प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 अगस्त pp. ८-१३
  • के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धैर्य गर्न सिकाउने बाइबल सिद्धान्तहरू
  • हामीले कस्तो अवस्थामा यहोवालाई पर्खनुपर्छ?
  • यहोवालाई पर्खनेहरूले पाउने अनन्त आशिष्‌हरू
  • के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • आनन्दित हुँदै यहोवालाई पर्खनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 अगस्त pp. ८-१३

अध्ययन लेख ३१

के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ?

“म . . . मेरा परमेश्‍वरलाई नै पर्खनेछु।”—मिका ७:७.

गीत १२८ अन्तसम्म सहौँ!

परिचयa

१-२. यस लेखमा हामी के छलफल गर्नेछौँ?

कल्पना गर्नुहोस्‌, तपाईँले आफ्नो साथीसित आफूलाई निकै आवश्‍यक परेको एउटा सामान मगाउनुभएको थियो। तर तिनी तपाईँले आशा गरेको समयमा आइपुगेनन्‌ भने तपाईँलाई कस्तो लाग्छ? सायद तपाईँलाई चिन्ता लाग्छ होला। हितोपदेश १३:१२ यसो भन्छ: “आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ।” तर तपाईँको साथी समयमै नआइपुग्नुका जायज कारणहरू छन्‌ भनेर थाह पाउनुभयो भने नि? सायद तपाईँ धैर्य गर्दै पर्खन इच्छुक हुनुहुनेछ।

२ यस लेखमा ‘परमेश्‍वरलाई पर्खन’ र त्यस्तो मनोवृत्ति विकास गर्न हामीलाई मदत गर्ने केही बाइबल सिद्धान्त विचार गर्नेछौँ। (मिका ७:७) त्यसपछि यहोवाले कदम चाल्नुहुने समय नआएसम्म धैर्य गर्दै पर्खनुपर्ने दुई वटा क्षेत्रबारे छलफल गर्नेछौँ। अन्तमा, यहोवालाई पर्खन इच्छुक व्यक्‍तिहरूले भविष्यमा पाउने आशिष्‌हरूबारे बुझ्नेछौँ।

धैर्य गर्न सिकाउने बाइबल सिद्धान्तहरू

३. हितोपदेश १३:११ बाट हामी के सिक्न सक्छौँ?

३ हितोपदेश १३:११ मा पाइने उदाहरणले हामीले किन धैर्य गर्नुपर्छ भनेर बुझ्न मदत दिन्छ। त्यस पदमा यस्तो लेखिएको छ: “रातारात कमाएको धन घट्‌दै जान्छ तर अलिअलि गरी जम्मा गरेको धन बढ्‌दै जान्छ।” यस पदमा कस्तो सिद्धान्त पाइन्छ? कुनै पनि काम हतार नगरी धैर्यतासाथ गर्नु बुद्धिमानी हो।

४. हितोपदेश ४:१८ बाट हामी के सिक्न सक्छौँ?

४ हितोपदेश ४:१८ यसो भन्छ: “धर्मीको बाटो बिहानको उज्यालोजस्तै हो; मध्याह्न नभएसम्म त्यो झन्‌झनै चहकिलो हुँदै जान्छ।” यस पदले मुख्यतया यहोवा आफ्ना मानिसहरूलाई आफ्नो उद्देश्‍य क्रमिक रूपमा प्रकट गर्दै जानुहुन्छ भनेर बुझाउँछ। तर यो पद एक जना ख्रिष्टियनले आफ्नो जीवनमा गर्ने आध्यात्मिक प्रगतिको सन्दर्भमा पनि लागू हुन्छ। आध्यात्मिक प्रगति रातारात हुँदैन। परमेश्‍वरको वचन र उहाँको सङ्‌गठनले दिने निर्देशनहरू लगनशील भई अध्ययन गऱ्‍यौँ र ती लागू गऱ्‍यौँ भने हामीमा बिस्तारै ख्रिष्टको जस्तै व्यक्‍तित्व विकास हुँदै जान्छ अनि परमेश्‍वरलाई अझ राम्ररी चिन्दै जान्छौँ। यो कुरा येसुले कस्तो उदाहरणद्वारा बुझाउनुभयो, विचार गरौँ।

चित्रहरूको सँगालो: बाइबल विद्यार्थीको प्रगतिलाई बोट बिस्तारै बढ्‌ने कुरासित तुलना गरिएको छ। १. एक किसान बिउ छर्छन्‌; एक पुरुष ट्रली साक्षीमा भाग लिइरहेका भाइको कुरा सुन्छन्‌। २. बिउ अङ्‌कुराउँछ; ती पुरुष बाइबल अध्ययन गर्दै छन्‌ तर तिनले घरमा अझै पनि क्रिसमस ट्रि सजाएका छन्‌। ३. बोट बढ्‌दै जान्छ; ती पुरुष मण्डलीको सभामा एक भाइलाई अभिवादन गर्दै छन्‌। ४. त्यस बोटमा फल लाग्छ; ती पुरुष बप्तिस्मा गर्छन्‌।

बोट बिस्तारै बढ्‌दै गएको जस्तै राज्यको सन्देश सुन्‍ने र त्यो स्विकार्ने व्यक्‍तिको आध्यात्मिक प्रगति पनि बिस्तारै हुँदै जान्छ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. आध्यात्मिक प्रगति बिस्तारै हुन्छ भनेर बुझाउन येसुले कस्तो उदाहरण चलाउनुभयो?

५ हामीले सुनाउने राज्य सन्देशलाई येसुले एउटा सानो बिउसित तुलना गर्नुभयो, जुन असल मानिसको हृदयमा बिस्तारै बढ्‌दै जान्छ। उहाँले भन्‍नुभयो: “बिउ . . . अङ्‌कुराउँछ र बढ्‌दै जान्छ तर यी सब कसरी हुन्छ, त्यो उसले [बिउ छर्ने मानिसले] जान्दैन। जमिनले आफ्नै सुरले बाली उमार्छ; पहिले डाँठ, त्यसपछि बाला अनि अन्तमा अन्‍नको गेडा।” (मर्कु. ४:२७, २८) येसुले कुन कुरा बुझाउन खोज्दै हुनुहुन्थ्यो? बोट बिस्तारै बढ्‌दै गएको जस्तै राज्यको सन्देश स्विकार्ने मानिसको आध्यात्मिक प्रगति पनि बिस्तारै हुँदै जान्छ। उदाहरणको लागि, हाम्रो बाइबल विद्यार्थी यहोवासित नजिक हुँदै जाँदा तिनले जीवनमा थुप्रै राम्रा परिवर्तन गरेको हामीले देख्न थाल्छौँ। (एफि. ४:२२-२४) तर तिनको हृदयमा छरिएको बिउलाई हुर्काउने यहोवा नै हुनुहुन्छ भन्‍ने कुरा हामीले बिर्सनु हुँदैन।—१ कोरि. ३:७.

६-७. यहोवाले पृथ्वी सृष्टि गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

६ यहोवा सबै काम धैर्य गर्दै गर्नुहुन्छ, चाहे त्यसको लागि जति नै समय दिनु किन नपरोस्‌। यहोवा आफ्नो नामको महिमाको लागि र अरूको फाइदाको लागि यसो गर्नुहुन्छ। जस्तै, मानिसजातिको लागि यो पृथ्वी तयार पार्नुहुँदा यहोवाले कसरी एकपछि अर्को काम गर्दै जानुभयो, विचार गरौँ।

७ यहोवाले यो पृथ्वी कसरी सृष्टि गर्नुभयो? बाइबलमा उहाँले “पृथ्वीको सीमा” तोक्नुभएको, “पृथ्वीका खम्बाहरू” अड्याउनुभएको र “पृथ्वीको कुनाको ढुङ्‌गो” बसाल्नुभएको कुरा बताइएको छ। (अय्यु. ३८:५, ६) उहाँले आफूले बनाएका कुराहरू जाँच्न पनि समय लगाउनुभयो। (उत्प. १:१०, १२) यहोवाको सृष्टिले बिस्तारै आकार लिँदै जाँदा स्वर्गदूतहरूले कस्तो महसुस गरे होलान्‌, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? तिनीहरू पक्कै पनि धेरै रमाए! यहोवाको सृष्टि देखेर तिनीहरूले “खुसीले जयजयकार” गरे भनी बाइबल बताउँछ। (अय्यु. ३८:७) यसबाट हामी के सिक्न सक्छौँ? यहोवालाई सबै कुरा सृष्टि गरेर सिद्ध्याउन हजारौँ वर्ष लाग्यो तर जब उहाँले आफूले बनाएका सबै कुरा हेर्नुभयो, तब उहाँले ती कुराहरूलाई “असाध्यै राम्रा” भन्‍नुभयो।—उत्प. १:३१.

८. अब हामी कुन कुरा छलफल गर्नेछौँ?

८ हामीले माथिका उदाहरणहरूबाट सिकेझैँ परमेश्‍वरको वचनमा हामीलाई धैर्य गर्न सिकाउने थुप्रै सिद्धान्त पाइन्छ। अब यहोवालाई पर्खन इच्छुक हुनुपर्ने दुई वटा खास क्षेत्रबारे विचार गरौँ।

हामीले कस्तो अवस्थामा यहोवालाई पर्खनुपर्छ?

९. हामीले यहोवालाई पर्खनुपर्ने एउटा क्षेत्र कुन हो?

९ हामीले आफ्ना प्रार्थनाहरूको जवाफ पर्खनुपर्ने हुन सक्छ। परीक्षाको सामना गर्न वा आफ्नो कुनै कमजोरी हटाउन यहोवालाई प्रार्थना गर्दा उहाँले प्रार्थनाको जवाफ दिन ढिलो गर्नुभएको जस्तो हामीलाई लाग्न सक्छ। यहोवाले किन हाम्रा सबै प्रार्थनाको जवाफ तुरुन्तै दिनुहुन्‍न?

१०. हाम्रा प्रार्थनाहरूको सन्दर्भमा हामीले किन धैर्य गर्नुपर्छ?

१० यहोवा हाम्रा प्रार्थनाहरू ध्यान दिएर सुन्‍नुहुन्छ। (भज. ६५:२) उहाँ हाम्रा निष्कपट प्रार्थनाहरूलाई हामी उहाँमाथि भरोसा गर्छौँ भन्‍ने प्रमाणको रूपमा हेर्नुहुन्छ। (हिब्रू ११:६) यहोवा हामी आफ्नो प्रार्थनाअनुरूप काम गर्न र उहाँको इच्छाअनुसार चल्न कत्तिको इच्छुक छौँ भन्‍ने कुरा पनि हेर्न चाहनुहुन्छ। (१ युह. ३:२२) त्यसैले आफूमा भएको कुनै नराम्रो बानी वा कमजोरी हटाउन प्रयास गर्दा हामीले धैर्य गर्नुपर्छ र आफ्नो प्रार्थनाअनुरूप काम पनि गर्नुपर्छ। यहोवाले हाम्रा केही प्रार्थनाहरूको जवाफ तुरुन्तै दिनुहुन्‍न भनेर येसुले सङ्‌केत गर्नुभयो। उहाँले यस्तो आग्रह गर्नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ। किनकि जसले मागिरहन्छ, उसले पाउँछ; जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ।” (मत्ति ७:७, ८) यो सल्लाह लागू गऱ्‍यौँ र ‘प्रार्थनामा लागिरह्‍यौँ’ भने स्वर्गमा बस्नुहुने हाम्रा बुबाले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र जवाफ दिनुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ।—कल. ४:२.

धीरजी भई यहोवालाई पर्खँदा हामी विश्‍वाससहित उहाँलाई प्रार्थना पनि गरिरहन्छौँ (अनुच्छेद ११ हेर्नुहोस्‌)b

११. यहोवाले प्रार्थनाको जवाफ दिन ढिलो गर्नुभएको जस्तो लाग्दा १ पत्रुस ५:६ ले हामीलाई कसरी मदत गर्छ?

११ यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिन ढिलो गर्नुभएको जस्तो लागे पनि उहाँले “आफ्नो समयमा” हाम्रो प्रार्थनाको जवाफ दिने प्रतिज्ञा गर्नुभएको छ। (१ पत्रुस ५:६ पढ्‌नुहोस्‌।) त्यसैले कुनै कुरा हामीले सोचेको जस्तो छिटो नहुँदा त्यसको लागि यहोवालाई दोष दिनु हुँदैन। उदाहरणको लागि, थुप्रैले परमेश्‍वरको राज्यले यस दुष्ट संसारमाथि चाँडै विनाश ल्याओस्‌ भनेर वर्षौँदेखि प्रार्थना गर्दै आएका छन्‌। येसुले पनि त्यसको लागि प्रार्थना गर्न भन्‍नुभयो। (मत्ति ६:१०) तर आफूले आशा गरेको समयमा अन्त नआएकोले परमेश्‍वरमाथिको आफ्नो विश्‍वास कमजोर हुन दिनु मूर्खता हो! (हब. २:३; मत्ति २४:४४) बरु हामीले धैर्य गर्दै परमेश्‍वरलाई पर्खनुपर्छ र पूर्ण विश्‍वाससहित प्रार्थना गरिरहनुपर्छ। यस संसारको अन्त ठीक समयमा हुनेछ किनकि यहोवाले त्यसको लागि निश्‍चित “दिन र समय” तोक्नुभएको छ। अनि यहोवाले तोक्नुभएको त्यो समय साँच्चै उपयुक्‍त थियो भन्‍ने कुरा त्यतिबेला प्रमाणित हुनेछ।—मत्ति २४:३६; २ पत्रु. ३:१५.

चित्रहरूको सँगालो: १. युसुफका दाइहरूले तिनलाई सुक्खा खाडलमा फ्याँक्न लागिरहेका छन्‌। २. युसुफ झ्यालखानाको प्वालबाट स्वर्गतिर हेर्दै छन्‌। ३. युसुफ आफ्नो बुबा याकुबलाई भेट्‌न पाउँदा खुसी हुन्छन्‌।

धीरजी हुने सन्दर्भमा युसुफबाट कस्तो पाठ सिक्न सक्छौँ? (अनुच्छेद १२-१४ हेर्नुहोस्‌)

१२. हामीलाई कस्तो अवस्थामा धीरजी हुन गाह्रो हुन सक्छ?

१२ हामीले धीरजी हुँदै अन्यायपूर्ण व्यवहार सहनुपर्ने हुन सक्छ। यस संसारका मानिसहरू आफूभन्दा फरक लिङ्‌गका, जातका, संस्कृतिका वा राष्ट्रका मानिसहरूलाई अक्सर दुर्व्यवहार गर्छन्‌। केहीले भने शारीरिक वा मानसिक रूपमा दुर्बल भएकोले अरूको दुर्व्यवहार सहनुपरेको छ। यहोवाका थुप्रै सेवकले भने आफ्नो विश्‍वासको खातिर अन्याय सहनुपरेको छ। यस्तो दुर्व्यवहार भोग्नुपर्दा हामीले येसुका यी शब्दहरू मनमा राख्नुपर्छ: “जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।” (मत्ति २४:१३) तर तपाईँले मण्डलीको कसैले गम्भीर गलत काम गरेको थाह पाउनुभयो भने नि? त्यसबारे एल्डरहरूलाई जानकारी दिइसकेपछि के तपाईँ त्यस मामिलालाई तिनीहरूकै हातमा छोडिदिनुहुन्छ र तिनीहरूले यहोवाको तरिकामा त्यसलाई सुल्झाउनेछन्‌ भनेर धीरजी भई पर्खनुहुन्छ? एल्डरहरूले के-कस्ता कदम चाल्नुपर्ने हुन्छ?

१३. कुनै मामिलालाई यहोवाको तरिकामा सम्हाल्नुमा के-के समावेश छ?

१३ मण्डलीको कसैले गम्भीर गलत काम गरेको थाह पाएपछि एल्डरहरूले त्यसलाई यहोवाको दृष्टिकोणले हेर्न सकौँ भनेर “माथिबाट आउने बुद्धि”-को लागि प्रार्थना गर्छन्‌। (याकु. ३:१७) तिनीहरूको लक्ष्य भनेको पाप गर्ने व्यक्‍तिलाई सम्भव भएसम्म “गलत मार्गबाट फर्काएर” ल्याउनु हो। (याकु. ५:१९, २०) साथै तिनीहरू मण्डलीलाई सुरक्षित राख्न र चोट पुगेको व्यक्‍तिलाई सान्त्वना दिन सक्दो गर्न चाहन्छन्‌। (२ कोरि. १:३, ४) गम्भीर गलत कामसम्बन्धी मामिला सम्हाल्दा एल्डरहरूले सबै सत्यतथ्य राम्ररी बुझ्नुपर्छ र त्यसको लागि समय लाग्न सक्छ। त्यसपछि तिनीहरूले पाप गर्ने व्यक्‍तिलाई प्रार्थनापूर्वक र होसियार हुँदै धर्मशास्त्रमा आधारित सल्लाह दिन्छन्‌ र “ठीक मात्रामा” अनुशासन दिन्छन्‌। (यर्मि. ३०:११) हुनत एल्डरहरू यस्तो मामिला सम्हाल्दा ढिलासुस्ती गर्दैनन्‌ तर हतारमा निर्णय पनि गर्दैनन्‌। यस्ता मामिलाहरू ठीक तरिकामा सुल्झाउँदा मण्डलीले त्यसको राम्रो नतिजा देख्न सक्छ। तर एल्डरहरूले यस्तो मामिला सुल्झाइसकेपछि पनि निर्दोष व्यक्‍तिलाई चोट सहन गाह्रो भइरहेको हुन सक्छ। तपाईँलाई पनि त्यस्तै भएको छ भने चोट सहन तपाईँ के गर्न सक्नुहुन्छ?

१४. कुनै ख्रिष्टियनको व्यवहारले गर्दा गहिरो चोट पुगेको छ भने त्यो सहन बाइबलको कुन उदाहरणले तपाईँलाई मदत गर्छ?

१४ के तपाईँलाई कसैको वा कुनै सङ्‌गी उपासकको व्यवहारले गर्दा गहिरो चोट पुगेको छ? त्यसो हो भने तपाईँ परमेश्‍वरको वचनमा त्यस्ता थुप्रै उदाहरण पाउन सक्नुहुन्छ, जसले तपाईँलाई यहोवाले न्याय नगरुन्जेल धीरजी भई पर्खन सिकाउँछ। जस्तै, युसुफले आफ्ना दाइहरूको हातबाट अन्याय भोग्नुपरे तापनि तिनले मनमा रिस पालेर राखेनन्‌। बरु तिनले यहोवाको सेवामा ध्यान दिए र उहाँले तिनको सहनशीलताको लागि प्रशस्त इनाम दिनुभयो। (उत्प. ३९:२१) समय बित्दै जाँदा युसुफले विगतमा आफूले भोग्नुपरेको चोट बिर्सन र यहोवाले आशिष्‌ दिनुभएको महसुस गर्न सके। (उत्प. ४५:५) युसुफजस्तै यहोवाको नजिक हुँदा र उहाँले आफ्नो समयमा न्याय गर्नुहुनेछ भनेर पर्खेर बस्दा हामी सान्त्वना पाउँछौँ।—भज. ७:१७; ७३:२८.

१५. अन्याय सहन एक बहिनीलाई केले मदत गऱ्‍यो?

१५ हुनत हामीले युसुफले जत्तिकै अन्याय त भोग्नुपरेको छैन होला। तैपनि कसैले हामीलाई नराम्रो व्यवहार गर्दा हाम्रो चित्त दुख्न सक्छ। मण्डलीको कसैसित वा यहोवाको उपासना नगर्ने कुनै व्यक्‍तिसित समस्या हुँदा बाइबल सिद्धान्तहरू लागू गऱ्‍यौँ भने त्यसको सामना गर्न सक्छौँ। (फिलि. २:३, ४) एक जना बहिनीको अनुभव विचार गरौँ। एक जना सहकर्मीले तिनीबारे गलत हल्ला फैलाउँदै हिँडेको कुरा थाह पाउँदा तिनको एकदमै चित्त दुख्यो। तुरुन्तै कुनै प्रतिक्रिया देखाउनुको साटो तिनले समय लगाएर येसुको उदाहरणबारे मनन गरिन्‌। अरूले अपमान गर्दा येसुले तिनीहरूको पनि अपमान गर्नुभएन। (१ पत्रु. २:२१, २३) यो कुरा मनमा राख्दै तिनले यस मामिलामा केही नगरी चुप लागेर बस्ने निर्णय गरिन्‌। पछि तिनले आफ्नो ती सहकर्मीलाई गम्भीर स्वास्थ्य समस्याले गर्दा तनाव भइरहेको रहेछ भनेर थाह पाइन्‌। ती बहिनी उनले जानाजानी आफ्नो विषयमा हल्ला फैलाएको होइन होला भन्‍ने निष्कर्षमा पुगिन्‌। धीरजी भएर दुर्व्यवहार सहन सकेकोमा ती बहिनी खुसी भइन्‌ र तिनले मनोशान्ति पाइन्‌।

१६. अन्याय सहनुपर्दा तपाईँलाई कुन कुराले सान्त्वना दिन सक्छ? (१ पत्रुस ३:१२)

१६ तपाईँ अन्याय सहँदै हुनुहुन्छ वा अरू कुनै कारणले तपाईँको चित्त दुखेको छ भने यहोवा “टुटेका हृदय भएकाहरूको” नजिक हुनुहुन्छ भन्‍ने कुरा सम्झनुहोस्‌। (भज. ३४:१८) तपाईँले धीरजी हुँदै आफ्नो भारी उहाँमा बिसाएकोमा यहोवा तपाईँलाई माया गर्नुहुन्छ। (भज. ५५:२२) उहाँ पूरै पृथ्वीको न्यायकर्ता हुनुहुन्छ। उहाँको नजरबाट कुनै कुरा लुक्न सक्दैन। (१ पत्रुस ३:१२ पढ्‌नुहोस्‌।) आफैले समाधान गर्न नसक्ने कुनै समस्याको सामना गर्दै हुनुहुन्छ भने के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ?

यहोवालाई पर्खनेहरूले पाउने अनन्त आशिष्‌हरू

१७. यसैया ३०:१८ मा यहोवाले हामीलाई कस्तो आश्‍वासन दिनुभएको छ?

१७ स्वर्गमा बस्नुहुने हाम्रा बुबाले हामीलाई चाँडै आफ्नो राज्यमार्फत थुप्रै आशिष्‌ दिनुहुनेछ। यसैया ३०:१८ यसो भन्छ: “यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ। उहाँ तिमीहरूलाई कृपा गर्न उठ्‌नुहुनेछ। किनकि यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ। आनन्दित हुन्‌ ती सबै, जसले उहाँमा आशा राख्छन्‌।” यहोवामा आशा राख्नेहरूले अहिले र नयाँ संसारमा थुप्रै आशिष्‌ पाउनेछन्‌।

१८. हामीले कस्ता आशिष्‌हरू पाउनेछौँ?

१८ परमेश्‍वरका सेवकहरू नयाँ संसारमा प्रवेश गरेपछि तिनीहरूले अहिले सामना गरिरहेको चिन्ता-फिक्री र चुनौतीहरू कहिल्यै सामना गर्नुपर्नेछैन। अन्यायको अन्त हुनेछ र दुःख-पीडा फेरि कहिल्यै हुनेछैन। (प्रका. २१:⁠४) हामीले आफ्ना आवश्‍यकताहरूको लागि चिन्ता गर्नुपर्नेछैन किनकि नयाँ संसारमा सबै कुरा प्रशस्त हुनेछ। (भज. ७२:१६; यसै. ५४:१३) परमेश्‍वरले साँच्चै हाम्रो लागि थुप्रै आशिष्‌ साँचेर राख्नुभएको छ!

१९. अहिले यहोवाले हामीलाई कुन समयको लागि तयार पार्दै हुनुहुन्छ?

१९ अहिले यहोवाले हामीलाई खराब बानी हटाउन र असल गुणहरू विकास गर्न मदत गरेर नयाँ संसारको लागि तयार पार्दै हुनुहुन्छ। त्यसैले निराश नहुनुहोस्‌ र हार नमानी यहोवाको सेवा गरिरहनुहोस्‌। तपाईँले अब चाँडै उत्तम जीवन पाउनुहुनेछ। त्यसैले यहोवाले आफ्नो काम पूरा नगरुन्जेल धीरजी हुँदै र राजीखुसीले उहाँलाई पर्खिरहौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • धैर्य गर्दै यहोवालाई पर्खन हामीलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ?

  • हामीले कुन दुई वटा क्षेत्रमा धीरज देखाउनुपर्छ?

  • राजीखुसीले यहोवालाई पर्खनेहरूले कस्ता आशिष्‌हरू पाउनेछन्‌?

गीत ११८ “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

a के तपाईँले लामो समयदेखि यहोवाको सेवा गरिरहेको कुनै भाइ वा बहिनीले यसो भनेको सुन्‍नुभएको छ, ‘यो दुष्ट संसार यति लामो समयसम्म रहला भनेर मैले आसै गरेको थिइनँ।’ हामी सबै जना यहोवाले यस संसारमाथि विनाश ल्याउनुभएको हेर्न उत्सुक छौँ, विशेषगरि अहिलेको यस्तो गाह्रो समयमा। तर हामीले धैर्य गर्नै पर्छ। यस लेखमा हामीलाई धैर्य गर्दै पर्खन मदत गर्ने केही बाइबल सिद्धान्त विचार गर्नेछौँ। साथै हामीले धैर्य गर्दै यहोवालाई पर्खनुपर्ने दुई वटा क्षेत्रबारे पनि छलफल गर्नेछौँ। अन्तमा यहोवालाई पर्खन इच्छुक व्यक्‍तिहरूले भविष्यमा पाउने आशिष्‌हरूबारे पनि बुझ्नेछौँ।

b तस्बिरको व्याख्या: एक बहिनीले सानैदेखि नियमित रूपमा यहोवालाई प्रार्थना गर्दै आएकी छिन्‌। तिनी सानी छँदा आमाबुबाले तिनलाई प्रार्थना गर्न सिकाए। किशोरावस्थामा पुगेपछि तिनले अग्रगामी सेवा थालिन्‌ र आफ्नो सेवामा आशिष्‌ दिनुहोस्‌ भनेर प्रार्थना गरिरहिन्‌। वर्षौँपछि तिनको श्रीमान्‌ बिरामी पर्दा तिनले परीक्षा सहन बलको लागि यहोवालाई बिन्ती गरिन्‌। अहिले तिनको श्रीमान्‌ बितिसकेका छन्‌ तर तिनले प्रार्थना गर्न छोडेकी छैनन्‌। यहोवाले जसरी तिनको जीवनभर तिनका प्रार्थनाहरूको जवाफ दिनुभयो, अब पनि त्यसरी नै जवाफ दिनुहुनेछ भन्‍ने कुरामा तिनी ढुक्क छिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने