प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 सेप्टेम्बर pp. २-७
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीलाई भाइबहिनी चाहिन्छ
  • प्रेमले भरोसा गर्न मदत गर्छ
  • अरूमाथि भरोसा कायम राखेकाहरूबाट सिक्नुहोस्‌
  • भाइबहिनीलाई फेरि भरोसा गर्न सिक्नुहोस्‌
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 सेप्टेम्बर pp. २-७

अध्ययन लेख ३७

हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ

“प्रेम[ले] . . . सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ।”—१ कोरि. १३:४, ७.

गीत १२४ सधैँ वफादार रहौँ!

परिचयa

१. मानिसहरूले एकअर्कालाई भरोसा गर्न नसकेको देखेर हामी किन छक्क पर्नुपर्दैन?

संसारमा व्यापारी, राजनीतिज्ञ र धर्मगुरुले बारम्बार मानिसहरूको भरोसा तोड्‌छन्‌। कहिलेकाहीँ घनिष्ठ साथी, छिमेकी अनि परिवारका सदस्यले समेत एकअर्कालाई धोका दिन्छन्‌। त्यसैले मानिसहरू कसलाई भरोसा गर्ने र कसलाई नगर्ने भनेर अन्योलमा छन्‌। तर हामी छक्क पर्नुपर्दैन किनभने बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: ‘अन्तको दिनमा मानिसहरू विश्‍वासघाती, निन्दक, धोकेबाज हुनेछन्‌।’ अर्को शब्दमा भन्‍नुपर्दा, संसारका मानिसहरू यस युगका ईश्‍वर सैतानजस्तै छन्‌, जसलाई पटक्कै भरोसा गर्न सकिँदैन।—२ तिमो. ३:१-४; २ कोरि. ४:४.

२. (क) हामी कसमाथि पूर्ण भरोसा राख्न सक्छौँ? (ख) कसै-कसैलाई कस्तो लाग्न सक्छ?

२ तर यहोवामाथि पूर्ण भरोसा राख्न सकिन्छ भनेर हामीलाई थाह छ। (यर्मि. १७:७, ८) उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र आफ्ना साथीहरूलाई “कहिल्यै त्याग्नुहुन्‍न” भनेर हामी ढुक्क छौँ। (भज. ९:१०) हामी येसु ख्रिष्टलाई पनि भरोसा गर्न सक्छौँ किनभने उहाँले हाम्रो लागि आफ्नो जीवन दिनुभयो। (१ पत्रु. ३:१८) साथै बाइबलमा भरपर्दो डोऱ्‍याइ पाइन्छ भनेर पनि हामी आफैले अनुभव गरेका छौँ। (२ तिमो. ३:१६, १७) हो, हामी यहोवा, येसु र बाइबलमाथि भरोसा राख्न सक्छौँ। तर कसै-कसैलाई ‘मण्डलीका भाइबहिनीलाई सधैँ भरोसा गर्न सकिन्छ र’ जस्तो लाग्न सक्छ। यदि सकिन्छ भने त्यसको आधार के छ?

हामीलाई भाइबहिनी चाहिन्छ

विभिन्‍न पृष्ठभूमिका भाइबहिनी खुसी हुँदै अधिवेशनमा सेल्फि लिँदै छन्‌।

हामीले जस्तै यहोवालाई प्रेम गर्ने भरोसायोग्य भाइबहिनी संसारभरि छन्‌ (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. हामीले कस्तो विशेष सुअवसर पाएका छौँ? (मर्कुस १०:२९, ३०)

३ यहोवाले हामीलाई उहाँको विशाल परिवारको भाग बन्‍न रोज्नुभएको छ। यो विशेष सुअवसर हो, जसबाट हामी थुप्रै लाभ उठाउन सक्छौँ। (मर्कुस १०:२९, ३० पढ्‌नुहोस्‌।) संसारभरिका भाइबहिनीले हामीले जस्तै यहोवालाई प्रेम गर्छन्‌ र उहाँको स्तरअनुरूप जीवन बिताउन सक्दो प्रयास गर्छन्‌। हाम्रो भाषा, संस्कृति र भेषभूषा फरक होला तर पहिलो चोटि भेट्‌दा पनि हामीलाई तिनीहरू आफ्नो परिवारजस्तै लाग्छ। तिनीहरूसँगै मिलेर स्वर्गमा बस्नुहुने परमेश्‍वरको प्रशंसा र उपासना गर्न पाउँदा हामीलाई धेरै खुसी लाग्छ।—भज. १३३:१.

४. हामीलाई भाइबहिनी किन चाहिन्छ?

४ अहिले भाइबहिनीसित एकतामा रहनु झनै महत्त्वपूर्ण भएको छ। तिनीहरू हामीलाई हाम्रो बोझ बोक्न मदत गर्छन्‌। (रोमी १५:१; गला. ६:२) हामीलाई यहोवाको सेवामा सक्रिय रहन र आध्यात्मिक रूपमा बलियो रहन पनि प्रोत्साहन दिन्छन्‌। (१ थिस्स. ५:११; हिब्रू १०:२३-२५) हाम्रो शत्रु सैतान र त्यसको दुष्ट संसारविरुद्ध हामी एक्लै लड्‌नुपरेको भए कस्तो हुन्थ्यो होला! सैतान र त्यसका समर्थकहरूले अब चाँडै परमेश्‍वरका सेवकहरूमाथि आक्रमण गर्नेछन्‌। त्यतिबेला भाइबहिनीको साथ पाउँदा हामी कत्ति कृतज्ञ हुनेछौँ, कल्पना गर्नुहोस्‌ त!

५. कसै-कसैलाई भाइबहिनीमाथि भरोसा गर्न किन गाह्रो लाग्न सक्छ?

५ तर कहिलेकाहीँ हामीलाई भाइबहिनीमाथि भरोसा गर्न गाह्रो लाग्न सक्छ किनभने तिनीहरूले हाम्रो गोप्य कुरा अरूलाई भनिदिएको वा आफ्नो वाचा पूरा नगरेको हुन सक्छ। अथवा कसैले हाम्रो मनमा गहिरो चोट पर्ने गरी केही भनेको वा गरेको हुन सक्छ। त्यसोभए ती भाइबहिनीलाई फेरि भरोसा गर्न केले मदत गर्छ?

प्रेमले भरोसा गर्न मदत गर्छ

६. प्रेमले भरोसा गर्न कसरी मदत गर्छ? (१ कोरिन्थी १३:४-८)

६ भरोसाको आधार प्रेम हो। पहिलो कोरिन्थी १३ अध्यायमा अरूलाई भरोसा गर्न वा हाम्रो भरोसा तोडेको व्यक्‍तिलाई फेरि भरोसा गर्न मदत दिने प्रेमका थुप्रै पक्षबारे बताइएको छ। (१ कोरिन्थी १३:४-८ पढ्‌नुहोस्‌।) जस्तै, पद ४ मा “प्रेम धीरजी र दयालु हुन्छ” भनिएको छ। हामीले यहोवाविरुद्ध पाप गर्दा समेत उहाँले हामीसित धीरजी भई व्यवहार गर्नुहुन्छ। त्यसैले भाइबहिनीले रिस उठाउने वा चित्त दुखाउने केही कुरा भन्दा वा गर्दा हामी पनि धीरजी हुनुपर्छ। पद ५ यसो भन्छ: “[प्रेम] आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन।” हामी ‘खराबीको हिसाब राख्न’ चाहँदैनौँ अर्थात्‌ अरूले चित्त दुखाउँदा त्यो कुरा मनमा लिइरहन चाहँदैनौँ। उपदेशक ७:९ ले “कुनै पनि कुरामा चित्त दुखाइहाल्ने” गर्नु हुँदैन भनेर बताउँछ। त्यसैले एफिसी ४:२६ को यो सल्लाह लागू गर्नु बेस हो: “घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्‌।”

७. मत्ति ७:१-५ को सिद्धान्तले अरूलाई भरोसा गर्न कसरी मदत गर्छ?

७ भरोसा गर्न मदत गर्ने अर्को कुरा भाइबहिनीलाई यहोवाले जसरी नै हेर्नु हो। यहोवा तिनीहरूलाई प्रेम गर्नुहुन्छ। उहाँ तिनीहरूको पापको एक-एक हिसाब राख्नुहुन्‍न र हामीले पनि त्यसो गर्नु हुँदैन। (भज. १३०:३) तिनीहरूको गल्तीमा ध्यान दिनुको साटो तिनीहरूका असल गुणहरू र तिनीहरूले गर्न सक्ने असल काममा ध्यान दिन सक्दो कोसिस गर्नुपर्छ। (मत्ति ७:१-५ पढ्‌नुहोस्‌।) तिनीहरू असल काम गर्न चाहन्छन्‌ अनि हाम्रो चित्त दुखाउन चाहँदैनन्‌ भनेर हामी विश्‍वास गर्छौँ किनभने प्रेमले “सबै कुरा पत्यार गर्छ।” (१ कोरि. १३:७) तर हामीले भाइबहिनीलाई आँखा चिम्लेर भरोसा गरेको यहोवा चाहनुहुन्‍न। बरु तिनीहरूले आफूलाई भरोसायोग्य साबित गरेकोले तिनीहरूलाई भरोसा गरेको चाहनुहुन्छ।b

८. भाइबहिनीलाई भरोसा गर्न तपाईँ के गर्न सक्नुहुन्छ?

८ भाइबहिनीलाई भरोसा गर्न समय लाग्न सक्छ। यसको लागि हामी के गर्न सक्छौँ? तिनीहरूलाई राम्ररी चिन्‍नुहोस्‌। सभामा कुराकानी गर्नुहोस्‌। साक्षीकार्यमा सँगै भाग लिनुहोस्‌। धीरजी हुनुहोस्‌ र तिनीहरूलाई आफू भरोसायोग्य भएको देखाउने मौका दिनुहोस्‌। भर्खरै चिनजान गरिरहेको भाइबहिनीलाई तपाईँ आफूबारे सबै कुरा बताउनुहुन्‍न होला। तर सम्बन्ध बलियो हुँदै गएपछि तपाईँलाई आफ्नो मनको कुरा खुलेर बताउन अझै सजिलो लाग्न सक्छ। (लुका १६:१०) कसैले तपाईँको भरोसा तोड्यो भने के गर्न सक्नुहुन्छ? तिनीसित तुरुन्तै आफ्नो सम्बन्ध नतोड्‌नुहोस्‌। बरु केही समय बित्न दिनुहोस्‌। एक-दुई जनाले भरोसा तोड्यो भन्दैमा कसैलाई पनि भरोसा गर्न सकिँदैन भनेर नसोच्नुहोस्‌। कसै-कसैको कारणले निराश भए तापनि अरूमाथि भरोसा कायम राखेका केही वफादार सेवकबारे विचार गरौँ।

अरूमाथि भरोसा कायम राखेकाहरूबाट सिक्नुहोस्‌

चित्रहरूको सँगालो: १. प्रार्थना गरिरहेकी हन्‍नालाई एलिले शङ्‌काको दृष्टिले हेर्दै छन्‌। २. हन्‍नाले बालक समुएललाई एलिकहाँ ल्याउँछिन्‌।

एलिले हन्‍नालाई सुरुमा गलत ठानेको भए तापनि हन्‍नाले यहोवाका प्रबन्धहरूमा भरोसा गरिरहिन्‌ (अनुच्छेद ९ हेर्नुहोस्‌)

९. (क) हन्‍नाले यहोवाको प्रबन्धमाथि भरोसा कायम राखेको कसरी देखाइन्‌? (ख) यहोवाको प्रबन्धमाथि भरोसा गर्नेबारे तपाईँले हन्‍नाबाट के सिक्नुभयो? (चित्र हेर्नुहोस्‌।)

९ कुनै जिम्मेवार भाइले गर्दा के तपाईँको चित्त दुखेको छ? छ भने हन्‍नाको उदाहरण विचार गर्नुहोस्‌। त्यतिबेला प्रधानपुजारी एलिले इस्राएलमा परमेश्‍वरको उपासनाको नेतृत्व लिइरहेका थिए। तर तिनको परिवार उदाहरणीय थिएन। तिनका छोराहरू पुजारी भए तापनि घृणित र अनैतिक काम गरिरहेका थिए। तैपनि एलिले तिनीहरूलाई सच्याउन ठोस कदम चालेनन्‌। यहोवाले एलिलाई प्रधानपुजारीको पदबाट तुरुन्तै हटाउनुभएन। तैपनि उपासनाको लागि वासस्थानमा जान नछोडेर हन्‍नाले यहोवाको प्रबन्धप्रति आदर देखाइरहिन्‌। एकचोटि हन्‍ना निराश भएर प्रार्थना गरिरहँदा उनको ओठ मात्र चलिरहेको देखेर एलिले उनी रक्सीले मात्तिएछिन्‌ भन्ठाने। तिनले वास्तविकता नबुझीकन ती दुःखी स्त्रीको आलोचना गरे। (१ समु. १:१२-१६) हन्‍नाले यहोवाले एउटा छोरा दिनुभयो भने उसलाई वासस्थानमा अर्पण गर्ने भाकल गरेकी थिइन्‌। उनले आफ्नो छोरालाई एलिकै जिम्मामा छोड्‌नुपर्ने हुन्थ्यो। तैपनि उनी आफ्नो भाकल पूरा गर्न तयार थिइन्‌। (१ समु. १:११) खराब मार्गमा लागिरहेका एलिका छोराहरूलाई चाहिँ के भयो? अन्ततः यहोवाले तिनीहरूलाई सजाय दिनुभयो। (१ समु. ४:१७) यसैबीच यहोवाले इनामस्वरूप हन्‍नालाई एउटा छोरा दिनुभयो।—१ समु. १:१७-२०.

१०. नजिकका मानिसहरूबाट धोका पाए तापनि दाउदले अरूलाई भरोसा गर्न छोडेनन्‌ भनेर किन भन्‍न सक्छौँ?

१० के तपाईँलाई आफ्नो मिल्ने साथीले धोका दिएको छ? छ भने राजा दाउदको अनुभव विचार गर्नुहोस्‌। दाउदका एक जना साथी अहितोपेल थिए। अब्सालोमले आफ्नो बुबा दाउदको राज्य हडप्न खोज्दा अहितोपेलले अब्सालोमलाई साथ दिए। आफ्नो छोरा र नजिकको साथी दुवैबाट धोका पाउँदा दाउदलाई कत्ति चोट पुग्यो होला! तैपनि दाउदले अरूलाई भने भरोसा गर्न छोडेनन्‌। तिनले अर्को वफादार साथी हुसैलाई भरोसा गरिरहे, जसले अब्सालोमको विद्रोहमा साथ दिएनन्‌। दाउदले हुसैलाई भरोसा गरेको खेर गएन। हुसैले आफूलाई असल साथी साबित गरे र दाउदलाई मदत गर्न आफ्नो ज्यानसमेत खतरामा पारे।—२ समु. १७:१-१६.

११. नाबालका सेवकले अबिगेललाई भरोसा गरेको कसरी देखाए?

११ नाबालका एक सेवकको उदाहरण पनि विचार गरौँ। दाउद र तिनका मानिसहरूले नाबालका सेवकहरूलाई सुरक्षा दिएका थिए। त्यसको केही समयपछि दाउदले धनी नाबाललाई आफू र आफ्ना मानिसहरूको निम्ति जे-जति खानेकुरा दिन सकिन्छ, त्यति दिन आग्रह गरे। तर नाबालले दाउदको यस्तो सानो माग पनि पूरा गर्न मानेनन्‌। यो सुनेर दाउद यत्ति क्रोधित भए कि तिनी नाबालको घरानाको सबै पुरुषलाई मार्न सुरिए। यो कुरा नाबालका एक सेवकले नाबालकी पत्नी अबिगेललाई बताए। उनी नाबालकै घरानाका सेवक भएकोले उनको ज्यान पनि खतरामा थियो। अबिगेलले उनको ज्यान बचाउन सक्छिन्‌ भनेर उनलाई थाह थियो। त्यसैले भाग्नुको सट्टा उनले अबिगेलमाथि भरोसा गरे किनभने तिनी समझदार स्त्री भनेर चिनिन्थिन्‌। त्यसपछि भएको घटनाबाट ती सेवकले अबिगेललाई भरोसा गर्नु सही थियो भनेर स्पष्ट भयो। दाउदलाई गलत कदम चाल्नदेखि रोकेर अबिगेलले साहस देखाइन्‌। (१ समु. २५:२-३५) दाउदले सोचविचार गरेर कदम चाल्नेछन्‌ भनेर तिनले भरोसा गरिन्‌।

१२. येसुले आफ्ना त्रुटिपूर्ण चेलाहरूमाथि भरोसा गरेको कसरी देखाउनुभयो?

१२ येसुले आफ्ना चेलाहरूको कमीकमजोरीको बाबजुद तिनीहरूमाथि भरोसा गर्नुभयो। (युह. १५:१५, १६) याकुब र युहन्‍नाले परमेश्‍वरको राज्यमा विशेष ओहदाको लागि आग्रह गर्दा येसुले तिनीहरूको मनसायमा शङ्‌का गर्नुभएन न त तिनीहरूलाई प्रेषितको जिम्मेवारीबाट हटाउनु नै भयो। (मर्कु. १०:३५-४०) येसु पक्राउ पर्नुभएको रात सबै चेला उहाँलाई छोडेर भागे। (मत्ति २६:५६) तर येसुले तिनीहरूमाथि कहिल्यै भरोसा गर्न छोड्‌नुभएन। उहाँलाई तिनीहरूको कमीकमजोरीबारे राम्ररी थाह थियो तैपनि उहाँले “तिनीहरूलाई अन्तसम्मै प्रेम गरिरहनुभयो।” (युह. १३:१) फेरि जीवित हुनुभएका येसुले ११ जना वफादार प्रेषितलाई चेला बनाउने र आफ्ना अमूल्य भेडाहरूको ख्याल राख्ने गहन जिम्मेवारीसमेत सुम्पनुभयो। (मत्ति २८:१९, २०; युह. २१:१५-१७) ती त्रुटिपूर्ण चेलाहरूमाथि उहाँले गर्नुभएको भरोसा खेर गएन। तिनीहरू सबै जना मृत्युसम्मै वफादार रहे। यसरी हन्‍ना, दाउद, नाबालका सेवक, अबिगेल र येसुले त्रुटिपूर्ण मानिसहरूलाई भरोसा गर्ने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो।

भाइबहिनीलाई फेरि भरोसा गर्न सिक्नुहोस्‌

१३. कस्तो कारणले गर्दा भाइबहिनीमाथि भरोसा गर्न गाह्रो हुन सक्छ?

१३ तपाईँले कसैमाथि भरोसा गरेर कुनै गोप्य कुरा बताउनुभएको थियो होला तर पछि तिनले तपाईँको भरोसा तोडेको थाह पाउनुभयो। त्यतिबेला तपाईँलाई कस्तो लागेको थियो? एउटा अनुभव विचार गरौँ। एउटी बहिनीले एक जना एल्डरलाई भरोसा गरेर आफ्नो व्यक्‍तिगत कुरा बताएकी थिइन्‌। त्यसको भोलिपल्ट ती एल्डरकी पत्नीले त्यही कुरा निकालेर तिनलाई प्रोत्साहन दिन फोन गरिन्‌। उनले पक्कै पनि आफ्नो पतिबाट त्यो कुरा थाह पाएकी थिइन्‌। यस घटनाले गर्दा ती एल्डरमाथिको तिनको भरोसा गुम्यो। तर खुसीको कुरा, ती बहिनीले अर्को एल्डरसित मदत मागिन्‌। यसरी मदत पाएपछि तिनले आफ्नो भरोसा तोडेको एल्डरलाई फेरि भरोसा गर्न सकिन्‌।

१४. एक जना भाइले कसरी एल्डरहरूलाई फेरि भरोसा गर्न सके?

१४ एक जना भाइको दुई एल्डरसित मनमुटाव भएको लामो समय भइसकेको थियो। ती एल्डरहरूलाई फेरि भरोसा गर्न सकिँदैन जस्तो तिनलाई लागेको थियो। तर तिनले आफूले एकदमै आदर गर्ने एक जना भाइले भन्‍नुभएको कुरामा गहिरिएर विचार गरे। उहाँले एउटा सरल तर सशक्‍त कुरा भन्‍नुभएको थियो: “हाम्रो शत्रु सैतान हो, हाम्रा भाइबहिनी होइनन्‌।” तिनले यसबारे प्रार्थनापूर्वक विचार गरे र ती दुई एल्डरसित शान्ति कायम गरे।

१५. अरूलाई फेरि भरोसा गर्न किन समय लाग्न सक्छ? एउटा उदाहरण दिनुहोस्‌।

१५ के तपाईँले कहिल्यै आफूले पाएको सुअवसर गुमाउनुभएको छ? छ भने त्यो एकदमै पीडादायी हुन सक्छ। ग्रेटाको अनुभव विचार गरौँ। सन्‌ १९३० को दशकमा जर्मनीमा नाजी शासनको बेला हाम्रो काममा प्रतिबन्ध लगाइएको थियो। त्यतिबेला ग्रेटा र तिनकी आमा वफादार भई यहोवाको सेवा गर्दै थिए। ग्रेटाले प्रहरीधरहरा-का प्रतिहरू बनाउने सुअवसर पाएकी थिइन्‌। तर भाइहरूले ग्रेटाका बुबा सत्यका विरोधी हुन्‌ भनेर थाह पाएपछि तिनीबाट त्यो सुअवसर खोसियो। भाइहरूलाई ग्रेटाका बुबाले मण्डलीको जानकारी विरोधीहरूलाई देलान्‌ भन्‍ने डर लागेको थियो। तर यतिमै तिनको परीक्षा सकिएन। दोस्रो विश्‍वयुद्धभरि नै भाइहरूले ग्रेटा र तिनकी आमालाई पत्रिकाहरू दिएनन्‌ अनि बाटोमा भेट्‌दा पनि कुरै नगरी हिँडे। यी कुराहरूले गर्दा ग्रेटाको एकदमै चित्त दुखेको थियो। ती भाइहरूलाई क्षमा दिन र फेरि भरोसा गर्न लामो समय लाग्यो भनेर ग्रेटा बताउँछिन्‌। तर यहोवाले तिनीहरूलाई क्षमा दिनुभएको हुनुपर्छ भनेर विचार गर्दा तिनले पनि क्षमा दिन सकिन्‌।c

“हाम्रो शत्रु सैतान हो, हाम्रा भाइबहिनी होइनन्‌”

१६. हामीले भाइबहिनीलाई फेरि भरोसा गर्न किन सिक्नुपर्छ?

१६ तपाईँको पनि यस्तै तीतो अनुभव छ भने अरूलाई फेरि भरोसा गर्न सिक्नुहोस्‌। यसको लागि समय लाग्न सक्छ तर तपाईँको प्रयास खेर जानेछैन। एउटा उदाहरण विचार गर्नुहोस्‌। बासी खाना खाएकोले तपाईँलाई पेट दुखेको, झाडाबान्ता भएको थियो भने के खाने, के नखाने भनेर अझै होसियार हुनुहुनेछ। तर एकचोटि त्यस्तो हुँदैमा तपाईँ खाना खानै छोड्‌नुहुन्छ र? त्यसैगरि एउटा नराम्रो अनुभवले गर्दा कुनै पनि भाइबहिनीलाई भरोसा गर्न सकिँदैन भनेर सोच्नु हुँदैन किनकि तिनीहरू पनि त्रुटिपूर्ण छन्‌। भाइबहिनीलाई फेरि भरोसा गर्न थाल्दा हामी अझ आनन्दित हुनेछौँ र भाइबहिनीबीचको भरोसालाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्‍ने कुरामा ध्यान दिन सक्नेछौँ।

१७. एकअर्कालाई भरोसा गर्नु किन महत्त्वपूर्ण छ र अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

१७ सैतानको संसारमा जोकोहीलाई पनि भरोसा गर्न सकिँदैन तर हामी भाइबहिनीलाई भने भरोसा गर्न सक्छौँ किनभने हामी एकअर्कालाई प्रेम गर्छौँ। यस्तो भरोसाले हाम्रो एकता र आनन्दमा योगदान पुऱ्‍याउँछ र कठिन परीक्षाहरू सामना गर्नुपर्दा त्यसले हामीलाई सुरक्षा दिन्छ। तर कसैले तपाईँको भरोसा तोडेकोले एकदमै चित्त दुखेको छ र उसलाई कहिल्यै भरोसा गर्न सक्दिनँ जस्तो लागिरहेको छ भने नि? परिस्थितिलाई यहोवाको नजरबाट हेर्ने कोसिस गर्नुहोस्‌, बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्‌, भाइबहिनीप्रति गहिरो प्रेम विकास गर्नुहोस्‌ र बाइबल उदाहरणहरूबाट पाठ सिक्नुहोस्‌। हाम्रो चित्त दुखेको छ भने पनि त्यसलाई बिर्सेर अरूलाई फेरि भरोसा गर्न सिक्नुपर्छ। यसो गर्दा हामीले “साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ” साथीहरू पाउनेछौँ। (हितो. १८:२४) तर भरोसा भन्‍ने कुरा दुईतर्फी हुन्छ। अर्को लेखमा हामी कसरी आफ्ना भाइबहिनीको भरोसा जित्न सक्छौँ भनेर छलफल गर्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीले भाइबहिनीलाई किन भरोसा गर्नुपर्छ?

  • अरूलाई भरोसा गरिरहन कस्ता बाइबल उदाहरणहरूले मदत गर्छ?

  • कसैले तपाईँको भरोसा तोडेको छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

गीत ९९ लाखौँ-हजारौँ भाइबहिनी

a हामीले भाइबहिनीलाई भरोसा गर्नुपर्छ। तर यसो गर्नु सधैँ सजिलो नहुन सक्छ। किनभने केही कारणले गर्दा तिनीहरूमाथिको हाम्रो भरोसा टुटेको हुन सक्छ। यस लेखमा हामीले लागू गर्न सक्ने बाइबल सिद्धान्तहरू र मनन गर्न सक्ने बाइबल उदाहरणहरू छलफल गर्नेछौँ। यसले हामीलाई भाइबहिनीमाथिको भरोसा बलियो बनाउन र कुनै कारणले गर्दा भरोसा टुटेको थियो भने फेरि भरोसा गर्न मदत गर्नेछ।

b मण्डलीमा कोही-कोही भरोसा गर्न लायकका नहुन सक्छन्‌ भनेर बाइबलले चेतावनी दिन्छ। (यहु. ४) झूटा भाइहरूले “टेढोमेढो कुरा गरेर” अरूलाई बहकाउने कोसिस गर्न सक्छन्‌। (प्रेषि. २०:३०) हामी तिनीहरूलाई भरोसा गर्दैनौँ र तिनीहरूको कुरा सुन्दैनौँ।

c ग्रेटाको अनुभव यहोवाका साक्षीहरूको वार्षिक पुस्तक १९७४, (अङ्‌ग्रेजी) पृष्ठ १२९-१३१ मा पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने