हरेक दिन यहोवाको प्रशंसा गर्नुहोस्
१. परमेश्वरका सेवकहरू के गर्न प्रेरित हुन्छन् र किन?
१ राजा दाऊदले “दिनभरि” र यहाँसम्म कि सदासर्वदा यहोवाको प्रशंसा गर्ने आफ्नो संकल्प व्यक्त गरे। (भज. ७१:८; १४५:२, ७, २१) हामीसित पनि हरेक दिन यहोवाको प्रशंसा गर्नुपर्ने असल कारण छ।—भज. ३७:१०; १४५:१४, १८; २ पत्रु. ३:१३.
२. परिवारले हरेक दिन कसरी यहोवाको प्रशंसा गर्न सक्छ?
२ घरमा हुँदा: दैनिक पद छलफल गर्दा, पारिवारिक उपासना गर्दा र मण्डलीका सभाहरूको लागि तयारी गर्दा आध्यात्मिक विषयमा छलफल गर्न मदत दिने प्रोत्साहनदायी साहित्य हामीसित छ। थुप्रै परिवारले हरेक दिन कम्तीमा एक पटक भए पनि सँगै खाना खाने बानी बसालेका छन्। यसरी सँगै खाँदा आरामसित कुराकानी गर्ने अनि यहोवाको प्रशंसा गर्ने मौका मिल्छ। आमाबाबुले सुरु गर्ने यस्तो अनौपचारिक छलफल छोराछोरीलाई ‘यहोवाको शिक्षा र चेताउनीमा पालन-पोषण’ गराउन मदतकारी हुन सक्छ।—एफि. ६:४; व्यव. ६:५-७.
३. हाम्रा भाइबहिनीमाझ हुँदा हामीसित कस्तो मौका हुन्छ?
३ हाम्रा भाइबहिनीमाझ हुँदा: क्षेत्र सेवामा वा मण्डलीका सभाहरूमा हामीसित सँगी विश्वासीहरूसँगै मिलेर यहोवाको प्रशंसा गर्ने राम्रो मौका हुन्छ। (हितो. १५:३०; फिलि. ४:८; हिब्रू १३:१५) हामी सबै जना यहोवालाई प्रेम गर्छौं। त्यसैले आपसमा कुराकानी गर्दा यहोवाले गर्नुभएका भलाइको निष्कपट प्रशंसा गर्नुपर्छ।—भज. १०६:१.
४. जन प्रचारकार्यमा जानुको अलावा अन्य कस्ता अवस्थामा पनि तपाईं यहोवाको प्रशंसा गर्न सक्नुहुन्छ?
४ विश्वासमा नभएकाहरूसित कुराकानी गर्दा: हाम्रो परिस्थितिले हामीलाई हरेक दिन जन प्रचारकार्यमा भाग लिन मौका नदेला। तैपनि सँगै काम गर्नेहरू, स्कूलका साथीहरू र हामी वरपरका अरूलाई यहोवा र उहाँको उद्देश्यबारे छोटकरीमा मात्र बताउँदा पनि निष्कपट हृदय भएकाहरूमा आशा पलाउन सक्छ। (भज. २७:१४; १ पत्रु. ३:१५) विमानमा यात्रा गर्दा एक बहिनीले आफूसँगै यात्रा गरिरहेकी एउटी महिलालाई साक्षी दिन सकिन्। आफूले सुनेको कुराबाट तिनले यत्ति धेरै सान्त्वना र प्रोत्साहन पाइन् कि सम्पर्क कायमै राख्न सकियोस् भनेर हाम्री बहिनीलाई आफ्नो ठेगाना र फोन नम्बरसमेत दिइन्। संसारमा समस्या झन्-झनै बढ्दै जाँदा अनि अवस्था झन्-झनै बिग्रँदै जाँदा यहोवाका जनहरूले सुन्न इच्छुकहरूलाई “कल्याणको शुभ समाचार” सुनाइरहेका छन्। यसले अरूलाई आशा दिन्छ र यहोवाको प्रशंसा गर्न उत्प्रेरित गर्छ।—यशै. ५२:७; रोमी १५:११.
५. हामी किन यहोवाको प्रशंसा गर्न चाहन्छौं र यसले कुन उद्देश्य पूरा गर्न सक्छ?
५ आफ्ना सेवकहरूले हरेक दिन उहाँको प्रशंसा गरेको सुन्न पाउँदा यहोवालाई कत्ति खुसी लाग्ला! हामी वरपरका दृश्य सृष्टिले जस्तै हामी पनि घरमा, मण्डलीमा र अहिलेसम्म हामीसँगै यहोवाको प्रशंसा गर्न सुरु नगरेकाहरूसँग कुराकानी गर्दा हरेक दिन उच्च स्वरले यहोवाको प्रशंसा गर्न सक्छौं।—भज. १९:१-४.