प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जुलाई pp. ८-१३
  • यहोवाको सहनशीलता अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सहनशीलता अनुकरण गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले के-कस्ता कुराहरू सहिरहनुभएको छ?
  • यहोवाको सहनशीलताबाट हामी के सिक्न सक्छौँ?
  • “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • धीरज—मसीहीहरूका लागि अत्यावश्‍यक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • यहोवाको सङ्‌गठनसित नजिक हुनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • हामी सहिरहन्छौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जुलाई pp. ८-१३

अध्ययन लेख २७

यहोवाको सहनशीलता अनुकरण गर्नुहोस्‌

“तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।”—लुका २१:१९.

गीत ११४ “धैर्य गर”

परिचयa

१-२. यसैया ६५:१६, १७ मा यहोवाले गर्नुभएको प्रतिज्ञाले हामीलाई हार नमान्‍न कसरी प्रोत्साहन दिन्छ?

“हार नमान्‍नुहोस्‌!” यो २०१७ अधिवेशन कार्यक्रमको मूल विषय हो। यस अधिवेशनबाट हामी आफूमाथि आइपरेका परीक्षाहरू कसरी सहन सक्छौँ भनेर बुझेका थियौँ। यो अधिवेशन भएको पनि चार वर्ष बितिसक्यो तर अझै हामीले सैतानको यस दुष्ट संसारमा विभिन्‍न समस्याहरू सहँदै छौँ।

२ तपाईँले हालसालै कुनै समस्याको सामना गर्नुपरेको थियो कि? जस्तै: परिवारको सदस्य वा प्रिय साथीको मृत्यु, कुनै प्राणघातक रोग, वृद्धावस्थाका असरहरू, प्राकृतिक प्रकोप, हिंसा, सतावट अथवा कोभिड-१९ महामारी वा त्यस्तै अन्य रोगबिमारका असरहरू। हामी यी सबै कुरा बितेर जाने समयको तीव्र प्रतीक्षामा छौँ। त्यसपछि यस्ता कुराहरू हाम्रो सम्झनामा हुनेछैनन्‌ र हामीले कहिल्यै ती कुराहरू सहनुपर्नेछैन।—यसैया ६५:१६, १७ पढ्‌नुहोस्‌।

३. हामीले अहिल्यै के गर्नुपर्छ र किन?

३ सैतानको यस संसारमा जीवन बिताउन गाह्रो छ अनि भविष्यमा हामीले अहिले भोगिरहेको भन्दा अझ गाह्रो चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। (मत्ति २४:२१) हामीले अहिले नै सहनशील हुन सिक्नुपर्छ। किन? किनकि येसुले यसो भन्‍नुभयो: “तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।” (लुका २१:१९) हाम्रोजस्तै समस्याहरू सफलतापूर्वक सहिरहेका व्यक्‍तिहरूबारे विचार गर्दा हामी पनि सहनशील हुन सक्छौँ।

४. यहोवा सहनशीलताको सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

४ सहनशीलताको सर्वोत्कृष्ट उदाहरण को हुनुहुन्छ? यहोवा परमेश्‍वर। यो कुरा सुन्दा तपाईँलाई अचम्म लाग्यो कि? तर यसबारे गहिरिएर विचार गर्नुभयो भने सायद तपाईँलाई अचम्म लाग्नेछैन। यो संसार सैतानको अधीनमा भएकोले जताततै समस्यै समस्या छ। यहोवाले चाहनुभयो भने यी सबै समस्याहरू क्षणभरमै हटाउन सक्नुहुन्छ तर उहाँ यसको लागि उपयुक्‍त समय पर्खँदै हुनुहुन्छ। (रोमी ९:२२) आफूले तोकेको समय नआउन्जेल परमेश्‍वरले धैर्य गर्दै पर्खनुहुनेछ। यहोवाले सहिरहनुभएको नौ वटा कुराबारे अब हामी छलफल गरौँ।

यहोवाले के-कस्ता कुराहरू सहिरहनुभएको छ?

हव्वाले निषेध गरिएको फल खान लाग्दा सर्पले हेरिरहेको छ।

५. परमेश्‍वरको नाममा कसरी कलङ्‌क लागेको छ र यसबारे सोच्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?

५ उहाँको नाममा लागेको कलङ्‌क। यहोवा आफ्नो नामलाई माया गर्नुहुन्छ र सबैले यस नामको आदर गरेको उहाँ चाहनुहुन्छ। (यसै. ४२:८) तर करिब छ हजार वर्षदेखि उहाँको असल नाममा कलङ्‌क लागेको छ। (भज. ७४:१०, १८, २३) यो काम अदनको बगैँचाबाट सुरु भयो। परमेश्‍वरले आदम र हव्वालाई उनीहरू आनन्दित हुन नभई नहुने कुराबाट वञ्चित गराउँदै हुनुहुन्छ भनेर दियाबलले (अर्थात्‌ “निन्दक”) उहाँलाई आरोप लगायो। (उत्प. ३:१-५) त्यो समयदेखि यहोवाले मानिसहरूलाई नभई नहुने कुराबाट वञ्चित गराउँदै हुनुहुन्छ भन्‍ने झूटो आरोप उहाँमाथि लागेको छ। आफ्नो बुबाको नाममा यस्तो कलङ्‌क लागेकोले येसु चिन्तित हुनुहुन्थ्यो। त्यसैले उहाँले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।”—मत्ति ६:९.

हव्वाले आदमलाई निषेध गरिएको फल दिन्छिन्‌।

६. यहोवाले किन मानिसजातिलाई लामो समयदेखि शासन गर्ने अनुमति दिनुभएको छ?

६ उहाँको सार्वभौमिकताको विरोध। स्वर्ग अनि पृथ्वीमाथि शासन गर्ने अधिकार यहोवासित मात्र छ र उहाँको शासन गर्ने तरिका सर्वोत्कृष्ट छ। (प्रका. ४:११) तर दियाबलले स्वर्गदूतहरू र मानिसहरूलाई परमेश्‍वरसित शासन गर्ने अधिकार छैन भनेर सोच्न लगाएर तिनीहरूलाई बहकाउँदै छ। शासन गर्ने अधिकार यहोवासित मात्र छ र उहाँ सबैभन्दा राम्रो शासक हुनुहुन्छ भनेर प्रमाणित हुन पक्कै पनि केही समय लाग्नेछ। मानिसजातिले सृष्टिकर्ताको मदतविना सही तरिकामा शासन गर्न सक्दैनन्‌ भनेर प्रमाणित गर्न बुद्धिमान्‌ परमेश्‍वर यहोवाले तिनीहरूलाई लामो समयदेखि शासन गर्ने अनुमति दिनुभएको छ। (यर्मि. १०:२३) परमेश्‍वरको सहनशीलताले गर्दा सार्वभौमिकताको विवाद सदाको लागि सुल्झिनेछ। यहोवाको शासन गर्ने तरिका सर्वोत्कृष्ट छ अनि उहाँको राज्यले मात्र पृथ्वीमा साँचो शान्ति र सुरक्षा ल्याउनेछ भन्‍ने कुरा सबैले थाह पाउनेछन्‌।

स्वर्गमा सैतानको वरपर दुष्ट स्वर्गदूतहरू उभिरहेका छन्‌।

७. क-कसले यहोवाको विद्रोह गरेका छन्‌ र उहाँले तिनीहरूलाई के गर्नुहुनेछ?

७ उहाँका केही सन्तानले गरेको विद्रोह। यहोवाले स्वर्गदूत र मानिस सृष्टि गर्नुहुँदा तिनीहरूमा कुनै खोट थिएन। तर विद्रोही स्वर्गदूत सैतानले (अर्थात्‌ “विरोधी”) त्रुटिरहित मानिस आदम र हव्वालाई यहोवाको विद्रोह गर्न लगायो। पछि अरू स्वर्गदूतहरू र मानिसहरूले पनि त्यसको विद्रोहमा साथ दिए। (यहु. ६) परमेश्‍वरले आफ्नो जनको रूपमा रोज्नुभएको इस्राएल राष्ट्रले समेत उहाँलाई तिरस्कार गऱ्‍यो अनि झूटा देवताहरूको उपासना गर्न थाल्यो। (यसै. ६३:८, १०) यहोवाले आफूमाथि विश्‍वासघात भएको महसुस गर्नुभयो। तैपनि उहाँले यी सब सहनुभयो अनि सबै विद्रोहीहरूलाई नाश गर्ने समय नआउन्जेल उहाँले यसरी नै सहिरहनुहुनेछ। यसले गर्दा उहाँले जस्तै यस संसारका खराब कुराहरू सहिरहेका उहाँका वफादार सेवकहरूले ठूलो राहत पाउनेछन्‌।

स्वर्गमा सैतान यहोवासामु अय्युबमाथि आरोप लगाउँदै छ। अय्युब भुईँमा बसिरहेका छन्‌ र तिनको शरीरभरि खटिरा छ।

८-९. सैतानले यहोवाबारे कस्ता झूटहरू फैलाएको छ र त्यस्ता झूटहरूप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

८ दियाबलले फैलाएका झूटहरू। सैतानले यहोवाको धर्मी सेवक अय्युबलाई अनि उहाँका सबै वफादार सेवकहरूलाई स्वार्थको लागि मात्रै उहाँको सेवा गरेको आरोप लगाएको छ। (अय्यु. १:८-११; २:३-५) सैतानले अझै पनि त्यस्तो आरोप लगाउन छोडेको छैन। (प्रका. १२:१०) परीक्षाहरू सहेर अनि यहोवाप्रतिको प्रेमले उत्प्रेरित हुँदै उहाँप्रति वफादार रहेर हामी सैतानको यो आरोप झूटो हो भनेर प्रमाणित गर्ने काममा योगदान दिन सक्छौँ। यसरी सहनशीलता देखायौँ भने अय्युबले जस्तै हामीले पनि इनाम पाउनेछौँ।—याकु. ५:११.

९ सैतानले झूटा धर्मगुरुहरूलाई चलाएर यहोवा क्रूर हुनुहुन्छ र मानिसजातिले भोगिरहेको दुःखकष्टको लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ भन्दै आएको छ। केही धर्मगुरुहरूले सानो बच्चाको मृत्यु हुँदा परमेश्‍वरलाई स्वर्गमा अझ धेरै स्वर्गदूतहरू चाहिएकोले उहाँले नै उसलाई लैजानुभएको हो समेत भन्‍ने गर्छन्‌। कस्तो घोर ईश्‍वरनिन्दा! तर हामीलाई भने यहोवा मायालु बुबा हुनुहुन्छ भन्‍ने कुरा थाह छ। कुनै गम्भीर रोग लाग्दा वा प्रियजनको मृत्यु हुँदा हामी त्यसको लागि परमेश्‍वरलाई दोष लगाउँदैनौँ। बरु एक दिन उहाँले सबै दुःख र पीडा हटाउनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्छौँ। हाम्रो कुरा सुन्‍न चाहने सबैलाई यहोवा मायालु परमेश्‍वर हुनुहुन्छ भनेर हामी बताउँछौँ। हामीले यसो गर्दा यहोवाले उहाँको गिल्ला गर्नेलाई मुखभरिको जवाफ दिन सक्नुहुनेछ।—हितो. २७:११.

एक स्त्री अस्पतालको खाटमा छिन्‌; तिनलाई सलाइन पानी चढाइँदै छ र अक्सिजन पनि दिइँदै छ।

१०. भजन २२:२३, २४ ले यहोवाबारे के भन्छ?

१० उहाँका प्रिय सेवकहरूले भोग्नुपरेको दुःखकष्ट। यहोवा करुणाले भरिपूर्ण परमेश्‍वर हुनुहुन्छ। खेदो, रोगबिमार वा हाम्रो त्रुटिपूर्ण अवस्थाले गर्दा हामीले सहनुपरेको दुःखकष्ट देख्दा यहोवालाई पनि दुःख लाग्छ। (भजन २२:२३, २४ पढ्‌नुहोस्‌।) यहोवा हाम्रो पीडा महसुस गर्नुहुन्छ र हामीलाई यसबाट छुटकारा दिन चाहनुहुन्छ। उहाँले पक्कै त्यसो गर्नुहुनेछ। (प्रस्थान ३:७, ८ र यसैया ६३:९ तुलना गर्नुहोस्‌।) त्यतिबेला यो भविष्यवाणी पूरा हुनेछ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रका. २१:४.

