“मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख”
गोठालोले भेडाबाख्राको हेरचाह गरेजस्तै आमाबुबाले छोराछोरीको हेरविचार गर्नुपर्छ किनभने तिनीहरू सजिलै पासोमा पर्न सक्छन् र तर्किन सक्छन्। (हितो. २७:२३) आमाबुबाले कसरी आफ्नो भूमिका राम्ररी निभाउन सक्छन्? छोराछोरीको मनमा के छ भनेर थाह पाउन हरेक दिन तिनीहरूसित कुराकानी गर्नु आवश्यक छ। त्यसो गर्नको लागि आमाबुबाले तिनीहरूसित समय बिताउनुपर्छ। (हितो. २०:५) आगोले नखाने सामग्रीहरू प्रयोग गरेर पनि छोराछोरीको विश्वास बलियो बनाउन सकिन्छ। (१ कोरि. ३:१०-१५) “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख” भन्ने भिडियोले नियमित रूपमा पारिवारिक उपासना गर्नुको महत्त्वलाई जोड दिन्छ। त्यसैले परिवारै मिलेर यो भिडियो हेर्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
(१) रोबिनको परिवारले आध्यात्मिक कुरालाई पहिलो स्थानमा किन राख्न सकेनन्? (२) पारिवारिक उपासना गर्न रोबिनले गरेको पहिलो प्रयास किन सफल भएन? (३) छोराछोरीलाई राम्ररी हुर्काउन बाइबलको कुन सल्लाहले मदत गर्छ? (व्यव. ६:६, ७) (४) परिवारमा खुलस्त कुराकानी गर्न केले मदत गर्न सक्छ? (५) छोराछोरीको लागि आमाबुबाले कस्ता त्यागहरू गर्नुपर्छ? (६) मार्कको परिवारबाट रोबिनको परिवारले कस्तो मदत पाए? (हितो. २७:१७) (७) पारिवारिक उपासनालाई सफल बनाउन परिवारको शिरले कस्तो तयारी गर्नुपर्छ? (८) रोबिनले आफ्नो परिवारको अवस्था सुधार्न के गरे? (९) पारिवारिक उपासना नियमित रूपमा गर्नु किन जरुरी छ? (एफि. ६:४) (१०) पारिवारिक उपासना रमाइलो बनाउन के-कस्ता तरिका अपनाउन सकिन्छ? (११) एलेक्सलाई जे सही छ, त्यो गर्नु राम्रो हो भनेर रोबिनले शान्त र दृढ भएर कसरी सम्झाउन सके? (यर्मि. १७:९) (१२) जेनिससितको सम्बन्धबारे सही निर्णय गर्न रोबिन र मोनिकाले रिबेकासित कस्तो तर्क गरे? (मर्कू. १२:३०; २ तिमो. २:२२) (१३) आफ्नो जीवनमा केही छाँटकाँट गर्दा रोबिन र मोनिकाले कसरी आफ्नो विश्वास देखाए? (मत्ती ६:३३) (१४) आफ्नो परिवारलाई आध्यात्मिक रूपमा पालनपोषण गर्न परिवारको शिरले खेल्नुपर्ने भूमिकालाई यो भिडियोले कसरी जोड दिन्छ? (१ तिमो. ५:८) (१५) परिवारका शिरहरू हो, तपाईंहरूले के गर्ने सङ्कल्प गर्नुभयो?
परिवारका शिरहरूका लागि सुझाव: यो आधुनिक नाटक सन् २०११ को अधिवेशनमा प्रस्तुत गरिएको थियो। त्यतिबेला तपाईंले आफ्नो पारिवारिक उपासनामा उन्नति गर्नुपर्ने क्षेत्र याद गर्नुभएको थियो कि? अहिले पनि छाँटकाँट गर्नुपर्ने कुनै क्षेत्र छ कि? त्यसो हो भने आफ्नो परिवारको चिरकालीन फाइदाको लागि यहोवाको मदत मागेर आवश्यक परिवर्तन गर्नुहोस्।—एफि. ५:१५-१७.