अध्ययन लेख २१
यहोवा हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ?
“हामीले उहाँसित मागेका कुराहरू उहाँले दिनुहुन्छ भनेर हामी पक्का छौँ।”—१ युह. ५:१५.
गीत ४१ मेरो बिन्ती सुनिदिनुहोस्
परिचयa
१-२. प्रार्थनाको सन्दर्भमा हाम्रो मनमा कस्ता कुराहरू आउन सक्छन्?
के तपाईँको मनमा कहिल्यै यस्तो कुरा आएको छ: ‘यहोवाले मेरो प्रार्थनाको जवाफ दिइरहनुभएको छ कि छैन होला?’ विशेषगरि गाह्रो अवस्थाको बेला थुप्रै भाइबहिनीले यस्तै महसुस गरेका छन्। कुनै समस्याको सामना गर्दै छौँ भने हामीलाई पनि यहोवाले कसरी प्रार्थनाको जवाफ दिइरहनुभएको छ भनेर थाह पाउन गाह्रो हुन सक्छ।
२ यहोवा आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ भन्ने कुरामा किन विश्वस्त हुन सक्छौँ, विचार गरौँ। (१ युह. ५:१५) साथै हामी यी प्रश्नहरूबारे पनि छलफल गर्नेछौँ: हामीलाई कहिलेकाहीँ यहोवाले प्रार्थनाको जवाफ दिइरहनुभएको छैन जस्तो किन लाग्न सक्छ? आज यहोवा कुन-कुन तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्छ?
यहोवाले सधैँ हामीले आशा गरेको तरिकामा जवाफ दिनुहुन्न
३. यहोवा हामीलाई किन प्रार्थना गर्न आग्रह गर्नुहुन्छ?
३ यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ र अनमोल ठान्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। (हाग्गै २:७; १ युह. ४:१०) त्यसैले उहाँ हामीलाई प्रार्थनामा मदत माग्न आग्रह गर्नुहुन्छ। (१ पत्रु. ५:६, ७) उहाँ हामीलाई उहाँको नजिक भइरहन र कठिनाइहरूको सफलतापूर्वक सामना गर्न मदत दिन चाहनुहुन्छ।
दाउदलाई शत्रुहरूदेखि जोगाउनुभएर यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभयो (अनुच्छेद ४ हेर्नुहोस्)
४. यहोवा आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर किन भन्न सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
४ यहोवाले आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ दिनुभएको थुप्रै विवरण बाइबलमा पाउन सक्छौँ। के तपाईँ कुनै उदाहरण सम्झन सक्नुहुन्छ? राजा दाउदबारे विचार गरौँ। तिनले आफ्नो जीवनमा थुप्रै खतरनाक शत्रुको सामना गरेका थिए। तिनले त्यस्ता अवस्थाहरूमा अक्सर यहोवालाई गुहारे। एकचोटि तिनले यसरी यहोवालाई पुकारे: “हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्; मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्। मलाई जवाफ दिनुहोस् किनकि तपाईँ वफादार र न्यायी हुनुहुन्छ।” (भज. १४३:१) दाउदले छुटकाराको लागि गरेका प्रार्थनाहरूको जवाफ यहोवाले दिनुभयो। (१ समु. १९:१०, १८-२०; २ समु. ५:१७-२५) त्यसैले तिनले विश्वस्त भएर यसो भन्न सके: “यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्।” हामी पनि यस कुरामा ढुक्क हुन सक्छौँ।—भज. १४५:१८.
पावललाई सहने बल दिनुभएर यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभयो (अनुच्छेद ५ हेर्नुहोस्)
५. के यहोवाले सधैँ हामीले आशा गरेको तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्छ? एउटा उदाहरण बताउनुहोस्। (चित्र पनि हेर्नुहोस्।)
५ यहोवाले कहिलेकाहीँ हामीले आशा गरेको तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्न। प्रेषित पावलको उदाहरण विचार गरौँ। तिनले परमेश्वरलाई आफ्नो “शरीरमा भएको एउटा छेस्को” हटाइदिन प्रार्थना गरेका थिए। पावलले यसबारे तोकेरै तीन चोटि बिन्ती गरेका थिए। के यहोवाले ती प्रार्थनाहरूको जवाफ दिनुभयो? दिनुभयो तर पावलले आशा गरेको तरिकामा त होइन। यहोवाले त्यो समस्या हटाउनुको साटो तिनलाई वफादार भएर उहाँको सेवामा लागिरहन चाहिने शक्ति दिनुभयो।—२ कोरि. १२:७-१०.
६. कहिलेकाहीँ यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिइरहनुभएको छैन जस्तो किन लाग्न सक्छ?
६ हामीले पनि कहिलेकाहीँ सोचेको भन्दा फरक तरिकामा प्रार्थनाको जवाफ पाएका होऔँला। हामीलाई मदत गर्ने सबैभन्दा राम्रो तरिका यहोवालाई थाह छ। भन्ने हो भने उहाँ “हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ।” (एफि. ३:२०) त्यसैकारण हामीले आसै नगरेको समयमा वा तरिकामा उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।
७. हामीले आफ्नो प्रार्थनाको विषय किन छाँटकाँट गर्नुपर्ने हुन सक्छ? एउटा अनुभव बताउनुहोस्।
७ यहोवाको इच्छा अझ राम्रोसँग बुझेपछि हामीले आफ्नो प्रार्थनाको विषय छाँटकाँट गर्नुपर्ने हुन सक्छ। मार्टिन पोइटजिङ्गरको अनुभव विचार गरौँ। विवाह गरेलगत्तै भाइ पोइटजिङ्गरलाई नाजी यातना शिविरमा कैद गरियो। सुरुमा त तिनले यातना शिविरबाट मुक्त हुन पाऊँ भनेर यहोवालाई बिन्ती गरे किनभने तिनी आफ्नी पत्नीको ख्याल राख्न र साक्षीकार्यमा फेरि लाग्न चाहन्थेँ। तर दुई हप्ता बितिसक्दा पनि यहोवाले प्रार्थनाको जवाफ दिनुभएको कुनै सङ्केत तिनले पाएनन्। त्यसैले तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा बिन्ती छ, मैले के गरेको तपाईँ चाहनुहुन्छ, मलाई देखाउनुहोस्।” त्यसपछि तिनले यातना शिविरका अरू भाइहरूले कस्ता चुनौतीहरूको सामना गर्दै छन् भनेर सोच्न थाले। तिनीहरूमध्ये थुप्रै भाइ आफ्नो पत्नी र छोराछोरीबारे धेरै चिन्तित थिए। त्यसपछि भाइ पोइटजिङ्गरले यसरी प्रार्थना गरे: “हे यहोवा, मलाई नयाँ असाइनमेन्ट दिनुभएकोमा धेरै धन्यवाद छ। मेरा भाइहरूलाई बल र प्रोत्साहन दिन मलाई मदत दिनुहोस्।” त्यसपछि नौ वर्षसम्म तिनले शिविरका भाइहरूलाई यसरी नै मदत दिइरहे।
८. प्रार्थना गर्दा हामीले कुन महत्त्वपूर्ण कुरा मनमा राख्नुपर्छ?
८ यहोवाको एउटा उद्देश्य छ र त्यो उहाँले तोकिएकै समयमा पूरा गर्नुहुनेछ भन्ने कुरा हामीले सम्झनुपर्छ। त्यस उद्देश्यमा हामीले भोगिरहेको प्राकृतिक प्रकोप, रोगबिमार, मृत्युजस्ता समस्याहरू पूर्णतया अनि सदाका लागि हटाउने कुरा समावेश छ। यहोवाले आफ्नो राज्यमार्फत त्यो उद्देश्य पूरा गर्नुहुनेछ। (दानि. २:४४; प्रका. २१:३, ४) त्यतिन्जेल उहाँले सैतानलाई यस संसारमाथि शासन गर्ने अनुमति दिनुभएको छ।b (युह. १२:३१; प्रका. १२:९) यदि यहोवाले अहिले नै मानिसजातिका समस्याहरू समाधान गरिदिनुभयो भने सैतान सफल शासकजस्तो देखिन सक्छ। त्यसैले यहोवाको कुनै-कुनै प्रतिज्ञा पूरा हुन हामीले पर्खनुपर्ने हुन्छ। तर यसको मतलब उहाँले हामीलाई कुनै मदत नै दिनुहुन्न भन्ने होइन। आउनुहोस्, यहोवाले हामीलाई मदत गर्नुहुने केही तरिका विचार गरौँ।
यहोवा आज कुन तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्छ?
९. यहोवा हामीलाई निर्णयहरू गर्न कसरी मदत गर्नुहुन्छ? एउटा अनुभव बताउनुहोस्।
९ यहोवा हामीलाई बुद्धि दिनुहुन्छ। उहाँले हामीलाई सही निर्णय गर्न चाहिने बुद्धि दिने प्रतिज्ञा गर्नुभएको छ। विशेषगरि हाम्रो पूरै जीवनलाई असर गर्ने निर्णयहरू गर्न परमेश्वरले दिनुहुने बुद्धि चाहिन्छ। जस्तै: विवाह गर्ने या नगर्ने। (याकु. १:५) एक अविवाहित बहिनी मारियाको अनुभव विचार गरौँ।c नियमित अग्रगामी सेवा गर्दै गर्दा तिनको भेट एक जना भाइसित भयो। तिनी भन्छिन्: “हाम्रो चिनाजानी बढ्दै जाँदा हामीले एकअर्कालाई मन पराउन थाल्यौँ। मैले एउटा ठोस निर्णय गर्नुपर्छ भनेर मलाई थाह थियो। त्यसैले मैले यहोवालाई व्यग्र प्रार्थना गरेँ। मलाई यहोवाको डोऱ्याइ चाहिन्थ्यो। तर यहोवाले मेरो लागि निर्णय गरिदिनुहुन्न भनेर पनि मलाई थाह थियो।” यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभएको तिनले महसुस गरिन्। कसरी? तिनले हाम्रा प्रकाशनहरूमा अनुसन्धान गरिन् र आफूलाई उपयुक्त हुने लेखहरू भेट्टाइन्। तिनले आफ्नी साक्षी आमाले दिएको सल्लाह पनि सुनिन्। त्यस सल्लाहले मारियालाई आफ्ना भावनाहरू राम्ररी केलाउन मदत गऱ्यो। अन्तमा तिनले बुद्धिमानी निर्णय गर्न सकिन्।
यहोवा हामीलाई कसरी सहने बल दिनुहुन्छ? (अनुच्छेद १० हेर्नुहोस्)
१०. फिलिप्पी ४:१३ अनुसार यहोवा आफ्ना उपासकहरूलाई कसरी मदत गर्नुहुन्छ? एउटा अनुभव बताउनुहोस्। (तस्बिर पनि हेर्नुहोस्।)
१० यहोवा हामीलाई सहने बल दिनुहुन्छ। उहाँ हामीलाई पनि प्रेषित पावललाई जस्तै परीक्षाहरू सहने बल दिनुहुन्छ। (फिलिप्पी ४:१३ पढ्नुहोस्।) यहोवाले बेन्जामिन भाइलाई कठिन परिस्थितिहरू सहन कसरी मदत गर्नुभयो, विचार गरौँ। बेन्जामिन र तिनको परिवार अफ्रिकाको शरणार्थी शिविरमा बस्थे। तिनले आफ्नो युवावस्थाको धेरैजसो समय विभिन्न शिविरमा बिताए। तिनी भन्छन्: “म यहोवालाई उहाँको नजरमा असल कुराहरू गर्ने बल दिनुहोस् भनेर निरन्तर प्रार्थना गर्थेँ। उहाँले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो। उहाँले मलाई मनोशान्ति, साक्षीकार्यमा लागिरहने साहस र आध्यात्मिक रूपमा बलियो भइरहन प्रकाशनहरू दिनुभयो।” तिनी अझै यसो भन्छन्: “यहोवाले भाइबहिनीलाई गाह्रा अवस्थाहरू सहन कसरी मदत गर्नुभयो भन्ने अनुभवहरू पढ्दा वफादार रहिरहने मेरो सङ्कल्प अझै बलियो भयो।”
के तपाईँले भाइबहिनीमार्फत यहोवाको मदत अनुभव गर्नुभएको छ? (अनुच्छेद ११-१२ हेर्नुहोस्)d
११-१२. यहोवा हाम्रो प्रार्थनाको जवाफ दिन हाम्रो आध्यात्मिक परिवारलाई कसरी चलाउनुहुन्छ? (तस्बिर पनि हेर्नुहोस्।)
११ यहोवा हाम्रो आध्यात्मिक परिवारलाई चलाउनुहुन्छ। येसुले आफ्नो मृत्युको अघिल्लो रात यहोवालाई व्यग्र प्रार्थना गर्नुभयो। आफूमाथि ईश्वरनिन्दा गरेको कलङ्क नलागोस् भनेर उहाँले यहोवालाई बिन्ती गर्नुभयो। यहोवाले येसुलाई त्यो कलङ्क लाग्नदेखि जोगाउनुभएन। बरु येसुसँगै स्वर्गमा लामो समय बिताएका उहाँकै एक जना भाइलाई पठाउनुभयो र उहाँलाई हौसला दिनुभयो। (लुका २२:४२, ४३) यहोवा हामीलाई पनि हाम्रा भाइबहिनीमार्फत मदत गर्नुहुन्छ। तिनीहरूले हामीलाई फोन कल वा भेटघाट गरेर प्रोत्साहन दिन सक्छन्। हामी पनि भाइबहिनीलाई प्रोत्साहन दिन “मीठो बोली” बोल्ने कोसिस गर्न सक्छौँ।—हितो. १२:२५.
१२ मिरियम बहिनीको अनुभव विचार गरौँ। तिनको पतिको मृत्यु भएको केही हप्तापछिको कुरा हो। तिनी घरमा एक्लै थिइन्। तिनी निकै दुःखी अनि निराश थिइन्। तिनले आफ्नो आँसु थाम्नै सकिरहेकी थिइनन्। तिनी कुनै भाइबहिनीसित कुरा गर्न चाहन्थिन्। तिनी यसो भन्छिन्: “तर मसित कसैलाई फोन गर्ने बलसमेत थिएन। त्यसैले मैले यहोवालाई प्रार्थना गरेँ। म रुँदै प्रार्थना गरिरहेको बेला मेरो फोन बज्यो। त्यो फोन एक जना एल्डरको थियो। उहाँ मेरो साथी हुनुहुन्छ।” मिरियमले ती एल्डर र तिनकी पत्नीबाट सान्त्वना पाइन्। यहोवाले नै ती एल्डरलाई फोन गर्न उत्प्रेरित गर्नुभएको थियो भन्ने कुरामा तिनी विश्वस्त छिन्।
यहोवाले हामीलाई मदत गर्न अरू मानिसलाई कसरी उत्प्रेरित गर्न सक्नुहुन्छ? (अनुच्छेद १३-१४ हेर्नुहोस्)
१३. हाम्रो प्रार्थनाको जवाफ दिन यहोवा उहाँको उपासना नगर्नेहरूलाई कसरी प्रयोग गर्न सक्नुहुन्छ? एउटा उदाहरण बताउनुहोस्।
१३ यहोवा उहाँको उपासना नगर्नेहरूलाई प्रयोग गर्न सक्नुहुन्छ। (हितो. २१:१) यहोवा कहिलेकाहीँ आफ्ना सेवकहरूको प्रार्थनाको जवाफ दिन उहाँको उपासना नगर्नेहरूलाई पनि उत्प्रेरित गर्न सक्नुहुन्छ। जस्तै: नहेम्याहले यरुसलेम फर्केर सहरको पुनर्निर्माण गर्न राजा आर्टजारसेजसित अनुमति मागेका थिए। यहोवाले राजालाई त्यसको लागि अनुमति दिन उत्प्रेरित गर्नुभयो। (नहे. २:३-६) आज पनि यहोवा उहाँको उपासना नगर्नेहरूलाई हामीलाई चाहिएको बेला मदत दिन उत्प्रेरित गर्न सक्नुहुन्छ।
१४. सु हिङ बहिनीको अनुभवबाट तपाईँले कस्तो प्रोत्साहन पाउनुभयो? (तस्बिर पनि हेर्नुहोस्।)
१४ सु हिङ बहिनीले यहोवाले तिनलाई डाक्टरमार्फत मदत गर्नुभएको महसुस गरिन्। तिनको छोरा मानसिक रोगी हुन्। छोरा एउटा ठूलो दुर्घटनामा परेपछि तिनको ख्याल राख्न तिनी र तिनको पतिले आफ्नो काम छोडे। यसले गर्दा तिनीहरूलाई आर्थिक समस्या पऱ्यो। सु हिङ बहिनीले आफूलाई रबर ब्यान्डलाई तन्काउनुसम्म तन्काएको जस्तो महसुस गरिन्; तिनलाई अब त सहन सक्दिनँ जस्तो लाग्न थाल्यो। तिनले यहोवालाई मदत माग्दै आफ्नो मनको बह पोखाइन्। तिनको छोराको उपचार गरिरहेको डाक्टरले तिनको परिवारको अवस्था देखेर मदत गर्ने विचार गरे। यसले गर्दा तिनीहरूले सरकारबाट सहयोग पाए र बस्नको लागि सस्तो कोठा पनि पाए। पछि सु हिङले यसो भनिन्: “यस्तो गाह्रो परिस्थितिमा यहोवाले मदत गर्नुभएको हामीले महसुस गऱ्यौँ। उहाँ साँच्चै ‘प्रार्थना सुन्नुहुने परमेश्वर’ हुनुहुन्छ।”—भज. ६५:२.
यहोवाले प्रार्थनाको जवाफ दिनुभएको थाह पाउन र त्यो स्विकार्न विश्वास चाहिन्छ
१५. एक जना बहिनीले प्रार्थनाको जवाफ पाएको थाह पाउन के गरिन्?
१५ यहोवाले प्रायजसो हाम्रो प्रार्थनाको जवाफ चमत्कारपूर्ण ढङ्गमा दिनुहुन्न। तर प्रार्थनाको जवाफले हामीलाई स्वर्गमा बस्नुहुने बुबाप्रति वफादार रहिरहन मदत गर्छ। त्यसैले यहोवाले तपाईँका प्रार्थनाहरूको जवाफ कसरी दिनुभयो भनेर थाह पाउने कोसिस गर्नुहोस्। योको बहिनीलाई यहोवाले प्रार्थनाहरूको जवाफ दिइरहनुभएको छैन जस्तो लागेको थियो। त्यसैले तिनले आफ्ना प्रार्थनाहरूको रेकर्ड राख्न थालिन्। केही समयपछि नोटबुक हेर्दा यहोवाले धेरैजसो प्रार्थनाको जवाफ दिनुभएको तिनले याद गरिन्। कुनै-कुनै प्रार्थना त तिनले बिर्सिसकेकी थिइन्। त्यसैले हामीले बेलाबेलामा यहोवाले प्रार्थनाको जवाफ कसरी दिनुभयो भन्ने कुरामा मनन गर्नुपर्छ।—भज. ६६:१९, २०.
१६. प्रार्थनाको सन्दर्भमा हामी कसरी विश्वास देखाउन सक्छौँ? (हिब्रू ११:६)
१६ यहोवालाई प्रार्थना गरेर मात्र होइन, उहाँले जुनसुकै तरिकामा प्रार्थनाको जवाफ दिनुभए पनि त्यसलाई स्विकारेर हामी आफ्नो विश्वास देखाउँछौँ। (हिब्रू ११:६ पढ्नुहोस्।) माइक र तिनकी पत्नी कृसीको अनुभव विचार गरौँ। तिनीहरूको बेथेल सेवा गर्ने लक्ष्य थियो। माइक भन्छन्: “हामीले धेरै वर्षसम्म बेथेल सेवाको लागि आवेदन दियौँ र यहोवालाई आफ्नो लक्ष्यबारे बारम्बार प्रार्थना गऱ्यौँ। तर हामीले कहिल्यै निम्तो पाएनौँ।” तर यहोवाले तिनीहरूलाई उहाँको सेवामा सबैभन्दा राम्रो तरिकामा प्रयोग गर्नुहुन्छ भन्ने कुरामा तिनीहरू विश्वस्त थिए। त्यसैले तिनीहरूले आवश्यकता धेरै भएको ठाउँमा नियमित अग्रगामी सेवा गरेर र निर्माण परियोजनाहरूमा सघाएर आफ्नो तर्फबाट सक्दो गरिरहे। आज तिनीहरू परिभ्रमणकार्य गर्दै छन्। माइक भन्छन्: “यहोवाले सधैँ हामीले आशा गरेको तरिकामा प्रार्थनाहरूको जवाफ दिनुभएको छैन। तर जवाफ भने पक्कै दिनुभएको छ, त्यो पनि हामीले सोचेभन्दा उत्तम तरिकामा।”
१७-१८. भजन ८६:६, ७ अनुसार हामी कुन कुरामा विश्वस्त हुन सक्छौँ?
१७ भजन ८६:६, ७ पढ्नुहोस्। भजनरचयिता दाउद यहोवाले तिनका प्रार्थनाहरू सुन्नुभएको र त्यसको जवाफ दिनुभएको कुरामा विश्वस्त थिए। तपाईँ पनि तिनीजस्तै विश्वस्त हुन सक्नुहुन्छ। यस लेखमा छलफल गरिएका अनुभवहरूबाट यहोवा हामीलाई सहन चाहिने बुद्धि र बल दिन सक्नुहुन्छ भन्ने कुरामा ढुक्क हुन सक्छौँ। उहाँले हामीलाई मदत दिन आध्यात्मिक परिवार र उहाँको उपासना नगर्ने व्यक्तिहरूलाई पनि चलाउन सक्नुहुन्छ।
१८ हुनत यहोवाले सधैँ हामीले आशा गरेको तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्न तर जवाफ भने पक्कै दिनुहुन्छ। उहाँले हामीलाई चाहिएकै मदत चाहिएकै समयमा दिनुहुन्छ। त्यसैले उहाँले अहिले तपाईँको ख्याल राख्नुहुन्छ र नयाँ संसारमा “सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ” भन्ने कुरामा ढुक्क हुँदै प्रार्थना गरिरहनुहोस्।—भज. १४५:१६.
गीत ४६ धन्यवाद छ, यहोवा
a हाम्रो प्रार्थना यहोवाको इच्छाअनुरूप छ भने उहाँ हामीलाई त्यसको जवाफ दिने आश्वासन दिनुहुन्छ। परीक्षाको बेला उहाँले हामीलाई वफादार रहिरहन मदत गर्नुहुनेछ भनेर हामी विश्वस्त हुन सक्छौँ। यहोवा हाम्रो प्रार्थनाको जवाफ कसरी दिनुहुन्छ, विचार गरौँ।
b यहोवाले सैतानलाई किन यस संसारमाथि शासन गर्न अनुमति दिनुभएको छ भन्नेबारे बुझ्न जून २०१७ अङ्कको प्रहरीधरहरा-मा “सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्” भन्ने लेख हेर्नुहोस्।
c केही नाम परिवर्तन गरिएका छन्।
d तस्बिरको व्याख्या: एउटी आमा र तिनकी छोरी शरणार्थीको रूपमा अर्कै देशमा आएका छन्। भाइबहिनीले तिनीहरूलाई न्यानो स्वागत गर्दै आवश्यक मदत दिन्छन्।