आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्
१. केले गर्दा क्षेत्र सेवाप्रतिको हाम्रो जोस सेलाउन सक्छ?
१ यहोवाले मानिसलाई ‘आफ्नो कामबाट सन्तुष्टि पाउन’ सक्नेगरि बनाउनुभयो। (उप. २:२४, NRV) तर क्षेत्र सेवाबाट राम्रो नतिजा पाउन सकेनौं भने निराशाले गर्दा हाम्रो आनन्द गुम्छ अनि जोस पनि सेलाउँछ। हामीलाई सकारात्मक मनोवृत्ति राख्न कुन कुराले मदत गर्छ?
२. मानिसहरूले देखाउने प्रतिक्रियाप्रति हामीले किन व्यावहारिक आशा राख्नुपर्छ?
२ व्यावहारिक आशा राख्नुहोस्: यो कुरा मनमा राख्नुहोस्, येशूको सन्देश स्वीकार्ने मानिसहरू थोरै मात्र भए तापनि उहाँ सेवाको काममा सफल हुनुभयो। (यूह. १७:४) बीउ छर्ने मानिसको दृष्टान्त बताउँदा येशूले थुप्रै मानिसले बीउरूपी राज्य सन्देश स्वीकार्नेछैनन् भनेर भविष्यवाणी गर्नुभयो। (मत्ती १३:३-८, १८-२२) तर अथक प्रयास गर्दा नतिजा पक्कै राम्रो हुनेछ।
३. राज्य सन्देशप्रति थोरैले मात्र चासो देखाए तापनि हामीले कसरी ‘फल फलाइरहेका’ हुन्छौं?
३ हामी कसरी धेरै फल फलाउन सक्छौं?: येशूको दृष्टान्तअनुसार सन्देश स्वीकार्नेहरूले ‘फल फलाउँछन्।’ (मत्ती १३:२३) गहुँ पाकेपछि त्यसले फल फलाउँछ। त्यो फल भनेको त्यसको साना साना बाला नभई त्यसको नयाँ बीउ हो। त्यसकारण सफल ख्रीष्टियनले फल फलाउनुको मतलब उसले नयाँ चेला बनाउनु होइन बरु धेरै बीउ छरिरहनु अर्थात् राज्य सन्देश सुनाइरहनु हो। मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि बीउ छर्ने काम गरिरहँदा हामी आनन्दित अनि “सन्तुष्ट” हुनेछौं। हामीले यहोवाको नाम पवित्र पार्ने काममा योगदान पुऱ्याइरहेका छौं। (यशै. ४३:१०-१२; मत्ती ६:९) परमेश्वरको सहकर्मी हुने ठूलो सुअवसर पनि पाएका छौं। (१ कोरि. ३:९) हामीले चढाउने “ओठको फल”-ले यहोवालाई खुसी तुल्याउँछ।—हिब्रू १३:१५, १६.
४. हाम्रो प्रचारकार्यले हामीले सोच्दै नसोचेको कस्तो नतिजा ल्याउन सक्छ?
४ हाम्रो परिश्रमको प्रतिफल आफ्नै आँखाले नदेखे तापनि त्यसले फल फलाइरहेको हुन सक्छ। येशूको शिक्षा सुन्ने केही मानिस उहाँले पृथ्वीमा आफ्नो सेवा पूरा गरिसकेपछि मात्र उहाँको चेला बनेका हुन सक्छन्। त्यसैगरि हामीले छरेको राज्य बीउले मानिसको हृदयमा तुरुन्तै जरा नगाड्न सक्छ वा त्यो नबढ्न सक्छ। तर त्यो व्यक्ति कुनै दिन साक्षी बन्न सक्छ, जुन हामीलाई थाहै नहुन सक्छ। हो, हाम्रो प्रचारकार्यले पक्कै पनि राम्रो नतिजा ल्याउँछ। त्यसैले ‘धेरै फल फलाइरहन सकौं’ अनि आफू येशूको चेला भएको प्रमाण दिइरहन सकौं।—यूह. १५:८.