अध्ययन लेख २९
गीत ८७ आऊ, स्फूर्ति पाऔँ!
हामीले कसरी सल्लाह दिनुपर्छ?
“तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।”—भज. ३२:८.
सिक्न सकिने कुरा
हामी कसरी प्रभावकारी सल्लाह दिन सक्छौँ?
१. कसले सल्लाह दिनुपर्ने हुन्छ र किन?
सल्लाह दिने कुरा तपाईँलाई कस्तो लाग्छ? कसै-कसैलाई अरूलाई सल्लाह दिन सजिलो लाग्छ तर कोही-कोही भने सल्लाह दिन डराउँछन् वा अप्ठ्यारो मान्छन्। जेहोस् हामीले बेलाबेलामा अरूलाई सल्लाह दिनुपर्ने हुन्छ। किन? येसुले आफ्ना साँचो चेलाहरूको चिनारी प्रेम हुनेछ भनेर बताउनुभएको थियो। (युह. १३:३५) अनि भाइबहिनीलाई प्रेम देखाउने एउटा तरिका भनेको आवश्यक परेको बेला तिनीहरूलाई सल्लाह दिनु हो। परमेश्वरको वचन यसो भन्छ: “साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।”—हितो. २७:९.
२. एल्डरहरूले के गर्न जान्नुपर्छ र किन? (“मध्यहप्ताको सभामा दिइने सल्लाह” भन्ने पेटी पनि हेर्नुहोस्।)
२ विशेषगरि एल्डरहरूले अरूलाई प्रभावकारी सल्लाह दिन जान्नुपर्छ। किनभने यहोवा र येसुले एल्डरहरूलाई गोठालोले झैँ मण्डलीको हेरचाह गर्ने जिम्मेवारी दिनुभएको छ। (१ पत्रु. ५:२, ३) तिनीहरूले विभिन्न तरिकामा हाम्रो हेरचाह गर्छन्। तिनीहरू हामीलाई भाषणहरूद्वारा अनि व्यक्तिगत रूपमा पनि बाइबलआधारित सल्लाह दिन्छन्। साथै मण्डलीबाट तर्केर गएकाहरूलाई यहोवाकहाँ फर्कन पनि मदत गर्छन्। एल्डरहरूलगायत हामी सबैले कसरी राम्रो सल्लाह दिन सक्छौँ?
३. (क) हामी अरूलाई राम्रो सल्लाह दिन कसरी सिक्न सक्छौँ? (यसैया ९:६; “सल्लाह दिँदा येसुको अनुकरण गर्नुहोस्” भन्ने पेटी पनि हेर्नुहोस्।) (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?
३ हामी केही बाइबल पात्रहरूबाट अरूलाई राम्रो सल्लाह दिन सिक्न सक्छौँ। तीमध्ये एक जना येसु ख्रिष्ट हुनुहुन्छ। बाइबलमा उहाँलाई “बुद्धिमान् सल्लाहकार” पनि भनिएको छ। (यसैया ९:६ पढ्नुहोस्।) हामी सुरुमा कसैले सल्लाह माग्दा के गर्न सक्छौँ भनेर बुझ्नेछौँ। त्यसपछि कसैले सल्लाह नमागे पनि सल्लाह दिनुपर्दा के गर्न सक्छौँ भनेर सिक्नेछौँ। साथै सही समयमा र सही तरिकामा सल्लाह दिनु किन महत्त्वपूर्ण छ भनेर पनि छलफल गर्नेछौँ।
कसैले सल्लाह माग्दा
४-५. कसैले सल्लाह माग्दा तपाईँले सुरुमा कुन कुरा विचार गर्नुपर्छ? एउटा उदाहरण दिनुहोस्।
४ तपाईँलाई भरोसा गरेर कसैले सल्लाह माग्दा तपाईँलाई खुसी लाग्छ होला अनि तिनलाई मदत गरिहालूँ जस्तो पनि लाग्ला। तर तिनलाई सल्लाह दिनुअघि तपाईँलाई त्यो विषयबारे कत्तिको थाह छ भन्ने कुरा विचार गर्नुहोस्। कुनै-कुनै अवस्थामा तपाईँ आफैले सल्लाह नदिनु नै बेस हुन्छ। बरु तिनलाई ‘फलानो-फलानो व्यक्तिले तपाईँलाई अझ राम्रो सल्लाह दिन सक्छन्’ भनेर बताउन सक्नुहुन्छ।
५ मानौँ तपाईँको एक जना मिल्ने साथीलाई एउटा गम्भीर रोग लागेको छ। तिनले तपाईँलाई राम्रो उपचार खोज्दै गरेको कुरा बताउँछन् अनि तपाईँको सुझाव पनि माग्छन्। हुनत तपाईँलाई तिनले यस्तो उपचार गराए हुन्थ्यो जस्तो लाग्ला। तर नबिर्सनुहोस्, तपाईँ डाक्टर होइन अनि तपाईँले त्यो उपचारसम्बन्धी तालिम पनि लिनुभएको छैन। त्यस्तो अवस्थामा तपाईँले गर्न सक्ने सबैभन्दा राम्रो कुरा भनेको तिनलाई साँच्चै मदत गर्न सक्ने व्यक्ति भेटाइदिनु नै हो।
६. सल्लाह दिनुअघि केही समय पर्खनु किन बेस हो?
६ तपाईँलाई कुनै विषयमा सल्लाह दिन सक्छु जस्तो लाग्छ भने पनि सल्लाह दिनुअघि केही समय पर्खनु नै बेस हो। किन? हितोपदेश १५:२८ यसो भन्छ: “धर्मी मानिसले सोचविचार गरेर मात्र जवाफ दिन्छ।” तर कस्तो सल्लाह दिनुपर्ने हो भनेर तपाईँलाई थाह छ जस्तो लाग्छ भने नि? त्यसो हो भने पनि सल्लाह दिनुअघि त्यसबारे अनुसन्धान गर्नु, प्रार्थना गर्नु अनि मनन गर्नु राम्रो हो। त्यसो गर्नुभयो भने तपाईँले उक्त व्यक्तिलाई यहोवाको सोचाइसित मेल खाने सल्लाह दिन सक्नुहुनेछ। यस सन्दर्भमा भविष्यवक्ता नातानको उदाहरण विचार गरौँ।
७. भविष्यवक्ता नातानको उदाहरणबाट तपाईँले के सिक्नुभयो?
७ एकचोटि राजा दाउदले भविष्यवक्ता नातानलाई आफूले यहोवाको लागि एउटा मन्दिर बनाउन चाहेको कुरा बताए। त्यतिबेला नातानले पनि तिनलाई त्यसै गर्न सुझाव दिइहाले। तर नातानले सुरुमा त्यसबारे यहोवाको सोचाइ बुझेको भए राम्रो हुन्थ्यो। किन? किनभने यहोवा दाउदले त्यो मन्दिर बनाएको चाहनुहुन्नथ्यो। (१ इति. १७:१-४) यसबाट हामी के सिक्न सक्छौँ? कसैले सल्लाह माग्दा हामीले “बोल्न हतार गर्नु हुँदैन” अर्थात् तिनलाई तुरुन्तै सल्लाह दिइहाल्नु हुँदैन।—याकु. १:१९.
८. कसैलाई सल्लाह दिनुअघि राम्ररी सोचविचार गर्नुपर्ने अर्को कारण के हो?
८ हामीले विचार पुऱ्याउनुपर्ने अर्को कुरा पनि छ। हामीले दिएको सल्लाहअनुसारै कसैले निर्णय गऱ्यो तर त्यसको नतिजा राम्रो भएन भने हामी आफै पनि त्यसको दोषी हुन्छौँ। त्यसैले कसैलाई सल्लाह दिनुअघि राम्ररी सोचविचार गर्नुपर्छ।
कसैले सल्लाह नमागे पनि सल्लाह दिनुपर्दा
९. सल्लाह दिनुअघि एल्डरहरू कुन कुरामा पक्का हुनुपर्छ? (गलाती ६:१)
९ कहिलेकाहीँ एल्डरहरूले “गलत कदम” चालेको कुनै भाइ वा बहिनीलाई आफै अग्रसर भएर सल्लाह दिनुपर्ने हुन्छ। (गलाती ६:१ पढ्नुहोस्।) कुनै व्यक्तिले केही गलत छनौटहरू गरिरहेका हुन सक्छन्, जसले गर्दा तिनी पछि गम्भीर पाप गर्ने हदसम्म पुग्न सक्छन्। त्यसो हुन नदिन अनि तिनी अनन्त जीवनको मार्गबाट नतर्किऊन् भनेर एल्डरहरूले आफै अग्रसर भएर तिनलाई मदत गर्नुपर्छ। (याकु. ५:१९, २०) तर तिनलाई सल्लाह दिनुअघि एल्डरहरू उक्त व्यक्तिले साँच्चै गलत कदम चालेका हुन् कि होइनन् भन्ने कुरामा पक्का हुनुपर्छ। किनभने यहोवाले हामीलाई कतिपय निर्णयहरू आफ्नै अन्तस्करणको आधारमा गर्ने छुट दिनुभएको छ। (रोमी १४:१-४) तर उक्त व्यक्तिले साँच्चै कुनै गलत कदम चालेका रहेछन् र एल्डरहरूले तिनलाई सल्लाह दिनुपर्ने भयो भने नि?
१०-१२. कसैले सल्लाह नमागे पनि सल्लाह दिनुपर्दा एल्डरहरूले के गर्नुपर्छ? उदाहरण दिनुहोस्। (चित्रहरू पनि हेर्नुहोस्।)
१० कसैले सल्लाह नमागे पनि सल्लाह दिनु एल्डरहरूको लागि चुनौतीपूर्ण हुन सक्छ। किन? प्रेषित पावलले बताएझैँ कसै-कसैलाई आफूले गलत कदम चालेको कुरा पत्तै नहुन सक्छ। त्यसैले एल्डरहरूले सल्लाह दिँदा आफूले किन सल्लाह पाउँदै छु भनेर तिनलाई बुझ्न गाह्रो लाग्न सक्छ। त्यसकारण सल्लाह दिनुअघि तिनलाई त्यो स्विकार्न सजिलो होस् भनेर एल्डरहरूले केही कदम चाल्नुपर्छ।
११ कसैले सल्लाह नमागे पनि सल्लाह दिनु भनेको साह्रो माटो भएको खेतमा बिरुवा उमार्न खोज्नुजस्तै हो। त्यस्तो खेतमा बिउ छर्नुअघि किसानले सुरुमा खनजोत गरेर माटो नरम बनाउँछ। त्यसपछि मात्र जमिन खेतीयोग्य हुन्छ र किसानले बिउ छर्छ। अनि त्यो बिउ हुर्काउन उसले बेलाबेलामा पानी पनि हाल्छ। त्यसैगरि एल्डरहरूले पनि सुरुमा जमिन तयार पार्नुपर्छ। यसको अर्थ गलत कदम चालेको व्यक्तिलाई सल्लाह स्विकार्न सजिलो बनाइदिनुपर्छ। जस्तै, एल्डरले कुनै उपयुक्त मौका खोजेर उक्त व्यक्तिलाई भेट्न सक्छन् र आफू तिनको हित चाहन्छु भन्ने कुरामा ढुक्क बनाउन सक्छन्। यदि कुनै एल्डरले मायालु र दयालु व्यक्ति भन्ने नाम कमाएका छन् भने तिनले दिएको सल्लाह स्विकार्न सजिलो हुन्छ।
१२ गलत कदम चालेको व्यक्तिसित कुरा गर्दा एल्डरले तिनलाई ‘गल्ती सबैबाट हुन्छ र हामी सबैलाई बेलाबेलामा सल्लाह चाहिन्छ’ भनेर बताउन सक्छन्। यसो गर्दा तिनलाई सल्लाह स्विकार्न सजिलो हुन्छ। (रोमी ३:२३) एल्डरले तिनले चालेको कदम किन गलत थियो भनेर बाइबलबाटै बुझाउन सक्छन्। तर तिनले त्यतिबेला मायालु तरिकामा अनि गहिरो आदर देखाउँदै कुरा गर्नुपर्छ। ती व्यक्तिले आफ्नो गल्ती महसुस गरेपछि एल्डरले “बिउ छर्छन्।” यसको मतलब तिनले अब कस्तो छाँटकाँट गर्नुपर्छ भनेर स्पष्टसित बताइदिन्छन्। अन्तमा एल्डरले तिनको मनैदेखि प्रशंसा गरेर अनि तिनीसँगै प्रार्थना गरेर त्यो बिउमा “पानी हाल्छन्।”—याकु. ५:१५.
कसैले सल्लाह नमागे पनि सल्लाह दिँदा एल्डरहरू मायालु हुनुपर्छ र तिनलाई सल्लाह स्विकार्न सजिलो बनाइदिनुपर्छ (अनुच्छेद १०-१२ हेर्नुहोस्)
१३. सल्लाह पाउने व्यक्तिले त्यो बुझे कि बुझेनन् भनेर एल्डरहरूले कसरी पक्का गर्न सक्छन्?
१३ कसै-कसैले आफूले पाएको सल्लाह गलत तरिकामा बुझ्न सक्छन्। त्यस्तो हुन नदिन एल्डरहरूले के गर्नुपर्छ? एल्डरहरूले तिनलाई कौशलतापूर्वक अनि आदर झल्काउँदै केही प्रश्नहरू सोध्न सक्छन्। (उप. १२:११) तिनले दिने जवाफबाट तिनले आफूले पाएको सल्लाह सही तरिकामा बुझे कि बुझेनन् भनेर थाह पाउन सकिन्छ।
सही समयमा र सही तरिकामा सल्लाह दिनुहोस्
१४. हामीले किन रिसको झोकमा सल्लाह दिनु हुँदैन?
१४ हामी सबै जना त्रुटिपूर्ण छौँ। त्यसैले कहिलेकाहीँ अरूको चित्त दुख्ने कुरा गर्न वा भन्न पुग्छौँ। (कल. ३:१३) कहिलेकाहीँ अरूको बोली वा व्यवहारले गर्दा हामीलाई रिस उठ्न सक्छ भनेर बाइबलले बताउँछ। (एफि. ४:२६) तर हामीले कहिल्यै पनि रिसको झोकमा अरूलाई सल्लाह दिनु हुँदैन। किन? किनभने “रिस गर्ने मानिस परमेश्वरको धार्मिक स्तरबमोजिम चलिरहेको हुँदैन।” (याकु. १:२०) हामीले रिसको झोकमा सल्लाह दियौँ भने त्यसले फाइदाभन्दा पनि उल्टै हानि गर्न सक्छ। तर यसको मतलब जसले हामीलाई रिस उठाएको छ, उसलाई आफ्नो भावना वा आफूलाई लागेको कुरा बताउनै हुँदैन भन्ने त होइन। तर रिस शान्त भएपछि कुरा गर्नु प्रभावकारी हुन्छ। अय्युबलाई राम्रो सल्लाह दिएका एलिहुको उदाहरण विचार गरौँ।
१५. एलिहुको उदाहरणबाट हामी के सिक्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१५ आफ्ना साथीहरूले लगाएको आरोप झूटो हो भनेर प्रमाणित गर्न अय्युबले धेरै दिनसम्म प्रयास गरे। एलिहुले पनि तिनको कुरा सुनिरहेका थिए। तिनलाई देखेर एलिहुलाई माया लाग्यो। तर अय्युबले आफूलाई निर्दोष साबित गर्ने चक्करमा यहोवाबारे नै गलत कुराहरू बोल्न थाले। त्यो देखेर एलिहु रिसले चूर भए। तैपनि एलिहुले बोल्न हतार गरेनन् बरु आफ्नो पालो पर्खे। त्यसपछि मात्र तिनले शान्त भएर अनि गहिरो आदर झल्काउँदै अय्युबलाई सल्लाह दिए। (अय्यु. ३२:२; ३३:१-७) एलिहुको उदाहरणबाट हामीले सही समयमा अनि सही तरिकामा सल्लाह दिनुपर्छ भनेर सिक्न सक्छौँ। यसको अर्थ हामीले आफ्नो रिस शान्त भएपछि प्रेम अनि आदर झल्काउँदै सल्लाह दिनुपर्छ। तब मात्र हाम्रो सल्लाह प्रभावकारी हुन्छ।—उप. ३:१, ७.
हुनत एलिहुलाई निकै रिस उठेको थियो तर तिनले दयालु ढङ्गमा अनि आदरपूर्वक सल्लाह दिए (अनुच्छेद १५ हेर्नुहोस्)
सल्लाह लिन वा दिन पछि नहट्नुहोस्।
१६. भजन ३२:८ बाट तपाईँले कस्तो पाठ सिक्नुभयो?
१६ यस लेखको मूल शास्त्रपदमा ‘यहोवा हामीमाथि नजर राखेर हामीलाई सल्लाह दिनुहुन्छ’ भनेर बताइएको छ। (भजन ३२:८ पढ्नुहोस्।) यसको मतलब यहोवा हामीलाई निरन्तर मदत दिनुहुन्छ। उहाँ हामीलाई सल्लाह दिनुका साथै त्यो लागू गर्न पनि मदत दिनुहुन्छ। हाम्रो लागि कत्ति राम्रो उदाहरण! यहोवाले जस्तै हामीले पनि अरूलाई सल्लाह दिनुका साथै त्यो लागू गर्न र सही निर्णय गर्न निरन्तर मदत दिनुपर्छ।
१७. एल्डरहरूले तोकेरै बाइबलआधारित सल्लाह दिँदा हामी कस्तो महसुस गर्छौँ? (यसैया ३२:१, २)
१७ हामी अहिले अन्तको दिनमा बाँचिरहेकोले अरूबाट सल्लाह लिनु अनि अरूलाई पनि सल्लाह दिनु एकदमै जरुरी भएको छ। (२ तिमो. ३:१) तोकेरै बाइबलआधारित सल्लाह दिने एल्डरहरू “निर्जल भूमिमा खोलाझैँ” हुन्छन्। (यसैया ३२:१, २ पढ्नुहोस्।) हामीलाई नहिचकिचाइ आवश्यक सल्लाह दिने साथीहरू पाएकोमा पनि हामी आभारी छौँ। तिनीहरूले हामीलाई ठीक समयमा दिएको ठीक सल्लाह “चाँदीको भाँडोमा सुनका स्याउ”-जस्तै हुन्छन्। (हितो. २५:११) त्यसैले अरूलाई राम्रो सल्लाह दिन सिकिरहौँ अनि अरूबाट पनि सल्लाह लिइरहौँ।
गीत १०९ प्रगाढ प्रेम