भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—हबकूक
१. हामी किन हबकूकको भावना बुझ्न सक्छौं?
१ यस संसारमा बढ्दै गइरहेको अन्याय-अत्याचार देख्दा हामी पनि हबकूकजस्तै महसुस गर्छौं। तिनले यहोवालाई यस्तो प्रश्न गरेका थिए, “तपाईं मलाई किन अधर्म हेर्न लाउनुहुन्छ? र विपत्ति हेरिरहनुहुन्छ?” (हब. १:३; २ तिमो. ३:१, १३) हबकूकको सन्देश र वफादारीमा मनन गऱ्यौं भने यहोवाको न्यायको दिन वफादार भई पर्खन मदत पाउनेछौं।—२ पत्रु. ३:७.
२. हामी विश्वासद्वारा जिउँछौं भन्ने कुरा कसरी देखाउन सक्छौं?
२ विश्वासद्वारा जिउनुहोस्: आफ्नो वरपरको खराब अवस्था देखेर हबकूक निराश भएनन्। बरु तिनी जागा रहे र यहोवाको सेवामा जोसिलो भई लागिरहे। (हब. २:१) आफ्नो वचन ठीक समयमा पूरा हुनेछ र ‘धर्मी चाहिं आफ्नो विश्वासद्वारा जिउनेछ’ भन्ने कुरामा यहोवाले तिनलाई विश्वस्त पार्नुभयो। (हब. २:२-४) यस कुराबाट अन्तको समयमा बाँचिरहेका ख्रीष्टियनहरूले महत्त्वपूर्ण पाठ सिक्न सक्छन्। पहिलो, अन्त कहिले आउँछ भनेर थाह पाउनु महत्त्वपूर्ण कुरा होइन, बरु अन्त पक्कै आउँछ भनेर विश्वास गर्नुचाहिं महत्त्वपूर्ण हो। दोस्रो, यहोवामाथिको विश्वासले हामीलाई जागा रहिरहन अनि सेवाको कामलाई पहिलो स्थान दिन मदत गर्छ।—हिब्रू १०:३८, ३९.
३. हामीले किन आनन्दित भई यहोवाको सेवा गरिरहनुपर्छ?
३ यहोवामा आनन्द गर्नुहोस्: मागोगको गोगले यहोवाका जनहरूमाथि आक्रमण गर्दा हाम्रो विश्वासको जाँच हुनेछ। (इज. ३८:२, १०-१२) युद्धले दुःखकष्ट निम्त्याउँछ। युद्ध जित्नेहरूले समेत दुःख पाउँछन्। युद्धपछि खानेकुराको अभाव हुन सक्छ, धनजनको क्षति हुन सक्छ र जीवनस्तर खस्कन सक्छ। यस्तै कठिन परिस्थिति आइपर्दा हामी के गर्छौं? जीवनमा गाह्रो अवस्था आइपर्छ भनेर हबकूकलाई थाह थियो। त्यसैले तिनले यहोवाको सेवामा आनन्दित भई लागिरहने अठोट गरे। (हब. ३:१६-१९) “परमप्रभुको आनन्द”-ले भविष्यमा आइपर्ने कठिन परीक्षा सहन मदत गर्नेछ।—नहे. ८:१०; हिब्रू १२:२.
४. हामीले अहिले अनि भविष्यमा कस्तो मौका पाउनेछौं?
४ न्यायको दिनमा यहोवाले आफ्ना जनहरूलाई बचाउनुहुनेछ। त्यसपछि पनि उहाँले मानिसहरूलाई उहाँको स्तरअनुसार जीवन बिताउन सिकाइरहनुहुनेछ। (हब. २:१४) पुनर्जीवित भएकाहरूले पनि यहोवाको विषयमा सिक्न पाउनेछन्। यहोवा र उहाँको शक्तिशाली कामहरूको विषयमा बताउने हरेक मौकाको सदुपयोग गरौं!—भज. ३४:१; ७१:१७.