प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w03 ११/१ pp. ४-७
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तेरो सारा भरोसा यहोवामा राख्‌
  • यहोवामा भरोसा राख्नुहोस्‌ अनि सुखी हुनुहोस्‌
  • हामीले भरोसा गर्न सक्ने मानिसहरू
  • कहिलेकाहीं हुने विफलतामा निराश नहुनुहोस्‌
  • के म भरोसायोग्य छु?
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
w03 ११/१ pp. ४-७

सुखी जीवनको लागि भरोसा नभई हुँदैन

भोजनले गर्ने प्रतिकूल असर अर्थात्‌ फुड पोइजनिङ्‌को पीडा नमीठो हुन्छ। घरीघरी यसको सिकार हुने व्यक्‍ति खाना खाने आफ्नो बानीप्रति अझ बढी सजग हुनु आवश्‍यक छ। तर फुड पोइजनिङ्‌को खतराबाट बच्न खाना नै नखानु व्यावहारिक विकल्प होइन। यसले समस्या समाधान गर्नुको सट्टा अझ धेरै समस्याहरू निम्त्याउनेछ। खाना नखाईकन कुनै पनि व्यक्‍ति लामो समयसम्म बाँच्न सक्दैन।

त्यसरी नै आफ्नो भरोसामाथि कुठाराघात हुनु निकै पीडादायी हुन्छ। बारम्बार भरोसामाथि गरिएको कुठाराघातले आफ्नो संगति छनौट गर्ने सन्दर्भमा हामीलाई गम्भीरतापूर्वक सोच्न बाध्य तुल्याउन सक्छ। यद्यपि, धोका खाने खतराबाट बच्न मानिसहरूसित संगतै नगर्नु समस्याको समाधान होइन। किन? किनभने अरूमाथि भरोसा नराख्दा हाम्रो आफ्नै आनन्द गुम्छ। एउटा सन्तोषप्रद जीवन बिताउन हामीलाई एक अर्काप्रतिको भरोसामा अडेको सम्बन्ध चाहिन्छ।

युगेन्ट २००२ पुस्तक यस्तो टिप्पणी गर्छ, “अरूसित गरिने दैनिक व्यवहारलाई सहज बनाउन नभई नहुने एउटा तत्त्व भरोसा नै हो। नोइ जुरचिर जाइटुङ अखबार यस्तो रिपोर्ट दिन्छ, “सबै मानिस भरोसाका भोका हुन्छन्‌।” “भरोसा हाम्रो जीवनलाई उकास्ने” त्यो कडी हो जुन “बाँच्नको लागि अपरिहार्य छ।” उक्‍त अखबार अझै यसो भन्छ, वास्तवमा भरोसाविना “मानिसले जिन्दगीको यात्रा नै तय गर्न सक्दैन।”

कसैमाथि भरोसा राख्नु हाम्रो आधारभूत आवश्‍यकता भएकोले धोका पाउने खतरा नमोलेर हामी कसमाथि भरोसा राख्न सक्छौं?

तेरो सारा भरोसा यहोवामा राख्‌

बाइबलले बताउँछ, “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌।” (हितोपदेश ३:५) वास्तवमा परमेश्‍वरको वचनले हामीलाई बारम्बार हाम्रो सृष्टिकर्ता यहोवामाथि भरोसा राख्न प्रोत्साहन दिन्छ।

हामी किन परमेश्‍वरमाथि भरोसा राख्न सक्छौं? पहिलो कारण हो, यहोवा परमेश्‍वर पवित्र हुनुहुन्छ। अगमवक्‍ता यशैयाले यस्तो लेखे: “परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।” (यशैया ६:३) के पवित्रताले तपाईंलाई आकर्षित गर्दैन र? वास्तवमा, यसले तपाईंलाई आकर्षित गर्नुपर्ने हो किनकि यहोवाको पवित्रताको अर्थ हो, उहाँ शुद्ध, सारा खराबीबाट अलग अनि पूर्णतया भरोसायोग्य हुनुहुन्छ। उहाँ कहिल्यै भ्रष्ट अथवा दुर्व्यवहारी बन्‍न सक्नुहुन्‍न अनि हाम्रो भरोसामाथि कुठाराघात गर्नु उहाँको लागि असम्भव छ।

