प्रार्थना र मनन—जोसिला सेवकहरूका लागि अत्यावश्यक
१. आफ्नो मुख्य कामबाट विमुख नहुन येशूलाई केले मदत गऱ्यो?
१ मानिसहरूलाई निको पारेर अनि भूतहरूलाई निकालेर येशूको साँझ बितेको थियो। भोलिपल्ट चेलाहरूले उहाँलाई भेट्टाउँदा उहाँले गरेका शक्तिशाली कामहरूलाई निरन्तरता दिन आग्रह गर्दै यसो भने: “सबैले तपाईंलाई खोजिरहेका छन्।” तैपनि येशू सुसमाचार प्रचार गर्ने आफ्नो मुख्य कामबाट विमुख हुनुहुने थिएन। उहाँले यस्तो जवाफ दिनुभयो: “आओ, हामीहरू अन्त कहीं आसपासका शहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गरूँ किनकि यसैको निम्ति म निस्किआएको हुँ।” ध्यान केन्द्रित गरिरहन उहाँलाई केले मदत गऱ्यो? प्रार्थना र मनन गर्न उहाँ सबेरै उठ्नुभएको थियो। (मर्कू. १:३२-३९) प्रार्थना र मननले हामीलाई पनि जोसिलो प्रचारक हुन कसरी मदत गर्न सक्छ?
२. प्रचारकार्यमा जोसिलो भई लागिरहन मदत पाउन हामी कस्ता कुराहरूमा मनन गर्न सक्छौं?
२ केमा मनन गर्ने? मानिसहरू “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” येशूले याद गर्नुभयो। (मत्ती ९:३६) त्यसैगरि हामी पनि मानिसहरूलाई सुसमाचारको आवश्यकता कत्ति परेको छ, त्यसबारे मनन गर्न सक्छौं। अहिले ढिलासुस्ती गर्ने समय होइन भन्नेबारे चिन्तन गर्न सक्छौं। (१ कोरि. ७:२९) यहोवाका काम तथा गुणहरू, यहोवाका साक्षीहरू हुन पाएको सम्मान र हाम्रो इलाकाका मानिसहरूले अझैसम्म पनि थाह पाउन नसकेका तर हामीले भने परमेश्वरको वचनबाट सिकेका बहुमूल्य आध्यात्मिक सम्पत्तिबारे घोरिन सक्छौं।—भज. ७७:११-१३; यशै. ४३:१०-१२; मत्ती १३:५२.
३. हामी कहिले मनन गर्न सक्छौं?
३ कहिले मनन गर्ने? बिहानतिर हल्लाखल्ला नहुने भएकोले कोही कोही येशूजस्तै सबेरै उठ्छन्। कसैलाई भने सुत्नुअघि साँझपखतिर मनन गर्नु उपयुक्त लाग्छ। (उत्प. २४:६३) जतिसुकै व्यस्त भए पनि हामी मनन गर्न समय निकाल्न सक्छौं। कसैले सार्वजनिक यातायातमा यात्रा गर्दा पनि यसो गर्छन्। अरूले भने दिउँसो खाजा खाइसकेपछि केही समय गहिरो चिन्तन-मनन गर्छन्। प्रचारकार्यमा भाग लिनुअघि केही समय मात्र मनन गर्दा पनि अझ धेरै जोस र साहसका साथ प्रचार गर्न सकेको थुप्रैले महसुस गरेका छन्।
४. हामीले किन मनन गर्नुपर्छ?
४ प्रार्थना र मननले यहोवाको सेवा गर्ने हाम्रो चाहनालाई बलियो पार्नेछ, यहोवाको उपासनालाई अझ महत्त्वपूर्ण ठान्न मदत गर्नेछ र प्रचारमा लागिरहने हाम्रो सङ्कल्पलाई बलियो बनाउनेछ। मनन गर्दा परमेश्वरको मुख्य सेवक येशूले लाभ उठाउनुभयो। हामीले पनि उठाउन सक्नेछौं।