प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 मार्च पृ. १४-१९
  • तपाईँ निराशाको बाबजुद यहोवाको सेवामा लागिरहन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ निराशाको बाबजुद यहोवाको सेवामा लागिरहन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा
  • जीवनसाथीसितको सम्बन्ध बिग्रँदा
  • आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा
  • यहोवा ‘मन भाँचिएकाहरूलाई निको पार्नुहुन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • एकअर्कासित नजिक हुनु असल कुरा हो!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवा “जीवित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 मार्च पृ. १४-१९

अध्ययन लेख ११

गीत १२९ हामी सहिरहन्छौँ!

तपाईँ निराशाको बाबजुद यहोवाको सेवामा लागिरहन सक्नुहुन्छ

“तिमीले . . . मेरो नामको खातिर धेरै कष्ट सहेका छौ तैपनि थाकेका छैनौ।”​—प्रका. २:३.

सिक्न सकिने कुरा

हामी निराशाको बाबजुद यहोवाको सेवामा लागिरहन सक्छौँ।

१. यहोवाको सङ्‌गठनको भाग भएकोले हामीले कस्ता आशिष्‌हरू पाएका छौँ?

अन्तको यस कठिन समयमा यहोवाको सङ्‌गठनको भाग हुन पाउनु साँच्चै आशिष्‌को कुरा हो! संसारको अवस्था दिनप्रतिदिन खस्कँदै गइरहेको छ। तर यहोवाले हामीलाई मदत दिन मायालु आध्यात्मिक परिवार दिनुभएको छ। (भज. १३३:१) अनि उहाँ हामीलाई पारिवारिक जीवन सुखी बनाउन पनि मदत गर्नुहुन्छ। (एफि. ५:३३–६:१) साथै हामीले चिन्ता-फिक्रीको सामना गर्न सकौँ र आनन्दित हुन सकौँ भनेर उहाँ हामीलाई बुद्धि पनि दिनुहुन्छ।

२. हामीले के गर्नुपर्छ र किन?

२ यहोवाको सेवामा लागिरहन हामीले कडा मेहनत गर्नुपर्छ। किन? किनकि कहिलेकाहीँ अरूले गरेका वा भनेका कुराहरूले गर्दा हाम्रो चित्त दुख्न सक्छ। हामी आफ्नै गल्तीहरूले गर्दा पनि निराश हुन सक्छौँ, खासगरि एउटै गल्ती बारम्बार दोहोरिँदा। हामी निम्न अवस्थाहरूमा सहनशील भई यहोवाको सेवामा लागिरहनुपर्छ: (१) कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा, (२) जीवनसाथीसितको सम्बन्ध बिग्रँदा र (३) आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा। यस लेखमा हामी यी प्रत्येक अवस्थाबारे छलफल गर्नेछौँ। साथै यस्तै अवस्थाहरूको सामना गरेका बाइबल पात्रहरूबाट हामी के सिक्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।

कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा

३. यहोवाका सेवकहरूले कस्तो चुनौतीको सामना गर्नुपर्छ?

३ चुनौती। कुनै भाइबहिनीको बानीबेहोराले गर्दा हामीलाई रिस उठ्‌न सक्छ। अरू कतिपयले भने हामीलाई होच्याएर कुरा गर्न सक्छन्‌ वा रुखो व्यवहार गर्न सक्छन्‌। एल्डरहरूबाट पनि गल्ती हुन्छ। यस्ता कारणहरूले गर्दा कसै-कसैलाई ‘यो परमेश्‍वरकै सङ्‌गठन हो र’ जस्तो लाग्न सक्छ। तिनीहरू भाइबहिनीसित “काँधमा काँध मिलाएर” परमेश्‍वरको सेवा गर्नुको साटो आफ्नो चित्त दुखाएका भाइबहिनीसित बोलचालै बन्द गर्छन्‌ वा सभा नै जान छोड्‌छन्‌। (सप. ३:९) के त्यसो गर्नु बुद्धिमानी हो? यस्तै समस्याको सामना गरेका एक बाइबल पात्रबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ।

४. प्रेषित पावलले कस्ता चुनौतीहरूको सामना गरे?

४ बाइबलको उदाहरण। प्रेषित पावललाई भाइबहिनी पनि अरू मानिसजस्तै त्रुटिपूर्ण छन्‌ भनेर थाह थियो। जस्तै: तिनी येसुको चेला बनिसकेको कुरा भाइबहिनीले पत्याउँदै पत्याएनन्‌। (प्रेषि. ९:२६) अर्को एकचोटि, केही भाइबहिनीले तिनको कुरा काटेर तिनको बदनाम गरे। (२ कोरि. १०:१०) पावलले आफ्नै आँखाअगाडि एक जिम्मेवार भाइले गलत निर्णय गरेको देखे, जसले गर्दा अरूले ठेस खाएका हुन सक्छन्‌। (गला. २:११, १२) अनि पावलको एक जना नजिकको सहकर्मी मर्कुसले तिनलाई साह्रै निराश तुल्याए। (प्रेषि. १५:३७, ३८) यीमध्ये कुनै पनि अवस्थामा पावलले तिनको चित्त दुखाउने भाइबहिनीसित बोलचालै बन्द गर्न सक्थे। तर तिनले त्यसो गरेनन्‌ बरु भाइबहिनीप्रति सकारात्मक दृष्टिकोण कायम राखे र सक्रिय भई यहोवाको सेवामा लागिरहे। त्यसो गर्न पावललाई केले मदत गऱ्‍यो?

५. भाइबहिनीलाई क्षमा दिन र तिनीहरूसितको सम्बन्धलाई राम्रो बनाइरहन पावललाई केले मदत गऱ्‍यो? (कलस्सी ३:१३, १४) (चित्र पनि हेर्नुहोस्‌।)

५ पावल भाइबहिनीलाई प्रेम गर्थे। त्यही प्रेमले तिनलाई भाइबहिनीको कमीकमजोरीमा होइन बरु तिनीहरूका सुन्दर गुणहरूमा ध्यान केन्द्रित गर्न मदत गऱ्‍यो। त्यही प्रेमले गर्दा पावलले कलस्सी ३:१३, १४ मा आफैले दिएको सल्लाह लागू गर्न मदत पाए। (पढ्‌नुहोस्‌।) तिनले मर्कुससित कस्तो व्यवहार गरे, याद गर्नुहोस्‌। हुनत पावलको पहिलो मिसनरी यात्रामा मर्कुसले तिनलाई छोडेर गएका थिए। तर पावलले तिनीप्रति मनमा रिस पालेर राखेनन्‌। बरु कलस्सीको मण्डलीलाई लेखेको मायालु पत्रमा तिनले मर्कुसबाट “निकै सान्त्वना पाएको” कुरा उल्लेख गर्दै उनको प्रशंसा गरे। (कल. ४:१०, ११) रोमको झ्यालखानामा छँदा पावलले मदतको लागि मर्कुसलाई नै आफूकहाँ लिएर आउन तिमोथिलाई आग्रह गरे। (२ तिमो. ४:११) स्पष्ट छ, पावलले भाइबहिनीलाई क्षमा दिए र तिनीहरूसितको सम्बन्धलाई राम्रो बनाइरहे। हामी पावलबाट के सिक्न सक्छौँ?

चित्रहरूको सँगालो: १. पावलले बोलाए पनि मर्कुस रिसाउँदै आफ्नो बाटो लाग्छन्‌। २. पछि पावल मर्कुससँग मायालु तरिकामा कुरा गर्दै छन्‌।

पावलको बर्णाबास र मर्कुससित मतभेद भएको थियो। तर पावलले उनीहरूप्रति मनमा रिस पालेर राखेनन्‌ बरु पछि मर्कुससितै मिलेर सेवा गर्न पाएकोमा रमाए (अनुच्छेद ५ हेर्नुहोस्‌)


६-७. भाइबहिनीको कमीकमजोरीको बाबजुद हामी कसरी तिनीहरूलाई प्रेम देखाइरहन सक्छौँ? (१ युहन्‍ना ४:७)

६ पाठ। यहोवा हामीले भाइबहिनीलाई जस्तोसुकै अवस्थामा पनि प्रेम गरिरहेको चाहनुहुन्छ। (१ युहन्‍ना ४:७ पढ्‌नुहोस्‌।) यदि कुनै भाइबहिनी ख्रिष्टियन गुण देखाउन चुके भने तिनले जानाजानी त्यसो गरेका होइनन्‌ र तिनले बाइबल सिद्धान्तअनुसार चल्न कोसिस गरिरहेका छन्‌ भनेर हामीले सोच्नुपर्छ। (हितो. १२:१८) आफ्ना वफादार उपासकहरूको कमीकमजोरीको बाबजुद यहोवा तिनीहरूलाई प्रेम गर्नुहुन्छ। हामीले गल्ती गर्दा उहाँ हामीसितको सम्बन्धलाई तोड्‌नुहुन्‍न न त हामीसित रिसाएर नै बस्नुहुन्छ। (भज. १०३:९) त्यसैले क्षमा दिने सन्दर्भमा यहोवाको अनुकरण गर्नु कत्ति महत्त्वपूर्ण!​—एफि. ४:३२–५:१.

७ नबिर्सनुहोस्‌, अन्त नजिकिँदै जाँदा हामी भाइबहिनीसित झन्‌झनै नजिक हुनुपर्छ। हामीले अझ धेरै खेदो भोग्नुपर्नेछ भनेर हामीलाई थाह छ। हामी आफ्नो विश्‍वासको खातिर झ्यालखानामा समेत पर्न सक्छौँ। त्यस्तो अवस्थामा हामीलाई भाइबहिनीको साथ अझ धेरै चाहिन्छ। (हितो. १७:१७) स्पेनका एक एल्डर जुजेपकोa अनुभव विचार गरौँ। सेनामा भर्ती हुन इन्कार गरेकोले तिनी र अरू केही भाइ झ्यालखानामा परेका थिए। तिनी भन्छन्‌: “झ्यालखानामा हामी सँगै बस्नुपरेकोले एकअर्काको बानीबेहोरा देखेर रिस उठ्‌न सक्ने सम्भावना धेरै हुन्थ्यो। तर हामीले एकअर्कालाई सहिरह्‍यौँ अनि खुला मनले क्षमा दिइरह्‍यौँ। त्यसले गर्दा हामी एकतामा रहन सक्यौँ। अनि अरू कैदीबाट जोगिन पनि सक्यौँ। एकचोटि मेरो हात भाँचिएकोले प्लास्टर गर्नुपरेको थियो। त्यतिबेला दैनिक कामकुरा गर्न पनि गाह्रो भइरहेको थियो। तर एक जना भाइले मेरो लुगा धोइदिनुभयो र मलाई अरू व्यावहारिक तरिकाहरूमा मदत गर्नुभयो। मैले आफ्नो दैनिक कामकुरासमेत गर्न नसकेको बेलामा भाइहरूले मलाई त्यसरी प्रेम देखाउनुभयो।” त्यसैले भाइबहिनीसितको हाम्रो सम्बन्ध चिसिएको छ भने अहिल्यै सम्बन्ध सुधारिहाल्नु कत्ति महत्त्वपूर्ण!

जीवनसाथीसितको सम्बन्ध बिग्रँदा

८. विवाहित दम्पतीहरूले कस्तो चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ?

८ चुनौती। सबैको वैवाहिक जीवनमा समस्या आइपर्छ। विवाहित दम्पतीहरूले “शारीरिक दुःखकष्ट” झेल्नेछन्‌ भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (१ कोरि. ७:२८) किन? किनभने विवाह दुई त्रुटिपूर्ण व्यक्‍तिहरूको मिलन हो। तिनीहरूको गुण अनि मन पर्ने/नपर्ने कुराहरू फरक-फरक हुन्छन्‌। अनि दुवै हुर्केको संस्कृति र पृष्ठभूमि पनि फरक हुन सक्छ। विवाहअघि याद नगरेको कुरा विवाहपछि याद हुन सक्छ। यीमध्ये जुनसुकै कारणले गर्दा पतिपत्नीबीच खटपट पर्न सक्छ। समस्या आइपर्दा दुवैको गल्ती छ भनेर स्विकार्दै समस्या समाधान गर्नतिर लाग्नुको साटो पतिपत्नीले एकअर्कालाई दोष लगाउन थाल्न सक्छन्‌। तिनीहरूले छुट्टिएर बस्नु वा सम्बन्धविच्छेद गर्नु नै समस्याको समाधान हो भनेर समेत सोच्न सक्छन्‌। तर के त्यसो गर्दा तिनीहरू आनन्दित हुन सक्छन्‌?b आउनुहोस्‌, आफ्नो पतिले गर्दा वैवाहिक जीवन एकदमै गाह्रो भए तापनि यहोवाप्रति वफादार रहेकी एक बाइबल पात्रबाट हामी के सिक्न सक्छौँ, विचार गरौँ।

९. अबिगेलले कस्तो चुनौतीको सामना गरिन्‌?

९ बाइबलको उदाहरण। अबिगेलका पति नाबाल क्रूर थिए र अरूसित नराम्रो व्यवहार गर्थे। (१ समु. २५:३) त्यस्तो व्यक्‍तिसित जीवन बिताउन अबिगेललाई पक्कै गाह्रो भएको हुनुपर्छ। के अबिगेलले आफ्नो क्रूर पतिबाट मुक्‍ति पाउने मौका पाएकी थिइन्‌? थिइन्‌। इस्राएलका भावी राजा दाउद नाबाललाई मार्न आएका थिए किनभने नाबालले दाउद र तिनका मानिसहरूको अपमान गरेका थिए। (१ समु. २५:९-१३) त्यतिबेला अबिगेल चुपचाप त्यहाँबाट भाग्न सक्थिन्‌ र दाउदलाई आफ्नो योजनाअनुसारै गर्न दिन सक्थिन्‌। तर उनले त्यसो गरिनन्‌। बरु उनले दाउदसित नाबालको जीवनको भिख मागिन्‌। (१ समु. २५:२३-२७) उनलाई त्यसो गर्न केले उत्प्रेरित गरेको हुनुपर्छ?

१०. गाह्रो अवस्थामा समेत विवाहप्रति यहोवाको जस्तै दृष्टिकोण राखिराख्न अबिगेललाई कुन कुराले उत्प्रेरित गरेको हुन सक्छ?

१० अबिगेल यहोवालाई प्रेम गर्थिन्‌ र विवाहसम्बन्धी उहाँको स्तरको कदर गर्थिन्‌। परमेश्‍वरले प्रथम पुरुष र स्त्रीको विवाह गराइदिनुहुँदा भन्‍नुभएको कुरा अबिगेललाई पक्कै थाह थियो। (उत्प. २:२४) यहोवा विवाहलाई पवित्र ठान्‍नुहुन्छ भनेर अबिगेलले बुझेकी थिइन्‌। उनी परमेश्‍वरलाई खुसी बनाउन चाहन्थिन्‌। यही कुराले उनलाई आफ्नो पतिलगायत सम्पूर्ण घरानालाई जोगाउनको लागि सकेजति गर्न उत्प्रेरित गरेको हुनुपर्छ। नाबालको हत्या गर्नदेखि दाउदलाई रोक्न उनले तुरुन्तै कदम चालिन्‌। उनी आफूले गर्दै नगरेको गल्तीको लागि पनि क्षमा माग्न तयार थिइन्‌। स्पष्ट छ, यहोवा यी साहसी र निःस्वार्थ स्त्रीलाई धेरै प्रेम गर्नुहुन्थ्यो। अबिगेलको उदाहरणबाट पतिपत्नीहरूले के सिक्न सक्छन्‌?

११. (क) पतिपत्नीले के गरेको यहोवा चाहनुहुन्छ? (एफिसी ५:३३) (ख) कार्मेनको अनुभवबाट तपाईँले के सिक्नुभयो? (चित्र पनि हेर्नुहोस्‌।)

११ पाठ। आफ्नो पति वा पत्नीले गर्दा जीवन गाह्रो भए तापनि यहोवाले तिनीहरूलाई मिलेर बस्न सल्लाह दिनुभएको छ। तिनीहरूले समस्याको समाधान गर्न अनि एकअर्कालाई निःस्वार्थ प्रेम र आदर देखाउन कडा मेहनत गरेको देख्दा यहोवालाई कत्ति खुसी लाग्छ होला। (एफिसी ५:३३ पढ्‌नुहोस्‌।) कार्मेनको अनुभव विचार गरौँ। विवाह गरेको लगभग छ वर्षपछि तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌ र पछि बप्तिस्मा गरिन्‌। तिनी भन्छिन्‌: “मैले यहोवाको साक्षी बन्‍ने निर्णय गरेको कुरा मेरो श्रीमान्‌लाई मन परेन। मैले उहाँसित भन्दा सभा र साक्षीकार्यमा धेरै समय बिताएकोले उहाँ मदेखि धेरै रिसाउनुहुन्थ्यो। उहाँ मलाई खसालेर कुरा गर्नुहुन्थ्यो र मलाई छोडेर जाने धम्कीसमेत दिनुहुन्थ्यो।” तैपनि कार्मेनले सहनशील भई यहोवाको सेवा गरिरहिन्‌। पतिको कठोर व्यवहारको बाबजुद तिनले ५० वर्षसम्म पतिलाई प्रेम र आदर देखाउन सक्दो कोसिस गरिरहिन्‌। तिनी भन्छिन्‌: “वर्षहरू बित्दै जाँदा मैले उहाँको भावना अझै राम्रोसँग बुझ्न र उहाँसित विचारशील भएर कुरा गर्न सिकेँ। यहोवाको नजरमा विवाह पवित्र बन्धन हो भनेर थाह भएकोले मैले आफ्नो वैवाहिक सम्बन्ध जोगाउन आफ्नो तर्फबाट सक्दो गरेँ। म यहोवालाई प्रेम गर्छु। त्यसैले श्रीमान्‌लाई छोड्‌ने कुरा कहिल्यै सोचिनँ।”c तपाईँको वैवाहिक जीवनमा पनि समस्या आयो भने यहोवा तपाईँलाई साथ दिनुहुन्छ र उहाँको सेवामा लागिरहन चाहिने बल दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

चित्रहरूको सँगालो: १. मेचमा निदाइरहेका नाबालको लागि अबिगेलले ओढ्‌ने ल्याइदिन्छिन्‌। २. फरक धार्मिक आस्था भएको आफ्नो पतिसित एउटी बहिनी मायालु तरिकामा कुरा गर्दै छिन्‌; पतिको एउटा हातमा अखबार र अर्को हातमा रक्सी छ।

आफ्नो घरानालाई जोगाउन अबिगेलले सक्दो कोसिस गरेको कुराबाट तपाईँले कस्तो पाठ सिक्नुभयो? (अनुच्छेद ११ हेर्नुहोस्‌)


आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा

१२. हामीबाट गम्भीर गल्ती भयो भने हामीलाई कस्तो लाग्न सक्छ?

१२ चुनौती। हामीबाट गम्भीर गल्ती भयो भने हामी निराश हुन सक्छौँ। बाइबलमा बताइएअनुसार आफूले गरेको पापले गर्दा हाम्रो ‘हृदय टुट्‌न र चूर्ण’ हुन सक्छ। (भज. ५१:१७) रविन भाइले सहायक सेवक बन्‍न कडा मेहनत गरेका थिए। तर सहायक सेवक भएपछि तिनले गम्भीर गल्ती गरे। तिनले यहोवालाई धोका दिएको महसुस गरे। तिनले यसो भने: “मेरो अन्तस्करणले मलाई साह्रै सतायो, गह्रौँ भारीले थिचेको जस्तै भयो। त्यत्ति गाह्रो त पहिला कहिल्यै भएको थिएन। मैले रुँदै यहोवालाई प्रार्थना गरेँ। तर यहोवाले अब कहिल्यै मेरो प्रार्थना सुन्‍नुहुन्‍न जस्तो लाग्यो। सुन्‍नु पनि किन, आखिर मैले उहाँलाई दुःखी तुल्याएको थिएँ।” हामीले पनि गम्भीर गल्ती गऱ्‍यौँ भने हाम्रो हृदय यत्ति छियाछिया हुन सक्छ कि यहोवाले हामीलाई त्याग्नुभयो र उहाँको सेवा गर्नुको कुनै अर्थ छैन जस्तो लाग्न सक्छ। (भज. ३८:४) तपाईँलाई पनि त्यस्तै लागेको छ? छ भने आउनुहोस्‌, गम्भीर गल्ती गरे तापनि यहोवाको सेवामा लागिरहेका एक बाइबल पात्रबारे विचार गरौँ।

१३. पत्रुसले कस्तो गम्भीर गल्ती गरे र त्यसअघि पनि तिनले कस्ता गल्तीहरू गरे?

१३ बाइबलको उदाहरण। येसुको मृत्युको अघिल्लो रात प्रेषित पत्रुसले एकपछि अर्को गल्ती गरे र अन्तमा जीवनकै सबैभन्दा गम्भीर गल्ती गरे। पहिलो गल्ती, पत्रुस अतिविश्‍वस्त भए। अरू सबै प्रेषितले येसुलाई त्यागे पनि आफू भने सधैँ वफादार रहिरहने कुरामा तिनले फुर्ती लगाए। (मर्कु. १४:२७-२९) अर्को गल्ती, गेत्समनीको बगैँचामा हुँदा पत्रुस जागा रहनदेखि बारम्बार चुके। (मर्कु. १४:३२, ३७-४१) त्यसपछि येसुलाई पक्रन तरबार र लाठोहरू लिएर शत्रुहरू आउँदा तिनी उहाँलाई छोडेर भागे। (मर्कु. १४:५०) अन्तमा पत्रुसले येसुलाई चिन्‍न तीन चोटि इन्कार गरे; यहाँसम्म कि तिनले उहाँलाई चिनेकै छैन भनेर कसम खाए। (मर्कु. १४:६६-७१) आफूले गरेको गल्ती कत्ति गम्भीर छ भनेर बुझेपछि पत्रुसले कस्तो महसुस गरे? तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए। (मर्कु. १४:७२) सायद तिनलाई दोषी भावनाले निकै सतायो। त्यस्तो गल्ती गरेको केही घण्टापछि नै आफ्नो मित्र येसुलाई मृत्युदण्ड दिइँदा पत्रुसलाई कत्ति पीडा भयो होला, कल्पना गर्नुहोस्‌ त! तिनलाई आफू कुनै कामको छैन भन्‍ने लागेको हुनुपर्छ।

१४. यहोवाको सेवामा लागिरहन पत्रुसलाई केले मदत गऱ्‍यो? (चित्र हेर्नुहोस्‌।)

१४ पत्रुस यहोवाको सेवामा लागिरहन सक्नुका केही कारणबारे विचार गरौँ। तिनी अरूदेखि अलग्गै बसेनन्‌ बरु भाइबहिनीलाई भेट्‌न गए। (लुका २४:३३) तिनले तिनीहरूबाट पक्कै सान्त्वना पाएको हुनुपर्छ। साथै येसु फेरि जीवित हुनुभएपछि पत्रुसकहाँ देखा पर्नुभयो। (लुका २४:३४; १ कोरि. १५:५) सायद उहाँ तिनलाई प्रोत्साहन दिन चाहनुहुन्थ्यो। पछि येसु फेरि तिनीकहाँ देखा पर्नुहुँदा गल्तीहरू कोट्याउँदै तिनलाई हप्काउनुभएन बरु तिनलाई अझ ठूलठूला जिम्मेवारीहरू दिइनेछ भनेर बताउनुभयो। (युह. २१:१५-१७) आफूले गम्भीर गल्ती गरेको कुरा पत्रुसलाई थाह थियो। तैपनि तिनले हरेस खाएनन्‌। किन? किनभने येसु तिनलाई अझै पनि माया गर्नुहुन्छ भन्‍ने कुरामा तिनी विश्‍वस्त थिए। अनि भाइबहिनीले पनि पत्रुसलाई साथ दिइरहे। हामी पत्रुसको उदाहरणबाट के सिक्न सक्छौँ?

आगोमा माछा पाक्दै गर्दा येसु पत्रुससँग कुरा गर्दै हुनुहुन्छ। अरू प्रेषितहरू पनि ध्यान दिएर सुन्दै छन्‌।

युहन्‍ना २१:१५-१७ मा बताइएअनुसार येसुले पत्रुसलाई प्रेम गरिरहनुभयो, जसले गर्दा तिनले यहोवाको सेवामा लागिरहन प्रोत्साहन पाए (अनुच्छेद १४ हेर्नुहोस्‌)


१५. हामी कुन कुरामा विश्‍वस्त भएको यहोवा चाहनुहुन्छ? (भजन ८६:५; रोमी ८:३८, ३९) (तस्बिर पनि हेर्नुहोस्‌।)

१५ पाठ। यहोवा हामीलाई प्रेम गर्नुहुन्छ र क्षमा दिन तयार हुनुहुन्छ। यस कुरामा हामी विश्‍वस्त भएको उहाँ चाहनुहुन्छ। (भजन ८६:५; रोमी ८:३८, ३९ पढ्‌नुहोस्‌।) हामीले गल्ती गर्दा हामी दोषी महसुस गर्छौँ। त्यस्तो महसुस गर्नु स्वाभाविक र उचित हो। तर यहोवाले हामीलाई प्रेम गर्न छोड्‌नुभयो वा कहिल्यै क्षमा दिनुहुन्‍न भनेर सोच्नु हुँदैन। बरु हामीले तुरुन्तै मदत खोज्नुपर्छ। अघि उल्लेख गरिएका रविन भन्छन्‌: “प्रलोभनको सामना गर्न आफैमा भर परेकोले म गम्भीर गल्ती गर्न पुगेँ।” तिनले एल्डरहरूसित कुरा गर्नुपर्छ भनेर महसुस गरे। तिनी भन्छन्‌: “एल्डरहरूसित कुरा गरेपछि यहोवा मलाई प्रेम गर्नुहुन्छ भनेर महसुस गर्न सकेँ। मैले एल्डरहरूको माया पनि महसुस गर्न सकेँ। यहोवाले मलाई त्याग्नुभएको छैन भन्‍ने कुरामा विश्‍वस्त हुन उहाँहरूले मलाई मदत गर्नुभयो।” हामीले पनि पश्‍चात्ताप गऱ्‍यौँ, आवश्‍यक मदत खोज्यौँ र गल्ती नदोहोऱ्‍याउन भरमग्दुर प्रयास गऱ्‍यौँ भने यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ। (१ युह. १:८, ९) अनि यस्तो विश्‍वस्तताले हामीलाई ठेस खाए पनि वा लडे पनि फेरि उठ्‌न मदत गर्छ।

दुई एल्डर एक भाइलाई गोठालो भेट गर्दै छन्‌।

तपाईँलाई मदत दिन एल्हरहरूले गरेको मेहनत देख्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)


१६. तपाईँ किन यहोवाको सेवामा लागिरहन कटिबद्ध हुनुहुन्छ?

१६ अन्तको यस कठिन समयमा हामीले यहोवाको सेवामा गरेको मेहनतको उहाँ धेरै मोल गर्नुहुन्छ। निराश बनाउने जस्तोसुकै अवस्था आइपरे तापनि यहोवाको मदत पाएर हामी उहाँको सेवामा लागिरहन सक्छौँ। हामी भाइबहिनीप्रतिको प्रेम विकास गर्न सक्छौँ र तिनीहरूले हाम्रो चित्त दुखाउँदा क्षमा दिन सक्छौँ। वैवाहिक जीवनमा आइपर्ने समस्याहरू समाधान गर्न यथासक्दो गरेर हामी यहोवाप्रति गहिरो प्रेम र विवाहको प्रबन्धप्रति गहिरो कदर देखाउन सक्छौँ। हामीबाट गम्भीर गल्ती भयो भने यहोवाको मदत खोज्न सक्छौँ, उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र क्षमा दिन तयार हुनुहुन्छ भनेर स्विकार्न सक्छौँ अनि उहाँको सेवामा लागिरहन सक्छौँ। ‘हामीले असल काम गर्नमा हरेस खाएनौँ’ भने पक्कै पनि प्रशस्तै आशिष्‌ पाउनेछौँ!​—गला. ६:९.

निम्न अवस्थामा हामी कसरी सहनशील भई यहोवाको सेवामा लागिरहन सक्छौँ?

  • कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा

  • जीवनसाथीसितको सम्बन्ध बिग्रँदा

  • आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा

गीत १३९ नयाँ संसारको जीवन कल्पना गरौँ!

a केही नाम परिवर्तन गरिएका छन्‌।

b परमेश्‍वरको वचनले पति र पत्नीलाई छुट्टिएर बस्न प्रोत्साहन दिँदैन। अनि छुट्टिएर बस्दैमा तिनीहरू अर्को व्यक्‍तिसित विवाह गर्न धर्मशास्त्रीय आधारमा स्वतन्त्र हुँदैनन्‌। तर कुनै-कुनै अवस्थामा ख्रिष्टियनहरूले छुट्टिएर बस्ने निर्णय गर्न सक्छन्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको नोट ४ “पति र पत्नी छुट्टिएर बस्ने” हेर्नुहोस्‌।

c अर्को उदाहरणको लागि jw.org मा झूटो शान्तिको बहकाउमा नपर्नुहोस्‌!—ड्यारेल र डेबोरा फ्राइसिङ्‌गर भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने