हामीलाई प्रचार गर्न केले उत्प्रेरित गर्छ?
१. प्रेम र प्रचारकार्यबीच कस्तो सम्बन्ध छ?
१ आज हामीले गर्न सक्ने सबैभन्दा अर्थपूर्ण काम भनेको परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु हो। वास्तवमा यो काममा भाग लिंदा हामीले सबैभन्दा ठूलो दुइटा आज्ञा पालन गरिरहेका हुन्छौं। ती हुन्, यहोवालाई प्रेम गर्नू र छिमेकीलाई प्रेम गर्नू। (मर्कू. १२:२९-३१) प्रेमले हामीलाई जोसिलो प्रचारक बन्न उत्प्रेरित गर्छ।—१ यूह. ५:३.
२. प्रचारकार्यले कसरी परमेश्वरप्रतिको हाम्रो प्रेमलाई झल्काउँछ?
२ यहोवाप्रतिको प्रेम: हाम्रो प्यारो साथी यहोवाप्रतिको प्रेमले हामीलाई उहाँको पक्षमा बोल्न उत्प्रेरित गर्छ। लगभग ६,००० वर्षदेखि सैतानले परमेश्वरबारे अनेक झूटा कुराहरू फैलाएको छ। (२ कोरि. ४:३, ४) त्यसैले पापीहरूलाई परमेश्वरले अग्निकुण्डमा सास्ती दिनुहुन्छ, परमेश्वर रहस्यमय त्रिएकको भाग हुनुहुन्छ र उहाँलाई मानिसहरूको कुनै चासो छैन भन्ने कुरामा थुप्रैले विश्वास गर्छन्। कतिपय त उहाँ अस्तित्वमा नै हुनुहुन्न भन्ने निष्कर्षमा पुगेका छन्। स्वर्गमा बस्नुहुने हाम्रो बुबाबारे मानिसहरूले सत्य कुरा थाह पाऊन् भन्ने हामी मनदेखि नै इच्छा गर्छौं। परमेश्वरको साक्षी दिन हामीले लगनशील भई प्रयास गर्दा उहाँ रमाउनुहुन्छ र सैतानचाहिं रिसले मुरमुरिन्छ।—हितो. २७:११; हिब्रू १३:१५, १६.
३. प्रचारकार्यले कुन तरिकामा छिमेकीप्रतिको प्रेमलाई झल्काउँछ?
३ छिमेकीप्रतिको प्रेम: प्रत्येक चोटि कसैलाई साक्षी दिंदा हामीले तिनीप्रति प्रेम देखाइरहेका हुन्छौं। यस कठिन समयमा मानिसहरूले सुसमाचार सुन्नु एकदमै महत्त्वपूर्ण छ। थुप्रै मानिसहरू योनाको समयका निनवेका मानिसहरू जस्तै छन् जो “दाहिने र देब्रे हातै चिन्नसक्तैनन्” थिए। (योना ४:११) हामीले सुनाउने सुसमाचारले मानिसहरूलाई कसरी आनन्दित अनि सफल जीवन बिताउने भनेर सिकाउँछ। (यशै. ४८:१७-१९) यसले तिनीहरूलाई आशा दिन्छ। (रोमी १५:४) सुसमाचार सुनेर आफूले सिकेअनुसार गरे भने तिनीहरूले ‘उद्धार पाउनेछन्।’—रोमी १०:१३, १४.
४. यहोवा कुन कुरा कहिल्यै बिर्सनुहुन्न?
४ ज्ञानी छोराछोरीले आफ्ना आमाबाबुप्रति खास-खास अवसरमा मात्रै प्रेम देखाउने गर्दैनन्। तिनीहरूले आमाबाबुप्रति हरसमय प्रेम देखाउने कोसिस गर्छन्। त्यसैगरि परमेश्वर र छिमेकीप्रतिको प्रगाढ प्रेमले हामीलाई औपचारिक तवरमा साक्षीकार्यमा भाग लिंदा मात्र होइन तर हरसमय प्रचार गर्ने मौका छोप्न उत्प्रेरित गर्छ। हामी सुसमाचार घोषणा गर्न बन्द गर्नेछैनौं। (प्रेषि. ५:४२) यस्तो प्रेम यहोवा कहिल्यै बिर्सनुहुन्न।—हिब्रू ६:१०.