प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अप्रिल p. २८-p. २९ par. ६
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आधुनिक अर्थ बोकेको पुरातन शपथ
    ब्यूँझनुहोस्‌!—२००४
  • परमेश्‍वरको आज्ञा मान्‍नुहोस्‌ र उहाँका प्रतिज्ञाहरूबाट लाभ उठाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अप्रिल p. २८-p. २९ par. ६

पाठकहरूको प्रश्‍न

शपथ खानेबारे बाइबल के भन्छ?

शपथ वा कसम भनेको “साक्षीको रूपमा . . . प्रायजसो ईश्‍वरको नाम पुकारेर कुनै वचन पूरा गर्न गरिने गम्भीर, औपचारिक घोषणा वा प्रतिज्ञा” हो। यो मौखिक वा लिखित दुवै हुन सक्छ।

कसै-कसैलाई शपथ खानु ठीक होइन जस्तो लाग्न सक्छ। किनकि येसुले भन्‍नुभएको थियो: “कसम [शपथ] खाँदै नखाओ। . . . तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌ किनकि यसभन्दा बढ्‌ताचाहिँ त्यस दुष्टतर्फको हो।” (मत्ति ५:३३-३७) मोसाको व्यवस्थामा कुनै-कुनै कुराको लागि शपथ खानुपर्ने नियम थियो अनि परमेश्‍वरका केही वफादार सेवकले शपथ खाएका थिए भन्‍ने कुरा येसुलाई थाह थियो। (उत्प. १४:२२, २३; प्रस्थ. २२:१०, ११) अनि यहोवा आफैले पनि कसम खानुभएको कुरा येसुलाई थाह थियो। (हिब्रू ६:१३-१७) त्यसैले हामीले कहिल्यै पनि शपथ खानु हुँदैन भनेर येसुले भन्‍न खोज्नुभएको थिएन। बरु उहाँले महत्त्वहीन वा अर्थहीन कुराहरूको लागि शपथ खानु हुँदैन भनेर चेतावनी दिँदै हुनुहुन्थ्यो। हामीले वचन दिएपछि त्यो पूरा गर्नुपर्छ किनकि हामीले आफ्नो वचन पूरा गरेको यहोवा चाहनुहुन्छ।

त्यसोभए कसैले तपाईँलाई शपथ खान लगायो भने के गर्नुपर्छ? पहिलो कुरा, आफूले शपथ खाएपछि त्यो पूरा गर्न सक्छु कि सक्दिनँ भनेर राम्रोसँग विचार गर्नुहोस्‌। तपाईँ पक्का हुनुहुन्‍न भने शपथ नखानु नै बेस हो। परमेश्‍वरको वचनले यस्तो चेतावनी दिन्छ: “भाकल गरेर पूरा नगर्नुभन्दा त भाकलै नगर्नु बेस हो।” (उप. ५:५) दोस्रो कुरा, शपथसित सम्बन्धित बाइबल सिद्धान्तहरू विचार गर्नुहोस्‌ अनि बाइबल प्रशिक्षित अन्तस्करण चलाएर निर्णय गर्नुहोस्‌। यससम्बन्धी केही बाइबल सिद्धान्त के-के हुन्‌?

एक पुरुष अदालतमा शपथ खाँदै छन्‌। तिनले आफ्नो दायाँ हात उठाएका छन्‌ र बायाँ हात बाइबलमाथि राखेका छन्‌।

केही शपथ परमेश्‍वरको इच्छासित मेल खान्छ। उदाहरणको लागि, कुनै ख्रिष्टियन पुरुष र स्त्रीले विवाह गर्दा एकअर्कासित वाचा बाँध्छन्‌। त्यो वाचा पनि एक किसिमको शपथ नै हो। तिनीहरूले परमेश्‍वर र प्रत्यक्षदर्शीहरूसामु “पृथ्वीमा सँगै बाँचुन्जेल” एकअर्कालाई प्रेम, आदर र कदर गर्ने वाचा बाँध्छन्‌। (संसारका मानिसहरूले विवाह वाचा बाँध्दा ठ्याक्कै यही शब्दहरू नभने पनि भगवान्‌सामु वाचा भने बाँधेका हुन्छन्‌।) त्यसपछि तिनीहरू अबदेखि विवाहित दम्पती भएको घोषणा गरिन्छ र तिनीहरूको वैवाहिक सम्बन्ध जीवनभरको लागि हुन्छ। (उत्प. २:२४; १ कोरि. ७:३९) यस्तो किसिमको वाचा उचित छ र परमेश्‍वरको इच्छासित पनि मेल खान्छ।

केही शपथ परमेश्‍वरको इच्छासित मेल खाँदैन। साँचो ख्रिष्टियनहरूले कुनै-कुनै किसिमको शपथ खाँदैनन्‌। जस्तै, तिनीहरू देशको रक्षाको लागि हतियार उठाउने वा परमेश्‍वरमाथिको विश्‍वास त्याग्ने शपथ खाँदैनन्‌। किनकि यसो गर्दा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन हुन्छ। ख्रिष्टियनहरू ‘यस संसारका होइनन्‌,’ त्यसैले तिनीहरू संसारका विवादहरूमा मुछिँदैनन्‌ र युद्धमा पनि भाग लिँदैनन्‌।—युह. १५:१९; यसै. २:४; याकु. १:२७.

कुनै-कुनै शपथ खाने कि नखाने भनेर अन्तस्करणको आधारमा निर्णय गर्नुपर्छ। कुनै-कुनै शपथ खानुअघि येसुले “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ” भन्‍ने सल्लाह राम्रोसँग विचार गर्नुपर्ने हुन्छ।—लुका २०:२५.

मानौँ, एक जना ख्रिष्टियनले नागरिकता वा पासपोर्ट बनाउनको लागि आवेदन दिन्छन्‌ र त्यसको लागि तिनले देशप्रति वफादार रहने शपथ खानुपर्छ भनेर थाह पाउँछन्‌। यदि त्यस देशमा त्यसरी शपथ खाएपछि परमेश्‍वरको इच्छासित मेल नखाने गतिविधिहरूमा भाग लिनुपर्छ भने तिनको बाइबल प्रशिक्षित अन्तस्करणले तिनलाई त्यो शपथ खान नदिन सक्छ। तर सरकारले तिनको अन्तस्करणको खातिर त्यस शपथका केही शब्दमा संशोधन गर्ने अनुमति दिन सक्छ।

त्यसरी संशोधन गरिएको शपथ खानु रोमी १३:१ मा पाइने सिद्धान्तसित मेल खान्छ, जहाँ यस्तो भनिएको छ: “हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्‌।” त्यसैले कुनै ख्रिष्टियनले परमेश्‍वरको आज्ञासित नबाझिने कुराहरूको लागि शपथ खानुमा केही आपत्ति छैन भनेर निर्णय गर्न सक्छन्‌।

यदि तपाईँलाई कुनै वस्तु प्रयोग गरेर वा कुनै इसारा गरेर शपथ खान भनिन्छ भने त्यतिबेला पनि अन्तस्करणको आधारमा निर्णय गर्नुपर्ने हुन्छ। पुरातन रोम र सिथियाका मानिसहरू तरबार प्रयोग गरेर शपथ खान्थे, जुन युद्ध देवको प्रतीक थियो र यसरी तिनीहरूले आफू भरोसायोग्य छु भन्‍ने कुराको ग्यारेन्टी दिइरहेका हुन्थे। ग्रीकहरू भने शपथ खाँदा आफ्नो हात आकाशतिर उचाल्थे। यसरी तिनीहरूले आफूले भनेको र गरेको कुरा देख्ने कुनै अदृश्‍य शक्‍ति छ र सबै मानिस त्यस शक्‍तिप्रति जबाफदेही छन्‌ भन्‍ने कुरा स्विकारिरहेका हुन्थे।

यहोवाका सेवकहरूले पक्कै पनि झूटो धर्मसित सम्बन्धित कुनै पनि राष्ट्रिय प्रतीक प्रयोग गरेर शपथ खाँदैनन्‌। तर मानौँ, तपाईँलाई अदालतमा बाइबलमाथि हात राखेर सत्य बोल्छु भनी शपथ खान भनियो भने तपाईँ के गर्नुहुन्छ? त्यस्तो अवस्थामा तपाईँ त्यसो गर्ने निर्णय गर्न सक्नुहुन्छ। किनकि बाइबलमा पनि यहोवाका केही वफादार सेवकले कुनै इसारा गरेर शपथ खाएको विवरणहरू पाइन्छ। (उत्प. २४:२, ३, ९; ४७:२९-३१) तर तपाईँले मनमा राख्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा पनि छ: तपाईँले त्यसरी शपथ खानुभयो भने एक अर्थमा तपाईँले यहोवाकै सामु सत्य बोल्छु भनेर वचन दिइरहनुभएको हुन्छ। त्यसैले तपाईँलाई सोधिने जुनसुकै प्रश्‍नको साँचो जवाफ दिन तपाईँ तयार हुनुपर्छ।

केही बाइबल सिद्धान्त

  • मत्ति ५:३७: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌।”

  • युहन्‍ना १५:१९: “तिमीहरू यस संसारका होइनौ।”

  • व्यवस्था ५:९: “म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।”

  • रोमी १३:१: “हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्‌।”

  • लुका २०:२५: “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”

  • १ पत्रुस २:१२: “संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्‌ ताकि . . . मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्‌।”

हामी यहोवासितको आफ्नो सम्बन्धलाई अनमोल ठान्छौँ। त्यसैले आफ्नो अन्तस्करण सफा राख्न सकियोस्‌ अनि बाइबल सिद्धान्त उल्लङ्‌घन नहोस्‌ भनेर हामीले कुनै शपथ खानुअघि त्यसबारे प्रार्थनापूर्वक विचार गर्नुपर्छ। शपथ खाने निर्णय गर्नुभयो भने तपाईँले त्यो पूरा गर्नै पर्छ।—१ पत्रु. २:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने