प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 जुलाई पृ. १४-१९
  • प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ, शान्ति कायम गरौँ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ, शान्ति कायम गरौँ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो मनोवृत्ति केलाउनुहोस्‌
  • घमन्डी र ईर्ष्यालु नहुनुहोस्‌
  • बाइबलका उदाहरणहरूबाट सिक्नुहोस्‌
  • अपोल्लस मसीही सत्यको वाक्पटु उद्‌घोषक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले प्रार्थनामा परमेश्‍वरलाई आफ्नो मनको बह पोखाइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 जुलाई पृ. १४-१९

अध्ययन लेख २८

प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ, शान्ति कायम गरौँ!

“हामी फोस्रो घमन्ड नगरौँ, प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ अनि एकअर्काको ईर्ष्या नगरौँ।”—गला. ५:२६.

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

परिचयa

१. प्रतिस्पर्धी मनोभावले मानिसहरूलाई के गर्न उक्साउँछ?

संसारका थुप्रै मानिसहरू स्वार्थी हुँदै प्रतिस्पर्धी मनोभाव राख्ने गर्छन्‌। एक जना व्यापारी आफ्नो प्रतिद्वन्द्वीलाई उछिन्‍न जे गर्न पनि तयार हुन्छ। एक जना खेलाडीले जित्नको लागि प्रतिस्पर्धी टोलीको खेलाडीलाई जानाजानी घाइते बनाउँछ। एक जना विद्यार्थीले प्रख्यात विश्‍वविद्यालयमा नाम निकाल्न प्रवेश परीक्षामा चिट चोर्छ। हामी ख्रिष्टियनहरूलाई यसो गर्नु गलत हो भनेर थाह छ किनकि यी सबै “शरीरका कामहरू”-मा पर्छन्‌। (गला. ५:१९-२१) तर के कुनै भाइ वा बहिनीले चालै नपाई मण्डलीमा एकअर्कालाई प्रतिस्पर्धा गर्न उक्साउने सम्भावना छ? यो महत्त्वपूर्ण प्रश्‍न हो किनभने प्रतिस्पर्धी मनोभावले हाम्रो एकतामा खलल पुऱ्‍याउन सक्छ।

२. यस लेखमा हामी कुन कुरा छलफल गर्नेछौँ?

२ यस लेखमा हामी त्यस्ता दुर्गुणहरूबारे छलफल गर्नेछौँ, जसले भाइबहिनीसित प्रतिस्पर्धा गर्न हामीलाई उक्साउन सक्छ। यस लेखमा प्रतिस्पर्धी मनोभावलाई तिरस्कार गरेका बाइबलकालीन समयका विश्‍वासी पुरुष र स्त्रीहरूको उदाहरण पनि छलफल गर्नेछौँ। हामी आफ्नो मनोवृत्ति कसरी केलाउन सक्छौँ भनेर सुरुमा विचार गरौँ।

आफ्नो मनोवृत्ति केलाउनुहोस्‌

३. हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

३ हामीले बेलाबेलामा आफ्नो मनोवृत्ति केलाउनु राम्रो हो। हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: “आफू कस्तो छु भनेर जाँच्न के म आफूलाई अरूसित तुलना गरेर हेर्ने गर्छु? मण्डलीका जिम्मेवारीहरू म कस्तो मनोवृत्ति राखेर पूरा गर्दै छु? मण्डलीमा सबैभन्दा अथवा कुनै भाइ वा बहिनीभन्दा राम्रो देखिन कि यहोवालाई सबैभन्दा उत्तम कुरा चढाउन?” हामीले यस्ता प्रश्‍नहरू किन सोध्नुपर्छ? परमेश्‍वरको वचनले के भन्छ, ध्यान दिनुहोस्‌।

४. गलाती ६:३, ४ मा बताइएझैँ हामीले किन आफूलाई अरूसित तुलना गर्नु हुँदैन?

४ आफूलाई अरूसित तुलना नगर्न बाइबल हामीलाई प्रोत्साहन दिन्छ। (गलाती ६:३, ४ पढ्‌नुहोस्‌।) किन? एकातर्फ हामी अरूभन्दा आफूले राम्रो गर्दै छु भन्‍ने सोच्छौँ भने हामीमा घमन्ड जाग्न सक्छ। अर्कोतर्फ अरूले हामीले भन्दा राम्रो गर्दै छन्‌ भने हामी निराश हुन सक्छौँ। हामीले यसरी आफूलाई अरूसित तुलना गऱ्‍यौँ भने सुझबुझ चलाइरहेका हुँदैनौँ। (रोमी १२:३) ग्रीसमा बस्ने कट्रिनाb नाम गरेकी एक बहिनी यसो भन्छिन्‌: “म आफूभन्दा राम्री, साक्षी दिन सिपालु र अरूसित सजिलै घुलमिल हुने बहिनीहरूसित आफैलाई तुलना गर्ने गर्थेँ। त्यसैले मलाई आफ्नो कुनै मोल छैन जस्तो लाग्यो।” हामी सुन्दर, बोल्नमा सिपालु वा लोकप्रिय भएकोले यहोवाले हामीलाई आफूतर्फ खिच्नुभएको होइन। बरु हामी उहाँलाई प्रेम गर्न र उहाँको छोराको कुरा सुन्‍न इच्छुक भएकोले हो।—युह. ६:४४; १ कोरि. १:२६-३१.

५. ह्‍युन नाम गरेका भाइको अनुभवबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

५ हामीले आफैलाई यस्ता प्रश्‍नहरू पनि सोध्न सक्छौँ: “के म शान्ति कायम गर्ने व्यक्‍तिको रूपमा चिनिन्छु? अथवा के मेरो अरूसित मनमुटाव भइरहन्छ?” दक्षिण कोरियामा बस्ने ह्‍युन नाम गरेका भाइको अनुभव विचार गर्नुहोस्‌। मण्डलीमा सुअवसरहरू पाएका भाइहरूलाई तिनी प्रतिद्वन्द्वीको रूपमा हेर्थे। तिनी भन्छन्‌: “म ती भाइहरूको आलोचना गर्ने गर्थेँ र प्रायः तिनीहरूको कुरामा सहमत हुँदिनथेँ।” नतिजा कस्तो भयो? तिनी भन्छन्‌: “मेरो यस्तो मनोवृत्तिले गर्दा मण्डलीमा फुट भयो।” ह्‍युनका केही साथीहरूले तिनलाई आफ्नो कमजोरी चिन्‍न मदत गरे। ह्‍युनले आवश्‍यक परिवर्तनहरू गरे र अहिले तिनी प्रभावकारी एल्डरको रूपमा सेवा गर्दै छन्‌। यदि हामीले आफूमा शान्ति कायम गर्नेभन्दा प्रतिस्पर्धा गर्न उक्साउने मनोभाव छ भन्‍ने याद गऱ्‍यौँ भने हामीले तुरुन्तै कदम चाल्नुपर्छ।

घमन्डी र ईर्ष्यालु नहुनुहोस्‌

६. गलाती ५:२६ अनुसार कस्ता दुर्गुणहरूले हामीमा प्रतिस्पर्धी मनोभाव जगाउन सक्छ?

६ गलाती ५:२६ पढ्‌नुहोस्‌। कस्ता दुर्गुणहरूले हामीमा प्रतिस्पर्धी मनोभाव जगाउन सक्छ? एउटा हो, घमन्ड। घमन्डी व्यक्‍तिले आफूलाई अरूभन्दा ठूलो ठान्छ र स्वार्थी हुन्छ। अर्को खराब गुणचाहिँ ईर्ष्या हो। ईर्ष्यालु व्यक्‍तिले अरूसित भएको कुरा पाउन चाहने मात्र होइन, त्यो कुरादेखि तिनलाई वञ्चित पनि गराउन खोज्छ। साँच्चै, ईर्ष्या घृणाको एउटा रूप हो। पक्कै पनि हामी यस्ता दुर्गुणहरूदेखि कोसौँ पर रहन चाहन्छौँ।

७. घमन्ड र ईर्ष्या किन खतरनाक छ? उदाहरण दिनुहोस्‌।

७ घमन्ड र ईर्ष्याजस्ता दुर्गुणहरूलाई धमिरासित तुलना गर्न सकिन्छ, जसले रूखलाई भित्रभित्रै खाएर खोक्रो बनाइदिन्छ र एक दिन त्यो रूख ढल्छ। त्यसैगरि कसैले केही समयको लागि यहोवाको सेवा गर्लान्‌। तर तिनमा घमन्ड र ईर्ष्या छ भने एक दिन तिनको पतन हुन्छ। (हितो. १६:१८) तिनले यहोवाको सेवा गर्न छोड्‌नेछन्‌ अनि आफैलाई र अरूलाई पनि हानि पुऱ्‍याउनेछन्‌। त्यसोभए घमन्डी र ईर्ष्यालु नहुन हामी के गर्न सक्छौँ?

८. घमन्डी हुनदेखि जोगिन हामी के गर्न सक्छौँ?

८ पावलले फिलिप्पीहरूलाई दिएको यो सल्लाह मनमा राख्यौँ भने हामी घमन्डी हुनदेखि जोगिन सक्छौँ: “वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।” (फिलि. २:३) हामी अरूलाई आफूभन्दा श्रेष्ठ ठान्छौँ भने आफूसित भन्दा धेरै खुबी अनि क्षमता भएकाहरूसित प्रतिस्पर्धा गर्नेछैनौँ। बरु हामी तिनीहरूको लागि खुसी हुन्छौँ। अझ विशेषगरि तिनीहरूले आफ्नो क्षमता यहोवाको सेवामा प्रयोग गरिरहेका छन्‌ भने हामी अझ खुसी हुन्छौँ। अर्कोतर्फ त्यस्ता भाइबहिनीले पावलको सल्लाह लागू गरे भने तिनीहरूले पनि हामीमा भएका असल गुणहरू देख्नेछन्‌। नतिजास्वरूप मण्डलीमा शान्ति र एकता कायम हुनेछ।

९. ईर्ष्यालु नहुन हामी के गर्न सक्छौँ?

९ कुनै भाइ वा बहिनीप्रति ईर्ष्यालु नहुन हामीले नम्र हुँदै आफ्नो सीमितता स्विकार्नुपर्छ। हामी नम्र छौँ भने आफू अरू सबै जनाभन्दा सिपालु वा क्षमतावान्‌ छु भनेर प्रमाणित गर्न खोज्नेछैनौँ। बरु हामी आफूभन्दा सिपालु व्यक्‍तिबाट सिक्न प्रयास गर्नेछौँ। उदाहरणको लागि, यदि कुनै भाइले मण्डलीमा एकदमै राम्रो जनभाषण दिन्छन्‌ भने तिनी भाषणको तयारी कसरी गर्छन्‌ भनेर हामी तिनलाई सोध्न सक्छौँ। कुनै बहिनी खाना पकाउन सिपालु छिन्‌ भने हामी तिनीसित खाना पकाउन सिक्न सक्छौँ। अनि कुनै जवान ख्रिष्टियनलाई साथी बनाउन गाह्रो लाग्छ भने तिनले अरूसित सजिलै घुलमिल हुन सक्ने भाइ वा बहिनीसित मदत माग्न सक्छन्‌। यसरी हामी ईर्ष्यालु हुनदेखि जोगिन्छौँ र हाम्रो आफ्नै सिप पनि तिखारिन्छ।

बाइबलका उदाहरणहरूबाट सिक्नुहोस्‌

गिदोन हतियारसहित आएका एप्रैमीहरूसित कुरा गर्दै छन्‌।

गिदोन नम्र भएकोले तिनले एप्रैमीहरूसित शान्ति कायम गर्न सके (अनुच्छेद १०-१२ हेर्नुहोस्‌)

१०. गिदोनले कस्तो चुनौतीको सामना गरे?

१० मनस्सेको कुलका गिदोन र एप्रैमको कुलका मानिसहरूबीच भएको एउटा घटना विचार गर्नुहोस्‌। यहोवाको मदतले गर्दा गिदोन र तिनका ३०० जना मानिसले विजय हासिल गरे। यसको लागि तिनीहरूले घमन्ड गर्न सक्थे। एप्रैमका मानिसहरू गिदोनलाई भेट्‌न आए। तर तिनीहरू तिनले गरेको कामको प्रशंसा गर्न नभई तिनीसित झगडा गर्न आएका थिए। परमेश्‍वरका शत्रुहरूसितको लडाइँमा आफ्नो कुललाई सुरुदेखि नबोलाएकोले तिनीहरू गिदोनसित रिसाएका थिए। तिनीहरूलाई आफ्नो कुलको इज्जतको मात्रै चिन्ता थियो। त्यसकारण गिदोनले गरेको कामले गर्दा यहोवाको नामको महिमा भएको र उहाँका जनहरू जोगिएको कुरामा तिनीहरूले ध्यान दिन सकेनन्‌।—न्याय. ८:१.

११. गिदोनले एप्रैमका मानिसहरूलाई के भने?

११ गिदोनले नम्र हुँदै एप्रैमका मानिसहरूलाई यसो भने: “तिमीहरूले गरेको कामको तुलनामा मैले त के नै गरेको छु र?” यहोवाको मदतले गर्दा एप्रैमको कुलका मानिसहरूले विगतमा कस्ता महान्‌ कामहरू गर्न सकेका थिए भनेर पनि तिनले सम्झाए। त्यसपछि ती मानिसहरूको “रिस शान्त भयो।” (न्याय. ८:२, ३) गिदोन परमेश्‍वरका मानिसहरूबीच शान्ति कायम गर्न चाहन्थे। त्यसैले तिनले आफ्नो मनमा घमन्डलाई कुनै ठाउँ दिएनन्‌।

१२. एप्रैमीहरू अनि गिदोनको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१२ यस विवरणबाट हामी के सिक्न सक्छौँ? एप्रैमीहरूको उदाहरणबाट यहोवाको महिमा गर्नुभन्दा आफ्नै प्रतिष्ठामा बढ्‌तै ध्यान दिनु हुँदैन भनेर हामी सिक्न सक्छौँ। परिवारका शिरहरू र एल्डरहरूले गिदोनको उदाहरणबाट पाठ सिक्न सक्छन्‌। हामीले गरेको कुनै कामले गर्दा कसैको चित्त दुखेको छ भने हामीले त्यस परिस्थितिलाई तिनको दृष्टिकोणले हेर्ने प्रयास गर्नुपर्छ। तिनले गरेको राम्रो कामको हामी प्रशंसा पनि गर्न सक्छौँ। यसको लागि नम्रता चाहिन्छ। विशेषगरि गल्ती त्यो व्यक्‍तिकै हो भने हामी अझ नम्र हुनुपर्छ। आफूलाई सही साबित गर्नुभन्दा आफ्नो भाइसित सुमधुर सम्बन्ध कायम गर्नु महत्त्वपूर्ण छ।

हन्‍ना आनन्दित मन लिएर वासस्थानबाट जाँदै छिन्‌ र प्रधानपुजारी एली उनलाई हेर्दै छन्‌।

सबै कुरा यहोवाले सम्हाल्नुहुनेछ भन्‍ने कुरामा भरोसा गरेकीले हन्‍नाले मनोशान्ति पाउन सकिन्‌ (अनुच्छेद १३-१४ हेर्नुहोस्‌)

१३. हन्‍नाले कस्तो चुनौतीको सामना गरिन्‌ र उनले कसरी यो चुनौती पार गरिन्‌?

१३ हन्‍नाको उदाहरण पनि सम्झनुहोस्‌। उनको विवाह लेवी एल्कानासित भएको थियो, जसले उनलाई एकदमै माया गर्थे। एल्कानाकी अर्की पत्नी पनि थिइन्‌। तिनको नाम पनिन्‍नाह थियो। एल्काना पनिन्‍नाहलाई भन्दा हन्‍नालाई बढी माया गर्थे। “पनिन्‍नाहका छोराछोरी थिए तर हन्‍नाका भने थिएनन्‌।” त्यसकारण पनिन्‍नाहले “उनको दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन्‌।” हन्‍नाले कस्तो महसुस गरिन्‌? उनी एकदमै दुःखी भइन्‌। “उनी केही नखाई रोएर बसिरहन्थिन्‌।” (१ समु. १:२, ६, ७) तर बाइबलमा कतै पनि हन्‍नाले पनिन्‍नाहसित बदला लिन खोजेको विवरण पाइँदैन। बरु उनले आफ्नो मनको कुरा यहोवालाई पोखिन्‌ र उहाँले सबै कुरा सम्हाल्नुहुनेछ भन्‍ने कुरामा भरोसा गरिन्‌। के पनिन्‍नाहले हन्‍नाप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गरिन्‌? बाइबलले यसबारे पनि बताएको छैन। तर हन्‍नाले यहोवाको मदत पाइन्‌ र आफ्नो मनोशान्ति कायम राखिन्‌ भनेर हामीलाई थाह छ। “त्यसपछि उनी फेरि उदास भइनन्‌।”—१ समु. १:१०, १८.

१४. हन्‍नाको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

१४ हन्‍नाको उदाहरणबाट हामी के सिक्न सक्छौँ? यदि कसैले तपाईँसित कुनै तरिकामा प्रतिस्पर्धा गर्न खोज्छ भने त्यस्तो बेला कस्तो प्रतिक्रिया देखाउने भन्‍ने कुरा तपाईँको नियन्त्रणमा छ। त्यसैले तपाईँले तिनीसित प्रतिस्पर्धा गर्नुपर्छ भन्‍ने छैन। खराबीको बदला खराबी गर्नुको साटो उक्‍त व्यक्‍तिसित शान्ति कायम गर्ने कोसिस गर्नुहोस्‌। (रोमी १२:१७-२१) यसो गर्दा तिनले राम्रो प्रतिक्रिया देखाएनन्‌ भने पनि तपाईँले मनोशान्ति कायम राख्न सक्नुहुनेछ।

प्रेषित पावल र अपोल्लस खुसी हुँदै कुराकानी गरिरहेका छन्‌।

यहोवाको आशिष्‌ले गर्दा नै आफूले उहाँको सेवा गर्न सकेको हो भन्‍ने कुरा बुझेकोले अपोल्लस र पावलले एकअर्कालाई प्रतिद्वन्द्वी ठानेनन्‌ (अनुच्छेद १५-१८ हेर्नुहोस्‌)

१५. अपोल्लस र पावलबीच कस्ता समानताहरू थिए?

१५ अन्तमा हामी चेला अपोल्लस र प्रेषित पावलको उदाहरणबाट के सिक्न सक्छौँ, विचार गरौँ। यी दुवै पुरुषहरू धर्मशास्त्रमा पोख्त थिए। दुवै जना चिरपरिचित र प्रभावशाली शिक्षकहरू थिए र तिनीहरू दुवैले धेरैलाई चेला बन्‍न मदत पनि गरेका थिए। तैपनि तिनीहरूले एकअर्कालाई प्रतिद्वन्द्वीको रूपमा हेरेनन्‌।

१६. अपोल्लस कस्तो व्यक्‍ति थिए?

१६ अपोल्लस “अलेक्जेन्ड्रियाका रैथाने थिए।” यो ठाउँ प्रथम शताब्दीमा शिक्षाको केन्द्रबिन्दु थियो। तिनी बोल्नमा सिपालु र “धर्मशास्त्रमा पोख्त थिए।” (प्रेषि. १८:२४) अपोल्लसले कोरिन्थमा सेवा गर्दा मण्डलीका कोही-कोहीले तिनलाई पावललगायत अरू भाइहरूभन्दा महत्त्वपूर्ण ठान्‍न थाले। (१ कोरि. १:१२, १३) के अपोल्लसले यस्तो फुट गराउने मनोवृत्तिलाई बढावा दिए? तिनले यसो गरे भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ। वास्तवमा अपोल्लस कोरिन्थ छोडेर गएको केही समयपछि पावलले तिनलाई त्यहाँ फर्कन आग्रह गरे। (१ कोरि. १६:१२) यदि अपोल्लसले मण्डलीमा फुट गराउँदै छन्‌ भन्‍ने पावलले महसुस गरेको भए तिनले कहिल्यै त्यसो भन्‍ने थिएनन्‌। स्पष्ट छ, अपोल्लसले आफ्नो क्षमता सुसमाचार घोषणा गर्ने र भाइहरूलाई बलियो पार्ने काममा प्रयोग गरे। अपोल्लस नम्र थिए भन्‍ने कुरामा पनि हामी विश्‍वस्त हुन सक्छौँ। उदाहरणको लागि, अक्विला र प्रिस्किलाले “परमेश्‍वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या” गरिदिँदा तिनी रिसाए भनेर बाइबलमा कतै पनि बताइएको छैन।—प्रेषि. १८:२४-२८.

१७. पावलले कसरी शान्ति कायम गरे?

१७ अपोल्लसले गरेका राम्रा कामहरूबारे प्रेषित पावललाई थाह थियो। तर अपोल्लसले आफ्नो ठाउँ लिने हुन्‌ कि भनेर पावलले चिन्ता गरेनन्‌। पावलले कोरिन्थ मण्डलीलाई दिएको सल्लाहबाट तिनी नम्र अनि व्यावहारिक थिए भन्‍ने कुरा देखिन्छ। अरूले “म पावलको चेला हुँ” भन्दा पावल मक्ख पर्नुको साटो तिनले उनीहरूको ध्यान यहोवा परमेश्‍वर र येसु ख्रिष्टतर्फ खिचे।—१ कोरि. ३:३-६.

१८. पहिलो कोरिन्थी ४:६, ७ अनुसार हामी अपोल्लस र पावलको उदाहरणबाट के सिक्न सक्छौँ?

१८ अपोल्लस र पावलको उदाहरणबाट हामी के सिक्न सक्छौँ? हामीले यहोवाको सेवामा कडा मेहनत गरौँला र धेरैलाई बप्तिस्मासम्म प्रगति गर्न मदत पनि गरौँला। तर हामीलाई थाह छ, सबै कुरा यहोवाको मदतले गर्दा मात्र सम्भव भएको हो। अपोल्लस र पावलको उदाहरणबाट हामी अर्को पाठ पनि सिक्न सक्छौँ। हामीले जति धेरै जिम्मेवारी पाउँछौँ, मण्डलीमा शान्ति कायम गर्ने मौका हामीसित त्यति नै हुन्छ। मण्डलीमा नियुक्‍त भाइहरूले शान्ति र एकता कायम गर्न मदत गरेको देख्दा हामी तिनीहरूप्रति आभारी हुन्छौँ। तिनीहरू परमेश्‍वरको वचनमा आधारित भएर सल्लाह दिन्छन्‌ र आफूतर्फ नभई हाम्रो नमुना येसु ख्रिष्टतर्फ ध्यान खिच्छन्‌।—१ कोरिन्थी ४:६, ७ पढ्‌नुहोस्‌।

१९. हामी सबैले के गर्न सक्छौँ? (“प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ!” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१९ परमेश्‍वरले हामी सबैलाई कुनै न कुनै खुबी वा क्षमता दिनुभएको छ। हामी यस्तो क्षमता “एकअर्काको सेवा गर्नमा” चलाउन सक्छौँ। (१ पत्रु. ४:१०) हामीलाई आफूले गर्ने काम खासै महत्त्वपूर्ण छैन जस्तो लाग्न सक्छ। तर यो कुरा याद गर्नुहोस्‌, स-साना टाँका मिलेर एउटा सग्लो लुगा बनेझैँ हामीले गर्ने स-साना कामले मण्डलीको एकतालाई बलियो बनाउँछ। हामीले आफ्नो मनमा प्रतिस्पर्धी मनोभाव भएको चाल पायौँ भने त्यसलाई तुरुन्तै हटाउने प्रयास गरौँ। साथै मण्डलीमा शान्ति र एकता कायम गर्न आफ्नो तर्फबाट सक्दो गर्ने सङ्‌कल्प गरौँ।—एफि. ४:३.

प्रतिस्पर्धा गर्न एकअर्कालाई नउक्साऔँ!

यदि हामीले सबैभन्दा राम्रो वक्‍ता को हो, कसले सबैभन्दा राम्रो टिप्पणी दिन्छ वा सबैभन्दा प्रभावकारी अग्रगामी को हो भन्‍ने विषयमा अनुचित तरिकाले आफ्नो विचार पोख्छौँ भने हामीले मण्डलीमा थाहै नपाई प्रतिस्पर्धी मनोभावलाई बढावा दिइरहेका हुन सक्छौँ। हामीले आफूलाई मनपर्ने खास क्षमता भएको एल्डरसित अर्को कुनै एल्डरलाई तुलना गरिरहेका हुन सक्छौँ। एल्डरहरू पनि त्रुटिपूर्ण मानिसहरू हुन्‌। यदि हामी कुनै एल्डरलाई कुनै भाइसित बारम्बार तुलना गरिरहन्छौँ भने ती एल्डरले ती भाइलाई आफ्नो प्रतिद्वन्द्वी ठान्‍न सक्छन्‌। यस्तो परिस्थितिले मण्डलीलाई हानि पुऱ्‍याउन सक्छ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीले आफ्नो मनोवृत्ति किन केलाउनुपर्छ?

  • प्रतिस्पर्धी मनोभावलाई बढावा दिनदेखि हामी कसरी जोगिन सक्छौँ?

  • गिदोन, हन्‍ना, अपोल्लस र प्रेषित पावलको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

गीत ८० ‘चाखेर हेर यहोवा छन्‌ भलो’

a माटोको भाँडो चर्किएको छ भने त्यो सजिलै फुट्‌न सक्छ। त्यसैगरि प्रतिस्पर्धी मनोभावले मण्डलीमा फुट ल्याउन सक्छ। मण्डली बलियो र एकताबद्ध छैन भने मण्डलीको शान्तिमा खलल पुग्छ र परमेश्‍वरको उपासनामै बाधा पुग्न सक्छ। यस लेखमा हामीले प्रतिस्पर्धी मनोभाव किन राख्नु हुँदैन र मण्डलीमा शान्ति कायम गर्न हामी के गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

b नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने