प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 फेब्रुअरी pp. १४-१९
  • के तपाईँको सल्लाहले “हृदयलाई प्रसन्‍न बनाउँछ”?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँको सल्लाहले “हृदयलाई प्रसन्‍न बनाउँछ”?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सल्लाह दिनुको मनसाय के हुनुपर्छ?
  • के सल्लाह दिनु साँच्चै आवश्‍यक छ?
  • कसले सल्लाह दिनुपर्छ?
  • तपाईँ कसरी प्रभावकारी सल्लाह दिन सक्नुहुन्छ?
  • हामीले के सिक्यौँ?
  • ‘बुद्धिमान्‌ मानिसले के भन्छ, सुन’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • प्राचीनहरू आफ्नो जिम्मेवारीको संरक्षण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • सल्लाह सुन्‍नुहोस्‌, अनुशासन स्वीकार्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • हामीले कसरी सल्लाह दिनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 फेब्रुअरी pp. १४-१९

अध्ययन लेख ८

के तपाईँको सल्लाहले “हृदयलाई प्रसन्‍न बनाउँछ”?

“तेल र धूपले हृदयलाई प्रसन्‍न बनाउँछ अनि साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।”—हितो. २७:९.

गीत १०२ ‘कमजोरहरूलाई मदत गर’

परिचयa

१-२. सल्लाह दिने सन्दर्भमा एक भाइले के सिके?

धेरै वर्षअघि दुई जना एल्डर एउटी बहिनीलाई भेट्‌न गए, जो केही समयदेखि सभामा आएकी थिइनन्‌। तीमध्ये एक जना एल्डरले सभामा उपस्थित हुनु कत्ति महत्त्वपूर्ण छ भनेर बुझाउन थुप्रै बाइबल पद देखाए। तिनीहरू घरबाट निस्कँदै गर्दा ती बहिनीले यसो भनिन्‌: “तपाईँहरूले मेरो अवस्था पटक्कै बुझ्नुभएको छैन।” ती भाइहरूलाई आफूले राम्रो गरेजस्तो लागे तापनि यस भेटघाटबाट ती बहिनीलाई कुनै फाइदा भएन। किन? किनभने ती भाइहरूले तिनी कस्तो अवस्थाबाट गुज्रिरहेकी छिन्‌ भनेर बुझ्न प्रयासै गरेनन्‌।

२ ती बहिनीलाई बाइबल पदहरू देखाउने एल्डर त्यस घटनालाई सम्झँदै यसो भन्छन्‌: “मलाई त्यतिबेला ती बहिनीले कस्तो अनादर गरेको जस्तो लाग्यो। तर अहिले राम्ररी सोचविचार गर्दा मैले के बुझेँ भने तिनलाई तीनथुप्रो बाइबल पद देखाउनुको साटो केही महत्त्वपूर्ण प्रश्‍नहरू सोधेको भए हुन्थ्यो। जस्तै: ‘तपाईँको हालखबर कस्तो छ?’ ‘तपाईँलाई केही मदत चाहिएको छ कि?’” ती एल्डरले एउटा महत्त्वपूर्ण पाठ सिके। तिनी अहिले अरूको भावना बुझ्ने र अरूलाई मदत गर्ने मायालु गोठालो भएका छन्‌।

३. मण्डलीका क-कसले सल्लाह दिन सक्छन्‌?

३ आवश्‍यक पर्दा सल्लाह दिनु एल्डरहरूको जिम्मेवारी हो। तर कहिलेकाहीँ मण्डलीका अरू भाइबहिनीले पनि सल्लाह दिनुपर्ने हुन सक्छ। उदाहरणको लागि, कुनै भाइ वा बहिनीले आफ्नो साथीलाई बाइबलआधारित सल्लाह दिन सक्छन्‌। (भज. १४१:५; हितो. २५:१२) वृद्ध स्त्रीहरूले तितस २:३-५ मा दिइएका जस्ता विषयहरूमा युवतीहरूलाई सल्लाह दिन सक्छन्‌। आमाबुबाले अक्सर आफ्ना छोराछोरीलाई सल्लाह दिनुपर्ने र सच्याउनुपर्ने हुन्छ। हुनत यो लेख खासगरि एल्डरहरूको लागि तयार पारिएको हो। तर व्यावहारिक, प्रोत्साहनदायी र ‘हृदयलाई प्रसन्‍न बनाउने’ सल्लाह कसरी दिने भन्‍ने सन्दर्भमा यहाँ दिइएका सुझावहरूबाट हामी सबैले लाभ उठाउन सक्छौँ।—हितो. २७:९.

४. यस लेखमा हामी के छलफल गर्नेछौँ?

४ यस लेखमा हामी यी चार वटा प्रश्‍न छलफल गर्नेछौँ: (१) सल्लाह दिनुको मनसाय के हुनुपर्छ? (२) के सल्लाह दिनु साँच्चै आवश्‍यक छ? (३) कसले सल्लाह दिनुपर्छ? (४) तपाईँ कसरी प्रभावकारी सल्लाह दिन सक्नुहुन्छ?

सल्लाह दिनुको मनसाय के हुनुपर्छ?

५. एल्डरहरूले सही मनसायले सल्लाह दिँदा भाइबहिनीलाई त्यो स्विकार्न किन सजिलो हुन्छ? (१ कोरिन्थी १३:४, ७)

५ एल्डरहरू सबै भाइबहिनीलाई प्रेम गर्छन्‌ तर कहिलेकाहीँ कसैले गलत कदम चाल्न लागेका छन्‌ भने तिनलाई माया गरेकोले एल्डरहरू सल्लाह दिन्छन्‌। (गला. ६:१) तर तिनलाई सल्लाह दिनुअघि एल्डरहरूले पावलले प्रेमको विषयमा बताएका केही कुरामा मनन गर्नु बेस हुनेछ। पावलले भने: “प्रेम धीरजी र दयालु हुन्छ। . . . यसले सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ।” (१ कोरिन्थी १३:४, ७ पढ्‌नुहोस्‌।) एल्डरले यी पदहरूमा राम्ररी सोचविचार गरेका छन्‌ भने तिनले सल्लाह दिनुको मनसाय केलाउन र मायालु ढङ्‌गमा सल्लाह दिन सक्नेछन्‌। सल्लाह पाउने व्यक्‍तिले पनि एल्डरले आफूलाई साँच्चै माया गरेको महसुस गर्छन्‌ भने तिनलाई त्यो सल्लाह स्विकार्न सजिलो हुनेछ।—रोमी १२:१०.

६. पावलले कस्तो उदाहरण बसाले?

६ प्रेषित पावलले एल्डरहरूको लागि राम्रो उदाहरण बसाले। उदाहरणको लागि, थिस्सलोनिकाका भाइबहिनीलाई सल्लाहको खाँचो पर्दा सल्लाह दिन पावल हिचकिचाएनन्‌। तिनीहरूलाई लेखेका पत्रहरूको सुरुमा पावलले तिनीहरूले विश्‍वासको कारण गरेका कामहरू, प्रेमपूर्वक गरेको परिश्रम र तिनीहरूको सहनशीलताको प्रशंसा गरे। पावलले तिनीहरूको अवस्था पनि राम्ररी बुझेका थिए; तिनीहरूको जीवन सजिलो थिएन र तिनीहरूले खेदो भोगिरहेका थिए। (१ थिस्स. १:३; २ थिस्स. १:४) तिनले ती भाइबहिनी अरू ख्रिष्टियनहरूको लागि राम्रो उदाहरण भएका छन्‌ भनेर पनि बताए। (१ थिस्स. १:८, ९) पावलले यसरी प्रशंसा गरेको सुन्दा तिनीहरू एकदमै खुसी भएको हुनुपर्छ। पावल तिनीहरूलाई असाध्यै माया गर्थे भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसैले पावलले तिनीहरूलाई दुवै पत्रमा दिएको सल्लाह प्रभावकारी साबित भयो।—१ थिस्स. ४:१, ३-५, ११; २ थिस्स. ३:११, १२.

७. कसै-कसैले सल्लाह नस्विकार्नुको कारण के हुन सक्छ?

७ सही तरिकामा सल्लाह दिइएन भने के हुन सक्छ? एक जना अनुभवी एल्डरले यसो भने, “कसै-कसैले सल्लाह नस्विकार्नुको कारण सल्लाह नै गलत भएकोले त होइन बरु मायालु तरिकामा नदिइएकोले हुन सक्छ।” यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? दिक्क मानेर नभई प्रेमले उत्प्रेरित भएर सल्लाह दिँदा त्यो सल्लाह स्विकार्न सजिलो हुन्छ।

के सल्लाह दिनु साँच्चै आवश्‍यक छ?

८. सल्लाह दिनुअघि एल्डरले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

८ एल्डरहरूले सल्लाह दिन हतार गर्नु हुँदैन। सल्लाह दिनुअघि एल्डरले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘के मैले सल्लाह दिनु साँच्चै आवश्‍यक छ? तिनले गलत काम गरिरहेका छन्‌ भनेर के म पक्का छु? के तिनले बाइबलको कुनै आज्ञा उल्लङ्‌घन गरेका छन्‌? अथवा तिनले गरेको काम मलाई चित्त नबुझेको मात्र हो कि?’ एल्डरहरूले ‘बोल्न हतार नगर्नु’ बुद्धिमानी हो। (हितो. २९:२०) कुनै एल्डरले सल्लाह दिने विचार गरेका छन्‌ तर त्यो सल्लाह दिनु आवश्‍यक छ कि छैन भनेर पक्का छैनन्‌ भने तिनले यस विषयमा अर्को एल्डरको राय लिन सक्छन्‌।—२ तिमो. ३:१६, १७.

९. पहिरन र कोरीबाटीबारे सल्लाह दिने सन्दर्भमा हामी पावलबाट के सिक्न सक्छौँ? (१ तिमोथि २:९, १०)

९ एउटा अवस्था विचार गरौँ। मानौँ, एक जना एल्डरलाई कुनै भाइ वा बहिनीको पहिरन वा कोरीबाटी चित्त बुझेको छैन। यस्तो अवस्थामा ती एल्डरले आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छन्‌, ‘के मैले सल्लाह दिनुपर्ने कुनै धर्मशास्त्रीय कारण छ?’ तिनी अरूमाथि आफ्नो व्यक्‍तिगत धारणा लाद्‌न चाहँदैनन्‌। त्यसैले सल्लाह दिनु पर्ला कि नपर्ला भनेर पक्का गर्न अर्को एल्डर वा परिपक्व ख्रिष्टियनको राय माग्न सक्छन्‌। अनि पावलले पहिरन र कोरीबाटीबारे दिएको सल्लाह सँगै केलाउन सक्छन्‌। (१ तिमोथि २:९, १० पढ्‌नुहोस्‌।) पावलले ख्रिष्टियनहरूको पहिरन सुहाउँदो, भद्र र शालीन हुनुपर्छ भनेर बुझ्न मदत दिने केही सिद्धान्त बताए। तर तिनले यस्तो लुगा लगाउनु हुन्छ, यस्तो हुँदैन भनेर लामो सूची भने दिएनन्‌। बाइबलको सिद्धान्त उल्लङ्‌घन हुँदैन भने प्रत्येक ख्रिष्टियनले आफ्नो रुचिअनुसारको पहिरन र कोरीबाटी गर्न सक्छन्‌ भनेर पावलले बताए। त्यसैले एल्डरहरूले पहिला त्यस व्यक्‍तिको पहिरन वा कोरीबाटी शालीन र भद्र छ कि छैन, त्यो विचार गर्नुपर्छ। त्यसपछि मात्र तिनलाई सल्लाह दिनुपर्ने हो कि होइन भनेर निर्णय गर्न सक्छन्‌।

१०. अरूको छनौटलाई हामीले किन आदर गर्नुपर्छ?

१० दुई जना परिपक्व ख्रिष्टियनले फरक-फरक छनौट गर्न सक्छन्‌ तर त्यसमध्ये एउटा सही र अर्को गलत हो भन्‍ने होइन। हामीले के सही, के गलत भन्‍ने विषयमा आफ्नो धारणा अरू भाइबहिनीमाथि लाद्‌नु हुँदैन।—रोमी १४:१०.

कसले सल्लाह दिनुपर्छ?

११-१२. सल्लाह दिनुपर्दा एल्डरले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ र किन?

११ सल्लाह दिनु आवश्‍यक छ भनेर प्रस्ट भइसकेपछि अब प्रश्‍न उठ्‌छ, सल्लाह कसले दिने? कुनै विवाहित बहिनी वा नाबालिगलाई सल्लाह दिनुअघि एल्डरले तिनको परिवारको शिरसित कुरा गर्नुपर्छ। सायद ती शिर आफैले यो मामिला सुल्झाउन चाहलान्‌।b अथवा एल्डरले सल्लाह दिने बेला आफू पनि सँगै बस्न सकिन्छ कि भनेर तिनलाई आग्रह गर्न सक्छन्‌। अनुच्छेद ३ मा बताइएझैँ कुनै-कुनै अवस्थामा भने वृद्ध स्त्रीहरूले युवतीहरूलाई सल्लाह दिनु बेस हुन सक्छ।

१२ एल्डरले विचार पुऱ्‍याउनुपर्ने अर्को कुरा पनि छ। तिनले आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌, ‘के यो सल्लाह दिने सबैभन्दा उपयुक्‍त व्यक्‍ति म हुँ? अथवा अरू कसैले सल्लाह दिनु अझ राम्रो हो?’ उदाहरणको लागि, यदि कुनै व्यक्‍तिले आत्मसम्मानको कमीले गर्दा नकारात्मक भावनाहरूसित सङ्‌घर्ष गर्दै छन्‌ भने त्यस्तै अवस्था भोगिसकेका एल्डरले सल्लाह दिनु राम्रो हुन सक्छ। ती एल्डरले तिनको भावना राम्ररी बुझ्न सक्नेछन्‌ र तिनलाई सल्लाह स्विकार्न सजिलो हुनेछ। तर भाइबहिनीले बाइबलको स्तरअनुसार जीवन बिताउन कुनै छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखियो भने तिनीहरूलाई त्यस्तो छाँटकाँट गर्न प्रोत्साहन दिनु सबै एल्डरको जिम्मेवारी हो। त्यसैले एल्डरले त्यस व्यक्‍तिको जस्तै अवस्था भोगेका होऊन्‌ वा नहोऊन्‌, आवश्‍यक पर्दा सल्लाह दिन हिचकिचाउनु हुँदैन।

तपाईँ कसरी प्रभावकारी सल्लाह दिन सक्नुहुन्छ?

एक जना एल्डर सँगै साक्षीकार्यमा भाग लिएका जवान भाइको कुरा ध्यान दिएर सुन्दै छन्‌।

एल्डरहरू किन “सुन्‍नलाई सधैँ तयार” हुनुपर्छ? (अनुच्छेद १३-१४ हेर्नुहोस्‌)

१३-१४. एल्डरले ध्यान दिएर सुन्‍नु किन महत्त्वपूर्ण छ?

१३ सुन्‍न सधैँ तयार हुनुहोस्‌। सल्लाह दिनुअघि एल्डरले यस्ता कुराहरू विचार गर्नुपर्छ, ‘त्यस भाइको अवस्थाबारे मलाई के थाह छ? तिनको जीवनमा अहिले के भइरहेको छ? के तिनले मलाई थाह नभएका केही समस्या भोगिरहेका छन्‌? तिनलाई अहिले तुरुन्तै कस्तो मदत चाहिएको छ?’

१४ सल्लाह दिने सबैले याकुब १:१९ मा पाइने सिद्धान्त लागू गर्नुपर्छ। याकुबले यसो भने: “हरेक मानिस सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन अनि हतपती रिसाउनु हुँदैन।” कुनै एल्डरलाई आफूले सल्लाह दिन लागेको व्यक्‍तिको अवस्था राम्ररी बुझेको छु जस्तो लाग्न सक्छ तर के तिनले साँच्चै सबै कुरा बुझेका छन्‌ त? हितोपदेश १८:१३ यसो भन्छ: “जसले राम्ररी कुरा सुन्‍नुअघि नै जवाफ दिन्छ, उसले मूर्खता प्रकट गर्छ र आफ्नै बेइज्जती गर्छ।” आफूले सल्लाह दिन लागेको व्यक्‍तिसितै कुरा गरेर तिनको अवस्था बुझ्नु बुद्धिमानी हो। एल्डरले तिनको कुरा ध्यान दिएर सुन्‍नुपर्छ, आफै मात्र बोल्नु हुँदैन। यस लेखको सुरुमा उल्लेख गरिएका एल्डरले सिकेको पाठ सम्झनुहोस्‌। तिनले सुरुमै आफ्नो कुरा मात्र बताउनुको सट्टा त्यस बहिनीलाई ‘तपाईँको हालखबर कस्तो छ?’ ‘तपाईँलाई केही मदत चाहिएको छ कि?’ भनेर सोधेको भए कत्ति बेस हुन्थ्यो भनेर बुझे। त्यसैले एल्डरहरूले भाइबहिनीको अवस्था राम्ररी बुझ्न समय निकाल्दा तिनीहरूलाई अझ धेरै मदत र प्रोत्साहन दिन सक्नेछन्‌।

१५. एल्डरहरूले हितोपदेश २७:२३ को सिद्धान्त कसरी लागू गर्न सक्छन्‌?

१५ बगालको अवस्था राम्रोसँग बुझ्नुहोस्‌। हामीले यस लेखको सुरुमा सिकेझैँ प्रभावकारी सल्लाह दिनु भनेको केही बाइबल पद पढेर सुनाउनु वा दुई-चार वटा सुझाव दिनु मात्र होइन। भाइबहिनीले हामी तिनीहरूको ख्याल राख्छौँ, तिनीहरूको अवस्था बुझ्छौँ र तिनीहरूलाई मदत गर्न चाहन्छौँ भनेर महसुस गर्नुपर्छ। (हितोपदेश २७:२३ पढ्‌नुहोस्‌।) त्यसैले एल्डरहरूले भाइबहिनीसित घनिष्ठ मित्रता गाँस्न प्रयास गर्नुपर्छ।

ती एल्डर र जवान भाइ साइकलमा कतै जान लाग्दा हाँस्दै छन्‌ र खुसी देखिन्छन्‌।

एल्डरहरूले के गरे भने सल्लाह दिन सजिलो हुनेछ? (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. प्रभावकारी सल्लाह दिन एल्डरहरूले के गर्न सक्छन्‌?

१६ भाइबहिनीलाई एल्डरहरू भनेको आफूले कुनै काम बिगार्दा सल्लाह दिन आउने व्यक्‍तिहरू हुन्‌ भन्‍ने भान पर्न दिनु हुँदैन। बरु भाइबहिनीसित बेलाबेलामा कुरा गर्नु र तिनीहरूले समस्या भोग्दा चासो देखाउनु महत्त्वपूर्ण छ। एक अनुभवी एल्डर भन्छन्‌: “यसो गर्नुभयो भने भाइबहिनीसित राम्रो सम्बन्ध गाँस्न सक्नुहुनेछ र चाहिएको बेला सल्लाह दिन पनि सजिलो हुनेछ।” अनि सल्लाह पाउने व्यक्‍तिलाई त्यो स्विकार्न सजिलो हुनेछ।

ती एल्डर जवान भाइलाई बाइबलआधारित सल्लाह दिँदै छन्‌। जवान भाइलाई सल्लाह स्विकार्न गाह्रो लागिरहेको छ।

सल्लाह दिँदा एल्डरहरू किन धीरजी र दयालु हुनुपर्छ? (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. एल्डरहरू कस्तो अवस्थामा अझ धीरजी र दयालु हुनुपर्छ?

१७ धीरजी र दयालु हुनुहोस्‌। कसै-कसैले बाइबलबाट दिएको सल्लाह तुरुन्तै नस्विकार्न सक्छन्‌। त्यतिबेला एल्डरहरू अझ धीरजी र दयालु हुनुपर्छ। कसैले सल्लाह तुरुन्तै स्विकारेन वा लागू गरेन भने एल्डरहरूले झर्को मान्‍नु हुँदैन। येसुबारे यस्तो भविष्यवाणी गरिएको थियो: “तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌।” (मत्ति १२:२०) त्यसैले आफूले सल्लाह दिन लागेको व्यक्‍तिले त्यो सल्लाह दिइनुको कारण र लागू गर्नुपर्ने महत्त्व बुझ्न सकून्‌ भनेर एल्डरले आफ्नो व्यक्‍तिगत प्रार्थनामा यहोवालाई बिन्ती गर्न सक्छन्‌। सल्लाह पाउने व्यक्‍तिलाई पनि एल्डरले दिएको सल्लाहबारे सोच्न समय लाग्न सक्छ। यदि एल्डर धीरजी र दयालु छन्‌ भने सल्लाह पाउने व्यक्‍तिले सल्लाह कसरी दिइयो भन्‍ने कुरामा नभई कस्तो सल्लाह दिइयो, त्यसमा ध्यान दिन सक्नेछन्‌। तर सल्लाह सधैँ परमेश्‍वरको वचनमा आधारित हुनुपर्छ।

१८. (क) सल्लाह दिँदा हामीले कुन कुरा बिर्सनु हुँदैन? (ख) पेटीसँगैको तस्बिरमा बुबा र आमा के छलफल गर्दै छन्‌?

१८ आफ्ना गल्तीहरूबाट पाठ सिक्नुहोस्‌। हामी सबै त्रुटिपूर्ण छौँ। त्यसैले यस लेखमा दिइएका सुझावहरू हुबहु पालन गर्न सक्नेछैनौँ। (याकु. ३:२) हामीले गल्तीहरू गर्नेछौँ तर त्यसबाट पाठ सिक्नुपर्छ। भाइबहिनीले हामी तिनीहरूलाई माया गर्छौँ भनेर महसुस गर्छन्‌ भने हामीले भन्‍ने वा गर्ने कुराले चित्त दुखे पनि हामीलाई क्षमा दिन तिनीहरूलाई सजिलो लाग्नेछ।—“आमाबुबालाई सुझाव” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।

बुबा र आमा किशोरावस्थाकी छोरीलाई कसरी प्रभावकारी तरिकामा सल्लाह दिन सकिन्छ भनेर बाइबलबाट छलफल गर्दै छन्‌।

आमाबुबालाई सुझाव

आमाबुबाले कहिलेकाहीँछोराछोरीलाई सल्लाह दिनुपर्ने हुन्छ। आमाबुबाले यस लेखमा छलफल गरिएका सिद्धान्तहरू विचार गर्नु मदतकारी हुन्छ। छोराछोरीलाई सल्लाह दिनुअघि तिनीहरूले आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌: ‘के मेरो छोरा वा छोरीले सल्लाह नै दिनुपर्ने किसिमको गलत काम गरेको हो? के म ऊसित मायालु ढङ्‌गमा कुरा गर्न सक्छु अथवा मेरो रिस शान्त भएपछि कुरा गर्नु बेस हो? के मैले सबै कुरा राम्ररी बुझेको छु? उसले भोगिरहेको कुनै समस्याबारे मलाई थाह छैन कि? के उसले सल्लाह पाएपछि मैले उसको कुरा राम्ररी बुझेको र उसलाई माया गरेको महसुस गर्नेछ?’ आमाबुबाले छोराछोरीसित कहिल्यै कठोर व्यवहार गर्नु हुँदैन। पावलले भनेझैँ प्रेम “धीरजी र दयालु हुन्छ।” (१ कोरि. १३:४) हाम्रा छोराछोरी पनि “परमेश्‍वरको बगाल”-का भाग हुन्‌।—१ पत्रु. ५:२; एफि. ६:४.

हामीले के सिक्यौँ?

१९. हामी कसरी भाइबहिनीको हृदयलाई प्रसन्‍न बनाउन सक्छौँ?

१९ प्रभावकारी सल्लाह दिन सधैँ सजिलो हुँदैन भनेर हामीले बुझ्यौँ। हामी त्रुटिपूर्ण छौँ र हामी जसलाई सल्लाह दिन्छौँ, तिनीहरू पनि त्रुटिपूर्ण छन्‌। यस लेखमा छलफल गरिएका सिद्धान्तहरू कहिल्यै नबिर्सनुहोस्‌। तपाईँले सही मनसायले सल्लाह दिनुपर्छ। साथै सल्लाह दिनु साँच्चै आवश्‍यक छ कि छैन अनि त्यो सल्लाह दिन तपाईँ नै उपयुक्‍त व्यक्‍ति हो कि होइन, पक्का गर्नुहोस्‌। सल्लाह दिनुअघि केही प्रश्‍नहरू सोध्नुहोस्‌ र तिनले आफ्नो अवस्थाबारे बताउँदा ध्यान दिएर सुन्‍नुहोस्‌। तिनको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्‌। दयालु हुनुहोस्‌ र भाइबहिनीसित घनिष्ठ मित्रता गाँस्नुहोस्‌। यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: हाम्रो लक्ष्य भनेको प्रभावकारी सल्लाह दिनु मात्र होइन तर सल्लाह पाउने व्यक्‍तिको ‘हृदयलाई प्रसन्‍न बनाउनु’ पनि हो।—हितो. २७:९.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • सल्लाह दिनुको मनसाय के हुनुपर्छ?

  • कसले सल्लाह दिनुपर्छ?

  • तपाईँ कसरी प्रभावकारी सल्लाह दिन सक्नुहुन्छ?

गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू

a सल्लाह दिनु सधैँ सजिलो हुँदैन। अरूको हित हुने अनि प्रोत्साहन पाउने तरिकामा हामी कसरी सल्लाह दिन सक्छौँ? विशेषगरि एल्डरहरूले भाइबहिनीलाई स्विकार्न सजिलो हुने तरिकामा कसरी सल्लाह दिन सक्छन्‌ भनेर यस लेखमा छलफल गर्नेछौँ।

b फेब्रुअरी २०२१ अङ्‌कको प्रहरीधरहरा-मा भएको “मण्डलीमा शिरत्वको प्रबन्ध” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने