थोरै मोलका दुई साना सिक्का
राज्यसम्बन्धी सम्पूर्ण कुरालाई समर्थन गर्ने एउटा महत्त्वपूर्ण तरिका विश्वव्यापी प्रचारकार्यको लागि आर्थिक सहयोग दिनु हो। तर हाम्रो आर्थिक अवस्था राम्रो छैन भने नि?
एक पटक येशूले एउटी गरिब विधवालाई मन्दिरको दानपात्रमा असाध्यै थोरै मोलका दुई साना सिक्का खसालेको देख्नुभयो। यहोवाप्रतिको मायाले गर्दा तिनी “अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा” खसाल्न उत्प्रेरित भइन्। (मर्कू. १२:४१-४४) यहोवाको नजरमा यस विधवाको अनुदान ठूलो मोलको थियो भनेर सङ्केत गर्नलाई नै येशूले यस घटनाबारे बताउनुभएको थियो। त्यसैगरि प्रथम शताब्दीका ख्रीष्टियनहरू, गरिब होस् या धनी, आफूले सकेजति अनुदान दिन्थे। तिनीहरू यसरी भौतिक अनुदान दिनुलाई सम्मानको कुरा ठान्थे। प्रेषित पावलले दान दिने सन्दर्भमा म्यासिडोनियाका मण्डलीको उदाहरण दिए। “आफू कङ्गाल हुँदाहुँदै पनि” म्यासिडोनियाका ख्रीष्टियनहरूले ‘दान दिने सुअवसर पाऊँ भनी स्वेच्छाले बिन्ती गरिरहे।’—२ कोरि. ८:१-४.
त्यसकारण यदि हामी पनि “थोरै मोलका दुई साना सिक्का”-मात्र खसाल्न सक्ने अवस्थामा छौं भने पनि थोरै-थोरै अनुदानबाट नै धेरै अनुदान जम्मा हुन्छ भन्ने कुरालाई कहिल्यै नबिर्सौं। मनबाटै उत्प्रेरित भएर दान दिंदा स्वर्गमा बस्ने हाम्रो उदार बुबा प्रसन्न हुनुहुनेछ “किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.