प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w21 डिसेम्बर pp. ८-१३
  • अरूसितको व्यवहारबारे लेवीको किताबबाट के सिक्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूसितको व्यवहारबारे लेवीको किताबबाट के सिक्न सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु व्यवहार गर्नुहोस्‌
  • व्यापारिक कारोबारमा इमानदार हुनुहोस्‌
  • अरूलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌
  • लेवी अध्याय १९ मा उल्लेख नगरिएको एउटा महत्त्वपूर्ण काम
  • “तिमीहरू पवित्र हुनै पर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • हामी आफ्नो सारा चालचलनमा पवित्र रहनै पर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • हामी किन पवित्र हुनै पर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • लेवीको किताबबाट सिक्न सकिने पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
w21 डिसेम्बर pp. ८-१३

अध्ययन लेख ४९

अरूसितको व्यवहारबारे लेवीको किताबबाट के सिक्न सक्छौँ?

“तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” —लेवी १९:१८.

गीत १०९ प्रगाढ प्रेम

परिचयa

१-२. अघिल्लो लेखमा हामीले के छलफल गऱ्‍यौँ? यस लेखमा हामी के छलफल गर्नेछौँ?

हामीले अघिल्लो लेखबाट लेवी अध्याय १९ मा पाइने केही व्यावहारिक पाठहरू सिक्यौँ। उदाहरणको लागि, पद ३ मा यहोवाले इस्राएलीहरूलाई आफ्नो आमा र बुबाको आदर गर्नू भन्‍ने आज्ञा दिनुभएको छ। त्यही आज्ञा आज हामीलाई पनि लागू हुन्छ। हामीले आमाबुबाको शारीरिक, भावनात्मक र आध्यात्मिक आवश्‍यकता पूरा गरेर तिनीहरूको आदर गरेको देखाउन सक्छौँ। पद ३ मा यहोवाले इस्राएलीहरूलाई विश्रामदिन मान्‍नू भन्‍ने आज्ञा पनि दिनुभएको छ। हुनत अहिले हामीले विश्रामदिन मान्‍नु पर्दैन। तर यहोवाको उपासनाको लागि नियमित रूपमा समय छुट्ट्याउनुपर्छ। यसो गऱ्‍यौँ भने लेवी १९:२ र १ पत्रुस १:१५ मा बताइएझैँ पवित्र हुन कोसिस गरिरहेका हुन्छौँ।

२ यस लेखमा पनि हामी लेवी अध्याय १९ का केही पदहरू छलफल गर्नेछौँ। शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु व्यवहार गर्ने, व्यापारिक कारोबारमा इमानदार हुने र अरूलाई प्रेम देखाउने विषयमा हामी सिक्नेछौँ। हामी परमेश्‍वरजस्तै पवित्र हुन चाहन्छौँ। त्यसैले आउनुहोस्‌, लेवी अध्याय १९ बाट अरू पाठहरू सिकौँ।

शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु व्यवहार गर्नुहोस्‌

लेवी १९:१४ ले अन्धा वा बहिराप्रति राख्नुपर्ने दृष्टिकोण र तिनीहरूसित गर्नुपर्ने व्यवहारबारे के बताउँछ? (अनुच्छेद ३-५ हेर्नुहोस्‌)c

३-४. लेवी १९:१४ अनुसार इस्राएलीहरूले बहिरा र अन्धालाई कस्तो व्यवहार गर्नु हुँदैनथ्यो?

३ लेवी १९:१४ पढ्‌नुहोस्‌। यहोवा आफ्ना मानिसहरूले शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु व्यवहार गरेको चाहनुहुन्थ्यो। उदाहरणको लागि, इस्राएलीहरूले बहिरालाई सराप्नु हुँदैनथ्यो। अरूलाई सराप्नु भनेको तिनलाई डर-धम्की देखाउनु वा तिनको विषयमा नराम्रो कुरा भन्‍नु हो। यो पटक्कै दयालु व्यवहार होइन। किनकि तिनले सुन्‍न नसक्ने भएकोले अरूले आफ्नो विषयमा भनेको कुरा सही हो कि गलत, केही पनि भन्‍न सक्दैनन्‌।

४ पद १४ मा यहोवाले इस्राएलीहरूलाई “अन्धाको अगाडि ठेस लाग्ने कुरा नराख्नू” भन्‍ने आज्ञा दिनुभयो। शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूबारे एउटा किताब यसो भन्छ: “पुरातन मध्यपूर्वमा [तिनीहरूलाई] अक्सर दुर्व्यवहार र शोषण गरिन्थ्यो।” केही निर्दयी व्यक्‍तिले तिनीहरूलाई लडाएर हाँसोमा उडाउन तिनीहरूको अगाडि ठेस लाग्ने कुरा राखिदिन्थे। शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु व्यवहार गर्नुपर्छ भनेर बुझाउन यहोवाले इस्राएलीहरूलाई यो आज्ञा दिनुभयो।

५. शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति हामी कसरी दयालु व्यवहार गर्न सक्छौँ?

५ येसुले शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु व्यवहार गर्नुभयो। उहाँले बप्तिस्मा गराउने युहन्‍नालाई यस्तो खबर पठाउनुभएको थियो: “अन्धाहरूले देख्न थालेका छन्‌, लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌।” येसुका चमत्कारहरू देखेपछि “सबै मानिसले परमेश्‍वरको प्रशंसा गरे।” (लुका ७:२०-२२; १८:४३) येसुको अनुकरण गर्दै हामी पनि शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु, विचारशील र धीरजी हुन चाहन्छौँ। हुनत अहिले यहोवाले हामीलाई चमत्कार गर्ने शक्‍ति दिनुभएको छैन। तर हामीले शारीरिक वा आध्यात्मिक तवरमा अन्धा व्यक्‍तिहरूलाई भविष्यमा तिनीहरू पूर्णतया स्वस्थ हुनेछन्‌ र परमेश्‍वरसित राम्रो सम्बन्ध गाँस्न सक्नेछन्‌ भन्‍ने सुसमाचार सुनाउने मौका पाएका छौँ। (लुका ४:१८) यो सुसमाचार सुनेर थुप्रैले यहोवाको प्रशंसा गर्न थालेका छन्‌।

व्यापारिक कारोबारमा इमानदार हुनुहोस्‌

६. लेवी अध्याय १९ का केही पदहरूले दस आज्ञामा भएको कुरालाई अझ राम्ररी बुझ्न कसरी मदत गर्छ?

६ लेवी अध्याय १९ का केही पदहरूले दस आज्ञामा भएको कुरालाई अझ राम्ररी बुझ्न मदत गर्छ। उदाहरणको लागि, आठौँ आज्ञा यस्तो थियो: “तिमीहरूले चोरी नगर्नू।” (प्रस्थ. २०:१५) कसै-कसैलाई ‘मैले कहिल्यै अरूको सामान अनुमतिविना लिएको छैनँ। त्यसैले मैले यो आज्ञा पालन गरिरहेको छु’ जस्तो लाग्न सक्छ। तर तिनले अरू नै तरिकामा चोरी गरिरहेका हुन सक्छन्‌।

७. एक जना व्यापारीले आठौँ आज्ञा कसरी उल्लङ्‌घन गरिरहेका हुन सक्छन्‌?

७ एक जना व्यापारीले ‘मैले कहिल्यै अरूको सामान अनुमतिविना लिएको छैनँ। त्यसैले मैले चोरी गरेको छैनँ’ भनेर गर्व गर्लान्‌। तर व्यापारिक कारोबारमा नि? लेवी १९:३५, ३६ मा यहोवाले यसो भन्‍नुभयो: “तिमीहरूले नाप्दा, जोख्दा वा भर्दा बेइमानी नगर्नू। तिमीहरूले ठीक-ठीक तराजु र ढक अनि ठीक-ठीक नापतौल प्रयोग गर्नू।” ग्राहकहरूलाई ठग्न ठीक-ठीक नापतौल वा तराजु प्रयोग नगर्ने व्यापारीले वास्तवमा तिनीहरूबाट चोरी गरिरहेका हुन्छन्‌। लेवी अध्याय १९ का अरू पदहरूले यसलाई अझ स्पष्ट पार्छ।

लेवी १९:११-१३ लाई विचार गर्दा व्यापार-व्यवसाय गर्ने ख्रिष्टियनले कसरी आफैलाई जाँच्न सक्छन्‌? (अनुच्छेद ८-१० हेर्नुहोस्‌)d

८. आठौँ आज्ञामा लुकेको सिद्धान्त बुझ्न लेवी १९:११-१३ ले यहुदीहरूलाई कसरी मदत गऱ्‍यो? हामीले पनि यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ?

८ लेवी १९:११-१३ पढ्‌नुहोस्‌। लेवी १९:११ को सुरुको वाक्यले यसो भन्छ: “तिमीहरूले चोरी नगर्नू।” पद १३ ले चोर्नुलाई व्यापारिक मामिलामा बेइमानी गर्नुसित तुलना गर्दै यसो भन्छ: “तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू।” त्यसैले व्यापारिक कारोबारमा बेइमानी गर्नु भनेको चोर्नुजस्तै हो। आठौँ आज्ञामा लुकेको सिद्धान्त बुझ्न र त्यो लागू गर्न लेवी अध्याय १९ मा दिइएको थप विवरणले यहुदीहरूलाई मदत गर्ने थियो। बेइमानी र चोरीलाई यहोवा कुन नजरले हेर्नुहुन्छ भनेर मनन गर्दा हामी पनि लाभ उठाउन सक्छौँ। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ: ‘लेवी १९:११-१३ विचार गर्दा के मैले आफ्नो जीवनमा, विशेषगरि व्यापारिक कारोबारमा वा काम गर्ने तरिकामा केही छाँटकाँट गर्नुपर्ने छ?’

९. लेवी १९:१३ मा दिइएको आज्ञाले कसरी कामदारहरूको हकहितको सुरक्षा गर्थ्यो?

९ व्यापार-व्यवसाय गर्ने ख्रिष्टियनहरू इमानदार हुनुपर्ने अर्को क्षेत्र पनि छ। लेवी १९:१३ को अन्तमा यस्तो लेखिएको छ: “ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।” इस्राएल कृषिप्रधान देश थियो। त्यहाँका ज्यालादारी कामदारहरूलाई दिनको अन्तमा ज्याला दिनुपर्थ्यो। तर ज्याला दिइएन भने तिनीहरूको परिवार भोकै पर्ने थियो। यहोवाले भन्‍नुभयो: “त्यो गरिब छ र दिनभरिको ज्यालाबाटै त्यसले जीवन धान्‍नुपर्छ।”—व्यव. २४:१४, १५; मत्ति २०:८.

१०. लेवी १९:१३ बाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१० आजकाल कामदारहरूले दिनदिनै नभई महिनाको एक वा दुई चोटि तलब पाउँछन्‌। तैपनि लेवी १९:१३ मा दिइएको आज्ञा अझै लागू हुन्छ। केही मालिकहरूले कामदारहरूलाई धेरै दलाउने तर तलब भने कम दिने गर्छन्‌। हातमुख जोर्न ती कामदारहरू त्यही काम गर्न बाध्य हुन सक्छन्‌ र मालिकहरूले त्यसैको नाजायज फाइदा उठाउँछन्‌। त्यसो गर्नु भनेको ‘ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला रोक्नुजस्तै’ हो। व्यापार गर्ने ख्रिष्टियनहरूले कामदारप्रति यस्तो व्यवहार पटक्कै गर्नु हुँदैन। लेवी अध्याय १९ बाट अरू कस्ता पाठहरू सिक्न सक्छौँ, हेरौँ।

अरूलाई आफूलाई जस्तै प्रेम गर्नुहोस्‌

११-१२. येसुले लेवी १९:१७, १८ उद्धरण गर्दै कुन कुरालाई जोड दिनुभयो?