यसको अतिरिक्‍त, उहाँसित उहाँको सेवा गर्ने व्यक्‍तिहरूलाई मदत गर्न सक्ने क्षमता अनि इच्छा भएकोले हामी उहाँमाथि आफ्नो भरोसा राख्न सक्छौं। उदाहरणको लागि, उहाँको सर्वोच्च शक्‍तिले गर्दा उहाँ कदम चाल्न सक्षम हुनुहुन्छ। उहाँको सिद्ध न्याय अनि बुद्धिले उहाँको कामकुरा गर्ने शैलीलाई निर्देशित गर्छ। अनि उहाँको अतुलनीय प्रेमले उहाँलाई कदम चाल्न उत्प्रेरित गर्छ। प्रेरित यूहन्‍नाले यस्तो लेखे, “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) परमेश्‍वरका प्रत्येक कामकुराहरूलाई उहाँको प्रेमले असर गर्छ। यहोवाको पवित्रता अनि अन्य विशिष्ट गुणहरूले उहाँलाई एक आदर्श पिता बनाउँछ, जसमाथि हामी आफ्नो पूर्ण भरोसा राख्न सक्छौं। यहोवा जत्तिको भरोसायोग्य अरू केही पनि र कोही पनि हुन सक्दैन।

यहोवामा भरोसा राख्नुहोस्‌ अनि सुखी हुनुहोस्‌

यहोवामाथि भरोसा राख्नुको अर्को उपयुक्‍त कारण उहाँले जत्तिको राम्ररी हामीलाई अरू कसैले पनि बुझ्न सक्दैन। सृष्टिकर्तासितको सुरक्षित, स्थायी अनि भरोसायोग्य सम्बन्ध प्रत्येक मानवको आधारभूत आवश्‍यकता हो भन्‍ने कुरा उहाँ जान्‍नुहुन्छ। सृष्टिकर्तासित यस्तो सम्बन्ध गाँसेकाहरूले धेरै सुरक्षित महसुस गर्छन्‌। राजा दाऊद यस्तो निष्कर्षमा पुगे: “त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा आफ्नो भरोसा राख्तछ।” (भजन ४०:४) आज लाखौंले मनतनले दाऊदका यी भावनाहरूलाई गुञ्जाउँछन्‌।

केही उदाहरणहरू विचार गर्नुहोस्‌। डोमिनिकन गणतन्त्र, जर्मनी, ग्रीस अनि संयुक्‍त राज्य अमेरिकाजस्ता ठाउँहरूमा डोरिस बसोबास गरिसकेकी छिन्‌। तिनी यसो भन्छिन्‌: “यहोवामा भरोसा राख्न पाएकोमा म धेरै खुसी छु। शारीरिक, आध्यात्मिक अनि भावनात्मक तवरमा मेरो ख्याल कसरी राख्नुपर्छ, त्यो उहाँलाई राम्ररी थाह छ। मानिसले उहाँ जत्तिको उत्तम मित्र अरू पाउनै सक्दैन। एक जना कानुनी सल्लाहकार उल्फग्याङ यसो भन्छन्‌: “साँचो मनले तपाईंको भलो चाहने, तपाईंको हित गर्न सक्षम अनि तपाईंको साँच्चै हित गर्ने कसैमाथि भर पर्नु साह्रै मनोहर कुरा हो!” एसियामा जन्मेका हाल युरोपमा बसोबास गर्ने ह्‍याम यस्तो टिप्पणी गर्छन्‌: “सबै कुरा यहोवाकै हातमा छ अनि उहाँ कहिल्यै भूल गर्नुहुन्‍न भन्‍ने कुरामा म पूर्ण विश्‍वस्त छु, त्यसैकारण उहाँमा भरोसा राख्न पाउँदा म खुसी छु।”

निस्सन्देह, हामी प्रत्येकले सृष्टिकर्ताका साथसाथै मानिसहरूमाथि पनि भरोसा राख्नु खाँचो छ। यसर्थ, हामीले कस्ता व्यक्‍तिहरूलाई भरोसा राख्नुपर्छ भन्‍ने सन्दर्भमा यहोवा एक जना बुद्धिमान्‌ अनि अनुभवी मित्रको हैसियतमा हामीलाई सल्लाह दिनुहुन्छ। होसियारीसाथ बाइबल पढेर यस सन्दर्भमा हामी उहाँको सल्लाहलाई ध्यान दिन सक्छौं।

हामीले भरोसा गर्न सक्ने मानिसहरू

भजन रचयिताले यस्तो लेखे, “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” (भजन १४६:३) यस ईश्‍वरप्रेरित विवरणले धेरै मानिसहरू हाम्रो विश्‍वस्तताको योग्य छैनन्‌ भन्‍ने कुरा बुझ्न हामीलाई मदत गर्छ। ज्ञान अथवा कुनै खास क्षेत्रमा विज्ञ कहलिएका यस संसारका “राजाहरू[को]” हैसियतमा उच्च सम्मान पाएका व्यक्‍तिहरू पनि स्वतः हाम्रो भरोसाका योग्य हुँदैनन्‌। तिनीहरूको डोऱ्‍याइ अक्सर भ्रामक हुन्छ अनि यस्ता “राजाहरूमाथि” राखिएको भरोसा छिट्टै निराशामा परिणत हुन सक्छ।

निस्सन्देह, यसले हामीलाई अरू सबैप्रति शंकालु बनाउनु हुँदैन। तथापि, स्पष्टतः भरोसा गर्ने व्यक्‍तिहरू छनौट गर्दा हामी होसियार हुनु आवश्‍यक छ। हामीले कस्ता स्तरहरू निर्धारण गर्नुपर्छ? पुरातन इस्राएलको एउटा उदाहरणले हामीलाई मदत गर्न सक्छ। इस्राएलमा गम्भीर जिम्मेवारी निभाउनको लागि केही व्यक्‍तिहरूलाई नियुक्‍त गर्नुपर्दा मोशालाई “सबै मानिसहरूमध्येबाट परमेश्‍वरको भय मान्‍ने, योग्य मानिसहरू . . . अनुचित फाइदा घिनाउने इमानदार व्यक्‍तिहरू” चुन्‍ने सल्लाह दिइयो। (प्रस्थान १८:२१, नयाँ संशोधित संस्करण) यसबाट हामी के सिक्न सक्छौं?

ती मानिसहरूलाई भरोसा गरेर जिम्मेवार पदमा नियुक्‍त गर्नुअघि नै तिनीहरूले केही खास ईश्‍वरीय गुणहरू प्रदर्शित गरिसकेका थिए। तिनीहरू परमेश्‍वरसित डराउँथे भन्‍ने कुराको प्रमाण तिनीहरूले अघिबाटै दिइसकेका थिए; तिनीहरूमा सृष्टिकर्ताप्रति उचित आदर अनि उहाँ अप्रसन्‍न हुनुहोला कि भन्‍ने डर थियो। ती मानिसहरूले परमेश्‍वरका स्तरहरूलाई कायम राख्न यथासक्दो गरे भन्‍ने कुरा सबैको सामु प्रस्ट थियो। तिनीहरूले अनुचित फाइदा लिन घिनाए जसले तिनीहरूको नैतिक बललाई संकेत गर्थ्यो, यसले तिनीहरूलाई शक्‍तिको आडमा भ्रष्ट हुनबाट बचाउने थियो। व्यक्‍तिगत अथवा नातागोता वा मित्रहरूको स्वार्थको लागि तिनीहरूले आफूमाथि राखिएको भरोसामा आघात पुऱ्‍याउने थिएनन्‌।

आफूले भरोसा राख्ने व्यक्‍तिहरूको छनौट गर्दा हामीले पनि तिनै स्तरहरू निर्धारण गर्नु के बुद्धिमानी हुनेछैन र? के हामी त्यस्ता व्यक्‍तिहरूलाई चिन्छौं जसको आचरणबाट तिनीहरू परमेश्‍वरको डर मान्छन्‌ भन्‍ने कुरा छर्लङ्‌ग हुन्छ? के तिनीहरू आचरणसम्बन्धी उहाँका स्तरहरू कायम राख्न दृढ छन्‌? के तिनीहरूसित गलत काम गर्नबाट हर हालतमा अलग्गै बस्ने निष्ठा छ? के तिनीहरूमा आफ्नो स्वार्थको लागि अथवा आफ्नो इच्छाअनुसार परिस्थितिलाई नबङ्‌ग्याउने इमानदारीता छ? निस्सन्देह, यस्ता गुणहरू प्रकट गर्ने पुरुष अनि स्त्रीहरू हाम्रो भरोसाका योग्य हुन्छन्‌।

कहिलेकाहीं हुने विफलतामा निराश नहुनुहोस्‌

भरोसायोग्य व्यक्‍तिको छनौट गर्नुअघि हामीले केही समय कुर्नुपर्छ। किनकि भरोसा भनेको समयको अन्तरालमा कमाइने कुरा हो। कसैमाथि बिस्तारै अर्थात्‌ क्रमशः भरोसा गर्दै जानु बुद्धिमानी हुन्छ। तर कसरी? कुनै व्यक्‍तिले केही खास परिस्थितिहरूमा कसरी काम गर्छ त्यसलाई ध्यान दिंदै केही समयको लागि हामी कुनै व्यक्‍तिको आचरण अवलोकन गर्न सक्छौं। के त्यो व्यक्‍ति स-साना कुराहरूमा पनि भरोसायोग्य छ? उदाहरणको लागि, के उसले पैंचो लिएका सरसामानहरू आफ्नो वाचाअनुसार फिर्ता गर्ने गर्छ अनि के ऊ समयनिष्ठ छ? यदि छ भने त्यस व्यक्‍तिलाई अझ गम्भीर विषयहरूमा निर्धक्क भई भरोसा गर्न सक्छौं जस्तो हामीलाई लाग्न सक्छ। यो कुरा यस सिद्धान्त अनुरूप छ: “जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ।” (लूका १६:१०) होसियारीसाथ छनौट गर्दा अनि धीरजी हुँदा यसले हामीलाई ठूलठूला नैराश्‍यहरूबाट बच्न मदत गर्न सक्छ।

यद्यपि, कसैले हामीलाई धोका दियो भने नि? बाइबलका विद्यार्थीहरूले येशू पक्राउ पर्नुभएको त्यो रात चेलाहरूले उहाँलाई ठूलो धोका दिएको कुरा सम्झनेछन्‌। यहूदा इस्करयोतीले उहाँलाई धोका दियो अनि अरूहरूचाहिं डराएर कुलेलम ठोके। पत्रुसले त येशूलाई तीन पटक इन्कारसमेत गरे। तर यहूदाले मात्र जानाजानी धोका दिएको हो भनेर येशूले बुझ्नुभयो। यस्तो महत्त्वपूर्ण घडीमा धोका पाउनुभएको येशूलाई उक्‍त घटना घटेको केही हप्ता पछि नै बाँकी रहेका ११ जना प्रेरितहरूमाथि आफ्नो भरोसा राख्नबाट रोकेन। (मत्ती २६:४५-४७, ५६, ६९-७५; २८:१६-२०) त्यसरी नै, आफूले भरोसा राखेको कुनै व्यक्‍तिबाट धोका पाएको जस्तो लाग्दा हामीलाई लागेको त्यो धोका भरोसा गर्न अयोग्य मनोभावको प्रमाण हो या क्षणिक शारीरिक कमजोरी मात्र, सो कुरा छुट्‌याउन राम्ररी विचार गर्नु बेस हुनेछ।

के म भरोसायोग्य छु?

अरूबाट भरोसाको अपेक्षा गर्ने व्यक्‍ति स्वयम्‌ले इमानदार भई आफूलाई यो प्रश्‍न सोध्नैपर्छ: ‘के म भरोसायोग्य छु? भरोसायोग्य हुने सन्दर्भमा मैले आफू अनि अरूबाट कस्ता व्यावहारिक स्तरहरूको अपेक्षा गर्नुपर्छ?

निस्सन्देह भरोसायोग्य व्यक्‍तिले सधैं सत्य बोल्छ। (एफिसी ४:२५) उसले आफ्नो व्यक्‍तिगत फाइदाको लागि मान्छे हेरेर आफ्ना भनाइहरू बदल्ने गर्दैन। केही गरिदिने वचन दिंदा उक्‍त वचन पूरा गर्न भरोसायोग्य व्यक्‍तिले आफ्नो शक्‍तिले भ्याए जति सबै गर्छ। (मत्ती ५:३७) यदि कसैले भरोसा गरेर कुनै गोप्य कुरा बताएको छ भने भरोसायोग्य व्यक्‍तिले गोपनियता कायम राख्छ अनि सबैलाई त्यसबारे गफ चुट्‌दै हिंड्‌दैन। भरोसायोग्य व्यक्‍ति आफ्नो विवाहित जोडीप्रति वफादार रहन्छ। उसले अश्‍लील कुराहरू हेर्दैन, अनुचित कुराहरू मनमा खेलाएर बस्दैन अनि अरूसित बेमतलबको ठट्टा गर्दैन। (मत्ती ५:२७, २८) भरोसायोग्य व्यक्‍तिले आफू अनि आफ्नो परिवारको पालनपोषण गर्न कडा परिश्रम गर्छ, उसले अरूको नाजायज फाइदा उठाउँदै परिश्रमविना सजिलै पैसा कमाउने कुनै पनि बाटो अपनाउँदैन। (१ तिमोथी ५:८) यस्ता व्यावहारिक अनि धर्मशास्त्रीय स्तरहरूलाई मनमा राख्दा त्यसले हामीलाई भरोसायोग्य व्यक्‍तिहरू चिन्‍न मदत गर्नेछ। यसको अतिरिक्‍त, आचरणसम्बन्धी यस्ता स्तरहरू पालन गर्दा यसले हामी प्रत्येकलाई अरूको नजरमा भरोसायोग्य व्यक्‍ति बन्‍न मदत गर्नेछ।

भरोसायोग्य व्यक्‍तिहरू मात्र हुने अनि भरोसामा गरिने कुठाराघातबाट हुने निराशाहरू सदाको लागि अन्त्य हुने संसारमा बाँच्न पाउनु अत्यन्तै आनन्ददायी हुनेछ! के यो सपना मात्र हो? बाइबलका प्रतिज्ञाहरूलाई गम्भीरतासाथ लिनेहरूको लागि यो सपना मात्र होइन किनकि परमेश्‍वरको वचनले सबै किसिमका छलकपट, झूट र शोषण मुक्‍त अनि पीडा, बिमारी र मृत्यसमेत नामेट हुने सुन्दर भावी “नयाँ पृथ्वी[बारे]” भविष्यवाणी गर्छ! (२ पत्रुस ३:१३; भजन ३७:११, २९; प्रकाश २१:३-५) यस प्रत्याशाबारे अझ धेरै कुरा थाह पाउनु के सार्थक नहोला? तपाईंलाई यीलगायत अन्य महत्त्वपूर्ण विषयहरूमा थप जानकारीहरू उपलब्ध गराउन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।

[पृष्ठ ४-मा भएको चित्र]

अरूलाई भरोसा नगर्दा हाम्रो आनन्द गुम्छ

[पृष्ठ ५-मा भएको चित्र]

यहोवा सबैभन्दा भरोसायोग्य हुनुहुन्छ

[पृष्ठ ७-मा भएका चित्रहरू]

हामी सबैलाई एक अर्काप्रतिको भरोसामा अडेको सम्बन्ध चाहिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने