प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 जनवरी pp. २०-२५
  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अभिषिक्‍त जनहरू स्मरणार्थमा किन उपस्थित हुन्छन्‌?
  • अरू भेडा स्मरणार्थमा किन उपस्थित हुन्छन्‌?
  • हामी सबै किन स्मरणार्थमा उपस्थित हुन्छौँ?
  • स्मरणार्थमा उपस्थित हुँदा हामी कस्तो लाभ उठाउँछौँ?
  • अरू भेडाको ठूलो भीडले परमेश्‍वर र ख्रिष्टको प्रशंसा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • स्मरणार्थ उत्सवले हामीलाई एकतामा बाँध्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 जनवरी pp. २०-२५

अध्ययन लेख ४

हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?

“मेरो सम्झनामा यो गर्ने गर।”—लुका २२:१९.

गीत २० एक मात्र प्यारो छोरा दियौ

परिचयa

१-२. (क) आफूले गुमाएका व्यक्‍तिहरूलाई हामी विशेषगरि कहिले सम्झन्छौँ? (ख) आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले कुन कुराको सुरुवात गर्नुभयो?

हामीले माया गरेका व्यक्‍तिहरूको मृत्यु भएको जति नै लामो समय भइसके तापनि हामी तिनीहरूलाई सम्झिरहन्छौँ। अझ विशेषगरि तिनीहरूको मृत्यु भएको दिन हामी तिनीहरूलाई झलझली सम्झन्छौँ।

२ हामी हरेक वर्ष येसु ख्रिष्टको मृत्युको वार्षिकी मनाउन संसारभरिका लाखौँ मानिससित एकसाथ भेला हुन्छौँ किनभने हामी उहाँलाई धेरै माया गर्छौँ। (१ पत्रु. १:८) उहाँले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन आफ्नो जीवन फिरौतीको रूपमा चढाउनुभयो। (मत्ति २०:२८) येसु आफ्ना चेलाहरूले उहाँको मृत्युको सम्झना गरेको चाहनुहुन्थ्यो। त्यसैले आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात उहाँले एउटा विशेष उत्सवको सुरुवात गर्नुभयो र यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्ने गर।”—लुका २२:१९.

३. यस लेखमा हामी के छलफल गर्नेछौँ?

३ ख्रिष्टको मृत्युको स्मरणार्थमा उपस्थित हुनेहरूमध्ये थोरैले मात्र स्वर्गमा जीवन पाउने आशा राखेका छन्‌। तर यसै पृथ्वीमा जीवन बिताउने आशा राखेका लाखौँ व्यक्‍ति पनि त्यस उत्सवमा उपस्थित हुन्छन्‌। यस लेखमा यी दुवै समूह हरेक वर्ष स्मरणार्थमा उपस्थित हुनुका कारणहरू बुझ्नेछौँ। साथै यस उत्सवमा उपस्थित हुँदा हामीलाई कस्ता फाइदाहरू हुन्छन्‌ भनेर बुझ्नेछौँ। सबैभन्दा पहिला, यस उत्सवमा अभिषिक्‍त जनहरू किन उपस्थित हुन्छन्‌ भनेर केही कारण बुझौँ।

अभिषिक्‍त जनहरू स्मरणार्थमा किन उपस्थित हुन्छन्‌?

४. स्मरणार्थमा अभिषिक्‍त जनहरू किन रोटी र दाखमद्य खान्छन्‌?

४ हरेक वर्ष स्मरणार्थमा अभिषिक्‍त जनहरूले रोटी र दाखमद्य खान्छन्‌। तिनीहरूले रोटी र दाखमद्य खानु किन उचित छ? यसको जवाफ पाउन येसुको मृत्यु हुनुभन्दा अघिल्लो रात के भएको थियो, विचार गरौँ। निस्तार चाड मनाइसकेपछि येसुले एउटा नयाँ उत्सवको सुरुवात गर्नुभयो, जसलाई प्रभुको साँझको भोज भनिन्छ। उहाँले आफ्ना ११ जना वफादार प्रेषितलाई रोटी र दाखमद्य दिनुभयो अनि ती खाओ र पिओ भन्‍नुभयो। त्यतिबेला येसुले दुई वटा करारबारे पनि बताउनुभयो। एउटा हो, नयाँ करार अनि अर्को राज्य करार।b (लुका २२:१९, २०, २८-३०) यी करारहरूले गर्दा ती प्रेषितहरू र केही सीमित व्यक्‍तिहरूको लागि स्वर्गमा राजा र पुजारी बन्‍ने बाटो खुल्यो। (प्रका. ५:१०; १४:१) यी दुवै करारमा बाँधिएका अभिषिक्‍त जनहरूमध्ये जो यस पृथ्वीमा बाँकी छन्‌, तिनीहरूले मात्र स्मरणार्थमा रोटी र दाखमद्य खान्छन्‌।

५. अभिषिक्‍त जनहरूले आफ्नो आशाबारे के बुझेका छन्‌?

५ अभिषिक्‍त जनहरू स्मरणार्थमा उपस्थित हुनुको अर्को कारण पनि छ। त्यो हो, तिनीहरूले आफ्नो आशाबारे मनन गर्ने मौका पाउँछन्‌। यहोवाले तिनीहरूलाई विशेष आशा दिनुभएको छ। तिनीहरूले स्वर्गमा अमरता र अविनाशी रूप धारण गर्नेछन्‌। तिनीहरूले फेरि जीवित हुनुभएका येसु ख्रिष्ट र १ लाख ४४ हजारमा पर्ने बाँकी सदस्यहरूसित मिलेर स्वर्गमा शासन गर्नेछन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले आफ्नै आँखाले यहोवालाई देख्नेछन्‌। (१ कोरि. १५:५१-५३; १ युह. ३:२) यी अभिषिक्‍त जनहरूले स्वर्गमा यस्ता सुअवसरहरू पाउनेछन्‌। तर स्वर्गमा प्रवेश पाउन मृत्युसम्मै वफादार रहनुपर्छ भन्‍ने कुरा पनि तिनीहरूले बुझेका छन्‌। (२ तिमो. ४:७, ८) तिनीहरू स्वर्गमा जीवन बिताउने आफ्नो आशाबारे सोच्दा रमाउँछन्‌। (ति. २:१३) त्यसोभए “अरू भेडा”-बारे के भन्‍न सकिन्छ? (युह. १०:१६) तिनीहरू स्मरणार्थमा किन उपस्थित हुन्छन्‌?

अरू भेडा स्मरणार्थमा किन उपस्थित हुन्छन्‌?

६. हरेक वर्ष अरू भेडा स्मरणार्थमा किन उपस्थित हुन्छन्‌?

६ अरू भेडा स्मरणार्थमा उपस्थित हुन पाउँदा रमाउँछन्‌। तर तिनीहरूले रोटी र दाखमद्य खाँदैनन्‌। पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूलाई स्मरणार्थमा उपस्थित हुन १९३८ मा पहिलो चोटि तोकेरै निम्तो दिइएको थियो। मार्च १, १९३८ को प्रहरीधरहरा-मा यस्तो लेखिएको थियो: “[अरू भेडा] यस्तो सभामा उपस्थित हुनु र त्यहाँ के-के हुन्छ भनी अवलोकन गर्नु बिलकुलै सही र उचित हो। . . . यो तिनीहरूको लागि खुसीको क्षण हो र वास्तवमा हुनुपर्ने पनि त्यस्तै हो।” जसरी विवाह समारोहमा उपस्थित हुन पाउँदा पाहुनाहरू खुसी हुन्छन्‌, त्यसरी नै अरू भेडा स्मरणार्थमा उपस्थित हुन पाउँदा खुसी हुन्छन्‌।

७. अरू भेडा स्मरणार्थमा दिइने भाषण सुन्‍न किन उत्कट प्रतीक्षा गर्छन्‌?

७ स्मरणार्थमा उपस्थित हुँदा अरू भेडाले पनि आफ्नो आशाबारे मनन गर्ने मौका पाउँछन्‌। तिनीहरू स्मरणार्थमा दिइने भाषण सुन्‍न उत्कट प्रतीक्षा गर्छन्‌। किनभने त्यस भाषणमा येसु ख्रिष्ट र उहाँका १ लाख ४४ हजार सहशासकले हजार वर्षीय शासनको दौडान वफादार मानिसहरूको लागि के-के गर्नुहुनेछ भनेर जोड दिइन्छ। येसु ख्रिष्टको नेतृत्वमा ती सहशासकहरूले पृथ्वीलाई सुन्दर बगैँचा बनाउन र आज्ञाकारी मानिसहरूलाई त्रुटिरहित हुन मदत गर्नेछन्‌। स्मरणार्थमा उपस्थित हुने अरू भेडाका लाखौँ व्यक्‍ति यसैया ३५:५, ६; ६५:२१-२३ र प्रकाश २१:३, ४ जस्ता भविष्यवाणीहरूको पूर्तिबारे कल्पना गर्न पाउँदा रमाउँछन्‌। आफू र आफूले माया गरेका व्यक्‍तिहरू नयाँ संसारमा जीवन बिताइरहेको कल्पना गर्दा भविष्यको लागि तिनीहरूको आशा र सधैँभरि यहोवाको सेवा गर्ने अठोट अझ बलियो हुन्छ।—मत्ति २४:१३; गला. ६:९.

८. अरू भेडा स्मरणार्थमा उपस्थित हुनुको अर्को कारण के हो?

८ अरू भेडा स्मरणार्थमा उपस्थित हुनुको अर्को कारण पनि छ। तिनीहरू अभिषिक्‍त जनहरूलाई माया गरेको र साथ दिएको देखाउन चाहन्छन्‌। परमेश्‍वरको वचनले अभिषिक्‍त जनहरू र पृथ्वीमा जीवन बिताउने आशा भएकाहरू मिलेर काम गर्नेछन्‌ भनेर भविष्यवाणी गरेको थियो। आउनुहोस्‌, केही भविष्यवाणी विचार गरौँ।

९. जकरिया ८:२३ अनुसार अरू भेडाले अभिषिक्‍त जनहरूबारे कस्तो महसुस गर्छन्‌?

९ जकरिया ८:२३ पढ्‌नुहोस्‌। यस भविष्यवाणीमा अरू भेडाले अभिषिक्‍त भाइबहिनीबारे कस्तो महसुस गर्छन्‌ भनेर एकदमै सुन्दर ढङ्‌गमा व्याख्या गरिएको छ। यस पदमा प्रयोग गरिएको “एक जना यहुदी” र “तपाईँहरू” भन्‍ने दुवै अभिव्यक्‍तिले एउटै समूहलाई अर्थात्‌ यस पृथ्वीमा बाँकी भएका अभिषिक्‍त जनहरूलाई बुझाउँछ। (रोमी २:२८, २९) “विभिन्‍न भाषा बोल्ने जातिजातिका दस जना मानिसले” अरू भेडालाई बुझाउँछ। तिनीहरू अभिषिक्‍त जनहरूलाई ‘च्याप्प समात्छन्‌।’ भन्‍नुको मतलब, तिनीहरू अभिषिक्‍त जनहरूसँगै मिलेर यहोवाको उपासना गर्छन्‌। त्यसैले स्मरणार्थमा उपस्थित भएर तिनीहरूले अभिषिक्‍त जनहरूसित घनिष्ठ सम्बन्ध भएको कुरा देखाउँछन्‌।

१०. इजकिएल ३७:१५-१९, २४, २५ को भविष्यवाणी यहोवाले कसरी पूरा गर्नुभएको छ?

१० इजकिएल ३७:१५-१९, २४, २५ पढ्‌नुहोस्‌। यस भविष्यवाणीअनुसार यहोवाले अभिषिक्‍त जन र अरू भेडालाई एउटा अटुट बन्धनमा बाँध्नुहुन्छ। यस भविष्यवाणीमा दुइटा लौरोबारे बताइएको छ। एउटा लौरोमा “यहुदाको लागि” (इस्राएलका राजाहरू यही कुलबाट छानिन्थे) भनेर लेखिएको छ र यसले स्वर्गमा जीवन बिताउने आशा भएकाहरूलाई सङ्‌केत गर्छ। अर्कोचाहिँ “एप्रैमको लौरो” हो र त्यसले पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूलाई सङ्‌केत गर्छ।c यहोवाले यी दुई समूहलाई “एउटै लौरो” बनाउनुहुनेछ। यसको मतलब हो, तिनीहरू येसु ख्रिष्टलाई राजाको रूपमा स्विकारेर एकताबद्ध भई सेवा गर्छन्‌। हरेक वर्ष अभिषिक्‍त जनहरू र अरू भेडा दुइटा छुट्टाछुट्टै समूहको रूपमा होइन तर “एकै जना गोठालोका” अनि “एउटै बगालको” रूपमा स्मरणार्थमा उपस्थित हुन्छन्‌।—युह. १०:१६.

११. मत्ति २५:३१-३६, ४० मा उल्लेख गरिएको “भेडा”-ले ख्रिष्टका भाइहरूलाई कसरी साथ दिन्छन्‌?

११ मत्ति २५:३१-३६, ४० पढ्‌नुहोस्‌। यस उदाहरणमा प्रयोग गरिएको “भेडा”-ले अन्तको समयमा बाँचिरहेका धर्मी व्यक्‍तिहरूलाई बुझाउँछ, जसले यसै पृथ्वीमा जीवन बिताउने आशा राखेका छन्‌। तिनीहरूलाई बाइबलमा अरू भेडा पनि भनिएको छ। तिनीहरूले यस पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त भाइहरूलाई एउटा ठूलो जिम्मेवारी पूरा गर्न वफादार भई साथ दिन्छन्‌। त्यो हो, संसारभरि सुसमाचार सुनाउने र चेला बनाउने।—मत्ति २४:१४; २८:१९, २०.

१२-१३. अरू भेडाले अरू के-कस्ता तरिकामा ख्रिष्टका भाइहरूलाई साथ दिएको देखाउँछन्‌?

१२ हरेक वर्ष स्मरणार्थअघिका हप्ताहरूमा ठूलो भीड मानिसहरूलाई स्मरणार्थको निम्तो दिने विश्‍वव्यापी अभियानमा पूरापूर भाग लिन्छन्‌। यसरी तिनीहरूले ख्रिष्टका भाइहरूलाई साथ दिएको देखाउँछन्‌। (“के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।) हुनत धेरैजसो मण्डलीमा स्मरणार्थमा रोटी र दाखमद्य खानेहरू कोही पनि छैनन्‌। तैपनि अरू भेडाले स्मरणार्थको लागि आवश्‍यक प्रबन्ध मिलाउँछन्‌। यसरी ख्रिष्टका भाइहरूलाई साथ दिन पाउँदा अरू भेडा रमाउँछन्‌। तिनीहरूले अभिषिक्‍त भाइहरूको लागि जे-जति गर्छन्‌, त्यो येसुले आफैलाई गरेको ठान्‍नुहुन्छ भनेर अरू भेडालाई थाह छ।—मत्ति २५:३७-४०.

१३ हाम्रो आशा जुनसुकै भए तापनि स्मरणार्थमा उपस्थित हुनुका अरू कस्ता कारणहरू छन्‌?

येसु र उहाँका वफादार प्रेषितहरू प्रभुको साँझको भोज मनाउँदै हुनुहुन्छ।

के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?

स्मरणार्थअघि

  • यस महत्त्वपूर्ण उत्सवमा अरूलाई निम्तो दिने अभियानमा पूरापूर भाग लिनुहोस्‌। तपाईँ क-कसलाई निम्तो दिन चाहनुहुन्छ, त्यसको सूची बनाउनुहोस्‌।

  • स्मरणार्थको बेला तपाईँ सहायक अग्रगामीको रूपमा सेवा गर्न सक्नुहुन्छ कि भनेर प्रार्थनापूर्वक विचार गर्नुहोस्‌।

  • स्मरणार्थ, फिरौतीको बलिदान अनि यहोवा र येसुले हामीलाई देखाउनुभएको प्रेमप्रति कृतज्ञता बढाउने लेखहरू र अन्य सामग्री फेरि हेर्नुहोस्‌। उदाहरणको लागि, अप्रिल २०२१ अङ्‌कको प्रहरीधरहरा-मा भएको “फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌” अध्ययन लेख र फेब्रुअरी २०१७ अङ्‌कको प्रहरीधरहरा-मा भएको “फिरौतीको बलिदान—बुबाबाट पाएको ‘उत्तम उपहार’” अध्ययन लेख हेर्नुहोस्‌।

  • दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा दिइएको स्मरणार्थ बाइबल पढाइको तालिकाअनुसारै पढ्‌नुहोस्‌। येसुले पृथ्वीमा बिताउनुभएका अन्तिम दिनहरू, उहाँको मृत्यु र उहाँ फेरि जीवित हुनुभएको घटनासँग सम्बन्धित बाइबल विवरणहरूमा मनन गर्न समय निकाल्नुहोस्‌।

स्मरणार्थको साँझ

  • यस उत्सवमा आउने पाहुनाहरू र निष्क्रिय व्यक्‍तिहरूलाई न्यानो स्वागत गर्न छिट्टै पुग्नुहोस्‌।

  • स्मरणार्थ भाषण ध्यान दिएर सुन्‍नुहोस्‌। वक्‍ताले बाइबल पदहरू पढेर त्यसको व्याख्या गर्दा आफ्नो बाइबलमा हेर्नुहोस्‌।

  • कार्यक्रम सिद्धिएपछि कोही एक जना पाहुनासित कुराकानी गर्ने प्रयास गर्नुहोस्‌ र तिनका प्रश्‍नहरू छन्‌ भने त्यसको जवाफ दिनुहोस्‌। तिनलाई बाइबलको कुरामा चासो छ भने तपाईँले वा अरू कसैले फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

स्मरणार्थपछि

चासो देखाउने व्यक्‍तिलाई भेट्‌न जानुहोस्‌। तिनलाई सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुहोस्‌।

एक दम्पती घरघरको साक्षीकार्यमा एक पुरुषलाई “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” पुस्तिका दिँदै छ।

हामी सबै किन स्मरणार्थमा उपस्थित हुन्छौँ?

१४. यहोवा र येसुले हामीलाई कसरी अपार प्रेम देखाउनुभएको छ?

१४ यहोवा र येसुले देखाउनुभएको प्रेमको लागि हामी उहाँहरूप्रति कृतज्ञ छौँ। यहोवाले हामीलाई थुप्रै तरिकामा प्रेम देखाउनुभएको छ तर तीमध्ये एउटाचाहिँ उल्लेखनीय छ। हाम्रो लागि दुःख भोग्न र मर्न आफ्नो प्यारो छोरा पठाउनुभएर उहाँले नि:स्वार्थ प्रेम देखाउनुभएको छ। (युह. ३:१६) येसुले पनि हाम्रो लागि राजीखुसीले आफ्नो जीवन दिनुभएर अपार प्रेम देखाउनुभएको छ। (युह. १५:१३) यहोवा र येसुले देखाउनुभएको प्रेमको बदलामा हामी उहाँहरूलाई केही पनि दिन सक्दैनौँ। तर हामी दिनदिनै कसरी जीवन बिताउँछौँ, त्यसबाट उहाँहरूप्रति कृतज्ञ भएको देखाउन सक्छौँ। (कल. ३:१५) त्यसैले स्मरणार्थमा उपस्थित हुँदा उहाँहरूले देखाउनुभएको प्रेम सम्झने र हामीले पनि उहाँहरूलाई प्रेम गरेको देखाउने मौका पाउँछौँ।

१५. अभिषिक्‍त जनहरू र अरू भेडा फिरौतीको बलिदानको लागि किन असाध्यै कृतज्ञ छन्‌?

१५ हामी फिरौतीको बलिदानको लागि असाध्यै कृतज्ञ छौँ। (मत्ति २०:२८) अभिषिक्‍त जनहरू फिरौतीको बलिदानको मोल गर्छन्‌ किनभने यसले गर्दा नै तिनीहरूले स्वर्गमा जीवन बिताउने विशेष आशा पाएका छन्‌। ख्रिष्टको बलिदानमा विश्‍वास गरेको हुनाले परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराउनुहुन्छ र आफ्नो धर्मपुत्रको रूपमा स्विकार्नुहुन्छ। (रोमी ५:१; ८:१५-१७, २३) अरू भेडा पनि फिरौतीको बलिदानको लागि कृतज्ञ छन्‌। ख्रिष्टको बलिदानमा विश्‍वास गरेकोले तिनीहरूले परमेश्‍वरसामु सफा अन्तस्करण राख्न, पवित्र सेवा चढाउन र ‘महासङ्‌कष्ट पार गर्ने’ आशा राख्न सकेका छन्‌। (प्रका. ७:१३-१५) अभिषिक्‍त जनहरू र अरू भेडाले फिरौतीको बलिदानको लागि कृतज्ञ भएको देखाउने एउटा तरिका हरेक वर्ष स्मरणार्थमा उपस्थित भएर हो।

१६. हामी स्मरणार्थमा उपस्थित हुनुको अर्को कारण के हो?

१६ हामी स्मरणार्थमा उपस्थित हुनुको अर्को कारण हो, हामी येसुको आज्ञा पालन गर्न चाहन्छौँ। भविष्यको लागि हाम्रो आशा जुनसुकै भए तापनि येसुले स्मरणार्थ उत्सवको सुरुवात गर्नुहुँदा दिनुभएको यो आज्ञा हामी प्रत्येकले पालन गर्न चाहन्छौँ: “मेरो सम्झनामा यो गर्ने गर।”—१ कोरि. ११:२३, २४.

स्मरणार्थमा उपस्थित हुँदा हामी कस्तो लाभ उठाउँछौँ?

१७. स्मरणार्थमा उपस्थित हुँदा हामी यहोवासित कसरी अझ नजिक हुन्छौँ?

१७ हामी यहोवासित अझ नजिक हुन्छौँ। (याकु. ४:८) यस लेखमा सिकेझैँ स्मरणार्थमा उपस्थित हुँदा यहोवाले दिनुभएको आशाबारे सोच्ने र उहाँले हामीलाई देखाउनुभएको अपार प्रेमबारे मनन गर्ने मौका पाउँछौँ। (यर्मि. २९:११; १ युह. ४:८-१०) भविष्यको लागि हाम्रो पक्का आशा र यहोवाले देखाउनुभएको अटल प्रेमबारे मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम गहिरो हुन्छ र उहाँसितको सम्बन्ध अझ बलियो हुन्छ।—रोमी ८:३८, ३९.

१८. येसुको उदाहरणमा मनन गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौँ?

१८ हामी येसुको उदाहरण अनुकरण गर्न उत्प्रेरित हुन्छौँ। (१ पत्रु. २:२१) स्मरणार्थअघिका दिनहरूमा हामी येसुले पृथ्वीमा बिताउनुभएको अन्तिम हप्ता, उहाँको मृत्यु र उहाँ फेरि जीवित हुनुभएको घटनासँग सम्बन्धित बाइबल विवरणहरूमा विशेष ध्यान दिन्छौँ। अनि स्मरणार्थमा दिइने भाषणले येसुले हामीलाई देखाउनुभएको प्रेमबारे सम्झना गराउँछ। (एफि. ५:२; १ युह. ३:१६) येसुको आत्मत्यागी जीवनबारे पढ्‌दा र त्यसमा मनन गर्दा हामी पनि उहाँले ‘जसरी जीवन बिताउनुभएको थियो, त्यसरी नै जीवन बिताइरहन’ उत्प्रेरित हुन्छौँ।—१ युह. २:६.

१९. हामी कसरी परमेश्‍वरको प्रेम पाउन लायक भइरहन सक्छौँ?

१९ परमेश्‍वरको प्रेम पाउन लायक भइरहने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ। (यहु. २०, २१) यहोवाको आज्ञा पालन गर्न, उहाँको नाम पवित्र पार्न र उहाँको हृदयलाई खुसी बनाउन सक्दो प्रयास गरेर हामी उहाँको प्रेम पाउन लायक भइरहन सक्छौँ। (हितो. २७:११; मत्ति ६:९; १ युह. ५:३) स्मरणार्थमा उपस्थित हुँदा हरेक दिन यहोवालाई मनपर्ने तरिकामा जीवन बिताउने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ। त्यस्तो जीवनशैलीद्वारा एक अर्थमा हामीले यसो भनिरहेका हुन्छौँ: ‘म सधैँभरि तपाईँको प्रेम पाउन लायक भइरहन चाहन्छु।’

२०. हामी स्मरणार्थमा उपस्थित हुनुका कस्ता महत्त्वपूर्ण कारणहरू छन्‌?

२० हाम्रो आशा स्वर्गमा जीवन बिताउने होस्‌ वा यसै पृथ्वीमा, हामी स्मरणार्थमा उपस्थित हुनुपर्ने महत्त्वपूर्ण कारणहरू छन्‌। हरेक वर्ष स्मरणार्थमा उपस्थित हुँदा हामी येसु ख्रिष्टको मृत्युबारे सम्झन्छौँ, जसलाई हामी धेरै प्रेम गर्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले फिरौतीको बलिदानको रूपमा आफ्नो छोरा दिनुभएर देखाउनुभएको अपार प्रेमबारे सम्झन्छौँ। यसपालि स्मरणार्थ उत्सव शुक्रबार, अप्रिल १५, २०२२ मा मनाइनेछ। हामी यहोवा र येसुलाई प्रेम गर्छौँ। त्यसैले येसुको मृत्युको स्मरणार्थमा उपस्थित हुनु एकदमै महत्त्वपूर्ण छ।

स्मरणार्थमा . . .

  • अभिषिक्‍त जनहरू किन उपस्थित हुन्छन्‌?

  • अरू भेडा किन उपस्थित हुन्छन्‌?

  • उपस्थित हुँदा हामी कस्तो लाभ उठाउँछौँ?

गीत १६ यहोवा र उहाँको पुत्रको प्रशंसा

a हाम्रो आशा स्वर्ग जाने होस्‌ वा यसै पृथ्वीमा जीवन बिताउने, हामी हरेक वर्ष स्मरणार्थमा उपस्थित हुन पाउँदा रमाउँछौँ। यस लेखमा हामी स्मरणार्थमा किन उपस्थित हुन्छौँ र उपस्थित हुँदा कस्ता फाइदाहरू हुन्छन्‌ भन्‍ने विषयमा बाइबलबाटै छलफल गर्नेछौँ।

b नयाँ करार र राज्य करारबारे थप जानकारीको लागि अक्टोबर १५, २०१४ अङ्‌कको प्रहरीधरहरा-मा भएको “तिमीहरू ‘पूजाहारीहरूको एक राज्य’ हुनेछौ” शीर्षकको लेखको पृष्ठ १५-१७ हेर्नुहोस्‌।

c इजकिएल अध्याय ३७ मा पाइने दुइटा लौरोको भविष्यवाणीबारे थप जानकारीको लागि यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ! किताबको पृष्ठ १३०-१३५, अनुच्छेद ३-१७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने