प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 अगस्त पृ. ८-१३
  • आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहिरहन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहिरहन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एक्लो महसुस हुँदा
  • कठिन परीक्षाहरूले गर्दा निराश हुँदा
  • यहोवाको मायालु हेरचाहप्रति कृतज्ञ
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा यहोवामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • बिचरा एलिया!
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 अगस्त पृ. ८-१३

अध्ययन लेख ३३

आफ्ना मानिसहरूमाथि यहोवाको नजर रहिरहन्छ

“यहोवासित डराउनेहरूमाथि . . . उहाँको नजर रहिरहन्छ।”—भज. ३३:१८.

गीत ४ “यहोवा मेरो गोठालो हुनुहुन्छ”

परिचयa

१. येसुले किन यहोवालाई आफ्ना अनुयायीहरूको हेरचाह गरिदिन बिन्ती गर्नुभयो?

आफ्नो मृत्युको अघिल्लो रात येसुले यहोवालाई आफ्ना अनुयायीहरूको हेरचाह गरिदिन बिन्ती गर्नुभयो। (युह. १७:१५, २०) हुन पनि यहोवाले आफ्ना मानिसहरूको ख्याल राख्न र तिनीहरूलाई सुरक्षा दिन सधैँ तिनीहरूमाथि नजर राख्नुभएको छ। तर येसुलाई आफ्ना अनुयायीहरूले सैतानको भीषण विरोधको सामना गर्नुपर्नेछ भनेर थाह थियो। दियाबलको यस्तो आक्रमणको प्रतिरोध गर्न तिनीहरूलाई यहोवाको मदत चाहिन्छ भनेर पनि येसुले बुझ्नुभएको थियो।

२. भजन ३३:१८-२० अनुसार हामी समस्याहरूदेखि किन डराउनुपर्दैन?

२ सैतानको अधीनमा रहेको यस संसारमा साँचो ख्रिष्टियनहरूले थुप्रै समस्याको सामना गर्नुपर्छ। यस्ता समस्याहरूले गर्दा हामी निराश हुन सक्छौँ र हाम्रो वफादारीको जाँच हुन सक्छ। तर यस्ता समस्याहरूदेखि डराउनुपर्ने कुनै कारण छैन भनेर यस लेखबाट बुझ्नेछौँ। यहोवाले हामीमाथि नजर राखिरहनुभएको छ; हामीले भोगिरहेका समस्याहरू उहाँ देख्नुहुन्छ र हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ। यहोवासित डराउनेहरूमाथि उहाँको नजर रहिरहन्छ भनेर देखाउने दुई वटा बाइबल उदाहरण विचार गरौँ।—भजन ३३:१८-२० पढ्‌नुहोस्‌।

एक्लो महसुस हुँदा

३. हामीलाई कस्ता अवस्थाहरूमा एक्लो महसुस हुन सक्छ?

३ यहोवाको ठूलो परिवारको सदस्य भए तापनि हामी कहिलेकाहीँ एक्लो महसुस गर्न सक्छौँ। उदाहरणको लागि, युवाहरूलाई स्कुलमा साथीहरूको अगाडि आफ्नो विश्‍वासबारे बताउनुपर्दा वा नयाँ मण्डलीमा सर्दा एक्लो महसुस हुन सक्छ। हामीमध्ये कोही-कोही नकारात्मक भावनाले गर्दा निराश हुन सक्छौँ। अरूले आफ्नो भावना बुझ्दैनन्‌ होला भन्‍ने सोचाइले त्यसबारे बताउन हिचकिचाउन सक्छौँ। कहिलेकाहीँ भने अरूलाई हाम्रो वास्तै छैन जस्तो लाग्न सक्छ। जस्तोसुकै कारणले एक्लो महसुस भए तापनि त्यसले हामीलाई निस्सहाय अनि चिन्तित बनाउन सक्छ। तर हामीले यस्तो महसुस गरेको यहोवा कहिल्यै चाहनुहुन्‍न। हामी किन यसो भन्‍न सक्छौँ?

४. भविष्यवक्‍ता एलियाले “अब म मात्रै बाँकी छु” भनेर किन भने?

४ वफादार पुरुष एलियाको उदाहरण विचार गरौँ। ईजेबेलले मार्ने धम्की दिएकोले तिनी आफ्नो ज्यान बचाउन ४० दिनदेखि भागिरहेका थिए। (१ राजा १९:१-९) ओडारमा लुकिरहेको बेला तिनले यहोवालाई यसो भने: “अब म मात्रै [भविष्यवक्‍ता] बाँकी छु।” (१ राजा १९:१०) तर वास्तवमा त्यतिबेला इस्राएलमा अरू भविष्यवक्‍ता पनि जीवित थिए। ओबदियाहले ईजेबेलको हातबाट १०० जना भविष्यवक्‍तालाई जोगाएका थिए। (१ राजा १८:७, १३) तैपनि एलियाले किन एक्लो महसुस गरे? ओबदियाहले बचाएका सबै भविष्यवक्‍ता अहिले मरिसके भन्‍ने तिनलाई लाग्यो कि? कर्मेल डाँडामा यहोवाले आफूलाई साँचो परमेश्‍वर साबित गर्नुभएपछि पनि कसैको साथ नपाएकोले तिनले एक्लो महसुस गरे कि? अथवा आफू कत्ति ठूलो खतरामा छु भनेर अरूलाई वास्तै छैन भनेर सोचे कि? एलियाले कस्तो महसुस गरे भन्‍नेबारे बाइबलले स्पष्टसित बताएको छैन। तर तिनले किन एक्लो महसुस गरे भनेर यहोवाले बुझ्नुभएको थियो र तिनलाई कसरी मदत दिने भनेर उहाँलाई थाह थियो।

चित्रहरूको सँगालो: १. एलिया गुफाभित्र व्यग्र प्रार्थना गर्दै छन्‌। २. एक भाइ कोठामा व्यग्र प्रार्थना गर्दै छन्‌।

एक्लो महसुस हुँदा हामी यहोवाले एलियालाई मदत गर्नुभएको कुराबाट कस्तो सान्त्वना पाउन सक्छौँ? (अनुच्छेद ५-६ हेर्नुहोस्‌)

५. यहोवाले एलियालाई तिनी एक्लो छैनन्‌ भनेर कसरी आश्‍वासन दिनुभयो?

५ यहोवाले एलियालाई थुप्रै तरिकामा मदत गर्नुभयो। उहाँले तिनलाई आफूसित कुरा गर्न प्रोत्साहन दिनुभयो। उहाँले तिनलाई दुई चोटि “तिमी यहाँ के गर्दै छौ” भनेर सोध्नुभयो। (१ राजा १९:९, १३) एलियाले आफ्नो मनको बह पोख्दा यहोवाले तिनको कुरा सुन्‍नुभयो। उहाँले तिनलाई आफू शक्‍तिशाली छु र तिनको साथमा छु भनेर देखाउनुभयो। उहाँले आफ्ना उपासकहरू अझ पनि धेरै बाँकी छन्‌ भनेर एलियालाई आश्‍वासन दिनुभयो। (१ राजा १९:११, १२, १८) यहोवालाई आफ्नो भावना पोखेपछि र उहाँको जवाफ सुनेपछि तिनले पक्कै पनि ढुक्क महसुस गरे। उहाँले एलियालाई महत्त्वपूर्ण जिम्मेवारीहरू पनि दिनुभयो। उहाँले हाजाएललाई सिरियाको राजा र येहुलाई इस्राएलको राजा अभिषेक गर्न अनि एलिसालाई भविष्यवक्‍ता नियुक्‍त गर्न भन्‍नुभयो। (१ राजा १९:१५, १६) यी जिम्मेवारीहरू दिनुभएर यहोवाले एलियालाई सकारात्मक कुराहरूमा ध्यान दिन मदत गर्नुभयो। परमेश्‍वरले तिनलाई एलिसाजस्तो असल मित्र पनि दिनुभयो। एक्लो महसुस हुँदा तपाईँले पनि कसरी यहोवाको मदत पाउन सक्नुहुन्छ?

६. एक्लो महसुस हुँदा तपाईँ प्रार्थनामा के भन्‍न सक्नुहुन्छ? (भजन ६२:८)

६ यहोवा तपाईँलाई प्रार्थना गर्न प्रोत्साहन दिनुहुन्छ। उहाँ तपाईँले भोगिरहेको समस्या देख्नुहुन्छ र तपाईँको प्रार्थना जुनसुकै बेला पनि सुन्‍नेछु भनेर आश्‍वासन दिनुहुन्छ। (१ थिस्स. ५:१७) उहाँ आफ्ना उपासकहरूको प्रार्थना सुन्‍न मन पराउनुहुन्छ। (हितो. १५:८) एक्लो महसुस हुँदा तपाईँ प्रार्थनामा के भन्‍न सक्नुहुन्छ? एलियाले जस्तै यहोवालाई आफ्नो मनको बह पोख्नुहोस्‌। (भजन ६२:८ पढ्‌नुहोस्‌।) उहाँलाई आफ्ना चिन्ताहरूबारे अनि त्यसले गर्दा कस्तो महसुस गर्दै हुनुहुन्छ भनेर बताउनुहोस्‌। त्यस्ता भावनाहरूसित सङ्‌घर्ष गर्न उहाँसित मदत माग्नुहोस्‌। उदाहरणको लागि, स्कुलमा साथीहरूको अगाडि साक्षी दिन डर लाग्छ र एक्लो महसुस गर्नुहुन्छ भने यहोवासित साहस माग्नुहोस्‌। आफ्नो विश्‍वासबारे कुशलतापूर्वक बताउन सकूँ भनेर बुद्धि माग्नुहोस्‌। (लुका २१:१४, १५) नकारात्मक भावनाले पिरोलिरहेको छ भने त्यसबारे कुनै परिपक्व भाइबहिनीसित कुरा गर्न साहस दिनुहोस्‌ भनेर यहोवासित बिन्ती गर्नुहोस्‌। ती भाइ वा बहिनीले तपाईँको कुरा बुझिदेऊन्‌ भनेर प्रार्थना गर्नुहोस्‌। यहोवालाई आफ्नो मनको बह पोख्नुहोस्‌, उहाँले प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ भनेर याद गर्नुहोस्‌ र अरूको मदत स्विकार्नुहोस्‌। यसो गर्दा तपाईँले आफ्नो एक्लोपन केही हदसम्म कम गर्न सक्नुहुनेछ।

अगाडि देखाइएका भाइ भिडियो कन्फरेन्समार्फत भाइबहिनीसँग चिठी साक्षीमा रमाउँदै भाग लिँदै छन्‌।

के तपाईँ भाइबहिनीसित सेवाका विभिन्‍न पक्षमा भाग लिने मौकाहरू खोज्नुहुन्छ? (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. मोरिसियोको उदाहरणबाट तपाईँले के सिक्नुभयो?

७ यहोवाले हामी सबैलाई अर्थपूर्ण काम दिनुभएको छ। तपाईँले मण्डलीमा र साक्षीकार्यमा सक्दो गरिरहनुभएको यहोवा याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। (भज. ११०:३) यस्ता आध्यात्मिक गतिविधिले तपाईँलाई एक्लोपन कम गर्न कसरी मदत गर्छ? जवान भाइ मोरिसियोको उदाहरण विचार गर्नुहोस्‌।b तिनले बप्तिस्मा गरेको केही समयपछि तिनको मिल्ने साथी सत्यदेखि टाढिन थाले। मोरिसियो भन्छन्‌: “उसले यहोवालाई त्यागेको देख्दा मैले पनि आफ्नो समर्पणको वाचा पूरा गर्न नसक्ने हो कि अनि यहोवाको परिवारको भाग भइरहन नसक्ने हो कि भनेर चिन्ता लाग्यो। मैले एक्लो महसुस गरेँ। मेरा भावनाहरू कसैले बुझ्न सक्दैन जस्तो लाग्यो।” मोरिसियोलाई केले मदत गऱ्‍यो? तिनी भन्छन्‌: “मैले साक्षीकार्यमा अझ धेरै समय बिताउन थालेँ। यसले मलाई आफूबारे मात्र नसोच्न र नकारात्मक भावनाहरूमा ध्यान नदिन मदत गऱ्‍यो। म आनन्दित हुन सकेँ र मेरो एक्लोपन पनि कम भयो।” भाइबहिनीसँग भेटेरै साक्षीकार्यमा भाग लिन सक्दैनौँ भने पनि हामी तिनीहरूसँगै पत्र र टेलिफोन साक्षीमा भाग लिएर बल पाउन सक्छौँ। मोरिसियोलाई अरू कस्तो कुराले मदत दियो? तिनी भन्छन्‌: “म मण्डलीको काममा अझ धेरै व्यस्त हुन थालेँ। मैले विद्यार्थीको असाइनमेन्ट राम्ररी पूरा गर्न धेरै मेहनत गरेँ। यसो गर्दा यहोवा र भाइबहिनीले मेरो कदर गरेको महसुस गरेँ।”

कठिन परीक्षाहरूले गर्दा निराश हुँदा

८. कठिन परीक्षाहरूले हामीलाई कस्तो असर गर्न सक्छ?

८ अन्तको दिनमा परीक्षाहरू आउनेछन्‌ भनेर हामीलाई थाह छ। (२ तिमो. ३:१) तर अचानक आसै नगरेको परीक्षा आइपर्दा हामीलाई के गर्ने कसो गर्ने हुन सक्छ। हामीले अचानक आर्थिक कठिनाइ भोग्नुपर्ने हुन सक्छ, हामीलाई घातक रोग लाग्न सक्छ अथवा हामीले प्रियजन गुमाउन सक्छौँ। यस्तो अवस्थामा हामी निराश हुन सक्छौँ अनि आत्तिन सक्छौँ, विशेषगरि एकपछि अर्को परीक्षा आउँदा अथवा कठिन परीक्षाहरू एकैचोटि आइपर्दा। तर नबिर्सनुहोस्‌, यहोवाको नजर हामीमाथि छ। उहाँको मदतले हामी जस्तोसुकै परीक्षा पनि सहन सक्छौँ।

९. अय्युबले भोगेका केही परीक्षाबारे बताउनुहोस्‌।

९ यहोवाले वफादार पुरुष अय्युबलाई कसरी मदत गर्नुभयो, विचार गरौँ। तिनले छोटो समयमै थुप्रै कठिन परीक्षाको सामना गर्नुपऱ्‍यो। तिनले एकै दिनमा आफ्ना वस्तुभाउ गुमाए, तिनका नोकरचाकर मारिए अनि अझ दुःखलाग्दो कुरा, तिनले आफ्ना प्यारा छोराछोरी पनि गुमाए। (अय्यु. १:१३-१९) यस्तो असह्‍य शोकबाट निस्कन नपाउँदै अय्युबमाथि अर्को विपत्ति आइलाग्यो। तिनको शिरदेखि पैतालासम्म पीडादायी खटिरा निस्कियो। (अय्यु. २:७) तिनको अवस्था यत्ति दयनीय थियो कि तिनले यसो भने: “म आफ्नो जीवनदेखि वाक्क भइसकेँ, अब म बाँच्न चाहन्‍नँ।”—अय्यु. ७:१६.

अय्युब यहोवाले सृष्टि गर्नुभएका जलगैँडा, सारस, सुतुरमुर्ग, गोही, चील, घोडा र जङ्‌गली साँढेजस्ता अद्‌भुत जीवजन्तुबारे मनन गर्दै छन्‌। आँधीबेहरी चल्दै छ र एलिहु अनि झूटो सान्त्वना दिने तीन जना साथी अय्युबको छेउमा बसिरहेका छन्‌।

अय्युबलाई धेरै माया गर्छु भनेर आश्‍वासन दिन यहोवा आफूले सृष्टिको ख्याल राखेको विभिन्‍न तरिकाबारे बताउनुहुन्छ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. यहोवाले अय्युबलाई परीक्षा सहन कसरी मदत दिनुभयो? (आवरण चित्र हेर्नुहोस्‌।)

१० यहोवाको नजर अय्युबमाथि थियो। उहाँ तिनलाई धेरै माया गर्नुहुन्थ्यो। त्यसैले तिनलाई परीक्षाहरू सहन र वफादार रहिरहन मदत दिनुभयो। यहोवाले आफ्नो अथाह बुद्धिबारे र आफ्नो सृष्टिको ख्याल राखेको विभिन्‍न तरिकाबारे अय्युबलाई सम्झाउनुभयो। उहाँले तिनलाई थुप्रै अद्‌भुत जीवजन्तुबारे बताउनुभयो। (अय्यु. ३८:१, २; ३९:९, १३, १९, २७; ४०:१५; ४१:१, २) तिनलाई बल र सान्त्वना दिन यहोवाले आफ्नो जवान सेवक एलिहुलाई प्रयोग गर्नुभयो। सहनशील भई परीक्षाहरूको सामना गर्ने आफ्ना उपासकहरूलाई यहोवा सधैँ इनाम दिनुहुन्छ भनेर एलिहुले तिनलाई आश्‍वासन दिए। यहोवाले एलिहुमार्फत अय्युबलाई मायालु सल्लाह पनि दिनुभयो। एलिहुले अय्युबलाई यस विशाल ब्रह्‍माण्डको सृष्टिकर्ता यहोवाको तुलनामा हामी एकदमै साना छौँ भन्‍ने कुरा सम्झाएर तिनलाई आफैबारे मात्र नसोच्न मदत गरे। (अय्यु. ३७:१४) यहोवाले अय्युबलाई एउटा काम पनि दिनुभयो। पाप गरेका तीन जना साथीको लागि तिनले प्रार्थना गर्नुपर्थ्यो। (अय्यु. ४२:८-१०) कठिन परीक्षाको सामना गर्नुपर्दा यहोवा हामीलाई पनि कसरी मदत गर्नुहुन्छ?

११. परीक्षाको बेला बाइबलले हामीलाई कस्तो सान्त्वना दिन्छ?

११ अय्युबसित जस्तै यहोवा हामीसित सीधै त बोल्नुहुन्‍न बरु आफ्नो वचन बाइबलमार्फत बोल्नुहुन्छ। (रोमी १५:४) उहाँले हामीलाई भविष्यको आशा दिनुभएर सान्त्वना दिनुहुन्छ। परीक्षाको बेला हामीलाई सान्त्वना दिने केही बाइबल पद विचार गरौँ। कठिन परीक्षालगायत कुनै पनि कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन भनेर उहाँ आश्‍वासन दिनुहुन्छ। (रोमी ८:३८, ३९) साथै “यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌।” (भज. १४५:१८) हामी यहोवामा भर पर्छौँ भने जस्तोसुकै परीक्षा सहन सक्छौँ र गाह्रो अवस्थामा पनि खुसी हुन सक्छौँ भनेर उहाँ हामीलाई बताउनुहुन्छ। (१ कोरि. १०:१३; याकु. १:२, १२) उहाँले हामीलाई दिनुहुने अनन्त जीवनको तुलनामा हाम्रा परीक्षाहरू अस्थायी र क्षणिक हुन्‌ भनेर बाइबल हामीलाई सम्झाउँछ। (२ कोरि. ४:१६-१८) यहोवाले हाम्रा सबै परीक्षाको मुख्य जड सैतान र त्यसका समर्थकहरूलाई हटाउने प्रतिज्ञा गर्नुभएको छ। (भज. ३७:१०) के तपाईँले परीक्षाहरू सहन मदत दिने बाइबल पदहरू कण्ठ पार्नुभएको छ?

१२. यहोवा हामीले के गरेको चाहनुहुन्छ?

१२ हामीले नियमित रूपमा बाइबलको अध्ययन गरेको र मनन गरेको यहोवा चाहनुहुन्छ। सिकेको कुरा लागू गर्दा हाम्रो विश्‍वास अझ बलियो हुन्छ र स्वर्गमा हुनुहुने बुबासित हामी अझ घनिष्ठ हुन्छौँ। यसले गर्दा हामीले परीक्षाहरू सहने बल पाउँछौँ। यहोवा आफ्नो वचनमा भर पर्नेहरूलाई पवित्र शक्‍ति पनि दिनुहुन्छ, जसले जस्तोसुकै परीक्षा सहन “असाधारण शक्‍ति” दिन्छ।—२ कोरि. ४:७-१०.

१३. आध्यात्मिक भोजनले परीक्षाहरू सहन कसरी मदत गर्छ?

१३ यहोवाको साथ पाएर “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले प्रशस्त मात्रामा लेखहरू, भिडियोहरू र गीतहरू तयार पार्दै आएको छ। यी सामग्रीहरूले हामीलाई विश्‍वास बलियो बनाउन र यहोवासित नजिक भइरहन मदत गर्छ। (मत्ति २४:४५) ठीक-ठीक समयमा दिइएको यस्तो भोजनबाट हामीले पूरापूर लाभ उठाउनुपर्छ। अमेरिकाकी एक बहिनीले आफूले पाइरहेको आध्यात्मिक भोजनको लागि कृतज्ञता व्यक्‍त गरिन्‌। तिनले यसो भनिन्‌: “यहोवाको सेवामा बिताएको ४० वर्षको दौडान थुप्रै चोटि मेरो सत्यनिष्ठाको जाँच भएको छ।” तिनले थुप्रै कठिन परीक्षाको सामना गरिन्‌। कार दुर्घटनामा तिनको हजुरबुबाको ज्यान गयो, प्राणघातक रोग लागेर तिनको आमाबुबाको पनि मृत्यु भयो र तिनी आफैलाई दुई पटक क्यान्सर भयो। यस्तो गाह्रो अवस्था सहन तिनलाई केले मदत गऱ्‍यो? तिनी भन्छिन्‌: “यहोवाले सधैँ मेरो ख्याल राख्नुभएको छ। विश्‍वासी र बुद्धिमान्‌ दासले दिएको आध्यात्मिक भोजनले गर्दा मैले यस्ता परीक्षाहरू सहन सकेकी छु। यस्तो मदतले गर्दा मैले अय्युबले जस्तै महसुस गर्न सकेँ, जसले यसो भनेका थिए: ‘म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।’”—अय्यु. २७:५.

एउटी आमा र तिनकी सानी छोरी एक वृद्ध दम्पतीलाई भेट्‌न गएका छन्‌। छोरीले आफूले बनाएको कार्ड दिँदै छिन्‌। ती वृद्ध ख्रिष्टियनले अक्सिजन लगाइरहेका छन्‌।

हामी मण्डलीमा अरूको लागि कसरी आशिष्‌ साबित हुन सक्छौँ? (अनुच्छेद १४ हेर्नुहोस्‌)

१४. यहोवा हामीलाई मदत गर्न भाइबहिनीलाई कसरी प्रयोग गर्नुहुन्छ? (१ थिस्सलोनिकी ४:९)

१४ यहोवाले आफ्ना मानिसहरूलाई कठिन समयमा एकअर्कालाई प्रेम गर्न र सान्त्वना दिन सिकाउनुभएको छ। (२ कोरि. १:३, ४; १ थिस्सलोनिकी ४:९ पढ्‌नुहोस्‌।) एलिहुजस्तै हाम्रा भाइबहिनी हामीलाई गाह्रो अवस्थामा मदत गर्न सधैँ तयार छन्‌। (प्रेषि. १४:२२) डियानको अनुभव विचार गरौँ। तिनको श्रीमान्‌लाई गम्भीर रोग लागेपछि मण्डलीका भाइबहिनीले तिनलाई सान्त्वना दिए र आध्यात्मिक रूपमा बलियो रहिरहन मदत गरे। तिनी भन्छिन्‌: “अवस्था निकै गाह्रो थियो तर यहोवाले हामीलाई आफ्नो न्यानो अङ्‌गालोमा बाँध्नुभयो। मण्डलीका भाइबहिनीले हामीलाई धेरै मदत गर्नुभयो। उहाँहरू हामीलाई भेट्‌न आउनुभयो, हामीलाई अङ्‌गालो हाल्नुभयो र फोन पनि गर्नुभयो। यसले पनि हामीलाई सहन धेरै मदत गऱ्‍यो। मलाई गाडी चलाउन आउँदैन। त्यसैले सभा र साक्षीकार्यमा जान भाइबहिनीहरू मलाई लिन आउनुहुन्थ्यो। यस्तो मायालु आध्यात्मिक परिवारको भाग हुन पाउनु साँच्चै आशिष्‌को कुरा हो!”

यहोवाको मायालु हेरचाहप्रति कृतज्ञ

१५. हामी गाह्रा अवस्थाहरू सहन सक्छौँ भन्‍ने कुरामा किन विश्‍वस्त छौँ?

१५ हामी सबैले कुनै न कुनै प्रकारको परीक्षा भोग्नुपर्छ। तर यस लेखमा सिकेझैँ हामीले कहिल्यै पनि एक्लैले यस्ता परीक्षाहरूको सामना गर्नुपर्दैन। मायालु बुबाले जस्तै यहोवाले सधैँ हामीमाथि नजर राख्नुहुन्छ। उहाँ हाम्रो साथमा हुनुहुन्छ अनि हाम्रो बिन्ती सुन्‍न र हामीलाई मदत गर्न सधैँ तयार हुनुहुन्छ। (यसै. ४३:२) यहोवाले हामीलाई परीक्षा सहन चाहिने सबै कुरा उदार भई दिनुभएको छ। जस्तै: प्रार्थना गर्ने सुअवसर, बाइबल, प्रशस्त आध्यात्मिक भोजन अनि खाँचोमा पर्दा मदत गर्ने मायालु भाइबहिनी। त्यसैले हामी गाह्रा अवस्थाहरू सहन सक्छौँ भन्‍ने कुरामा विश्‍वस्त छौँ।

१६. यहोवाको मायालु हेरचाह पाइरहन हामीले के गर्नुपर्छ?

१६ हामीमाथि सधैँ नजर राख्नुहुने मायालु बुबा पाएकोमा हामी धेरै खुसी छौँ। “उहाँको कारण हाम्रो हृदय हर्षित हुन्छ।” (भज. ३३:२१) उहाँले हाम्रो लागि मिलाउनुभएका सबै प्रबन्धबाट पूरापूर लाभ उठाएर उहाँको मायालु हेरचाहप्रति कृतज्ञ भएको देखाउन सक्छौँ। तर उहाँको हेरचाह पाइरहन हामीले आफ्नो तर्फबाट पनि सक्दो गर्नुपर्छ। अर्को शब्दमा भन्‍नुपर्दा, यदि हामी यहोवाको आज्ञा पालन गर्न र उहाँको नजरमा जे सही छ, त्यो गर्न सक्दो कोसिस गरिरहन्छौँ भने उहाँले हामीमाथि सधैँ नजर राखिरहनुहुनेछ।—१ पत्रु. ३:१२.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • एक्लो महसुस हुँदा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

  • कठिन परीक्षाहरूले गर्दा निराश हुँदा यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

  • हामी यहोवाको मायालु हेरचाहप्रति किन कृतज्ञ हुनुपर्छ?

गीत ३० यहोवा नै मेरा बुबा, ईश्‍वर र साथी

a समस्याहरूसित लड्‌न हामीलाई यहोवाको मदत चाहिन्छ। यहोवा आफ्ना मानिसहरूमाथि नजर राखिरहनुहुन्छ भन्‍ने कुरामा यस लेखले हामीलाई विश्‍वस्त बनाउँछ। हामी प्रत्येकले कस्ता चुनौतीहरूको सामना गर्दै छौँ भनेर उहाँ याद गर्नुहुन्छ र आवश्‍यक मदत दिनुहुन्छ।

b केही नाम परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने