प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ९/१५ pp. १८-२२
  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा किन धीरज देखाउनुहुन्छ?
  • धीरजी हुने विषयमा येशूले कसरी राम्रो उदाहरण बसाल्नुभएको छ?
  • म कसरी परमेश्‍वरजस्तै धीरजी हुन सक्छु?
  • धीरजी हुँदा कस्तो आशिष्‌ पाउँछौं?
  • धीरजी भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवाको धीरज अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • धीरज—हाम्रो सेवाको एउटा चिनारी
    हाम्रो राज्य सेवा—२०११
  • धीरज राम्रो कुराको आशा गर्दै सहनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ९/१५ pp. १८-२२

यहोवा र येशूको धीरजबाट सिक्नुहोस्‌

“हाम्रा प्रभुको धीरजलाई उद्धार पाउने मौका ठान।”—२ पत्रु. ३:१५.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • यहोवाले आफू धीरजी भएको कुरा कसरी देखाउनुभएको छ?

  • येशू किन लामो समयसम्म धीरजी हुनुपऱ्‍यो?

  • परमेश्‍वरको धीरजको अनुकरण गर्न हामी के गर्न सक्छौं?

१. लामो समयदेखि यहोवाको सेवा गर्दै आएका कसै-कसैले कस्तो प्रश्‍न सोध्छन्‌?

लामो समयदेखि थुप्रै चुनौती सामना गर्दै आएकी वफादार बहिनीले यस्तो प्रश्‍न गरिन्‌, “मर्नुअघि के मैले यस युगको अन्त देख्न पाऊँला?” यहोवाको सेवामा धेरै समय बिताएका कसै-कसैले यस्तै प्रश्‍न सोध्ने गर्छन्‌। परमेश्‍वरले अहिलेका समस्याहरू हटाएर सबै थोक नयाँ बनाउने समयको हामी प्रतीक्षा गर्छौं। (प्रका. २१:५) सैतानको संसार चाँडै अन्त हुनेछ भनेर विश्‍वास गर्ने प्रशस्त कारण भए पनि धैर्य गरेर त्यस दिनलाई पर्खन सजिलो नहुन सक्छ।

२. यहोवाको धीरजबारे हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

२ हामी धीरजी हुनै पर्छ भनी बाइबल बताउँछ। बलियो विश्‍वास भएमा र परमेश्‍वरको प्रतिज्ञा पूरा हुने समयलाई धीरजी हुँदै पर्खेमा विगतका सेवकहरूले जस्तै हामीले पनि उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल गर्नेछौं। (हिब्रू ६:११, १२ पढ्‌नुहोस्‌) यहोवा स्वयम्‌ले धीरज देखाइरहनुभएको छ। उहाँले दुष्टतालाई पहिल्यै अन्त गर्न सक्नुहुन्थ्यो तर उहाँ उपयुक्‍त समय पर्खंदै हुनुहुन्छ। (रोमी ९:२०-२४) उहाँ यति लामो समयसम्म धीरजी हुनुको कारण के हो? यहोवाको धीरज अनुकरण गर्ने सम्बन्धमा येशू कसरी हाम्रो लागि राम्रो उदाहरण हुनुहुन्छ? यहोवाजस्तै धीरजी भयौं भने कस्ता लाभ उठाउनेछौं? यी प्रश्‍नहरूको जवाफले यहोवाले ढिला गरिरहनुभएको छ जस्तो लाग्दा पनि धीरज खेती गर्न र बलियो विश्‍वास कायम राख्न मदत गर्न सक्छ।

यहोवा किन धीरज देखाउनुहुन्छ?

३, ४. (क) पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले किन धीरज देखाइरहनुभएको छ? (ख) अदनमा विद्रोह भएपछि यहोवाले के गर्नुभयो?

३ ब्रह्‍माण्डमा यहोवासित जत्तिको अख्तियार अरू कसैसित छैन अनि यी सब समस्या अन्त गर्न उहाँले पर्खनै पर्दैन। तैपनि यहोवाले धीरज देखाउनुमा ठोस कारण छ। अदनमा भएको विद्रोहले केही महत्त्वपूर्ण प्रश्‍न खडा गऱ्‍यो र स्वर्ग अनि पृथ्वीमा भएका सबैको फाइदाको लागि ती प्रश्‍नको जवाफ दिनुपर्ने भयो। ती प्रश्‍नको चित्तबुझ्दो जवाफ दिन समय लाग्छ भनेर यहोवालाई थाह भएकोले उहाँ धीरज गर्दै हुनुहुन्छ। स्वर्ग र पृथ्वीका प्रत्येकले के गर्छन्‌ र कस्तो सोचाइ राख्छन्‌ भनेर उहाँलाई राम्ररी थाह छ। त्यसैले उहाँले निश्‍चय पनि हाम्रो हितमा कदम चाल्दै हुनुहुन्छ।—हिब्रू ४:१३.

४ आदम र हव्वाका सन्तानले पृथ्वी भरियोस्‌ भन्‍ने यहोवाको उद्देश्‍य थियो। हव्वा सैतानको बहकाउमा परिन्‌ अनि आदम यहोवाप्रति अनाज्ञाकारी भए। तैपनि उहाँले आफ्नो उद्देश्‍य बदल्नुभएन। उहाँले अत्तालिंदै हतारमा निर्णय गर्नुभएन अनि मानव परिवारलाई बेवास्ता पनि गर्नुभएन। बरु मानिसजाति र पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्ने तरिका तय गर्नुभयो। (यशै. ५५:११) आफ्नो उद्देश्‍य पूरा गर्न र आफ्नो सार्वभौमिकता उच्च पार्न यहोवाले आत्मसंयम र धीरज देखाउनुभएको छ। आफ्नो उद्देश्‍यका केही पक्षलाई सर्वोत्तम तरिकामा पूरा गर्न उहाँले हजारौं वर्ष कुर्नुभएको छ।

५. यहोवाको धीरजले गर्दा कस्तो राम्रो कुरा सम्भव भएको छ?

५ यहोवाले यति लामो समयसम्म धीरज देखाउनुको अर्को कारण हो, उहाँ धेरैभन्दा धेरै मानिसले अनन्त जीवन पाएको चाहनुहुन्छ। “ठूलो भीड”-लाई बचाउन अहिले उहाँ आवश्‍यक तयारी गर्दै हुनुहुन्छ। (प्रका. ७:९, १४; १४:६) प्रचारकार्यमार्फत उहाँले मानिसहरूलाई आफ्नो राज्य र आफ्नो सही स्तरबारे सिक्न निम्तो दिंदै हुनुहुन्छ। परमेश्‍वरको राज्यको सन्देश मानिसहरूका लागि “सुसमाचार” हो। (मत्ती २४:१४) यहोवाले खिच्ने प्रत्येक व्यक्‍ति विश्‍वव्यापी सङ्‌गठनको भाग हुन्छन्‌। त्यहाँ तिनीहरूले असल कुरालाई प्रेम गर्ने साँचो मित्रहरू पाउँछन्‌। (यूह. ६:४४-४७) यसरी हाम्रो मायालु परमेश्‍वरले मानिसहरूलाई उहाँको अनुमोदन पाउन मदत गरिरहनुभएको छ। साथै स्वर्गमा स्थापित सरकारको सदस्य हुनेहरूलाई पनि उहाँले छानिरहनुभएको छ। स्वर्ग गएपछि यिनीहरूले आज्ञाकारी मानिसलाई त्रुटिरहित अवस्थामा पुग्न र अनन्त जीवन प्राप्त गर्न मदत गर्नेछन्‌। यहोवाले अहिले धीरज देखाइरहनुभए तापनि उहाँ आफ्नो उद्देश्‍य पूरा गर्न काम गर्दै हुनुहुन्छ। अनि यो सब उहाँले हाम्रै हितको लागि गरिरहनुभएको छ।

६. (क) यहोवाले नूहको समयमा कसरी धीरज देखाउनुभयो? (ख) हाम्रो समयमा यहोवाले कसरी धीरज देखाइरहनुभएको छ?

६ अरूले आफ्नो अपमान गर्दासमेत यहोवा धीरजी हुनुहुन्छ। उदाहरणको लागि, जलप्रलयअघि व्याप्त दुष्टतालाई उहाँले के गर्ने निर्णय गर्नुभयो विचार गर्नुहोस्‌। त्यसबेला पृथ्वी अनैतिकता र हिंसाले भरिएको थियो। मानिसहरूको यस्तो पतित अवस्था देखेर यहोवा “मनमा साह्रै दुःखित हुनुभयो।” (उत्प. ६:२-८) यस्तो अवस्था उहाँ सधैं सहेर बस्नुहुने थिएन। त्यसैले उहाँले अनाज्ञाकारी मानिसहरूमाथि जलप्रलय ल्याउने निधो गर्नुभयो। हुन त “नूहको समयमा . . . परमेश्‍वरको सहनशीलताले पर्खिरहेको थियो,” तर उहाँ नूह र तिनको परिवारलाई बचाउन तयारी गर्दै हुनुहुन्थ्यो। (१ पत्रु. ३:२०) समय आएपछि यहोवाले नूहलाई आफ्नो निर्णय सुनाउनुभयो र जहाज निर्माण गर्ने जिम्मेवारी सुम्पनुभयो। (उत्प. ६:१४-२२) साथै, नूह “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार गर्ने” मानिस थिए। तिनले आउनै लागेको विनाशबारे मानिसहरूलाई चेतावनी दिए। (२ पत्रु. २:५) येशूले हाम्रो समयलाई नूहको समयसित तुलना गर्नुभयो। यस दुष्ट युगको अन्त कहिले गर्ने भनेर यहोवाले निर्णय गरिसक्नुभएको छ। “त्यस दिन र समयको विषयमा कसैले जान्दैन।” (मत्ती २४:३६) अहिले परमेश्‍वरले हामीलाई दिनुभएको काम भनेको मानिसहरूलाई चेतावनी दिने र तिनीहरू कसरी बच्न सक्छन्‌ भनेर बताउने हो।

७. के यहोवा आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्दै हुनुहुन्छ? व्याख्या गर्नुहोस्‌।

७ यहोवाले धीरज देखाउनुको अर्थ समय बित्न दिनु मात्र होइन। नबिर्सनुहोस्‌, उहाँले धीरज देखाउनु भनेको उहाँलाई हाम्रो वास्ता छैन वा हामीप्रति उहाँको कुनै चासो छैन भन्‍ने होइन। तर उमेर ढल्कँदै जाँदा वा यस दुष्ट संसारमा दुःखकष्ट झेल्दै जाँदा हामीलाई यस्तो लाग्न सक्छ। हामी निराश हुन सक्छौं वा परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्दै हुनुहुन्छ भनी सोच्न सक्छौं। (हिब्रू १०:३६) तर यो कुरा कहिल्यै नबिर्सनुहोस्‌, उहाँ धीरजी हुनुमा जायज कारणहरू छन्‌। आफ्ना वफादार सेवकहरूकै फाइदाको लागि उहाँ धीरजी भइरहनुभएको छ। (२ पत्रु. २:३; ३:९) येशूले आफ्नो बुबाको धीरज कसरी अनुकरण गर्नुभयो, त्यो पनि विचार गर्नुहोस्‌।

धीरजी हुने विषयमा येशूले कसरी राम्रो उदाहरण बसाल्नुभएको छ?

८. के-कस्ता परिस्थितिमा येशूले धीरज देखाउनुभयो?

८ येशूले परमेश्‍वरको इच्छाअनुसार गरिरहनुभएको छ र उहाँले युगौंयुगदेखि यसो गर्दै आउनुभएको छ। सैतानले विद्रोह गर्दा यहोवाले आफ्नो एक मात्र छोरालाई मसीहको रूपमा पृथ्वीमा पठाउने निर्णय गर्नुभयो। तर पृथ्वीमा आउनुअघि उहाँले धीरजी हुँदै हजारौं वर्ष पर्खनुपर्ने थियो। (गलाती ४:४ पढ्‌नुहोस्‌) त्यो समयमा उहाँ केही नगरी ट्‌वालट्‌वाल्ती बस्नुभएन। बरु आफ्नो बुबाले सुम्पेको काम पूरा गर्न व्यस्त हुनुभयो। पृथ्वीमा आएपछि भविष्यवाणी गरिएझैं सैतानको हातबाट मृत्यु भोग्नुपर्नेछ भनेर उहाँलाई थाह थियो। (उत्प. ३:१५; मत्ती १६:२१) असह्‍य पीडा खप्नुपरे तापनि उहाँले धीरजी हुँदै परमेश्‍वरको इच्छा पूरा गर्नुभयो। वफादार हुने विषयमा उहाँले उत्कृष्ट उदाहरण बसाल्नुभयो। उहाँले आफू र आफ्नो ओहदामा मात्र ध्यान केन्द्रित गर्नुभएन। त्यसैले हामीले पनि उहाँको उदाहरण अनुकरण गर्नुपर्छ।—हिब्रू ५:८, ९.

९, १०. (क) यहोवाले कदम चाल्ने समय पर्खुन्जेल येशू के गर्दै हुनुहुन्छ? (ख) हामी कसरी येशूको जस्तै मनोवृत्ति देखाउन सक्छौं?

९ पुनर्जीवित भएपछि येशूले स्वर्ग र पृथ्वीको अधिकार पाउनुभयो। (मत्ती २८:१८) येशूले त्यो अधिकार यहोवाको समयतालिकाअनुसारै प्रयोग गर्नुहुन्छ। सन्‌ १९१४ मा शत्रुहरूलाई पाउदान नतुल्याएसम्म येशू धीरजी हुँदै परमेश्‍वरको दाहिने हाततर्फ पर्खनुभयो। (भज. ११०:१, २; हिब्रू १०:१२, १३) सैतानको संसारको अन्त गर्न उहाँले चाँडै कदम चाल्नुहुनेछ। त्यतिन्जेल, येशूले मानिसहरूलाई यहोवाको अनुमोदन पाउन धीरजी हुँदै मदत गर्नुहुन्छ र तिनीहरूलाई “जीवन दिने पानी”-सम्म डोऱ्‍याउनुहुन्छ।—प्रका. ७:१७.

१० तपाईं कसरी येशूको जस्तै मनोवृत्ति देखाउन सक्नुहुन्छ? बुबाले अह्राएको जुनसुकै काम गर्न येशू उत्सुक हुनुहुन्थ्यो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर उहाँ परमेश्‍वरले तोक्नुभएको समय पर्खन तयार हुनुहुन्थ्यो। सैतानको दुष्ट युगको अन्त पर्खंदै गर्दा हामी सबै जना धीरजी हुनुपर्छ। परमेश्‍वरको निर्देशनलाई नपर्खी आफूखुसी गर्नु हुँदैन वा निराश भएर लत्तो छोड्‌नु हुँदैन। हामी कसरी यस्तो धीरज खेती गर्न सक्छौं?

म कसरी परमेश्‍वरजस्तै धीरजी हुन सक्छु?

११. (क) विश्‍वास र धैर्यबीच कस्तो सम्बन्ध छ? (ख) हामीमा किन बलियो विश्‍वास हुनुपर्छ?

११ त्रुटिपूर्ण मानिसहरू पनि धीरजी हुन सक्छन्‌ भन्‍ने विषयमा येशू पृथ्वीमा आउनुअघिका भविष्यवक्‍ता तथा अन्य वफादार सेवकहरूले राम्रो उदाहरण बसाले। तिनीहरूको विश्‍वास र धैर्य आपसमा सम्बन्धित थियो। (याकूब ५:१०, ११ पढ्‌नुहोस्‌) तिनीहरूले यहोवाको प्रतिज्ञालाई भरोसा नगरेको भए अर्थात्‌ तिनीहरूसित विश्‍वास नभएको भए के तिनीहरू उहाँका प्रतिज्ञाहरू पूरा हुने समयलाई धैर्य गर्दै पर्खने थिए र? यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर विश्‍वस्त भएकोले तिनीहरूले विश्‍वासको जाँच हुने कठिन वा चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सके। (हिब्रू ११:१३, ३५-४०) येशू अहिले ‘विश्‍वासलाई पूर्ण तुल्याउनुहुने’ व्यक्‍तिको रूपमा सेवा गर्दै हुनुहुन्छ। त्यसैले हामीमा अझ बलियो विश्‍वास हुनुपर्छ। (हिब्रू १२:२) उहाँले थुप्रै भविष्यवाणी पूरा गर्नुभयो र परमेश्‍वरको उद्देश्‍यबारे अझ राम्ररी बुझ्न हामीलाई मदत गर्नुभयो।

१२. विश्‍वास बलियो बनाउन हामी के गर्न सक्छौं?

१२ विश्‍वास बलियो बनाउन र अझ धीरजी हुन हामी के गर्न सक्छौं? परमेश्‍वरको सल्लाह लागू गर्नु नितान्त आवश्‍यक छ। उदाहरणको लागि, परमेश्‍वरको राज्यलाई जीवनमा पहिलो स्थान दिनुपर्ने कारणहरूबारे विचार गर्नुहोस्‌। के तपाईं मत्ती ६:३३ मा पाइने सल्लाह लागू गर्न अझ प्रयास गर्न सक्नुहुन्छ? यसको लागि तपाईंले सेवाको काममा अझ धेरै समय बिताउनु वा आफ्नो जीवनशैलीमा केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। तपाईंले अहिलेसम्म गरेको प्रयासमा यहोवाले दिनुभएको आशिष्‌लाई बेवास्ता नगर्नुहोस्‌। उहाँले तपाईंलाई नयाँ बाइबल अध्ययन दिनुभएको वा ‘सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट परमेश्‍वरको शान्ति’ पाउन मदत गर्नुभएको हुन सक्छ। (फिलिप्पी ४:७ पढ्‌नुहोस्‌) यहोवाको निर्देशन पछ्याउँदा पाएका लाभहरूमा ध्यान केन्द्रित गर्नुभयो भने धीरजी हुनु किन यत्तिको महत्त्वपूर्ण छ भनी बुझ्नुहुनेछ।—भज. ३४:८.

१३. विश्‍वासले हामीलाई अझ धीरजी बनाउँछ भनेर कुन उदाहरणले बुझाउँछ?

१३ विश्‍वासले हामीलाई कसरी अझ धीरजी बनाउँछ भनी बुझ्न एउटा उदाहरण विचार गरौं। किसानले बीउ छर्छ, गोडमेल गर्छ र बाली भित्र्याउँछ। बालीनाली राम्रोसँग सप्रँदा अर्को वर्ष पनि त्यसरी नै उब्जनी गर्ने उसको विश्‍वस्तता अझ बढ्‌छ। हो, कटनी गर्नको लागि उसले धीरजी भई केही समय पर्खनुपर्छ। तर पर्खनुपर्छ भन्दैमा ऊ बीउ छर्नदेखि पछि हट्‌दैन। सायद पहिलाभन्दा अझ धेरै जमिनमा बीउ छर्छ। किनकि कटनी गर्ने कुरामा ऊ विश्‍वस्त हुन्छ। त्यसैगरि, यहोवाले दिनुभएको निर्देशन बुझ्दा, पालन गर्दा र त्यसबाट आशिष्‌ पाउँदा यहोवामाथिको हाम्रो भरोसा अझ बढ्‌छ। हाम्रो विश्‍वास बढ्‌छ अनि आशिष्‌ पाउनको लागि पर्खन सजिलो बनाउँछ।—याकूब ५:७, ८ पढ्‌नुहोस्‌।

१४, १५. मानव दुःखकष्टप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

१४ धीरज खेती गर्न सक्ने अर्को तरिका यो संसार र आफ्नो अवस्थाप्रति हामी कस्तो दृष्टिकोण राख्छौं, त्यसबारे विचार गर्नु हो। कुनै पनि मामिलाबारे यहोवाको जस्तै दृष्टिकोण राख्न सिक्नुहोस्‌। उदाहरणको लागि, मानव दुःखकष्टप्रति उहाँ कस्तो दृष्टिकोण राख्नुहुन्छ, विचार गर्नुहोस्‌। मानिसहरूले दुःख पाएकोमा लामो समयदेखि उहाँलाई पीडा भएको छ। तैपनि त्यो पीडाले उहाँलाई असल काम गर्नदेखि रोकेको छैन। “दियाबलका कामहरू नष्ट” गर्न र सैतानले गर्दा मानिसहरूले भोग्नुपरेको सबै दुःखकष्ट हटाउनको लागि उहाँले आफ्नो एक मात्र छोरालाई पठाउनुभयो। (१ यूह. ३:८) वास्तवमा भन्‍नुपर्दा, यी दुःखकष्ट क्षणिक मात्र हुन्‌ तर उहाँले गर्नुहुने समाधान भने सधैंका लागि हुनेछ। त्यसैले सैतानको शासनले निम्त्याएको दुष्टताले गर्दा आफ्नो विश्‍वास कमजोर हुन दिनु हुँदैन। यहोवाले कहिले कदम चाल्ने होला भनेर अधीर हुनु हुँदैन। बरु परमेश्‍वरका प्रतिज्ञाहरूमा भरोसा राख्नुपर्छ। यहोवाले दुष्टताको अन्त गर्ने समय तोकिसक्नुभएको छ अनि उहाँले ठीक समयमै कदम चाल्नुहुनेछ।—यशै. ४६:१३; नहू. १:९.

१५ यस युगको आखिरी दिनमा हामीले विश्‍वासको जाँच हुने चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ। हामी हिंसाको शिकार भयौं वा हाम्रो प्रियजनले दुःखकष्ट भोग्नुपऱ्‍यो भने रिसाउनुको सट्टा यहोवामा पूरा भरोसा राख्ने सङ्‌कल्प गर्नुपर्छ। हामी त्रुटिपूर्ण छौं, त्यसैले यसो गर्नु सजिलो छैन। तैपनि मत्ती २६:३९ मा उल्लेख गरिएझैं येशूले के गर्नुभयो, सम्झनुहोस्‌।—पढ्‌नुहोस्‌।

१६. अन्त पर्खंदै गर्दा हामी के गर्नदेखि होसियार हुनुपर्छ?

१६ ‘के हुन्छ, हेरौं’ भन्‍ने मनोवृत्तिले पनि धीरज देखाउनमा बाधा पुऱ्‍याउँछ। यसको मतलब के हो? अन्त नजिकै छ भन्‍ने कुरामा विश्‍वस्त नभएको व्यक्‍तिले यहोवाको प्रतिज्ञा पूरा नभएको खण्डमा केही न केही त गर्नै पर्छ भनेर वैकल्पिक प्रबन्ध मिलाउँछ। अर्को शब्दमा भन्‍नुपर्दा, उसले यस्तो सोचिरहेको हुन्छ, ‘हेरौं, यहोवाको प्रतिज्ञा पूरा हुन्छ कि हुँदैन।’ त्यसपछि उसले परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिनुको सट्टा आर्थिक सुरक्षा खोज्ने, नाम कमाउने वा आरामदायी जीवन बिताउन सकियोस्‌ भनेर उच्च शिक्षा हासिल गर्ने निर्णय गर्न सक्छ। तर त्यसो गर्नु भनेको विश्‍वास नभएको प्रमाण होइन र? याद गर्नुहोस्‌, पावलले हामीलाई “विश्‍वास अनि धैर्य गरेर” यहोवाले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल गरेका वफादार सेवकहरूको देखासिकी गर्न आग्रह गरे। (हिब्रू ६:१२) यहोवाले यस दुष्ट संसारलाई आफूले तोकेको समयभन्दा एकछिन पनि बढी रहन दिनुहुनेछैन। (हब. २:३) त्यतिन्जेल हामी झारा टार्ने हिसाबले मात्र यहोवाको सेवा गर्नदेखि होसियार हुनुपर्छ। हामी सजग हुनुपर्छ र सुसमाचार प्रचार गर्ने काममा लगनशील भई लाग्नुपर्छ किनभने यस कामले अहिले हामीलाई गहिरो सन्तुष्टि दिन्छ।—लूका २१:३६.

धीरजी हुँदा कस्तो आशिष्‌ पाउँछौं?

१७, १८. (क) धीरजी हुँदै पर्खंदा अहिले हामी कस्तो मौका पाउँछौं? (ख) धीरजी भयौं भने कस्ता आशिष्‌ पाउनेछौं?

१७ हामीले परमेश्‍वरको सेवा गरेको केही महिना मात्र भएको होस्‌ वा धेरै वर्ष, हामी सधैं उहाँको सेवा गर्न चाहन्छौं। यस संसारको अन्त जहिलेसुकै भए पनि धीरजले हामीलाई उद्धार नपाएसम्म पर्खिबस्न मदत गर्छ। यहोवाले हामी उहाँको निर्णयमा पूरा भरोसा गर्छौं अनि उहाँको नामको खातिर बदनाम भोग्न पनि तयार छौं भनेर देखाउने मौका दिइरहनुभएको छ। (१ पत्रु. ४:१३, १४) उद्धार पाउनको लागि आवश्‍यक पर्ने धीरज खेती गर्न पनि उहाँले हामीलाई तालिम दिइरहनुभएको छ।—१ पत्रु. ५:१०.

१८ येशूले स्वर्ग र पृथ्वीको सबै अधिकार पाउनुभएको छ। अनि उहाँको सुरक्षा पाउनदेखि तपाईंलाई आफैले बाहेक अरू केहीले रोक्न सक्दैन। (यूह. १०:२८, २९) भविष्य वा मृत्युदेखि डराउनुपर्ने कुनै कारण छैन। धीरजी हुँदै अन्तसम्म सहनेले उद्धार पाउनेछ। त्यसैले यस संसारको सोचाइले आफ्नो सोचाइलाई भ्रष्ट पार्न र यहोवामा भरोसा राख्नदेखि रोक्न दिनु हुँदैन। यहोवाले अहिले धीरज देखाइरहनुभएको छ। त्यसैले यस समयलाई आफ्नो विश्‍वास अझ बलियो पार्न र समयको सदुपयोग गर्नमा लगाऔं।—मत्ती २४:१३; २ पत्रुस ३:१७, १८ पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने