धेरै समय खर्चिराख्नु पर्दैन। सम्भवतः परिवारका सदस्यहरूले अध्ययनको दौडान कुनै-कुनै भाग नियमित तवरमा गर्दा आनन्द उठाउने छन् र परिवारका शिरले प्रत्येक चोटि पूरै नयाँ कार्यक्रम बनाइराख्नु पर्दैन। परिवारको आवश्यकता दिमागमा ताजा रहेकै बेला अर्थात् अध्ययन सिद्धिनेबित्तिकै अर्को चोटिको लागि तयारी गर्नु शिरहरूका लागि निकै लाभदायक हुन सक्छ। केही परिवारका शिरहरूले एउटा छोटो कार्य-तालिका बनाएर परिवारका सबैले देख्न सक्ने ठाउँमा टाँस्ने गर्छन्, जस्तै:- फ्रिजमा। यसले उत्साह र उत्सुकता उत्पन्न गराउँछ र आवश्यक छ भने परिवारले तयारी गर्ने समय पनि पाउँछ।
१०.एक्लै बस्नेहरूले साँझको पारिवारिक उपासनाको समयमा के गर्न सक्छन्?
१० विश्वासमा म मात्र छु वा म एक्लै बस्छु भने नि? एक्लै बस्नेहरूले साँझको पारिवारिक उपासनाको समयमा व्यक्तिगत अध्ययन गर्न सक्छन्। साधारणतया एउटा राम्रो व्यक्तिगत अध्ययन कार्यक्रममा बाइबल पढ्नु, सभाको तयारी गर्नु र प्रहरीधरहरा अनि अवेक! पत्रिका पढ्नु समावेश हुनुपर्छ। केही प्रकाशकहरू यसो गर्नुका साथै अनुसन्धानमूलक व्यक्तिगत अध्ययन पनि गर्छन्। धर्मशास्त्रको उत्थानदायी छलफलका लागि कहिलेकाहीं अरू प्रकाशक वा परिवारलाई बोलाउन सकिन्छ।
११, १२. साँझको पारिवारिक उपासना नियमित गर्दा कस्ता लाभहरू हुन्छन्?
११ साँझको पारिवारिक उपासना नियमित गर्दा कस्ता लाभहरू हुन्छन्? सारा मनले साँचो उपासनामा भाग लिनेहरू यहोवासित नजिकिन्छन्। साथै सँगै मिलेर उपासना गर्नेहरूको पारिवारिक बन्धन बलियो हुन्छ। एक विवाहित दम्पतीले आफूले पाएका आशिष्हरूबारे यस्तो लेखे: “निस्सन्तान अग्रगामी जोडीको रूपमा हामी पारिवारिक उपासना गर्ने साँझको उत्सुकता साथ बाटो हेर्छौं। हामी यहोवाको र एकअर्काको नजिक भएको महसुस गरिरहेका छौं। उपासनाको लागि छुट्ट्याएको दिन बिहान उठ्दा हामी एकअर्कालाई यसो भन्छौं: ‘आज साँझ के हो याद छ? हो, साँझको पारिवारिक उपासना!’ ”
१२ पारिवारिक उपासनाका लागि एक साँझ छुट्ट्याउनुले व्यस्त परिवारलाई पनि मदत गर्छ। दुई छोराछोरी हुर्काउँदै गरेकी तथा नियमित अग्रगामी सेवा गरिरहेकी एक जना एक्ली आमाले यस्तो लेखिन्: “पहिला-पहिला हामीले पारिवारिक उपासना सधैं गर्न सकेनौं। म थकित हुन्थें, त्यसैकारण आकलझुकल मात्र गर्ने गर्थ्यौं। व्यस्त तालिकामा यसलाई पनि कसरी समावेश गर्ने, मैले ठम्याउनै सकिनँ। त्यसैले साँझको पारिवारिक उपासनाको प्रबन्ध गरिदिनुभएकोमा मुरीमुरी धन्यवाद दिन म तपाईंहरूलाई यो पत्र लेख्दैछु। हामी नियमित रूपमा पारिवारिक उपासना सञ्चालन गर्न सफल भएका छौं र त्यसबाट लाभ पनि उठाइरहेका छौं।”
१३. यो प्रबन्धबाट तपाईंको परिवारले कत्तिको लाभ उठाउनेछ, त्यो कुन कुरामा निर्भर हुन्छ?
१३ विश्राम दिनजस्तै साँझको पारिवारिक उपासना पनि स्वर्गमा बस्नुहुने हाम्रा महान् पिताले दिनुभएको एउटा उपहार हो जसले परिवारहरूलाई मदत गर्न सक्छ। (याकू. १:१७) इस्राएलीहरूले विश्राम दिनबाट कत्तिको लाभ उठाउन सक्थे भन्ने कुरा त्यो दिन तिनीहरूले कसरी बिताउँथे, त्यसमा निर्भर हुन्थ्यो। त्यसैगरि, पारिवारिक उपासनाको लागि भनेर गरिएको प्रबन्धबाट आफ्नो परिवारले कत्तिको लाभ उठाउँछ भन्ने कुरा त्यो साँझलाई हामी कसरी प्रयोग गर्छौं, त्यसमा निर्भर हुन्छ। (२ कोरि. ९:६; गला. ६:७, ८; कल. ३:२३, २४) यो प्रबन्धको सदुपयोग गर्दा तपाईंको परिवारले भजनहारले जस्तै यसो भन्न सक्नेछ: “परमेश्वरको नजिक जान मेरो निम्ति असल छ। . . . मैले परमप्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु।”—भज. ७३:२८.
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
साँझको पारिवारिक उपासना निरस, बढ्तै गम्भीर हुनुहुँदैन तर हामीले उपासना गर्ने आनन्दित परमेश्वरका गुणहरू झल्काउने किसिमले सञ्चालन गर्नुपर्छ
[पृष्ठ ६-मा भएको पेटी]
सुरक्षित राख्नुहोस्
साँझको पारिवारिक उपासनाका लागि केही सुझावहरू
बाइबल:
• साप्ताहिक बाइबल पढाइको केही भाग सँगै मिलेर पढ्नुहोस्। पढाइको भागमा वृत्तान्त र वार्तालापको भाग छ भने वृत्तान्तलाई एक जनाले र विभिन्न पात्रहरूबीचको वार्तालापलाई अरूले पढ्न सक्छन्।
• बाइबल पढाइको कुनै भाग पुनःअभिनय गर्नुहोस्।
• परिवारको हरेक सदस्यलाई पहिले नै बाइबलका निश्चित अध्यायहरू पढ्न र पढ्दाखेरि उठेका एक-दुइटा प्रश्न लेखेर राख्न भन्नुहोस्। त्यसपछि सबैको प्रश्न सँगै मिलेर अनुसन्धान गर्नुहोस्।
• हरेक हप्ता कागजको टुक्रामा एउटा बाइबल पद लेख्नुहोस् र त्यो पद कण्ठ पार्ने र त्यसको व्याख्या गर्ने प्रयास गर्नुहोस्। यसरी लेखिएका कागजका टुक्राहरू जम्मा गर्नुहोस् र तपाईंले कति वटा शास्त्रपदहरू सम्झन सक्नुभयो हरेक हप्ता पुनरावृत्ति गरेर हेर्नुहोस्।
• बाइबल पढाइका श्रव्य रेकर्डिङहरू सुन्नुहोस् र सँगसँगै बाइबल खोलेर हेर्नुहोस्।
सभा:
• सभाको केही भाग सँगै मिलेर तयारी गर्नुहोस्।
• आगामी हप्ता सभामा प्रयोग हुने राज्य गीत गाउने अभ्यास गर्नुहोस्।
• कसैको ईश्वरतान्त्रिक सेवा स्कूलमा भाषण छ वा सेवा सभामा प्रदर्शनको भाग छ भने त्यसलाई कसरी दिने वा प्रस्तुत गर्ने भन्ने सन्दर्भमा सुझावहरू छलफल गर्नुहोस् वा परिवारसामु अभ्यास गर्नुहोस्।
परिवारका आवश्यकताहरू:
• युवा जनहरूका प्रश्न वा लर्न फ्रम द ग्रेट टिचर किताबबाट केही विषयवस्तु छलफल गर्नुहोस्।
• स्कूलमा आइपर्न सक्ने गाह्रो परिस्थितिको कसरी सामना गर्न सकिन्छ, अभ्यास गर्नुहोस्।
• आमाबाबुले छोराछोरीको र छोराछोरीले आमाबाबुको भूमिका खेलेर अभ्यास गर्नुहोस्। छोराछोरीले कुनै एउटा विषयमा अनुसन्धान गर्छन् र त्यसको आधारमा पछि आमाबाबुसित तर्क गर्छन्।
क्षेत्र सेवा:
• सप्ताहन्तमा प्रयोग गर्न सकिने प्रस्तुतिहरूको तयारी गर्न अभ्यास गर्नुहोस्।
• स्मरणार्थ उत्सव वा छुट्टीको समयमा परिवारका सदस्यहरूले क्षेत्र सेवामा अझै बढी भाग लिन कस्ता व्यावहारिक लक्ष्य राख्न सक्छन्, छलफल गर्नुहोस्।
• क्षेत्र सेवामा मानिसहरूले उठाउन सक्ने भिन्नाभिन्नै प्रश्नको जवाफ खोजी गर्न परिवारका प्रत्येक सदस्यलाई केही मिनेट दिनुहोस् अनि त्यसपछि जवाफ दिन अभ्यास गर्नुहोस्।
थप सुझावहरू:
• नयाँ पत्रिकाहरूमा भएको एउटा लेख सँगै मिलेर पढ्नुहोस्।
• प्रत्येक सदस्यलाई नयाँ पत्रिकामा आफूलाई रोचक लागेको लेख पहिल्यै पढ्न लगाउनुहोस् र त्यसपछि त्यसबारे टिप्पणी गर्न लगाउनुहोस्।
• कहिलेकाहीं कुनै प्रकाशक वा दम्पतीलाई तपाईंहरूको साँझको पारिवारिक उपासनामा सामेल हुने निम्तो दिनुहोस् र तिनीहरूलाई क्षेत्र सेवाको अनुभव वा आफू सच्चाइमा कसरी आए बताउन भन्नुहोस्।
• हाम्रा भिडियोहरूमध्ये एउटा हेर्नुहोस् र छलफल गर्नुहोस्।
• अवेक! पत्रिकामा आउने “युवाहरू सोध्छन्” वा “परिवारले पुनरावृत्ति गर्नका लागि” सँगै छलफल गर्नुहोस्।
• प्रहरीधरहरा पत्रिकामा आउने “आफ्ना छोराछोरीलाई सिकाउनुहोस्” वा “युवाहरूका लागि” सँगै छलफल गर्नुहोस्।
• हालैको यरबूक वा पछिल्लो जिल्ला अधिवेशनमा विमोचन गरिएको कुनै नयाँ प्रकाशनको केही अंश पढेर छलफल गर्नुहोस्।
• अधिवेशन वा सम्मेलनमा उपस्थित भइसकेपछि त्यसका मुख्य भागहरू पुनरावृत्ति गर्नुहोस्।
• यहोवाको सृष्टि नियाल्नुहोस् र त्यसले यहोवाबारे हामीलाई के सिकाउँछ छलफल गर्नुहोस्।
• कुनै अनुसन्धानमूलक योजनामा सँगै काम गर्नुहोस् जस्तै कुनै कुराको नमुना बनाउने, ठाउँहरूको नक्सा कोर्ने वा चार्ट बनाउने।