प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जनवरी pp. २०-२५
  • कोमल स्नेह खेती गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कोमल स्नेह खेती गरिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा—“कोमल स्नेहले भरिपूर्ण”
  • “जोनाथन र दाउदबीच गहिरो मित्रता गाँसियो”
  • आज हामी कसरी कोमल स्नेह देखाउन सक्छौँ?
  • ‘एक दोस्रोतर्फ कोमल स्नेह देखाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “गहिरो मित्रता गाँसियो”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • साहसी र वफादार जोनाथन
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • भ्रातृस्नेहको कुञ्जी थाहा लगाउनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जनवरी pp. २०-२५

अध्ययन लेख ४

कोमल स्नेह खेती गरिरहनुहोस्‌

“एकअर्काप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ।” —रोमी १२:१०.

गीत १०९ प्रगाढ प्रेम

परिचयa

१. आज थुप्रै परिवारमा स्वाभाविक स्नेह नभएको कसरी देखिन्छ?

अन्तको दिनमा स्वाभाविक स्नेह नभएका मानिसहरू हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको छ। (२ तिमो. ३:१, ३) आज हामी यो भविष्यवाणी पूरा भइरहेको देख्छौँ। उदाहरणको लागि, लाखौँ परिवार सम्बन्धविच्छेदले गर्दा टुक्रिएका छन्‌, जसले गर्दा आमाबुबाले एकअर्काप्रति रिस पालेर राख्छन्‌ र छोराछोरीले माया नपाएको महसुस गर्छन्‌। एउटै घरमा बस्ने परिवार पनि अपरिचित मानिसहरू जस्तो हुन सक्छन्‌। पारिवारिक जीवनसम्बन्धी एक परामर्शदाता यसो भन्छन्‌: “आमाबुबा र छोराछोरीको एकअर्कासितको सम्बन्ध टुट्‌छ र तिनीहरूको सम्बन्ध कम्प्युटर, ट्याबलेट, फोन र भिडियो गेमसित जोडिन्छ। यस्ता परिवारहरू एउटै छतमुनि बसे तापनि एकअर्कालाई खासै चिनेका हुँदैनन्‌।”

२-३. (क) रोमी १२:१० अनुसार हामीले कसरी कोमल स्नेह देखाउनुपर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ हामी प्रेमरहित संसारको चालढालअनुसार चल्न चाहँदैनौँ। (रोमी १२:२) बरु हामीले आफ्नो परिवारका सदस्यहरूलाई मात्र होइन, मण्डलीका दाजुभाइ दिदीबहिनीलाई पनि कोमल स्नेह देखाउनुपर्छ। (रोमी १२:१० पढ्‌नुहोस्‌) कोमल स्नेह भनेको के हो? यसले विशेषगरि परिवारका सदस्यहरूबीच हुने न्यानो र मायालु सम्बन्धलाई बुझाउँछ। यस्तो प्रकारको प्रेम हामीले हाम्रो आध्यात्मिक परिवार अर्थात्‌ हाम्रा ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई पनि देखाउनुपर्छ। हामीले कोमल स्नेह देखाउँदा एकता कायम गर्न मदत गरिरहेका हुन्छौँ, जुन साँचो उपासनाको महत्त्वपूर्ण भाग हो।—मिका २:१२.

३ कोमल स्नेह खेती गर्न र देखाउन मदत गर्ने केही बाइबल उदाहरणहरू हामी हेरौँ।

यहोवा—“कोमल स्नेहले भरिपूर्ण”

४. याकुब ५:११ ले यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ भनेर बुझ्न कसरी मदत गर्छ?

४ बाइबलले यहोवाका सुन्दर गुणहरू प्रकट गर्छ। उदाहरणको लागि, यसले “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी बताउँछ। (१ युह. ४:८) यो कुरा थाह पाउँदा मात्र पनि हामी उहाँको मित्र हुन चाहन्छौँ। तर बाइबलमा यहोवा “कोमल स्नेहले भरिपूर्ण” हुनुहुन्छ भनेर पनि बताइएको छ। (याकुब ५:११ पढ्‌नुहोस्‌) यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुरा बुझाउने कस्तो न्यानो अभिव्यक्‍ति!

५. यहोवा कसरी कृपा देखाउनुहुन्छ र हामी कसरी उहाँको देखासिकी गर्न सक्छौँ?

५ याद गर्नुहोस्‌, याकुब ५:११ मा यहोवाले देखाउनुहुने कोमल स्नेहसँगसँगै हामीलाई उहाँसित नजिकिन मदत गर्ने उहाँको अर्को गुण कृपाबारे पनि उल्लेख गरिएको छ। (प्रस्थ. ३४:६) यहोवाले हामीलाई कृपा देखाउनुहुने एउटा तरिका हाम्रा गल्तीहरूको लागि क्षमा दिएर हो। (भज. ५१:१) बाइबलअनुसार कृपा देखाउनुमा क्षमा दिनु मात्र समावेश छैन। कृपा भनेको कोही दुःखमा परेको देख्दा कसैमा भित्री मनदेखि आउने गहिरो भावना हो र यसले दुःखमा परेको व्यक्‍तिलाई मदत गर्न उत्प्रेरित गर्छ। हामीलाई मदत गर्ने यहोवाको चाहना एउटी आमाको आफ्नो बच्चाप्रतिको भावनाभन्दा गहिरो छ भनी बाइबल बताउँछ। (यसै. ४९:१५) हामी दुःखमा पर्दा हामीलाई मदत गर्न यहोवालाई उहाँको कृपाले उत्प्रेरित गर्छ। (भज. ३७:३९; १ कोरि. १०:१३) कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउने काम गर्दा तिनलाई क्षमा दिएर र मनमा रिस नराखेर हामी तिनलाई कृपा देखाउन सक्छौँ। (एफि. ४:३२) तर कृपा देखाउने एउटा महत्त्वपूर्ण तरिका भनेको हाम्रा दाजुभाइ दिदीबहिनीले कठिनाइ भोग्दा तिनीहरूलाई मदत गरेर हो। प्रेमले उत्प्रेरित भएर अरूलाई कृपा देखाउँदा हामीले कोमल स्नेहका उत्कृष्ट उदाहरण यहोवाको देखासिकी गरिरहेका हुन्छौँ।—एफि. ५:१.

“जोनाथन र दाउदबीच गहिरो मित्रता गाँसियो”

६. जोनाथन र दाउदले एकअर्काप्रति कसरी कोमल स्नेह देखाए?

६ बाइबलमा त्रुटिपूर्ण मानिसहरूले कोमल स्नेह देखाएको विवरणहरू पाउँछौँ। जोनाथन र दाउदको उदाहरण विचार गर्नुहोस्‌। बाइबल यसो भन्छ: “जोनाथन र दाउदबीच गहिरो मित्रता गाँसियो। अनि जोनाथनले दाउदलाई आफूलाई जत्तिकै माया गर्न थाले।” (१ समु. १८:१) साउलपछि राजा हुन यहोवाले दाउदलाई अभिषेक गर्नुभएको थियो। त्यसपछि साउलले दाउदको ईर्ष्या गर्न थाले र तिनलाई मार्न खोजे। तर साउलले दाउदलाई मार्न खोज्दा जोनाथनले आफ्नो बुबालाई साथ दिएनन्‌। जोनाथन र दाउदले आफ्नो मित्रता कहिल्यै नटुटाउने र सधैँ एकअर्कालाई साथ दिने वाचा गरे।—१ समु. २०:४२.

दाउद जोनाथनको कुरा सुनिरहेका छन्‌।

जोनाथन र दाउद उमेरमा धेरै फरक भए तापनि तिनीहरूले एकअर्कालाई कोमल स्नेह देखाए (अनुच्छेद ६-९ हेर्नुहोस्‌)

७. जोनाथन र दाउदलाई मित्रता गाँस्नदेखि रोक्न सक्ने एउटा कुरा के थियो?

७ जोनाथन र दाउदलाई मित्रता गाँस्नदेखि रोक्न सक्ने केही कुराबारे विचार गर्दा तिनीहरूले एकअर्कालाई देखाएको कोमल स्नेह उल्लेखनीय थियो भनेर थाह हुन्छ। जस्तै, जोनाथन दाउदभन्दा झन्डै ३० वर्ष जेठा थिए। आफूभन्दा धेरै कान्छो र कम अनुभवी मानिससित कसरी मित्रता गाँस्न सक्छु र भनेर जोनाथनले सोच्न सक्थे। तर तिनले त्यस्तो सोचेनन्‌। तिनी दाउदलाई धेरै आदर गर्थे।

८. तपाईँको विचारमा जोनाथन किन दाउदको असल मित्र थिए?

८ जोनाथनले दाउदको ईर्ष्या गर्न सक्थे। राजा साउलको छोरा भएकोले जोनाथनले राजपदको असली हकदार आफू हुँ भनेर दाबी गर्न सक्थे। (१ समु. २०:३१) तर जोनाथन नम्र र यहोवाप्रति वफादार थिए। त्यसैले दाउदलाई राजा बनाउने यहोवाको निर्णयलाई तिनले पूर्ण समर्थन गरे। तिनी दाउदप्रति पनि वफादार रहे। तिनले आफ्नो बुबाको रिस खप्नु परे तापनि दाउदलाई साथ दिइरहे।—१ समु. २०:३२-३४.

९. के जोनाथनले दाउदलाई आफ्नो प्रतिद्वन्द्वीको रूपमा हेरे? व्याख्या गर्नुहोस्‌।

९ जोनाथनको मनमा दाउदप्रति कोमल स्नेह थियो। त्यसैले तिनले दाउदलाई प्रतिद्वन्द्वीको रूपमा हेरेनन्‌। जोनाथन सिपालु धनुर्धारी र वीर योद्धा थिए। जोनाथन र तिनका बुबा साउलले “चीलभन्दा तेजिला” र “सिंहभन्दा बलिया” भन्‍ने नाम कमाएका थिए। (२ समु. १:२२, २३) त्यसैले जोनाथनले आफ्नो बहादुरीको धाक लगाउन सक्थे। तर जोनाथनमा प्रतिस्पर्धी भावना वा ईर्ष्या थिएन। बरु तिनले दाउदको साहस अनि यहोवामाथिको उनको भरोसाको प्रशंसा गरे। वास्तवमा भन्‍ने हो भने दाउदले गोल्यतलाई मारेपछि जोनाथनले उनलाई आफूलाई जत्तिकै माया गर्न थालेका थिए। हामी दाजुभाइ दिदीबहिनीलाई कसरी त्यस्तो कोमल स्नेह देखाउन सक्छौँ?

आज हामी कसरी कोमल स्नेह देखाउन सक्छौँ?

१०. “एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम” गर्नुको अर्थ के हो?

१० बाइबल हामीलाई यसो भन्छ: “एकअर्कालाई हृदयदेखि प्रगाढ प्रेम गर।” (१ पत्रु. १:२२) यस सन्दर्भमा यहोवाले हाम्रो लागि उदाहरण बसाल्नुभएको छ। हामीप्रति उहाँको प्रेम यत्ति प्रगाढ छ कि हामी उहाँप्रति वफादार भइरह्‍यौँ भने उहाँले हामीलाई कहिल्यै प्रेम गर्न छोड्‌नुहुनेछैन। (रोमी ८:३८, ३९) “प्रगाढ” भनेर अनुवाद गरिएको ग्रीक शब्दले कुनै कुरालाई बल लगाएर तन्काउनु भन्‍ने अर्थ दिन्छ। कहिलेकाहीँ दाजुभाइ दिदीबहिनीलाई कोमल स्नेह देखाउन हामीले पनि आफैलाई “तन्काउनुपर्ने” वा कडा मेहनत गर्नुपर्ने हुन सक्छ। अरूले हामीलाई रिस उठाउँदा हामीले ‘प्रेम देखाउँदै एकअर्कालाई सहेर अनि शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहनुपर्छ।’ (एफि. ४:१-३) हामीले “शान्तिको बन्धन” कायम राख्न मेहनत गऱ्‍यौँ भने हाम्रो ध्यान दाजुभाइ दिदीबहिनीको गल्तीमा मात्र जानेछैन। तिनीहरूलाई यहोवाले जसरी नै हेर्न हामी सक्दो प्रयास गर्नेछौँ।—१ समु. १६:७; भज. १३०:३.

इयोदिया र सिन्तके एकअर्कालाई छड्‌के नजरले हेर्दै छन्‌। तिनीहरू दुवै जना मण्डलीमा छुट्टाछुट्टै समूह बनाएर कुरा गरिरहेका छन्‌।

इयोदिया र सिन्तकेले एकै मनका हुन सल्लाह पाए तर यसो गर्न सधैँ सजिलो नहुन सक्छ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. कहिलेकाहीँ कोमल स्नेह देखाउन किन गाह्रो हुन सक्छ?

११ विशेषगरि दाजुभाइ दिदीबहिनीको कमजोरीहरूबारे हामीलाई थाह छ भने कोमल स्नेह देखाउन सधैँ सजिलो नहुन सक्छ। यस सन्दर्भमा प्रथम शताब्दीका केही ख्रिष्टियनहरूलाई गाह्रो भएको थियो जस्तो देखिन्छ। उदाहरणको लागि, इयोदिया र सिन्तकेलाई “[पावलसित] मिलेर सुसमाचार सुनाउन” सायद कुनै समस्या थिएन। तर केही कारणले गर्दा उनीहरूबीच खटपट भएको थियो। त्यसैले पावलले उनीहरूलाई “प्रभुमा एकै मनका” हुन आग्रह गरे।—फिलि. ४:२, ३.

एल्डरहरूको सभामा पाका एल्डरहरू एक जवान एल्डरको कुरा सुनिरहेका छन्‌।

जवान र पाका एल्डरहरूले एकअर्कासँग घनिष्ठ मित्रता गाँस्न सक्छन्‌ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. दाजुभाइ दिदीबहिनीलाई हामी कसरी कोमल स्नेह देखाउन सक्छौँ?

१२ आज हामी दाजुभाइ दिदीबहिनीलाई कसरी कोमल स्नेह देखाउन सक्छौँ? हामी उनीहरूलाई जत्ति राम्ररी चिन्दै जान्छौँ, उनीहरूलाई बुझ्न र कोमल स्नेह देखाउन त्यत्ति नै सजिलो हुनेछ। उमेर र पृष्ठभूमिलाई हामीबीच तगारो बन्‍न दिनु हुँदैन। याद गर्नुहोस्‌, जोनाथन दाउदभन्दा झन्डै ३० वर्ष जेठा थिए। तैपनि तिनले दाउदसित गहिरो मित्रता गाँसे। के तपाईँ पनि मण्डलीमा आफूभन्दा जेठो वा कान्छो कसैसित मित्रता गाँस्न सक्नुहुन्छ? यसो गर्दा तपाईँले “सबै भाइहरूलाई प्रेम” गरेको देखाउन सक्नुहुन्छ।—१ पत्रु. २:१७.

(अनुच्छेद १२ हेर्नुहोस्‌)b

१३. हामी किन मण्डलीका सबैसित उत्तिकै नजिक हुन सक्दैनौँ?

१३ दाजुभाइ दिदीबहिनीलाई कोमल स्नेह देखाउनुपर्छ भन्‍नुको अर्थ मण्डलीका सबैसित उत्तिकै नजिक हुनुपर्छ भन्‍ने हो? होइन। त्यसो गर्न सम्भव पनि छैन। उस्तै रुचिहरूले गर्दा कोही एक जनासँग भन्दा अर्कोसित नजिक हुनु स्वाभाविकै हो। येसुले आफ्ना सबै प्रेषितलाई “मित्र” भन्‍नुभयो तर उहाँ अरूसित भन्दा युहन्‍नासित धेरै नजिक हुनुहुन्थ्यो। (युह. १३:२३; १५:१५; २०:२) तर येसुले युहन्‍नालाई बढ्‌तै महत्त्व दिनुभएन। उदाहरणको लागि, युहन्‍ना र तिनका दाइ याकुबले परमेश्‍वरको राज्यमा महत्त्वपूर्ण स्थान दिन आग्रह गर्दा येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “मेरो दाहिने वा देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन।” (मर्कु. १०:३५-४०) हामीले पनि आफ्ना नजिकका साथीहरूलाई बढ्‌तै महत्त्व दिनु हुँदैन। (याकु. २:३, ४) नत्र त हामीले फुट ल्याइरहेका हुन्छौँ, जसको ख्रिष्टियन मण्डलीमा कुनै स्थान छैन।—यहु. १७-१९.

१४. फिलिप्पी २:३ अनुसार प्रतिस्पर्धी मनोभाव नराख्न हामीलाई केले मदत गर्छ?

१४ एकअर्कालाई कोमल स्नेह देखाउँदा हामीले मण्डलीलाई प्रतिस्पर्धी मनोभावबाट जोगाइरहेका हुन्छौँ। याद गर्नुहोस्‌, जोनाथनले राजपदको लागि दाउदलाई आफ्नो प्रतिद्वन्द्वी ठान्दै तिनीसित प्रतिस्पर्धा गर्न खोजेनन्‌। हामी सबैले जोनाथनको उदाहरण अनुकरण गर्न सक्छौँ। दाजुभाइ दिदीबहिनीको योग्यताहरूले गर्दा तिनीहरूलाई आफ्नो प्रतिद्वन्द्वी नठान्‍नुहोस्‌। बरु नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नुहोस्‌। (फिलिप्पी २:३ पढ्‌नुहोस्‌) हामी प्रत्येकले मण्डलीमा कुनै न कुनै तरिकामा योगदान पुऱ्‍याउन सक्छौँ भनेर नबिर्सनुहोस्‌। नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान्दा हामीले दाजुभाइ दिदीबहिनीका असल गुणहरू देख्नेछौँ र तिनीहरूको वफादारीको उदाहरणबाट लाभ उठाउनेछौँ।—१ कोरि. १२:२१-२५.

१५. तान्या र तिनको परिवारको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१५ हामीमाथि अचानक कुनै समस्या आइपर्दा यहोवाले कोमल स्नेह देखाएर र दाजुभाइ दिदीबहिनीमार्फत व्यावहारिक मदत दिएर हामीलाई सान्त्वना दिनुहुन्छ। सन्‌ २०१९ मा अमेरिकामा आयोजना गरिएको “प्रेम कहिल्यै अन्त हुँदैन”! भन्‍ने अन्तरराष्ट्रिय अधिवेशनको दोस्रो दिनको कार्यक्रममा उपस्थित भएर फर्कँदै गर्दा एउटा परिवारलाई के भयो, विचार गर्नुहोस्‌। तीन जना छोराछोरीकी आमा तान्या यसो भन्छिन्‌: “कार्यक्रमपछि हामी होटेलमा फर्कँदै गर्दा अर्को गाडीले नियन्त्रण गुमाएर हाम्रो गाडीलाई ठक्कर दियो। हामी कसैलाई पनि चोटपटक लागेन तर हाम्रो होसहवासै उड्यो। हामी गाडीबाट निस्कियौँ र सडकमा उभियौँ। सडकको छेउमा कसैले हात हल्लाउँदै तिनको गाडीतर्फ आउन इसारा गरे। उहाँ अधिवेशनबाट फर्किरहनुभएको हाम्रै भाइ हुनुहुँदो रहेछ। तर हामीलाई देखेर रोकिएको उहाँ मात्र त होइन। स्विडेनबाट आएका पाँच जना प्रतिनिधि पनि हामी भएको ठाउँमा आउनुभयो। ती बहिनीहरूले म र मेरी छोरीलाई अङ्‌गालोमा बाँध्नुभयो र हामीले ढुक्क महसुस गऱ्‍यौँ। ‘हामी ठीक छौँ, जानुभए हुन्छ’ भने पनि उहाँहरू जानुभएन। स्वास्थ्यकर्मीहरू घटनास्थलमा आइसकेपछि पनि उहाँहरू हामीसँगै रहनुभयो। हामीसँग आवश्‍यक सबै कुरा छ कि छैन भनेर पक्का गर्नुभयो। त्यतिबेला प्रत्येक क्षणमा हामीले यहोवाको प्रेम अनुभव गऱ्‍यौँ। यस अनुभवले गर्दा दाजुभाइ दिदीबहिनीप्रतिको प्रेम झनै प्रगाढ भयो र यहोवाप्रतिको हाम्रो प्रेम र कृतज्ञता पनि अझै गहिरो भयो।” खाँचोमा परेको बेला सङ्‌गी ख्रिष्टियनले तपाईँलाई पनि त्यसरी नै कोमल स्नेह देखाएको थियो कि?

१६. एकअर्कालाई कोमल स्नेह देखाउने कस्ता कारणहरू हामीसित छन्‌?

१६ एकअर्कालाई कोमल स्नेह देखाउँदा नतिजा कस्तो हुन्छ, विचार गर्नुहोस्‌। हाम्रा दाजुभाइ दिदीबहिनीले चाहिएकै बेलामा सान्त्वना पाउँछन्‌। परमेश्‍वरका जनहरूबीचको एकता बलियो हुन्छ। अनि हामी येसुका चेलाहरू हौँ भनेर प्रमाणित हुन्छ र यसले इमानदार हृदय भएका मानिसहरूलाई साँचो उपासनातर्फ आकर्षित गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर” यहोवाको महिमा गरिरहेका हुन्छौँ। (२ कोरि. १:३) त्यसैले हामी सबैले कोमल स्नेह खेती गरिरहौँ र एकअर्कालाई कोमल स्नेह देखाइरहौँ।

के तपाईँ याद गर्न सक्नुहुन्छ?

  • कोमल स्नेह भनेको के हो?

  • यहोवाले अनि जोनाथन र दाउदले देखाएको कोमल स्नेहका उदाहरणहरूबाट तपाईँले के सिक्नुभयो?

  • आज हामी कोमल स्नेह कसरी देखाउन सक्छौँ?

गीत १३० क्षमा दिने गरौँ!

a येसुले आफ्ना चेलाहरू तिनीहरूबीच भएको प्रेमले गर्दा चिनिनेछन्‌ भन्‍नुभयो। हामी सबै एकअर्कालाई प्रेम देखाउने कोसिस गर्छौँ। कोमल स्नेह खेती गरेर हामी दाजुभाइ दिदीबहिनीप्रतिको प्रेमलाई अझ बलियो बनाउन सक्छौँ। कोमल स्नेह भनेको परिवारका सदस्यहरूले एकअर्कालाई देखाउने प्रेम हो। यस लेखले मण्डलीका दाजुभाइ दिदीबहिनीप्रति कोमल स्नेह देखाउन र त्यो कायम राख्न हामीलाई मदत गर्नेछ।

b चित्रको व्याख्या: पाको एल्डरको अनुभवबाट लाभ उठाएका जवान एल्डरलाई ती पाको एल्डरले आफ्नो घरमा निम्तो दिन्छन्‌। दुवै दम्पतीले एकअर्कालाई प्रेम र उदारता देखाउँछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने