तिनीहरूले कसरी सुन्न सक्लान्?
१. प्रचारकार्यमा भाग लिनु किन गाह्रो हुन सक्छ, तर हामी प्रचार गर्न किन छोड्दैनौं?
१ यहोवाको दिन अत्यन्तै नजिक आइपुगेकोले अझै पनि थुप्रैलाई यहोवा परमेश्वर र उहाँले मानिसजातिका लागि राखेको उद्देश्यबारे सही ज्ञान लिन मदत गर्नु अत्यावश्यक छ। (यूह. १७:३; २ पत्रु. ३:९, १०) तर कहिलेकाहीं प्रचारमा भाग लिनु गाह्रो हुन सक्छ। किनकि धेरै मानिस उदासीन छन् भने कतिले त हाम्रो प्रचारकार्यलाई गिल्लासमेत गर्न सक्छन्। (२ पत्रु. ३:३, ४) तैपनि सुसमाचार स्वीकार्ने मानिसहरू हाम्रो इलाकामा अझै पनि छन् भनेर विश्वस्त हुन सक्ने हर कारण हामीसित छ। तर प्रचार गर्ने मानिस नै छैन भने तिनीहरूले कसरी सुन्न सक्लान्?—रोमी १०:१४, १५.
२. प्रेरित पावलको उदाहरणले हामीलाई कसरी प्रोत्साहन दिन्छ?
२ विरोध सामना गर्नुपर्छ: परमेश्वरको राज्यको सन्देश सुन्न चाहनेहरू अझै पनि थुप्रै भएकोले हामी पन्छिनुहुँदैन। प्रेरित पावलले सुनाएको सुसमाचार सुन्ने युरोपको पहिलो सहर फिलिप्पी थियो। पावल र सिलासलाई झूटो आरोप लगाएर छडीले पिटियो र झ्यालखानामा हालियो। (प्रेरि. १६:१६-२४) त्यस्तो पीडा भोग्नुपरे तापनि पावल डरले काँप्दै प्रचारै नगरी बसेनन्। मिसनरी यात्राको दौडान थिस्सलोनिकी भनिने अर्को सहरमा जाँदा उनी ‘परमेश्वरमा निर्भयी रहे।’ (१ थिस्स. २:२) के पावलको उदाहरणले हामीले ‘हरेस नखानुको’ कारण स्पष्ट पार्दैन र?—गला. ६:९.
३. पहिला चासो नदेखाएकाहरूको मन केले गर्दा परिवर्तन हुन सक्छ?
३ लामो समयदेखि हाम्रो सन्देश सुन्न इन्कार गरिरहेकाहरूको समेत मन परिवर्तन भएको छ। आर्थिक स्थिति डामाडोल हुँदा, रोग-बिमार लाग्दा, परिवारमा कसैको मृत्यु हुँदा वा संसारमा भइरहेका घटनाबारे खराब रिपोर्ट सुन्दा मानिसहरूको मन परिवर्तन हुन सक्छ। (१ कोरि. ७:३१) विरोधी आमाबाबुका कतिपय छोराछोरी हुर्किसकेका छन् र सुन्न इच्छुक भएका छन्। हामीले निरन्तर गरिरहने प्रचारकार्यबाट यस्ता मानिसहरूले ढिलो हुनुअघि नै ‘यहोवाको नाउँ पुकार्ने’ मौका पाउँछन्।—रोमी १०:१३.
४. ‘बन्द नगरी’ प्रचारकार्यमा लागिरहन हामीलाई केले प्रेरित गर्छ?
४ ‘बन्द नगर्नुहोस्’: परमेश्वर र छिमेकीप्रतिको प्रेमले हामीलाई प्रथम शताब्दीका प्रेरितहरूझैं प्रचार गर्ने र चेला बनाउने काममा ‘बन्द नगरी’ लागिरहन उत्प्रेरित गर्छ। (प्रेरि. ५:४२) आज धेरै मानिसहरू संसारमा भइरहेका “सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप” गरिरहेका छन्। (इज. ९:४) सुसमाचार सुन्दा तिनीहरूले कत्ति हाइसञ्चो महसुस गर्लान्! धेरैजसो मानिसले सुन्न इन्कारै गरेछन् भने पनि हामीले गरेको प्रयास देखेर यहोवा रमाउनुहुन्छ भन्ने धर्मशास्त्रीय आश्वासन हामीसित छ।—हिब्रू १३:१५, १६.