अध्ययन लेख २१
गीत १०७ ईश्वरीय प्रेमको नमुना
तपाईँ कसरी सुहाउँदो जीवनसाथी भेट्टाउन सक्नुहुन्छ?
“गुणवती पत्नी कसले पाउन सक्छ? तिनी मुगाभन्दा पनि बहुमूल्य हुन्छिन्।”—हितो. ३१:१०.
सिक्न सकिने कुरा
यस लेखमा सुहाउँदो जीवनसाथी भेट्टाउन मदत गर्ने बाइबल सिद्धान्तहरूबारे र विवाह गर्न चाहने भाइबहिनीलाई मण्डलीका अरूले कसरी साथ दिन सक्छन्, त्यसबारे छलफल गर्नेछौँ।
१-२. (क) डेटिङ गर्न थाल्नुअघि कस्ता कुराहरू विचार गर्नुपर्छ? (ख) “डेटिङ” गर्नु भनेको के हो? (“थप व्याख्या” हेर्नुहोस्।)
के तपाईँ विवाह गर्न चाहनुहुन्छ? हुनत खुसी हुन विवाह गर्नै पर्छ भन्ने छैन। तर चाहे जवान होऊन् वा वृद्ध, थुप्रै अविवाहित भाइबहिनी विवाह गर्न चाहन्छन्। तर डेटिङ गर्न थाल्नुअघि नै तपाईँ आध्यात्मिक रूपमा बलियो हुनुपर्छ, भावनात्मक तवरमा तयार हुनुपर्छ र आर्थिक जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ।a (१ कोरि. ७:३६) यी क्षेत्रहरूमा तयार हुनुहुन्छ भने तपाईँको वैवाहिक जीवन सुखी हुन सक्छ।
२ तर सुहाउँदो जीवनसाथी भेट्टाउन सधैँ सजिलो हुँदैन। (हितो. ३१:१०) अनि तपाईँलाई कोही मन परिहाल्यो भने पनि तिनलाई त्यो कुरा थाह दिन गाह्रो हुन सक्छ।b यस लेखमा अविवाहित भाइबहिनीले सम्भाव्य जीवनसाथी कसरी भेट्टाउन सक्छन् र कसरी डेटिङ सुरु गर्न सक्छन् भनेर छलफल गर्नेछौँ। साथै मण्डलीका भाइबहिनीले तिनीहरूलाई कसरी साथ दिन सक्छन्, त्यसबारे पनि विचार गर्नेछौँ।
सुहाउँदो जीवनसाथी कसरी भेट्टाउने?
३. विवाह गर्न चाहनुहुन्छ भने तपाईँले कस्ता कुराहरू विचार गर्नु बेस हुन्छ?
३ विवाह गर्न चाहनुहुन्छ भने तपाईँ के-कस्ता गुणहरू भएको जीवनसाथी चाहनुहुन्छ भनेर पहिल्यै विचार गर्नु बेस हुन्छ। त्यसो गर्नुभएन भने त्यस्तो व्यक्ति तपाईँको वरिपरि भए पनि तपाईँलाई यादै नहुन सक्छ अथवा तपाईँ आफूलाई नसुहाउने व्यक्तिसित डेटिङ गर्न थाल्न सक्नुहुन्छ। हुनत हो, हामीले बप्तिस्मा गरिसकेको व्यक्तिसित मात्र डेटिङ गर्नुपर्छ। (१ कोरि. ७:३९) तर बप्तिस्मा गरिसकेका जो-कोही पनि तपाईँको लागि सुहाउँदो जीवनसाथी हुन्छन् भन्ने छैन। त्यसैले आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘मैले जीवनमा कस्ता लक्ष्यहरू राखेको छु? मलाई आफ्नो जीवनसाथीमा कस्ता गुणहरू हुनै पर्छ जस्तो लाग्छ? के मेरा ती चाहनाहरू व्यावहारिक छन्?’
४. कसै-कसैले प्रार्थनामा कस्ता कुराहरू समावेश गरेका छन्?
४ विवाह गर्न चाहनुहुन्छ भने तपाईँले सुहाउँदो जीवनसाथी भेट्टाउन सकूँ भनेर पक्कै प्रार्थना गर्नुभएको छ होला। (फिलि. ४:६) हुनत यहोवाले आफ्ना सेवकहरूको लागि जोडी भेट्टाइदिने वाचा गर्नुभएको छैन। तर उहाँ तपाईँको आवश्यकता र भावनाहरूको ख्याल राख्नुहुन्छ अनि सुहाउँदो जोडी खोजिरहेको बेला तपाईँलाई मदत दिन सक्नुहुन्छ। त्यसैले आफ्ना इच्छा र भावनाहरूबारे उहाँलाई बताइरहनुहोस्। (भज. ६२:८) धीरज र बुद्धि दिनुहोस् भनेर प्रार्थना गर्नुहोस्। (याकु. १:५) अमेरिकाका एक अविवाहित भाइ जोनc आफूले प्रार्थनामा समावेश गर्ने कुराहरूबारे यसो भन्छन्: “आफ्नो जीवनसाथीमा के-कस्ता गुणहरू भएको चाहन्छु भनेर म यहोवालाई बताउँछु। सम्भाव्य जीवनसाथीसित भेट्ने अवसरहरू मिलाइदिनुहोस् भनेर उहाँलाई प्रार्थना गर्छु। साथै असल पतिमा हुनुपर्ने गुणहरू विकास गर्न मदत गर्नुहोस् भनेर पनि प्रार्थना गर्छु।” श्रीलङ्काकी एक बहिनी तान्या यसो भन्छिन्: “म सुहाउँदो जीवनसाथी खोज्ने क्रममा वफादार, सकारात्मक र आनन्दित भइरहन सकूँ भनेर यहोवासित मदत माग्छु।” तपाईँले तुरुन्तै सुहाउँदो जीवनसाथी भेट्टाउनुभएन भने पनि यहोवाले तपाईँको भौतिक र भावनात्मक आवश्यकताको ख्याल राख्ने वाचा गर्नुभएको छ भनेर नबिर्सनुहोस्।—भज. ५५:२२.
५. अविवाहित ख्रिष्टियनले यहोवालाई प्रेम गर्ने व्यक्तिहरूलाई भेट्ने अवसरहरू कसरी पाउन सक्छन्? (१ कोरिन्थी १५:५८) (चित्र पनि हेर्नुहोस्।)
५ बाइबलमा हामीलाई “प्रभुको काममा सधैँ व्यस्त” भइरहन प्रोत्साहन दिइएको छ। (१ कोरिन्थी १५:५८ पढ्नुहोस्।) तपाईँ यहोवाको सेवामा व्यस्त हुनुभयो र विभिन्न भाइबहिनीसित समय बिताउनुभयो भने तपाईँले उत्थानदायी सरसङ्गतिबाट आनन्द उठाउन सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँले यहोवाको सेवामा ध्यान केन्द्रित गरिरहेका अविवाहित भाइबहिनीलाई भेट्ने अवसरहरू पनि पाउनुहुनेछ। अनि यहोवालाई खुसी पार्न आफ्नो तर्फबाट सक्दो गर्नुभयो भने तपाईँले साँचो आनन्द पाउनुहुनेछ।
यहोवाको सेवामा व्यस्त रहनुभयो र विभिन्न भाइबहिनीसित समय बिताउनुभयो भने विवाह गर्ने इच्छा भएका व्यक्तिहरूसित तपाईँको भेट हुन सक्छ (अनुच्छेद ५ हेर्नुहोस्)
६. जीवनसाथी खोज्ने धुनमा तपाईँले कुन कुरा बिर्सनु हुँदैन?
६ तर होसियार हुनुहोस्, जीवनसाथी खोज्नुलाई नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नबनाउनुहोस्। (फिलि. १:१०) साँचो आनन्द तपाईँ विवाहित हुनुहुन्छ कि अविवाहित हुनुहुन्छ भन्ने कुरामा होइन, यहोवासितको तपाईँको सम्बन्धमा निर्भर हुन्छ। (मत्ति ५:३) अनि अविवाहित अवस्थामा तपाईँसित सेवा विस्तार गर्ने स्वतन्त्रता अझ धेरै हुन सक्छ। (१ कोरि. ७:३२, ३३) त्यसैले त्यस समयको पूर्ण सदुपयोग गर्नुहोस्। अमेरिकाकी जेसिका बहिनीले झन्डै ४० वर्षको उमेरमा विवाह गरिन्। तिनी यसो भन्छिन्: “म विवाह गर्न चाहन्थेँ। तर विवाह नहुँदा पनि म खुसी थिएँ किनभने म सेवाको काममा व्यस्त रहन्थेँ।”
समय लगाउनुहोस्
७. कुनै व्यक्तिबारे राम्ररी थाह पाउन समय लगाउनु किन बुद्धिमानी हो? (हितोपदेश १३:१६)
७ तपाईँलाई कुनै व्यक्ति आफ्नो लागि सुहाउँदो जीवनसाथी हुन सक्छ जस्तो लाग्यो भने नि? के तपाईँले आफ्नो मनको कुरा तिनलाई तुरुन्तै बताउनु उचित हो? बाइबलमा बुद्धिमान् मानिसले सोचविचार गरेर कदम चाल्छ भनिएको छ। (हितोपदेश १३:१६ पढ्नुहोस्।) त्यसैले बुद्धिमान् मानिसले आफ्नो मनको कुरा बताउन हतार गर्दैन बरु ती व्यक्तिबारे थाह पाउन समय लगाउँछ। नेदरल्याण्ड्सका अस्विन यसो भन्छन्: “माया जत्ति छिटो पलाउँछ, त्यत्ति नै छिटो बिलाएर जान पनि सक्छ। त्यसैले कुनै व्यक्तिबारे थाह पाउन समय लगाउनुभयो भने तपाईँले बिलाएर जाने भावनाको आधारमा डेटिङ सुरु गर्नुहुनेछैन।” तिनीबारे थाह पाउन समय लगाउनुभयो भने तपाईँलाई ती व्यक्ति आफ्नो लागि सुहाउँदो रहेनछन् भन्ने महसुस हुन पनि सक्छ।
८. तपाईँ कुनै व्यक्ति कस्ता छन् भनेर कसरी थाह पाउन सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्।)
८ तपाईँ ती व्यक्ति कस्ता छन् भनेर कसरी थाह पाउन सक्नुहुन्छ? मण्डलीको सभामा वा जमघटहरूमा तिनको आध्यात्मिकता, व्यक्तित्व र आनीबानी याद गरेर। तिनका साथीहरू को-को हुन् र तिनी कस्ता विषयहरूमा कुराकानी गर्छन्? (लुका ६:४५) के तपाईँको र तिनको लक्ष्य मिल्छ? तपाईँ तिनको मण्डलीका एल्डरहरू वा तिनलाई राम्रोसँग चिन्ने कुनै परिपक्व ख्रिष्टियनसित कुराकानी गर्न सक्नुहुन्छ। (हितो. २०:१८) तपाईँ उनीहरूलाई तिनले मण्डलीमा कस्तो नाम कमाएका छन् र तिनमा के-कस्ता गुणहरू छन् भनेर सोध्न सक्नुहुन्छ। (रुथ २:११) तर यसरी तिनीबारे थाह पाउन खोज्दा तिनलाई अप्ठ्यारोमा पार्ने खालको कुनै पनि कामकुरा नगर्नुहोस्। तिनको भावनाको कदर गर्नुहोस् र चौबीसै घण्टा तिनको पछि लाग्ने वा तिनीबारे एक-एक कुरा थाह पाउने कोसिस नगर्नुहोस्।
आफ्नो मनको कुरा बताउनुअघि केही समयसम्म ती व्यक्तिबारे राम्ररी थाह पाउने कोसिस गर्नुहोस् (अनुच्छेद ७-८ हेर्नुहोस्)
९. डेटिङ गर्नुअघि तपाईँ कुन कुरामा विश्वस्त हुनुपर्छ?
९ कुनै व्यक्तिलाई डेटिङको प्रस्ताव राख्नुअघि तपाईँले कति समयसम्म तिनलाई अवलोकन गर्नुपर्छ? यदि तपाईँले हतार गर्नुभयो भने तिनलाई तपाईँ सोचविचारै नगरी निर्णय गर्ने व्यक्ति हुनुहुन्छ जस्तो लाग्न सक्छ। (हितो. २९:२०) अर्कोतर्फ यदि तपाईँ तिनलाई मन पराउनुहुन्छ भनेर तिनले सुइँको पाइसकेका छन् तर आफ्नो मनको कुरा बताउन तपाईँले लामो समय लगाउनुभयो भने तपाईँ निर्णय गर्नै नसक्ने व्यक्ति हुनुहुन्छ जस्तो तिनलाई लाग्न सक्छ। (उप. ११:४) त्यसैले कुनै व्यक्ति तपाईँको जीवनसाथी हुन सुहाउँदो छन् भनेर तपाईँ पूर्णतया विश्वस्त भइसकेपछि मात्रै तपाईँले तिनलाई डेटिङको प्रस्ताव राख्नुपर्छ भन्ने होइन। बरु तपाईँ विवाह गर्न तयार हुनुहुन्छ र ती व्यक्ति तपाईँको लागि सुहाउँदो जोडी हुन सक्छन् भन्ने कुरामा चाहिँ विश्वस्त हुनुपर्छ।
१०. कुनै व्यक्तिले तपाईँलाई मन पराउँछन् तर तपाईँ मन पराउनुहुन्न भने के गर्नुपर्छ?
१० तर कुनै व्यक्तिले तपाईँलाई मन पराउँछन् भनेर थाह पाउनुभयो भने नि? यदि तपाईँ तिनलाई मन पराउनुहुन्न भने आफ्नो व्यवहारद्वारा त्यो कुरा स्पष्ट पार्नुहोस्। तपाईँ तिनलाई मन पराउनुहुन्न तैपनि मन पराएको जस्तो भान पार्नुहुन्छ भने त्यो पटक्कै दयालु कुरा होइन।—१ कोरि. १०:२४; एफि. ४:२५.
११. कसैको लागि जोडी खोजिदिने व्यक्तिले कस्ता कुराहरू मनमा राख्नुपर्छ?
११ केही देशमा विवाह गर्न चाहनेहरूको लागि आमाबुबा वा आफन्तले जोडी खोजिदिने चलन छ। अरू केही ठाउँमा भने परिवार वा साथीभाइले जोडी खोजिदिने र तिनीहरूलाई एकअर्कासित भेटाइदिने चलन छ। त्यसपछि तिनीहरू आफैले डेटिङ गर्ने कि नगर्ने भनेर निर्णय गर्छन्। यदि तपाईँलाई कसैले जोडी खोजिदिनुहोस् भन्यो भने तपाईँले केटा र केटी दुवैको रुचि अनि आवश्यकताबारे विचार गर्नुपर्छ। तपाईँले कसैको लागि सम्भाव्य जोडी भेट्टाउनुभयो भने तिनको व्यक्तित्व, गुण अनि अझ महत्त्वपूर्ण कुरा, तिनको आध्यात्मिकताबारे सकेसम्म धेरै कुरा पत्ता लगाउने कोसिस गर्नुहोस्। धनसम्पत्ति, शिक्षा वा सामाजिक ओहदाभन्दा यहोवासितको घनिष्ठ सम्बन्ध एकदमै महत्त्वपूर्ण छ। तर नबिर्सनुहोस्, विवाह गर्ने कि नगर्ने भनेर अन्तिम निर्णय विवाह गर्न लागेकाहरूले नै गर्नुपर्छ।—गला. ६:५.
डेटिङ कसरी सुरु गर्ने?
१२. यदि तपाईँ कसैसित डेटिङ सुरु गर्न चाहनुहुन्छ भने तिनलाई आफ्नो मनको कुरा कसरी बताउन सक्नुहुन्छ?
१२ यदि तपाईँ कसैसित डेटिङ सुरु गर्न चाहनुहुन्छ भने तिनलाई आफ्नो मनको कुरा कसरी बताउन सक्नुहुन्छ?d तपाईँ ती व्यक्तिसित कुनै सार्वजनिक ठाउँमा भेट्ने वा फोनमार्फत कुरा गर्ने योजना मिलाउन सक्नुहुन्छ। तिनीसित डेटिङ गर्न चाहेको कुरा तिनलाई स्पष्टसित बताउनुहोस्। (१ कोरि. १४:९) आवश्यक परेको खण्डमा तिनलाई सोच्न र जवाफ दिन पर्याप्त समय दिनुहोस्। (हितो. १५:२८) अनि तिनी डेटिङ गर्न चाहँदैनन् भने तिनको भावनाको कदर गर्नुहोस्।
१३. कसैले डेटिङ गर्ने प्रस्ताव राख्यो भने तपाईँ के गर्न सक्नुहुन्छ? (कलस्सी ४:६)
१३ कसैले डेटिङ गर्ने प्रस्ताव राख्यो भने नि? त्यो कुरा बताउन तिनले पक्कै साहस जुटाउनुपरेको थियो होला। त्यसैले तिनीसित दयालु र आदरपूर्वक कुरा गर्नुहोस्। (कलस्सी ४:६ पढ्नुहोस्।) यदि तपाईँलाई डेटिङ गर्ने कि नगर्ने भनेर सोच्न समय चाहिन्छ भने त्यसबारे तिनलाई बताउनुहोस्। तर सकेसम्म चाँडो जवाफ दिनुहोस्। (हितो. १३:१२) डेटिङ गर्न चाहनुहुन्न भने त्यो कुरा तिनलाई दयालु हुँदै र स्पष्टसित बताउनुहोस्। एक बहिनीले अस्ट्रियाका हान्स भाइसित डेटिङ गर्ने प्रस्ताव राखेकी थिइन्। त्यतिबेलाको कुरा सम्झँदै हान्स यसो भन्छन्: “मैले तिनीसित डेटिङ गर्न नचाहेको कुरा तिनलाई विचार पुऱ्याउँदै तर स्पष्टसित बताएँ। मैले तिनलाई त्यो कुरा तुरुन्तै बताएँ किनभने म तिनलाई झूटो आशा देखाउन चाहन्नथेँ। अनि पछि ती बहिनीसित व्यवहार गर्दा मैले निकै होस पुऱ्याएँ।” अर्कोतर्फ तपाईँ डेटिङ गर्न चाहनुहुन्छ भने त्यसबारे तिनलाई बताउनुहोस्। अनि एकअर्कासित कति समय बिताउने र डेटिङ गरिरहेको कुरा क-कसलाई बताउनेजस्ता डेटिङसित सम्बन्धित विषयहरूबारे सँगै मिलेर छलफल गर्नुहोस्। तपाईँहरू हुर्केको संस्कृति वा अरू कुराहरूले गर्दा यस्ता विषयहरूमा तपाईँहरूको विचार फरक-फरक हुन सक्छ।
अरूले अविवाहित ख्रिष्टियनहरूलाई कसरी साथ दिन सक्छन्?
१४. अविवाहित भाइबहिनीसित बोल्दा हामीले कस्तो कुरामा विचार पुऱ्याउनुपर्छ?
१४ विवाह गर्ने इच्छा भएका अविवाहित भाइबहिनीलाई हामी सबैले कसरी साथ दिन सक्छौँ? एउटा तरिका आफूले भन्ने कुराहरूमा विचार पुऱ्याएर हो। (एफि. ४:२९) हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौँ: ‘के म विवाह गर्ने इच्छा भएका भाइबहिनीलाई जिस्काउँछु? कुनै अविवाहित भाइ र बहिनी कुरा गरेको देख्दा के म तिनीहरूको चक्कर चलिरहेको छ भन्ने सोच्छु?’ (१ तिमो. ५:१३) साथै हामीले अविवाहित भाइबहिनीलाई विवाह गरेनन् भने तिनीहरू खुसी हुनै सक्दैनन् भन्ने कहिल्यै महसुस गराउनु हुँदैन। अघि उल्लेख गरिएका हान्स यसो भन्छन्: “केही भाइहरू मलाई ‘किन अहिलेसम्म विवाह नगरेको? तिमी त अब बूढो भइसक्यौ’ भन्छन्। त्यस्तो कुरा सुन्दा अविवाहित भाइबहिनीले अपमानित भएको र विवाह गर्ने दबाब बढेको महसुस गर्छन्।” बरु अविवाहित भाइबहिनीको प्रशंसा गर्ने मौका खोज्नु कत्ति बेस हुन्छ!—१ थिस्स. ५:११.
१५. (क) रोमी १५:२ अनुसार कसैलाई जोडी खोज्न मदत गर्नुअघि हामीले कस्तो कुरा विचार गर्नुपर्छ? (चित्र पनि हेर्नुहोस्।) (ख) भिडियोमा बताइएको कुन कुरा तपाईँलाई रोचक लाग्यो? (फुटनोट हेर्नुहोस्।)
१५ यदि हामीलाई कुनै भाइ र बहिनीको जोडी मिल्छ जस्तो लाग्छ भने नि? बाइबलमा हामीलाई अरूको भावनाको ख्याल राख्न प्रोत्साहन दिइएको छ। (रोमी १५:२ पढ्नुहोस्।) थुप्रै अविवाहित भाइबहिनीलाई सम्भाव्य जोडीसित अरूले परिचय गराइदिएको मन पर्दैन। हामीले तिनीहरूको त्यस्तो इच्छाको कदर गर्नुपर्छ। (२ थिस्स. ३:११) अरू कतिपय भने परिचय गराइदिएको चाहन्छन्। तर तिनीहरूले मदत नमागी हामीले चिनजान गराइदिन खोज्नु हुँदैन।e (हितो. ३:२७) केही अविवाहित भाइबहिनीलाई अनौपचारिक तरिकामा भेटघाट गराइदिएको मन पर्छ। जर्मनीकी एक अविवाहित बहिनी लिडिया भन्छिन्: “विवाह गर्ने इच्छा भएका भाइ र बहिनीलाई कुनै जमघटमा सँगै बोलाउन सकिन्छ। त्यसो गर्दा ती दुईले एकअर्कासित समय बिताउने मौका पाउँछन् अनि डेटिङ गर्ने कि नगर्ने भनेर तिनीहरू आफैले निर्णय गर्न सक्छन्।”
जमघटहरूमा अविवाहित भाइबहिनीले एकअर्कालाई भेट्ने मौका पाउँछन् (अनुच्छेद १५ हेर्नुहोस्)
१६. अविवाहित भाइबहिनीले कुन कुरा मनमा राख्नुपर्छ?
१६ चाहे हामी अविवाहित हौँ वा विवाहित, हामी सबै जना जीवनमा खुसी र सन्तुष्ट हुन सक्छौँ। (भज. १२८:१) त्यसैले यदि तपाईँ विवाह गर्न चाहनुहुन्छ तर सुहाउँदो जोडी भेट्टाउनुभएको छैन भने यहोवाको सेवामा ध्यान केन्द्रित गरिरहनुहोस्। मकाउकी एक बहिनी सिन ई यसो भन्छिन्: “प्रमोदवनमा आफ्नो जीवनसाथीसित बिताउने समयको तुलनामा अहिले अविवाहित रहनुपर्ने समय एकदमै छोटो छ। त्यसैले यो छोटो समयलाई मूल्यवान् ठान्नुहोस् र यसको पूरापूर सदुपयोग गर्नुहोस्।” तर तपाईँले सम्भाव्य जोडी भेट्टाइसक्नुभएको छ र डेटिङ गर्न थालिसक्नुभएको छ भने नि? अर्को लेखमा डेटिङ गर्दा कस्ता कुराहरूमा विचार पुऱ्याउनुभयो भने बुद्धिमानी निर्णय गर्न सक्नुहुन्छ भन्नेबारे छलफल गर्नेछौँ।
गीत १३७ वफादार बहिनीहरू
a तपाईँ तयार हुनुहुन्छ कि हुनुहुन्न भनेर पत्ता लगाउन jw.org मा “डेटिङ—भाग १: म पनि डेटिङ गरूँ कि?” भन्ने लेख हेर्नुहोस्।
b थप व्याख्या: यस लेखमा र अर्को लेखमा “डेटिङ” शब्दले कुनै केटा वा केटी एकअर्काको लागि सुहाउँदो जीवनसाथी हुन् कि होइनन् भनेर थाह पाउन एकअर्कालाई राम्ररी चिन्ने समयलाई बुझाउँछ। केटा र केटीले एकअर्काप्रति रोमान्टिक चासो भएको कुरा स्पष्टसित व्यक्त गरेपछि डेटिङ सुरु हुन्छ। अनि विवाह गर्ने वाचा नगरुन्जेल वा सम्बन्ध नटुटाउन्जेल त्यो चलिरहन्छ।
c केही नाम परिवर्तन गरिएका छन्।
d कुनै-कुनै संस्कृतिमा डेटिङ सुरु गर्ने प्रस्ताव अक्सर केटाले राख्छन्। तर केटीले पनि यस्तो प्रस्ताव राख्न सक्छिन्। (रुथ ३:१-१३) थप जानकारीको लागि नोभेम्बर ८, २००४ अङ्कको ब्यूँझनुहोस्!-मा “युवाहरू सोध्छन् . . . आफ्नो मनको कुरा उसलाई कसरी भनूँ?” भन्ने लेख हेर्नुहोस्।
e jw.org मा विश्वासको खातिर सफलतासाथ लडिरहेकाहरू—अविवाहित ख्रिष्टियनहरू भन्ने भिडियो हेर्नुहोस्।