शिलालेख: “याहवे सबाओतले कागाभका छोरा कागाफलाई सराप देऊन्”
के तपाईँलाई थाह थियो?
एउटा पुरातन शिलालेखले बाइबललाई कसरी समर्थन गर्छ?
जेरुसलेमको बाइबल ल्याण्डस् म्युजियममा ईसापूर्व ७०० देखि ६०० बीच कोरिएको एउटा शिलालेख छ। उक्त शिलालेख इस्राएलको हेब्रोननजिकै पर्ने एउटा लास गाड्ने ओडारमा भेटिएको थियो। त्यस ढुङ्गाको पाटीमा यस्तो लेखिएको छ: “याहवे सबाओतले कागाभका छोरा कागाफलाई सराप देऊन्।” यस शिलालेखले बाइबललाई कसरी समर्थन गर्छ? यसले परमेश्वरको नाम यहोवा (पुरातन हिब्रू अक्षरमा YHWH) बाइबलकालीन समयमा चिर-परिचित थियो र दैनिक जीवनमा प्रयोग गरिन्थ्यो भनेर देखाउँछ। त्यस्ता ओडारहरूमा त्यस्तै अरू लेखोटहरू पनि भेटिएका छन्। त्यहाँ भेट्न र लुक्न आउने मानिसहरूले अक्सर भित्ताहरूमा परमेश्वरको नामको कुनै रूप समावेश भएको आफ्नो व्यक्तिगत नामसँगै परमेश्वरको नाम पनि लेख्ने गर्थे।
यी शिलालेखहरूबारे जर्जिया विश्वविद्यालयका डा. रेचेल नाबुल्सी यसो भन्छिन्: ‘यी शिलालेखहरूमा यो नाम YHWH धेरै पटक प्रयोग गरिएको छ। यसले धेरै कुरा बताउँछ। यी शिलालेखहरूले इस्राएल र यहुदामा यो शब्द YHWH-ले ठूलो महत्त्व राख्थ्यो भनेर देखाउँछ।’ यसले बाइबललाई समर्थन गर्छ, जसमा परमेश्वरको नाम हजारौँ पटक प्रयोग गरिएको छ। अक्सर व्यक्तिगत नामहरूमा परमेश्वरको नाम समावेश भएको हुन्थ्यो।
यस शिलालेखमा प्रयोग गरिएको अभिव्यक्ति “याहवे सबाओत”-को अर्थ “सेनाहरूका यहोवा” हो। यसले बाइबलकालीन समयमा परमेश्वरको नाम मात्र होइन, “सेनाहरूका यहोवा” भन्ने अभिव्यक्ति पनि धेरै प्रयोग गरिन्थ्यो भनेर सङ्केत गर्छ। यसले बाइबलमा प्रयोग गरिएको सेनाहरूका यहोवा भन्ने अभिव्यक्तिलाई पनि समर्थन गर्छ। यो अभिव्यक्ति हिब्रू धर्मशास्त्रमा लगभग २४५ पटक प्रयोग गरिएको छ, धेरैजसो यसैया, यर्मिया र जकरियाको किताबमा प्रयोग गरिएको छ।