११ यहोवा आफ्ना मानिसहरूले अरूलाई हानि नगरेको मात्र होइन, तिनीहरूलाई प्रेम गरेको पनि चाहनुहुन्छ। यो कुरा लेवी १९:१७, १८ मा बताइएको छ। (पढ्‌नुहोस्‌।) त्यहाँ यस्तो स्पष्ट आज्ञा दिइएको छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ भने यो आज्ञा पालन गर्नै पर्छ।

१२ येसुले लेवी १९:१८ मा दिइएको आज्ञा एकदमै महत्त्वपूर्ण छ भनेर देखाउनुभयो। एकचोटि एक जना फरिसीले येसुलाई सोधे: “व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?” “सबैभन्दा ठूलो र पहिलो आज्ञा” परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नु हो भनेर उहाँले जवाफ दिनुभयो। त्यसपछि उहाँले लेवी १९:१८ उद्धरण गर्दै यसो भन्‍नुभयो: “दोस्रोचाहिँ यही हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’” (मत्ति २२:३५-४०) हामी अरूलाई थुप्रै तरिकामा प्रेम देखाउन सक्छौँ। तीमध्ये केही तरिका लेवी अध्याय १९ बाट सिकौँ।

१३. युसुफको विवरण पढ्‌दा लेवी १९:१८ को सिद्धान्त कसरी अझ स्पष्टसित बुझ्न सक्छौँ?

१३ अरूलाई प्रेम देखाउने एउटा तरिका लेवी १९:१८ मा दिइएको सल्लाह लागू गर्नु हो। त्यस पदमा यस्तो लेखिएको छ: “तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू।” कसै-कसैले आफ्नो सहकर्मी, सहपाठी, नातेदार वा आफ्नै परिवारको सदस्यविरुद्ध मनमा रिस पाल्छन्‌। कहिलेकाहीँ त वर्षौँसम्म त्यसरी रिस पालिराख्छन्‌। यस्तै एउटा उदाहरण हामी बाइबलमा पाउन सक्छौँ। युसुफका दस जना दाइले तिनीविरुद्ध रिस पालिराखे। पछि गएर तिनीहरूले युसुफसित असाध्यै नराम्रो व्यवहार गरे। (उत्प. ३७:२-८, २५-२८) तर युसुफले भने जस्तालाई त्यस्तै गरेनन्‌। पछि युसुफ ठूलो ओहदामा पुगेपछि आफ्ना दाइहरूसित बदला लिन सक्थे तर तिनले त्यसो गर्नुको साटो कृपा देखाए। यसरी युसुफले लेवी १९:१८ मा पाइने सल्लाहअनुसारै आफ्ना दाइहरूविरुद्ध मनमा रिस पालेर राखेनन्‌।—उत्प. ५०:१९-२१.

१४. लेवी १९:१८ मा पाइने सिद्धान्त आज हामीलाई पनि किन लागू हुन्छ?

१४ यहोवालाई खुसी बनाउन चाहने ख्रिष्टियनहरूले युसुफको उदाहरण अनुकरण गर्नुपर्छ। तिनले मनमा रिस पालेर राखेनन्‌ र बदला लिएनन्‌, बरु क्षमा दिए। यही कुरालाई येसुले नमुना प्रार्थनामा पनि जोड दिनुभयो। हामीविरुद्ध पाप गर्नेहरूलाई क्षमा दिन उहाँले हामीलाई सिकाउनुभयो। (मत्ति ६:९, १२) साथै पावलले सङ्‌गी ख्रिष्टियनहरूलाई यस्तो सल्लाह दिए: “प्रियहरू हो, बदला नलेओ।” (रोमी १२:१९) तिनले यस्तो प्रोत्साहन पनि दिए: “यदि कसैको विरुद्धमा केही गुनासो छ भने पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।” (कल. ३:१३) यहोवाका सिद्धान्तहरू कहिल्यै परिवर्तन हुँदैनन्‌। त्यसैले लेवी १९:१८ मा पाइने आज्ञामा लुकेको सिद्धान्त आज हामीलाई पनि लागू हुन्छ।

तस्बिरहरूको सँगालो: १. एउटी हँसिली बहिनीले औँलामा घाउ भएकोले टेप बाँधेकी छिन्‌। २. ती बहिनीले निधार खुम्च्याउँदै ब्यान्डेज लगाएको घाउ कोट्याइरहेकी छिन्‌।

घाउलाई कोट्याइरहनु हुँदैन; त्यसरी नै अरूले हामीविरुद्ध गरेको गल्तीबारे सोचिरहनुको सट्टा त्यसलाई बिर्सने कोसिस गर्नुपर्छ (अनुच्छेद १५ हेर्नुहोस्‌)e

१५. हामीले किन मनमा रिस पालिराख्नु हुँदैन? एउटा उदाहरण दिनुहोस्‌।

१५ मनमा लागेको चोटलाई साँच्चैको घाउसित तुलना गर्न सकिन्छ। घाउ पनि कुनै सानो हुन्छ, कुनै ठूलो। उदाहरणको लागि, तरकारी काट्‌दा कहिलेकाहीँ चक्कुले हाम्रो औँलामा सानो घाउ लाग्न सक्छ। त्यो घाउ दुख्न त दुख्छ तर हामी एक-दुई दिनमा बिर्सिहाल्छौँ। त्यसरी नै अरूले भनेको वा गरेको कुराले कहिलेकाहीँ हाम्रो चित्त दुख्न सक्छ। तर हामी क्षमा दिन्छौँ र त्यो कुरा बिर्सिहाल्छौँ। फेरि एक चोटि घाउको उदाहरण विचार गरौँ। कुनै-कुनै घाउ गहिरो हुने भएकोले अस्पताल नै गएर टाँका र ब्याण्डेज लगाउनुपर्ने हुन सक्छ। यस्तो घाउलाई कोट्याइरह्‍यौँ भने हामीलाई झन्‌ धेरै पीडा हुन्छ। अरूले हाम्रो असाध्यै चित्त दुखाउँदा त्यो कुरा सम्झिरहनु भनेको घाउ कोट्याइरहनुजस्तै हो। त्यसो गर्दा आफैलाई पीडा हुन्छ। निष्कर्षमा भन्‍नुपर्दा, मनमा रिस पालिराख्नु भनेको आफैलाई चोट पुऱ्‍याउनु हो। त्यसैले लेवी १९:१८ मा दिइएको आज्ञा पालन गर्नु साँच्चै बुद्धिमानी हो!

१६. लेवी १९:३३, ३४ अनुसार इस्राएलीहरूले विदेशीहरूसित कस्तो व्यवहार गर्नुपर्थ्यो? यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

१६ यहोवाले इस्राएलीहरूलाई आफ्नै जाति र राष्ट्रका मानिसहरूलाई मात्र होइन तर अरूलाई पनि प्रेम गर्नू भन्‍ने आज्ञा दिनुभयो। यो आज्ञा लेवी १९:३३, ३४ मा पाउँछौँ। (पढ्‌नुहोस्‌।) इस्राएलीहरूले आफूमाझ बसिरहेका विदेशीहरूलाई “स्वदेशीलाई जस्तो” व्यवहार गर्नुपर्थ्यो र तिनीहरूलाई आफूलाई जस्तै “माया” गर्नुपर्थ्यो। उदाहरणको लागि, तिनीहरूले विदेशीहरू र गरिबहरूलाई सिलाबाला बटुल्न दिनुपर्थ्यो। (लेवी १९:९, १०) विदेशीलाई आफूलाई जस्तै प्रेम गर्नू भन्‍ने सिद्धान्त आज हामीलाई पनि लागू हुन्छ। (लुका १०:३०-३७) कसरी? हाम्रो देशमा पनि विदेशबाट आएर बसेका व्यक्‍तिहरू छन्‌। कोही-कोही त हाम्रै टोलछिमेकमा होलान्‌। हामीले तिनीहरू सबैलाई आदर गर्नुपर्छ।

लेवी अध्याय १९ मा उल्लेख नगरिएको एउटा महत्त्वपूर्ण काम

१७-१८. (क) लेवी १९:२ र १ पत्रुस १:१५ ले हामीलाई कस्तो प्रोत्साहन दिन्छ? (ख) प्रेषित पत्रुसले हामीलाई कुन महत्त्वपूर्ण काम गर्न प्रोत्साहन दिए?

१७ लेवी १९:२ र १ पत्रुस १:१५ ले परमेश्‍वरका जनहरूलाई पवित्र हुन सल्लाह दिन्छ। लेवी अध्याय १९ का अरू थुप्रै पदहरूले हामीलाई परमेश्‍वरको अनुमोदन पाउन के गर्नुपर्छ भनेर बुझ्न मदत गर्छ। यो र यसअघिको लेखमा हामीले गर्न हुने र गर्न नहुने कामहरूबारे बुझ्न मदत दिने केही पदहरू छलफल गऱ्‍यौँ।b यी सिद्धान्तहरू अहिले पनि लागू हुन्छ भनेर ख्रिष्टियन ग्रीक धर्मशास्त्रले जोड दिन्छ। तर प्रेषित पत्रुसले अर्को एउटा कुरा पनि बताएका छन्‌।

१८ हामी विभिन्‍न आध्यात्मिक गतिविधिमा भाग लिन्छौँ अनि थुप्रै असल कामहरू गर्छौँ। तर पत्रुसले तीमध्ये एउटालाई विशेष जोड दिए। तिनले सारा चालचलनमा पवित्र हुन प्रोत्साहन दिनुअघि यो सल्लाह दिए: “कडा मेहनत गर्नको लागि आफ्नो दिमागलाई तयार पार।” (१ पत्रु. १:१३, १५) तिनले कुन काममा कडा मेहनत गर्न सल्लाह दिँदै थिए? ख्रिष्टका अभिषिक्‍त भाइहरूले यहोवाका “असल गुणहरूबारे चारैतिर घोषणा” गर्नेछन्‌ भनेर पत्रुसले बताए। (१ पत्रु. २:९) वास्तवमा हामी सबैले यस महत्त्वपूर्ण काममा भाग लिने ठूलो सम्मान पाएका छौँ। परमेश्‍वरका पवित्र मानिसहरूको रूपमा नियमित तवरमा अरूलाई सुसमाचार सुनाउनु र जोसका साथ सिकाउनु ठूलो सुअवसर हो। (मर्कु. १३:१०) लेवी अध्याय १९ मा पाइने सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्दा हामीले यहोवा र अरू मानिसलाई प्रेम गरेको अनि सारा चालचलनमा “पवित्र” हुन चाहेको देखाइरहेका हुन्छौँ।

लेवी अध्याय १९ बाट हामीले के सिक्यौँ?

  • शारीरिक रूपमा अशक्‍त व्यक्‍तिहरूप्रति दयालु व्यवहार गर्नेबारे

  • सबै कुरामा इमानदार हुनेबारे

  • अरूलाई प्रेम देखाउनेबारे

गीत १११ हामी आनन्दित हुनुको कारण

a ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनन्‌। तर हामीले गर्न हुने र गर्न नहुने थुप्रै कुराबारे व्यवस्थाले बताउँछ। ती कुराहरूबारे सिक्यौँ भने अरूलाई प्रेम देखाउन अनि परमेश्‍वरलाई खुसी बनाउन सक्छौँ। यस लेखमा लेवी अध्याय १९ बाट सिक्न सक्ने केही पाठहरूबारे छलफल गर्नेछौँ।

b यी लेखहरूमा छलफल नगरिएका पदहरूमा पक्षपात नगर्ने, निन्दा नगर्ने, रगत नखाने अनि तन्त्रमन्त्र, भावी बताउने र अवैध यौनसम्बन्धजस्ता कुराहरूबाट अलग्गै बस्ने विषयमा चर्चा गरिएको छ।—लेवी १९:१५, १६, २६-२९, ३१.—यस अङ्‌कको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

c तस्बिरको व्याख्या: एक साक्षी बहिरा भाइलाई डाक्टरसित कुराकानी गर्न मदत गर्छन्‌।

d तस्बिरको व्याख्या: रङरोगनको व्यवसाय गर्ने एक भाइ कामदारलाई तलब दिन्छन्‌।

e तस्बिरको व्याख्या: एउटी बहिनी सानो घाउलाई सजिलै बिर्सन सक्छिन्‌। तर ठूलो घाउ हुँदा पनि के तिनले त्यसै गर्नेछिन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने