प्रश्न पेटी
◼ हाम्रो प्रकाशनमा छापिएको र इन्टरनेटमा राखिएको कुपन कसले भर्नुपर्छ?
साहित्य मगाउन वा यहोवाका साक्षीहरू आफूलाई भेट्न आओस् भनेर आग्रह गर्न शाखा कार्यालयलाई पत्र पठाउन सकिन्छ। त्यसको लागि प्रायजसो हाम्रा प्रकाशनहरूमा भर्न सकिने कुपनहरू छापिएका हुन्छन्। साथै बाइबल अध्ययन गरिदिन आग्रह गर्न हाम्रो वेब साइट www.watchtower.org चलाउन सकिन्छ। यी प्रबन्धहरूले थुप्रैलाई सत्य सिक्न मदत गरेको छ। तर प्रकाशकहरूले यी प्रबन्धहरूमार्फत आफ्ना नातेदारहरू वा अरूको लागि साहित्य मगाउन वा तिनीहरूलाई बाइबल अध्ययन गराइदिन आग्रह गर्दा समस्या हुने गरेको छ।
मगाउँदै नमगाएको साहित्य शाखा कार्यालयमार्फत प्राप्त गर्नेहरूले आफूलाई हाम्रो सङ्गठनले आफ्नो मेलिङ्ग लिस्टमा राखेको र नियमित रूपमा साहित्य पठाएर दिक्क पारेको महसुस गरेर गुनासो गर्ने गरेका छन्। कसैलाई अध्ययन गराइदिनुहोस् भन्ने जानकारी पाएपछि प्रकाशक घरधनीलाई भेट्न जाँदा वास्तवमा तिनीहरू आफैले अध्ययन गरिदिन आग्रह गरेको होइन रहेछ भनेर प्रकाशकले थाह पाउँछन्। अनि त्यस्ता घरधनीहरूले रिस पोखाउँदा प्रकाशकहरू अप्ठ्यारोमा पर्ने गरेका छन्। त्यसकारण हाम्रो वेब साइट वा कुपनमार्फत अध्ययन गरिदिन वा साहित्य मगाउन जिज्ञासु व्यक्ति स्वयम्ले आग्रह गर्नुपर्छ, अरू कसैको लागि प्रकाशकहरूले आग्रह गरिदिनु हुँदैन। त्यस्तो आग्रह गर्ने व्यक्ति कुनै प्रकाशक हो भन्ने कुरा पहिचान भयो भने सामान्यतया शाखा कार्यालयले त्यस्तो आग्रहको लागि कुनै प्रबन्ध मिलाउनेछैन।
त्यसोभए हामी आफ्ना नातेदार वा चिनेजानेकाहरूलाई कसरी मदत गर्न सक्छौं? यदि तपाईं तिनले साहित्य प्राप्त गरेको चाहनुहुन्छ भने तपाईं आफैले तिनलाई उपहारको रूपमा साहित्य पठाउनुभए कसो होला? यदि ती व्यक्तिले चासो देखाएका छन् अनि यहोवाका साक्षीहरूसित अध्ययन गर्न चाहन्छन् तर उक्त व्यक्ति बस्ने इलाकाका स्थानीय एल्डरहरूलाई कसरी सम्पर्क गर्ने भनेर तपाईंलाई थाह छैन भने कृपया भेट्नुहोस् (S-43) फाराम भरेर आफ्नो मण्डलीको सचिवलाई दिनुहोस्। सचिवले त्यो फाराम हेरेर शाखा कार्यालयमा पठाउनेछन्। तर यदि चासो देखाएको व्यक्ति कुनै जेल, सुधार केन्द्र वा अस्पतालमा बस्छन् भने तपाईंले ती व्यक्तिको तर्फबाट शाखा कार्यालयलाई सम्पर्क गर्नु हुँदैन। बरु ती व्यक्ति आफैलाई अध्ययनको लागि भाइहरूलाई सम्पर्क गर्न वा शाखा कार्यालयलाई पत्र लेख्न प्रोत्साहन दिनुहोस्।