हामी किन बारम्बार गइरहन्छौं
१. हामी बारम्बार प्रचार जाने भएकोले कस्तो प्रश्न उठ्छ?
१ धेरै ठाउँहरूमा हामी एउटै इलाकामा दोहऱ्याइ-तेहऱ्याइ प्रचार गरिरहन्छौं। घरधनीले चासो छैन भनिसकेको भए तापनि तिनलाई भेट्न बारम्बार गइरहन्छौं। सुसमाचार सुन्न नचाहने मानिसहरूसित हामी किन फेरि कुरा गर्न गइरहन्छौं?
२. हामीले निरन्तर प्रचार गर्नुको मुख्य कारण के हो?
२ यहोवा अनि मानिसहरूलाई प्रेम गर्छौं: हामीले निरन्तर प्रचार गर्नुको मुख्य कारण यहोवाप्रतिको प्रेम हो। अरूलाई हाम्रो महान् परमेश्वरको विषयमा बताउन हामी हृदयदेखि उत्सुक छौं। (लूका ६:४५) हामी यहोवालाई माया गर्छौं; त्यसैले उहाँको आज्ञा मान्छौं र अरूलाई पनि त्यसै गर्न मदत दिन चाहन्छौं। (हितो. २७:११; १ यूह. ५:३) मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाऊन् हामी वफादार भई यो काममा लागिरहन्छौं। प्रथम शताब्दीमा अरूले सताउँदासमेत मसीहीहरूले सुसमाचार सुनाउन “बन्द गरेनन्।” (प्रेरि. ५:४२) मानिसहरूले हाम्रो सन्देश सुन्न नखोज्दा हामी निरुत्साहित हुँदैनौं। बरु, डटेर प्रचार गरिरहन्छौं र यहोवाप्रतिको हाम्रो गहिरो माया अनि भक्ति प्रदर्शन गर्छौं।
३. छिमेकीप्रतिको मायाले हामीलाई निरन्तर प्रचार गर्न कसरी मदत गर्छ?
३ हामीले निरन्तर प्रचार गर्नुको अर्को कारण छिमेकीको माया हो। (लूका १०:२७) यहोवा कोही पनि नाश नहोस् भनेर चाहनुहुन्छ। (२ पत्रु. ३:९) बारम्बार प्रचार भइरहेको इलाकामा समेत यहोवाको सेवा गर्न इच्छुक व्यक्तिहरू हामी भेटिरहन्छौं। उदाहरणका लागि, ग्वाडेलुप भन्ने टापुका प्रत्येक ५६ जनामा १ जना यहोवाका साक्षी हुन्। तैपनि गत वर्ष, त्यहाँ २१४ जनाले बप्तिस्मा लिए अनि झन्डै २०,००० जना अर्थात् प्रत्येक २२ जनामध्ये १ जना स्मरणार्थमा आए।
४. इलाकामा कस्ता परिवर्तन भइरहन्छन्?
४ इलाकामा परिवर्तन भइरहन्छ: एउटा घरमा सधैं एउटै व्यक्तिसित मात्र भेट भइरहन्छ भन्ने छैन। जुन घरमा ‘चासो छैन’ भन्ने जवाफ पाउनुभएको थियो, सायद अर्को पटक परिवारको अर्कै सदस्यसित भेट हुन सक्छ। हाम्रो सन्देश सुन्ने मौका कहिल्यै नपाएको हुनाले तिनले हाम्रो कुरा राम्ररी सुन्न सक्छन्। अथवा नौलो मान्छे डेरा सरेर बसेका हुन सक्छन् र तिनले हाम्रो सन्देश सुन्ने चासो देखाउन सक्छन्। कुनै-कुनै घरधनीले विरोध गरे तापनि, उनीहरूका छोराछोरीलाई भने चासो हुन सक्छ। हुर्केबढेर आफ्नै बाटो लागेपछि, उनीहरू हाम्रो सन्देश सुन्न इच्छुक हुन सक्छन्।
५. मानिसहरू के कारणले गर्दा सुसमाचार सुन्न पहिलेभन्दा इच्छुक हुन सक्छन्?
५ मानिसहरूको स्वभाव पनि फेरिन सक्छ। प्रेरित पावल पनि एकताका “निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने” मानिस थिए। (१ तिमो. १:१३) अहिले यहोवाको सेवा गर्ने कतिपयलाई पनि कुनै समय पटक्कै चासो थिएन। तिनीहरूमध्ये कतिले त सुसमाचारको विरोधसमेत गरे होलान्। संसारको परिस्थिति बदलिंदा मानिसहरूको स्वभाव पनि बदलिन सक्छ र तिनीहरू हाम्रो सन्देश सुन्न राजी हुन सक्छन्। कोहीचाहिं जागीर खोसिंदा, आर्थिक समस्याले घेर्दा, अस्वस्थ हुँदा अथवा प्रिय व्यक्तिको मृत्यु हुँदा सुसमाचार सुन्न पहिलेभन्दा इच्छुक हुन सक्छन्।
६. हामीले उत्साहित भएर निरन्तर प्रचार किन गर्नुपर्छ?
६ वर्तमान रीतिरिवाजको अन्त नजिकै छ। तर प्रचार गर्ने अनि सिकाउने हाम्रो काम भने रफ्तारमा चलिरहेको छ। (यशै. ६०:२२) त्यसैले, उत्साहित भएर प्रचार गरिरहौं र सधैं सकारात्मक दृष्टिकोण राखौं। सुसमाचार सुन्न चाहने व्यक्ति कुनै पनि बेला फेला पर्न सक्छ। त्यसैले सुसमाचार सुनाउन बन्द नगरौं! ‘यसो गर्नाले हामीले आफूलाई र हाम्रो कुरा सुन्नेलाई समेत उद्धार गर्नेछौं।’—१ तिमो. ४:१६.