एक दम्पती चिहानमा छन्‌; तिनीहरू चिहानमा राखिएको लासलाई हेर्दै रोइरहेका छन्‌।

११. यहोवा मरिसकेका आफ्ना वफादार सेवकहरूप्रति कस्तो महसुस गर्नुहुन्छ?

११ मृत्युको कारण आफ्ना मित्रहरूसित छुट्टिनुपर्दाको पीडा। मृत्यु भइसकेको वफादार पुरुष तथा स्त्रीहरूप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ? उहाँ तिनीहरूलाई हेर्न तीव्र इच्छा गर्नुहुन्छ। (अय्यु. १४:१५) यहोवा आफ्नो मित्र अब्राहामलाई कत्ति सम्झनुहुन्छ होला, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? (याकु. २:२३) अनि उहाँसित “आमनेसामने” कुरा गरेका मोसालाई नि? (प्रस्थ. ३३:११) साथै उहाँ दाउद र अरू भजनरचयिताहरूले प्रशंसाका सुमधुर गीतहरू गाएको फेरि सुन्‍न कत्ति उत्सुक हुनुहुन्छ होला! (भज. १०४:३३) परमेश्‍वरका यी मित्रहरू मृत्युको निद्रामा परिसकेको भए तापनि उहाँले तिनीहरूलाई बिर्सनुभएको छैन। (यसै. ४९:१५) उहाँलाई अझै पनि तिनीहरूको व्यक्‍तित्वको एक-एक पक्ष याद छ। एक अर्थमा भन्‍नुपर्दा “उहाँको नजरमा तिनीहरू सबै जीवित छन्‌।” (लुका २०:३८, फुटनोट) एक दिन उहाँले तिनीहरूलाई फेरि जीवित पार्नुहुनेछ। उहाँले तिनीहरूको मनैदेखिको प्रार्थना सुन्‍नुहुनेछ र तिनीहरूको उपासना स्विकार्नुहुनेछ। तपाईँले पनि मृत्युले गर्दा आफ्नो प्रियजन गुमाउनुभएको छ भने यी कुराहरूले तपाईँलाई पीडा सहन मदत गर्छ र सान्त्वना दिन्छ।

चित्रहरूको सँगालो: अन्याय-अत्याचारका उदाहरणहरू। १. एक सिपाही बख्तरबन्द गाडी चलाउँदै छन्‌ र अरू सिपाहीहरू तिनको पछिपछि दौडिरहेका छन्‌। २. प्रहरीहरूले एक साक्षी दम्पतीलाई हतकडी लगाएर लैजाँदै छन्‌।

१२. यस अन्तको दिनमा यहोवालाई के-कस्ता कुराहरूले दुःखी बनाएको छ?

१२ दुष्टहरूले मानिसहरूमाथि गरेको थिचोमिचो। अदनको बगैँचामा विद्रोह सुरु भएपछि अवस्था झनै बिग्रनेछ भनेर यहोवालाई थाह थियो। यहोवा संसारमा व्याप्त दुष्टता, अन्याय र हिंसालाई घृणा गर्नुहुन्छ। उहाँले विशेषगरि कमजोर र असहायहरूलाई अनि अनाथ र विधवाहरूलाई समानुभूति देखाउँदै आउनुभएको छ। (जक. ७:९, १०) विशेषगरि आफ्ना वफादार सेवकहरूले थिचोमिचो र जेल सजाय भोग्नुपरेको देख्दा यहोवालाई असाध्यै दुःख लाग्छ। उहाँले जस्तै सहनशीलता देखाइरहेका सबैलाई उहाँ माया गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

मानिसहरू नाइट क्लबमा रक्सी खाएर पार्टी गरिरहेका छन्‌।

१३. मानिसहरू परमेश्‍वरको नजरमा कसरी भ्रष्ट हुन पुगेका छन्‌ र उहाँले तिनीहरूलाई के गर्नुहुनेछ?

१३ मानिसजातिको नैतिक पतन। परमेश्‍वरको स्वरूपमा सृजिएका मानिसहरूलाई भ्रष्ट बनाउन पाउँदा सैतान खुसी हुन्छ। परमेश्‍वरले नुहको समयमा “मानिसहरू असाध्यै दुष्ट भएको” देख्नुभयो। त्यतिबेला “पृथ्वीमा मानिसहरू बनाएकोमा यहोवा परमेश्‍वरले अफसोस गर्नुभयो र उहाँको चित्त दुख्यो।” (उत्प. ६:५, ६, फुटनोट, ११) त्यस समयदेखि मानिसहरू झन्‌झनै भ्रष्ट हुँदै गइरहेका छन्‌। संसारमा हर किसिमको यौन अनैतिकता व्याप्त भएको छ र यसमा विपरीत लिङ्‌गका व्यक्‍तिबीचको अनैतिक क्रियाकलाप र समलिङ्‌गी सम्बन्ध पनि समावेश छ। यो देख्दा सैतान कत्ति खुसी भइरहेको छ होला! (एफि. ४:१८, १९) यहोवाको उपासना गर्ने कुनै व्यक्‍ति गम्भीर पापमा फस्दा सैतान झनै खुसी हुन्छ। यहोवाले यस्ता अनैतिक क्रियाकलापलाई सधैँभरि सहिरहनुहुनेछैन। उहाँले परिवर्तन हुन नचाहने सबै अनैतिक मानिसहरूलाई आफूले तोकेको समयमा नाश गर्नुहुनेछ।

कारखानाबाट निस्केको फोहोरले गर्दा वातावरण प्रदूषित भएको छ। एउटा चरा फोहोर तेलमा फसेको छ।

१४. मानिसहरूले पृथ्वी र जीवजन्तुलाई के गरिरहेका छन्‌?

१४ उहाँको सृष्टिको विनाश। अहिले मानिसहरूले ‘एउटाले अर्कोलाई दबाएर आफैलाई हानि पुऱ्‍याइरहेका’ मात्र छैनन्‌। बरु यहोवाले तिनीहरूको जिम्मामा सुम्पनुभएको पृथ्वी र जीवजन्तुलाई तिनीहरूले बेवास्ता गरिरहेका छन्‌। (उप. ८:९; उत्प. १:२८) केही वैज्ञानिकहरूको भनाइअनुसार मानिसहरूको लापरबाहीले गर्दा अबको केही वर्षमा दस लाखभन्दा धेरै प्रजातिकाb जीवजन्तु र बोटबिरुवा लोप हुने देखिन्छ। त्यसैले मानिसहरूलाई प्रकृतिको चिन्दा लाग्नु स्वाभाविकै हो। तर खुसीको कुरा, यहोवाले “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने” र पूरै पृथ्वीलाई सुन्दर प्रमोदवनमा परिणत गर्ने प्रतिज्ञा गर्नुभएको छ।—प्रका. ११:१८; यसै. ३५:१.

यहोवाको सहनशीलताबाट हामी के सिक्न सक्छौँ?

१५-१६. यहोवाजस्तै सहनशील हुन हामीलाई केले उत्प्रेरित गर्छ? एउटा उदाहरण दिनुहोस्‌।

१५ स्वर्गमा बस्नुहुने हाम्रो बुबाले हजारौँ वर्षदेखि सहिरहनुभएको सबै कुराबारे विचार गर्नुहोस्‌। (“यहोवाले के-कस्ता कुराहरू सहिरहनुभएको छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।) यहोवाले चाहनुभयो भने सैतानको यो दुष्ट युगलाई कुनै पनि बेला नाश गर्न सक्नुहुन्छ। तर उहाँको धीरज हाम्रो लागि आशिष्‌ साबित भएको छ। यो उदाहरण विचार गरौँ: एउटा दम्पतीले उनीहरूको गर्भमा भएको बच्चामा गम्भीर स्वास्थ्य समस्या छ अनि ऊ जन्मेपछि उसको जीवन सहज हुनेछैन र ऊ धेरै समय बाँच्नेछैन भनेर थाह पाउँछ। आफूले ठूलो मोल चुकाउनुपर्ने भए पनि तिनीहरूले बच्चा जन्माउने निर्णय गर्छन्‌ र उसको जन्म हुँदा तिनीहरू खुसी हुन्छन्‌। आफ्नो बच्चाप्रतिको मायाले गर्दा ती आमाबुबा उसलाई सक्दो राम्रो जीवन दिन जस्तोसुकै दुःख सहन पनि तयार हुन्छन्‌।

१६ त्यसैगरि आदम र हव्वाको सबै सन्तान जन्मजातै त्रुटिपूर्ण छन्‌। तैपनि यहोवा तिनीहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ। (१ युह. ४:१९) अनि यस उदाहरणको आमाबुबाजस्तो नभई यहोवाले भने मानिसहरूको समस्या हटाउन सक्नुहुन्छ। मानिसजातिको सबै समस्या हटाउन उहाँले एउटा निश्‍चित मिति तोक्नुभएको छ। (मत्ति २४:३६) यहोवाको यस्तो प्रेमले के हामीलाई पनि त्यो दिन नआउन्जेल उहाँजस्तै सहनशील हुन उत्प्रेरित गर्दैन र?

यहोवाले के-कस्ता कुराहरू सहिरहनुभएको छ?

  1. हव्वाले निषेध गरिएको फल खान लाग्दा सर्पले हेरिरहेको छ।

    १. उहाँको नाममा लागेको कलङ्‌क

  2. हव्वाले आदमलाई निषेध गरिएको फल दिन्छिन्‌।

    २. उहाँको सार्वभौमिकताको विरोध

  3. स्वर्गमा सैतानको वरपर दुष्ट स्वर्गदूतहरू उभिरहेका छन्‌।

    ३. उहाँका केही सन्तानले गरेको विद्रोह

  4. स्वर्गमा सैतान यहोवासामु अय्युबमाथि आरोप लगाउँदै छ। अय्युब भुईँमा बसिरहेका छन्‌ र तिनको शरीरभरि खटिरा छ।

    ४. दियाबलले फैलाएका झूटहरू

  5. एक स्त्री अस्पतालको खाटमा छिन्‌; तिनलाई सलाइन पानी चढाइँदै छ र अक्सिजनको सहारामा सास फेरिरहेकी छिन्‌।

    ५. उहाँका प्रिय सेवकहरूले भोग्नुपरेको दुःखकष्ट

  6. एक दम्पती चिहानमा छन्‌; तिनीहरू चिहानमा राखिएको लासलाई हेर्दै रोइरहेका छन्‌।

    ६. मृत्युको कारण आफ्ना मित्रहरूसित छुट्टिनुपर्दाको पीडा

  7. चित्रहरूको सँगालो: अन्याय-अत्याचारका उदाहरणहरू। १. एक सिपाही बख्तरबन्द गाडी चलाउँदै छन्‌ र अरू सिपाहीहरू तिनको पछिपछि दौडिरहेका छन्‌। २. प्रहरीहरूले एक साक्षी दम्पतीलाई हतकडी लगाएर लैजाँदै छन्‌।

    ७. दुष्टहरूले मानिसहरूमाथि गरेको थिचोमिचो

  8. मानिसहरू नाइट क्लबमा रक्सी खाएर पार्टी गरिरहेका छन्‌।

    ८. मानिसजातिको नैतिक पतन

  9. कारखानाबाट निस्केको फोहोरले गर्दा वातावरण प्रदूषित भएको छ। एउटा चरा फोहोर तेलमा फसेको छ।

    ९. उहाँको सृष्टिको विनाश

१७. हिब्रू १२:२, ३ मा येसुबारे बताइएको कुराले हामीलाई सहनशील हुन कसरी मदत गर्छ?

१७ सहनशीलता देखाउने सन्दर्भमा यहोवाले सर्वोत्कृष्ट उदाहरण बसाल्नुभएको छ र येसुले पनि आफ्नो बुबाको सहनशीलताको अनुकरण गर्नुभयो। पृथ्वीमा छँदा उहाँले हाम्रो खातिर दुर्वचन, बेइज्जती र यातनाको खम्बामा मृत्यु सहनुभयो। (हिब्रू १२:२, ३ पढ्‌नुहोस्‌।) यहोवाको सहनशीलताको उदाहरणले येसुलाई पक्कै पनि यी सब सहन मदत गऱ्‍यो। यसले हामीलाई पनि सहन मदत गर्छ।

१८. दोस्रो पत्रुस ३:९ अनुसार यहोवाको धीरजले गर्दा के सम्भव भएको छ?

१८ दोस्रो पत्रुस ३:९ पढ्‌नुहोस्‌। यो दुष्ट संसारलाई नाश गर्ने सबैभन्दा उपयुक्‍त समय यहोवालाई थाह छ। यहोवाको धीरजले गर्दा थुप्रै मानिसले यहोवालाई चिन्‍ने मौका पाएका छन्‌। अहिले लाखौँको सङ्‌ख्यामा भएको ठूलो भीडले यहोवाको उपासना र प्रशंसा गरिरहेको छ। यहोवाले सहनशीलता देखाउनुभएकोले हामी यस पृथ्वीमा जन्मन, उहाँलाई प्रेम गर्न र उहाँमा आफ्नो जीवन समर्पण गर्न सम्भव भएको छ। यसको लागि हामी उहाँप्रति मनैदेखि आभारी छौँ। यहोवाले अन्तसम्मै सहेका लाखौँ मानिसलाई इनाम दिनुहुँदा सहनशीलता देखाउने उहाँको निर्णय एकदमै सही थियो भन्‍ने कुरा प्रस्ट हुनेछ।

१९. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ र हामीले इनामस्वरूप के पाउनेछौँ?

१९ थुप्रै समस्याको बाबजुद हामी आनन्दित हुन सक्छौँ भन्‍ने कुरा यहोवाबाट सिक्न सक्छौँ। सैतानले गर्दा भएको दुःखकष्ट र समस्याहरूको बाबजुद यहोवाको आनन्द गुमेको छैन। उहाँ अझै पनि “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (१ तिमो. १:११) यहोवाले आफ्नो नाम पवित्र पार्ने, आफ्नो सार्वभौमिकता उच्च पार्ने र हाम्रा सबै समस्याको अन्त गर्ने समयलाई धीरजी भई पर्खिरहँदा हामी पनि आफ्नो आनन्द कायम राख्न सक्छौँ। स्वर्गमा बस्नुहुने हाम्रो बुबाले पनि थुप्रै कुरा सहिरहनुभएको छ भन्‍ने कुरा मनमा राख्दै सहनशील हुने सङ्‌कल्प गरौँ। यसो गऱ्‍यौँ भने हामी प्रत्येकमा बाइबलको यो प्रतिज्ञा पूरा हुनेछ: “आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ किनकि सफलतापूर्वक परीक्षाको सामना गरेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुट यहोवा परमेश्‍वरले उहाँलाई प्रेम गरिरहनेहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ।”—याकु. १:१२.

तपाईँ के भन्‍नुहुन्छ?

  • यहोवाको सहनशीलताको कुन उदाहरण तपाईँलाई सबैभन्दा धेरै मन पऱ्‍यो?

  • आफ्नो बुबाको सहनशीलताको उदाहरणबाट येसुले कस्तो लाभ उठाउनुभयो?

  • तपाईँले किन सहनशील हुने सङ्‌कल्प गर्नुभएको छ?

गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!

a हामी सबैको आ-आफ्नै समस्या छ। तीमध्ये धेरैजसो समस्याको त अहिले समाधान नै छैन। हामीले ती सहनै पर्छ। तर समस्याहरू सहनुपर्ने हामी मात्र होइन। यहोवा आफैले पनि थुप्रै कुरा सहँदै हुनुहुन्छ। यस लेखमा तीमध्ये नौ वटा छलफल गर्नेछौँ। यहोवा सहनशील हुनुभएकोले के-कस्ता कुराहरू सम्भव भएका छन्‌ अनि उहाँको उदाहरणबाट हामी के सिक्न सक्छौँ, त्यसबारे पनि छलफल गर्नेछौँ।

b बाइबलमा प्रयोग गरिएको “जातजातका” र “किसिम-किसिमका” शब्दको अर्थ अनि “प्रजाति” शब्दको अर्थ एउटै होइन। “जातजातका” र “किसिम-किसिमका” शब्दको अर्थ फराकिलो छ, यसले सजीव प्राणीहरूको विशाल समूहलाई बुझाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने