भ्रातृस्नेहको कुञ्जी थाहा लगाउनु
“तिमीहरूका . . . [ईश्वरीय न्यु व०] भक्तिमा भ्रातृस्नेह . . . थप।”—२ पत्रुस १:५-७.
१. यहोवाका जनहरूका जमघटहरू आनन्दको अवसर हुनको मुख्य कारणहरू के के हुन्?
एक पटक एक जना चिकित्सक आफ्नी छोरीको उपाधिग्रहण समारोहमा उपस्थित भएछन्। तिनी यहोवाका साक्षी थिएनन् र तिनकी छोरीले वाच टावर बाइबल स्कूल अफ गिलियडबाट मिसनरी प्रशिक्षण लिएर उपाधिग्रहण गर्न लागेकी थिइन्। त्यहाँ उपस्थित आनन्दित झुण्ड देखेर त्यस चिकित्सक यति प्रभावित भए कि ती मानिसहरू बीच कमै समस्याहरू होलान् भनी तिनले आफ्नो विचार पोखे। कुन कुराले त्यस झुण्डलाई त्यस्तो आनन्दित बनायो? यहोवाका साक्षीहरूको मण्डली, क्षेत्र सम्मेलन र जिल्ला सम्मेलनमा हुने सबै जमघटलाई कुन कुराले एउटा आनन्दको अवसर बनाउँछ? के तिनीहरूले एकआपसमा देखाउने भ्रातृस्नेहले गर्दा नै होइन र? भनिन्छ, यहोवाका साक्षीहरूले आफ्नो धर्मबाट जति हर्ष, खुशी र आनन्द उठाउँछन् त्यस्तो अरू कुनै धर्मावलम्बीहरू उठाउँदैनन्। निस्सन्देह, भ्रातृस्नेहकै कारण त्यसो हुन गएको हो।
२, ३. हामीले एकअर्काप्रति राख्नुपर्ने भावनाहरूसित कुन दुई युनानी शब्दहरू सम्बन्धित छन् र तिनीहरूको उल्लेखनीय विशेषताहरू के के हुन्?
२ प्रेरित पत्रुसले १ पत्रुस १:२२-मा लेखेका शब्दहरूलाई विचार गर्ने हो भने, हामीले त्यस किसिमको भ्रातृस्नेहको प्रत्याशा गर्नुपर्छ। त्यहाँ तिनले यसो भने: “यो जानेर कि, भाइप्रति निष्कपट प्रेमको निम्ति तिमीहरूले सत्यको पालनमा तिमीहरूका प्राणलाई पवित्र राखेको हुनाले एउटाले अर्कोलाई प्रगाढ प्रेम गर।” “भाइप्रति . . . [को] प्रेम” भनेर यहाँ चलाइका युनानी शब्दको एउटा आधारभूत तत्त्व फिलिया (स्नेह) हो। प्रायः “प्रेम” भनेर अनुवाद गरिने अगापे शब्दसँग यसको निकटतम सम्बन्ध छ। (१ यूहन्ना ४:८) भ्रातृस्नेह र प्रेमलाई अक्सर अदलबदल गरी चलाइए तापनि, तिनीहरूको आफ्नै विशिष्ट गुणहरू छन्। बाइबलका धेरै अनुवादकहरूले गरे जस्तै हामीले ती दुई शब्दहरूलाई गोलमाल गर्नुहुँदैन। यस पछिका अनुच्छेदहरूमा हामी भ्रातृस्नेह र विशिष्ट भ्रातृस्नेहको विषयमा छलफल गर्नेछौं।
३ माथि उल्लिखित दुई युनानी शब्दहरू बीचको भिन्नताबारे एक जना विद्वानले भने कि फिलिया “निश्चय नै न्यानोपना, नजिक हुनाको भाव र स्नेह जनाउने शब्द हो।” तर अगापे शब्द भने मनसँग बढी सम्बन्धित हुन्छ। त्यसैकारण आफ्ना शत्रुहरूलाई प्रेम (अगापे) गर भनिएको भए तापनि, तिनीहरूप्रति हाम्रो कुनै स्नेह छैन। किन छैन? किनभने “खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) ती दुई शब्दहरू बीच भिन्नता छ भनेर देखाउने अर्को कुरो प्रेरित पत्रुसले भनेका यी शब्दहरू पनि हुन्: “तिमीहरूका . . . भ्रातृस्नेहमा प्रेम थप।”—२ पत्रुस १:५-७; यूहन्ना २१:१५-१७ सँग तुलना गर्नुहोस्।a
विशिष्ट भ्रातृस्नेहका उदाहरणहरू
४. येशू र यूहन्नाबीच विशेष स्नेह किन थियो?
४ परमेश्वरको वचनमा विशिष्ट भ्रातृस्नेहका थुप्रै राम्रा उदाहरणहरू पाउँछौं। यस्तो विशिष्ट स्नेह कुनै लहडपनको नतिजा होइन बरु त्यो अरूहरूका उल्लेखनीय गुणहरूको मूल्याङ्कनमा आधारित हुन्छ। निस्सन्देह, प्रेरित यूहन्नाका लागि येशू ख्रीष्टको स्नेह, विशिष्ट भ्रातृस्नेहको प्रख्यात उदाहरण हो। निर्विवाद छ, आफ्ना सबै विश्वासी प्रेरितहरूप्रति येशूको भ्रातृस्नेह थियो र त्यो पनि राम्रै कारणका लागि। (लूका २२:२८) उहाँले तिनीहरूको खुट्टा धोइदिनुभएर उहाँले एक तरिकामा यो गुण देखाउनु भयो। र तिनीहरूलाई नम्रताको एउटा पाठ सिकाउनुभयो। (यूहन्ना १३:३-१६) तर यूहन्नाप्रति भने उहाँको विशेष भ्रातृस्नेह थियो, जसलाई यूहन्नाले निकै पटक उल्लेख गरे। (यूहन्ना १३:१३; १९:२६; २०:२) आफ्ना अन्य चेलाहरू र प्रेरितहरूप्रति स्नेह देखाउनु पर्ने कारण त येशूसँग थियो नै। तर अवश्य येशूप्रति गहिरो मूल्याङ्कन भएको हुनाकारण यूहन्नाले आफूप्रति विशेष स्नेह राख्ने आधार दिएको हुनुपर्छ। यो कुरा हामी यूहन्नाले लेखेको सुसमाचार र प्रेरित पत्रहरूबाट देख्न सक्छौं। आफ्ना लेखहरूमा तिनले प्रेमको कति धेरै उल्लेख गरे! येशूका आध्यात्मिक गुणहरूप्रतिको यूहन्नाको ठूलो मूल्याङ्कन यूहन्ना १ र १३ देखि १७ अध्यायहरूमा तिनले लेखेका कुराहरूका साथै येशूको मानवपूर्व अस्तित्वबारे बारम्बार गरेका उल्लेखहरूबाट देखिन्छ।—यूहन्ना १:१-३; ३:१३; ६:३८, ४२, ५८; १७:५; १८:३७.
५. पावल र तिमोथीबीचको विशेष स्नेहबारे के भन्न सकिन्छ?
५ त्यस्तैगरि प्रेरित पावल र तिनका मसीही मित्र तिमोथी बीचको विशिष्ट भ्रातृस्नेहलाई पनि हामी बिर्सन चाहन्नौं। निस्सन्देह तिनीहरूको स्नेह, एकअर्काको गुणहरूको मूल्याङ्कनमा आधारित थियो। पावलका पत्रहरूमा तिमोथीबारे राम्रा टिप्पणीहरू पाइन्छ, जस्तै: “साँचो मनले तिमीहरूका कल्याण सोच्ने मजस्तै मन भएको मानिस अरू कोही छैन, . . . जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरीनै तिनले मसित सुसमाचार फैलाउने काममा सेवा गरे।” (फिलिप्पी २:२०-२२) तिमोथीलाई लेखेको पत्रमा त्यस्ता थुप्रै व्यक्तिगत सन्दर्भहरू पाइन्छ जसले तिमोथीप्रतिको पावलको न्यानो स्नेहलाई प्रकट गर्छ। उदाहरणको लागि १ तिमोथी ६:२०-लाई विचार गर्नुहोस्: “हे तिमोथी . . . तिमीलाई सुम्पिएको जे छ, त्यसको हिफाजत गर।” (१ तिमोथी ४:१२-१६; ५:२३; २ तिमोथी १:५; ३:१४, १५ पनि हेर्नुहोस्।) विशेषगरि तिमोथी र तितसलाई पावलले लेखेको पत्रलाई तुलना गर्दा यस जवान व्यक्तिका लागि पावलसँग भएको स्नेह स्पष्ट देखिन्छ। आफ्नो मित्रताको विषयमा तिमोथीले पनि त्यस्तै महसुस गरेको हुनुपर्छ। यो कुरा २ तिमोथी १:३, ४-मा पावलका शब्दहरूबाट देख्न सकिन्छ: “मेरो अन्तरबिन्तीमा रात-दिन तिम्रै सम्झना ममा कस्तो अटूट छ, तिम्रो आसुँलाई सम्झेर, तिमीलाई हेर्ने इच्छा गरी, म आनन्दले भरिपूर हुन्छु।”
६, ७. दाऊद र जोनाथन एकअर्काप्रति कस्तो भावना राख्दथे र किन?
६ हिब्रू शास्त्रले पनि दाऊद र जोनाथनका जस्तो राम्रा उदाहरणहरू दिएको छ। दाऊदले गोल्यतलाई मारेपछि ‘जोनाथनले दाऊदलाई आफैलाईझैं हृदयले प्रेम गर्नलागे’ भनेर हामी पढ्छौं। (१ शमूएल १८:१) यहोवाको नाउँका लागि देखाएको जोश र त्यस दानव गोल्यतसँग भिड्ने निडरताप्रतिको मूल्याङ्कनले निश्चय नै जोनाथनलाई दाऊदप्रति विशेष स्नेह राख्न प्रेरित गऱ्यो।
७ दाऊदप्रति जोनाथनको यति स्नेह थियो कि दाऊदलाई राजा शाऊलको हातबाट बचाउन तिनले आफ्नो ज्यानको समेत खतरा मोले। इस्राएलको अर्को राजा हुन यहोवाले दाऊदलाई चुन्नुभएकोमा जोनाथनले कहिल्यै अप्रसन्नता प्रकट गरेन। (१ शमूएल २३:१७) जोनाथनप्रति दाऊदको पनि त्यतिकै प्रगाढ प्रेम थियो। जोनाथनको मृत्युको विलापमा दाऊदले बोलेका शब्दहरूबाट त्यो स्पष्ट देखिन्छ: “हे जोनाथन, मेरा भाइ, तिम्रो निम्ति म विलाप गर्दछु! तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ। मप्रतिको तिम्रो प्रेम अचम्भको थियो, स्त्रीहरूको प्रेमलाई जित्ने।” साँच्चै भन्ने हो भने गहिरो मूल्याङ्कनले तिनीहरूको सम्बन्धलाई विशिष्ट बनायो।—२ शमूएल १:२६.
८. कुन दुई स्त्रीहरूले एकअर्काप्रति विशेष स्नेह देखाए र किन?
८ हिब्रू शास्त्रमा दुई जना स्त्रीहरूले देखाएको विशेष स्नेहको अर्को असल उदाहरण पनि पाउँछौं। ती हुन् नाओमी र तिनकी विधवा बुहारी रूथ। रूथले नाओमीलाई भनेका शब्दहरूलाई सम्झनुहोस्: “मलाई फर्केर जान र तपाईंलाई छोड्न कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहींनै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।” (रूथ १:१६) नाओमीले देखाएको आचरण र यहोवाबारे बोलेको वचनले गर्दा नै रूथले यस्तो मूल्याङ्कन सहितको प्रतिक्रिया व्यक्त गरेको हुनुपर्छ भनेर के हामी भन्न सक्दैनौं र?—लूका ६:४० सँग तुलना गर्नुहोस्।
प्रेरित पावलको उदाहरण
९. भ्रातृस्नेहको सम्बन्धमा पावल उदाहरणीय थिए भनेर के ले देखाउँछ?
९ प्रेरित पावलसँग तिमोथीका लागि एकदम विशेष भ्रातृस्नेह थियो भनेर हामीले देख्यौं। तर आफ्ना अन्य भाइहरूप्रति पनि न्यानो भ्रातृस्नेह देखाएर तिनले राम्रो उदाहरण बसाले। “तीन वर्षसम्म, दिन-रात आँसुको साथ हरेक मानिसलाई जनाउ दिनालाई म थामिनँ” भनेर तिनले एफिससका प्राचीनहरूलाई भने। के यो न्यानो भ्रातृस्नेह होइन र? अवश्य, यसमा कुनै शङ्का छैन! र पावलको सम्बन्धमा पनि तिनीहरूले त्यस्तै महसुस गरे। तिनलाई फेरि देख्न पाउनेछैन भनेर सुन्दा “तिनीहरू सबै अन्ना-धुन्नसँग रोए, र पावललाई अङ्गालो हालेर चुम्बन गरे।” (प्रेरित २०:३१, ३७) के यो मूल्याङ्कनमा आधारित भ्रातृस्नेह होइन र? निश्चय नै हो! तिनको भ्रातृस्नेह २ कोरिन्थी ६:११-१३ का शब्दहरूबाट पनि देखिन्छ: “ए कोरिन्थी हो, हामीले खोलेरै तिमीहरूलाई भनिदिएका छौं, हाम्रो मन ठूलो छ। तिमीहरू हामीमा साँघुरा भएका छैनौ, तर तिमीहरू आफ्नै स्नेहमा साँघुरिएका छौ अब त्यही किसिमको सट्टामा (म आफ्नै बालकहरूसँगझैं भन्दछु), तिमीहरू पनि ठूला मनका होओ।”
१०. भ्रातृस्नेहको कस्तो कमीले गर्दा पावलले २ कोरिन्थी ११ अध्यायमा आफ्नो कष्टहरूको उल्लेख गर्नुपऱ्यो?
१० स्पष्ट छ, प्रेरित पावलका लागि धेरैजसो कोरिन्थीहरूसँग मूल्याङ्कन सहितको भ्रातृस्नेह थिएन। यसैकारण, तिनीहरूमध्ये कसै कसैले यसो भनेर सिकायत गरे: “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन् तर सामनेमा शरीरको निर्धो र बोलीचाहिं केही कामको छैन।” (२ कोरिन्थी १०:१०) त्यसैकारण पावलले तिनीहरूका “मुख्य प्रेरितहरू”-लाई सम्बोधन गर्दै आफूले भोगेका सतावटहरू भन्न प्रेरित भए, जुन कुरा हामी २ कोरिन्थी ११:५, २२-३३ मा पाउँछौं।
११. थिस्सलोनिकीका मसीहीहरूका लागि पावलको स्नेहको सम्बन्धमा के प्रमाण छ?
११ आफूले सेवा गरेकाहरूका निम्ति पावलको न्यानो स्नेह विशेषगरि १ थिस्सलोनीकी २:८-का शब्दहरूबाट स्पष्ट झल्किन्छ: “त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ्तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौं।” वास्तवमा यी नयाँ भाइहरूका लागि तिनको यति स्नेह थियो कि तिनीहरूको हालखबर सुन्न तिनीले अझै पर्खन सकेन—तिनी यति व्यग्र भए कि तिनीहरूले कसरी सतावटलाई सहिरहेका छन् भनेर थाहा लगाउन तिनले तिमोथीलाई पठाइहाले। तिनको असल खबर सुनेपछि बल्ल तिनको बल आयो। (१ थिस्सलोनिकी ३:१, २, ६, ७) इन्साइट अन द स्क्रिपचर्स ठीकै भन्छ: “पावल र तिनले सेवा गरेकाहरूबीच भ्रातृस्नेहको एउटा निकटतम बन्धन थियो।”
मूल्याङ्कन—भ्रातृस्नेहको कुञ्जी
१२. हाम्रा भाइहरूप्रति न्यानो स्नेह देखाउनु पर्ने के कारणहरू छन्?
१२ निस्सन्देह, भ्रातृस्नेहको कुञ्जी मूल्याङ्कन हो। के यहोवाका सबै समर्पित सेवकहरूसित हामीले मूल्याङ्कन गर्ने, हाम्रो स्नेह जगाउने र हामीलाई मनपर्ने व्यक्ति बनाउने गुणहरू छैनन् र? हामी सबै नै परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्दैछौं। हाम्रा यी तीन सामान्य शत्रुहरूसँग हामी सबैजना साहसकासाथ लड्दैछौं: शैतान अनि त्यसका प्रेतहरू, शैतान नियन्त्रित दुष्ट संसार र वंशाणुगत प्राप्त पापी शरीरका स्वार्थी मनोवृत्तिहरू। परिस्थितिअनुसार हाम्रा भाइहरूले यथासक्य गरिरहेका छन् भनेर के हामीले सधैं सम्झनु पर्ने होइन र? संसारका सबै मानिसहरू या त यहोवाको पक्षमा वा नभए शैतानको पक्षमा छन्। हाम्रा समर्पित भाइ-बहिनीहरू यहोवाको पक्ष अर्थात् हाम्रो पक्षमा छन् र तिनीहरू हाम्रो भ्रातृस्नेहको योग्य छन्।
१३. प्राचीनहरूप्रति न्यानो स्नेह किन हुनपर्छ?
१३ हाम्रा प्राचीनहरूको मूल्याङ्कन गर्ने सम्बन्धमा के नि? मण्डलीका कामकुराहरूप्रति जुन तरिकाले परिश्रम गरिरहेका छन् त्यसलाई विचार गर्ने हो भने के तिनीहरूका लागि हाम्रो मनमा न्यानो भावना हुनु पर्ने होइन र? हामीहरूले जस्तै तिनीहरूले पनि आफू र आफ्ना परिवारका लागि प्रबन्ध गर्छन्। हामीहरूकोझैं तिनीहरूको पनि व्यक्तिगत अध्ययन गर्ने, मण्डलीको सभाहरू धाउने र क्षेत्र सेवकाईमा भाग लिने जिम्मेवारीहरू छन्। यस बाहेक सभाहरूको कार्यक्रम तयार गर्ने, जनभाषण दिने र मण्डलीमा उठेका समस्याहरूको रेखदेख गर्ने जिम्मेवारीहरू पनि हुन्छन् जसका लागि कहिलेकाहीं घण्टौंसम्म न्यायिक सुनवाइ गर्नुपर्ने हुन्छ। निश्चय नै हामी “यस्ताहरूलाई आदरणीय” मान्न चाहन्छौं।—फिलिप्पी २:२९.
भ्रातृस्नेह देखाउने
१४. कुन शास्त्रपदहरूले भ्रातृस्नेह देखाउन आज्ञा गर्छ?
१४ यहोवालाई प्रसन्न तुल्याउन, हामीले आफ्ना सङ्गी विश्वासीहरूप्रति येशू ख्रीष्ट र पावललेझैं भ्रातृस्नेहको न्यानो अनुभूति देखाउनु पर्छ। हामी पढ्छौं: “[भ्रातृस्नेहमा] एक दोस्रोतर्फ कोमल स्नेहका होओ।” (रोमी १२:१० किङ्गडम इन्टरलिनियर) “[भ्रातृस्नेह] को सम्बन्धमा हामीले तिमीहरूलाई लेखिरहनु पर्दैन, किनभने तिमीहरू आफै एक-अर्कालाई प्रेम गर्न परमेश्वरबाट सिकाइएका छौ।” (१ थिस्सलोनिकी ४:९ इन्ट) “तिमीहरूमा [भ्रातृस्नेह] भइरहोस्।” (हिब्रू १३:१, इन्ट) हामीले उहाँका पार्थिव सन्ततिप्रति भ्रातृस्नेह देखाउँदा निश्चय नै स्वर्गमा हुनुहुने हाम्रो पिता कति प्रसन्न हुनुहुन्छ!
१५. भ्रातृस्नेह देखाउने केही तरिकाहरू के के हुन्?
१५ प्रेरितहरूको समयमा मसीहीहरू एकअर्कालाई “पवित्र चुम्मन” वा “प्रेमको चुम्बनले” अभिवादन गर्दथे। (रोमी १६:१६; १ पत्रुस ५:१४) भ्रातृस्नेहको कस्तो राम्रो अभिव्यक्ति! आज भने, संसारको धेरैजसो भागमा भ्रातृस्नेहको उपयुक्त अभिव्यक्ति, मित्रताको साँचो मुस्कान र हात मिलाएर अभिवादन गर्नु हुनेछ। मेक्सिको आदि जस्तो दक्षिणी अमेरिकी मुलुकहरूमा, एक आपसलाई अङ्कमाल गरेर अभिवादन गरिन्छ। निश्चय नै त्यो स्नेहको एउटा अभिव्यक्ति हो। तिनीहरूको देशमा भइरहेको ठूलो वृद्धिको एउटा कारण यी भाइहरूले देखाएको यस्तो न्यानो स्नेह पनि हुनसक्छ।
१६. राज्य भवनमा भ्रातृस्नेह देखाउने कस्ता मौकाहरू छन्?
१६ राज्य भवनमा प्रवेश गर्दा के हामी भ्रातृस्नेह देखाउन विशेष प्रयत्न गर्छौं? त्यसले हामीलाई अरूहरू र विशेषगरि निराशित व्यक्तिहरूसँग प्रोत्साहनदायी शब्दहरू बोल्न प्रेरित गर्नेछ। “हरेस खानेलाई दिलाशा देओ” भनेर हामीलाई भनिएको छ। (१ थिस्सलोनिकी ५:१४) निश्चय नै यसरी पनि हामी अरूहरूसँग भ्रातृस्नेहको न्यानोपना बाँड्न सक्छौं। यसको अर्को उत्तम उपाय राम्रो जनभाषण, राम्रोसँग प्रस्तुत गरिएको कार्यक्रमको अंश, ईश्वरतान्त्रिक पाठशालामा एक जना विद्यार्थीले गरेको प्रशंसनीय प्रयत्न आदिका लागि मूल्याङ्कन व्यक्त गर्नु पनि हो।
१७. एक जना प्राचीनले कसरी मण्डलीको स्नेह पाए?
१७ बेग्ला बेग्लै व्यक्तिहरूलाई भोजनको निम्तो दिने वा सभा पछि त्यति अबेर भएको छैन भने चियापानको लागि बोलाए कसो होला? के हामीले लूका १४:१२-१४ मा उल्लिखित येशूको सल्लाहलाई अमल गर्नुपर्ने होइन र? एकचोटि एक जना भूतपूर्व मिसनरीलाई भिन्दै जातिका व्यक्तिहरू भएको मण्डलीमा अध्यक्ष नियुक्त गरिएछ। तिनले त्यहाँ भ्रातृस्नेहको कमी महसुस गरे। अतः तिनले त्यसलाई सुधार्ने निर्णय गरे। तर कसरी? प्रत्येक आइतबार तिनले भिन्दा-भिन्दै परिवारलाई भोजनको निम्तो दिए। वर्षको अन्तसम्ममा त, सबै जनाले तिनीप्रति न्यानो भ्रातृस्नेह देखाइरहेका थिए।
१८. बिरामी भाइ-बहिनीहरूलाई कसरी भ्रातृस्नेह देखाउन सक्छौं?
१८ यदि कुनै भाइ वा बहिनी घर वा अस्पतालमा बिरामी छन् भने, हामी तिनको चिन्ता गर्छौं भनेर तिनलाई महसुस गराउन भ्रातृस्नेहले हामीलाई प्रेरित गर्नेछ। नर्सिङ्ग होममा बसिरहेका छन् भने नि? त्यसोभए आफै गएर तिनलाई भेट्ने, फोन गर्ने वा न्यानो भाव व्यक्त गर्ने एउटा सानो कार्ड पठाए कसो होला?
१९, २०. हाम्रो भ्रातृस्नेह खुला मनबाट आएको हो भनेर कसरी देखाउनसक्छौं?
१९ भ्रातृस्नेहका यस्ता अभिव्यक्तिहरू व्यक्त गर्दा आफैलाई प्रश्न गर्न सक्छौं, ‘के मेरो भ्रातृस्नेह पक्षपाती छ? के म छालाको रङ्ग, शिक्षा वा भौतिक सर-सम्पत्तिको आधारमा भ्रातृस्नेह देखाउँछु? प्रेरित पावलले कोरिन्थका मसीहीहरूलाई आग्रह गरेझैं के म पनि भ्रातृस्नेहमा ठूलो मनको हुनु परेको छ?’ भ्रातृस्नेहले भाइहरूको असल गुणहरूको मूल्याङ्कन गर्न र तिनीहरूप्रति सकारात्मक दृष्टिकोण राख्न लगाउनेछ। भाइहरूको प्रगतिमा डाह गर्नको सट्टा खुशी प्रकट गर्न भ्रातृस्नेहले हामीलाई मदत दिनेछ।
२० त्यस्तैगरि हाम्रा भाइहरूलाई सेवकाईमा मदत गर्न भ्रातृस्नेहले हामीलाई सजग बनाउनु पर्छ। हाम्रो गीत (सङ्खया ९२) ले भने झैं त्यो हुनुपर्छ:
“मदत देऊ सबै कमजोरलाई,
ताकि बोल्न सकोस् तिनीहरू सोर फुलाइ,
हेला नगर ती कलिला उमेरलाई
मदत देऊ डर हटाउन अनि बलियो हुनलाई”
२१. भ्रातृस्नेह देखायौं भने कस्तो परिणामको आशा गर्नसक्छौं?
२१ अतः भ्रातृस्नेह देखाउँदा येशूले डाँडामा दिनुभएको यो सिद्धान्त पनि लागू हुन्छ भन्ने कुरा हामी नभुलौं: “देओ, र तिमीहरूलाई दिइनेछ। पूरा नाप खाँदी खाँदी, बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्। किनकि जुन नापले तिमीहरू नाप्तछौं, त्यसरी तिमीहरूका निम्ति पनि नापिनेछ।” (लूका ६:३८) यहोवाका हामी जस्तै अन्य सेवकहरूलाई सम्मान दिदैं भ्रातृस्नेह देखाउँदा हामी आफै लाभान्वित हुन्छौं। भ्रातृस्नेह देखाउन आनन्द मान्ने व्यक्तिहरू साँच्चै धन्यका हुन्! (w93 10/15)
[फुटनोट]
a यस पछिको लेखलाई हेर्नुहोस्: “प्रेम (अगापे)—के होइन र के हो।”
तपाईं कसरी जवाफ दिनुहुन्छ?
▫ कुन युनानी शब्दहरू हाम्रा भावनाहरूसँग सम्बन्धित छन् र तिनीहरू कसरी एकआपसमा भिन्न छन्?
▫ भ्रातृस्नेहको कुञ्जी के हो?
▫ विशिष्ट भ्रातृस्नेहका कस्ता शास्त्रीय उदाहरणहरू हामी पाउँछौं?
▫ हाम्रा भाइहरू अनि प्राचीनहरूप्रति किन न्यानो स्नेह हुनुपर्छ?
[पृष्ठ २१-मा भएको चित्र]
आफ्नो विश्वास र अन्य मसीही गुणहरूमा भ्रातृस्नेह थप्न प्रेरित पत्रुसले आफ्ना भाइहरूलाई आग्रह गरे