प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 सेप्टेम्बर pp. १४-१८
  • मैले यहोवाको सेवामा थुप्रै इनाम पाएँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले यहोवाको सेवामा थुप्रै इनाम पाएँ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो बाल्यकाल
  • पूर्ण-समय सेवा
  • गिलियड स्कुल र छिट्टै पूरा नभएका चाहनाहरू
  • क्यामरूनमा सँगै सेवा गर्दै
  • एउटा कठिन निर्णय
  • मैले एउटा महत्त्वपूर्ण पाठ सिकेँ
  • मैले हरेस खाइनँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “ईश्‍वर कहाँ हुनुहुन्थ्यो?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • असल उदाहरणहरूबाट सिकेर मैले प्रशस्त आशिष्‌ पाएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “मैले अरूबाट धेरै कुरा सिकेको छु!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 सेप्टेम्बर pp. १४-१८
आन्द्रे रामसेयर।

जीवनी

मैले यहोवाको सेवामा थुप्रै इनाम पाएँ

आन्द्रे रामसेयरको वृत्तान्तमा आधारित

सन्‌ १९५१ मा म क्यानाडाको क्युबेक प्रान्तको एउटा सानो गाउँ रोएनमा पुगेँ। मलाई एउटा घरको ठेगाना दिइएको थियो। मैले त्यो घरको ढोका ढकढक्याएँ र मार्सेल फिल्टोa दाइले ढोका खोल्नुभयो। उहाँ गिलियडबाट मिसनरीको रूपमा त्यहाँ खटाइनुभएको थियो। उहाँ २३ वर्षको हुनुहुन्थ्यो अनि निकै अग्लो हुनुहुन्थ्यो। मचाहिँ १६ वर्षको थिएँ अनि उहाँभन्दा निकै होचो थिएँ। मैले आफूलाई अग्रगामीको रूपमा खटाइएको पत्र देखाएँ। उहाँले त्यो पढ्‌नुभयो अनि मेरो मुख हेरेर भन्‍नुभयो: “एक्लै आ’को? तिम्रो ममीलाई सोधेर हो?”

मेरो बाल्यकाल

म १९३४ मा क्यानाडाको ओन्टारियो सहरको टिमिन्समा जन्मिएँ। मेरो आमाबुबा स्वीट्‌जरल्याण्डबाट त्यहाँ बसाइँ सर्नुभएको थियो। सन्‌ १९३९ तिर आमाले प्रहरीधरहरा पत्रिकाहरू पढ्‌न र साक्षीहरूको सभामा उपस्थित हुन थाल्नुभयो। उहाँ हामी सातै जना छोराछोरीलाई सभामा लैजानुहुन्थ्यो। केही समय नबित्दै उहाँ यहोवाको साक्षी बन्‍नुभयो।

उहाँ साक्षी बन्‍नुभएको कुरा बुबालाई फिटिक्कै मन परेको थिएन। तर आमा भने यहोवालाई प्रेम गर्नुहुन्थ्यो र उहाँको सेवामा लागिरहन चाहनुहुन्थ्यो। त्यसैले १९४० को दशकको सुरुतिर क्यानाडामा साक्षीहरूमाथि प्रतिबन्ध लगाइँदा समेत उहाँले यहोवाको सेवा गर्न छोड्‌नुभएन। बुबाले जथाभाबी गाली गर्नुभए पनि उहाँ बुबासित सधैँ दयालु अनि आदरपूर्वक व्यवहार गर्नुहुन्थ्यो। उहाँको राम्रो उदाहरणले गर्दा हामी सबै छोराछोरीले यहोवाको सेवा गर्ने निर्णय गऱ्‍यौँ। खुसीको कुरा, समय बित्दै जाँदा बुबा पनि नरम हुनुभयो र उहाँले परिवारसित राम्रो व्यवहार गर्न थाल्नुभयो।

पूर्ण-समय सेवा

सन्‌ १९५० अगस्तमा म न्यु योर्कमा आयोजित ‘ईश्‍वरतन्त्रको वृद्धि’ सम्मेलनमा गएँ। त्यहाँ संसारको विभिन्‍न कुनाबाट आएका भाइबहिनीलाई भेटेपछि अनि गिलियड स्कुलबाट स्नातक गरेका भाइबहिनीको अन्तरवार्ता सुनेपछि म यहोवाको सेवामा अझ धेरै गर्न उत्प्रेरित भएँ। पूर्ण-समय सेवा गर्ने मेरो इच्छा अझै बलियो भयो। घर फर्कनेबित्तिकै मैले नियमित अग्रगामी सेवा गर्न आवेदन भरेँ। क्यानाडा शाखा कार्यालयले पहिला बप्तिस्मा गर्नू भन्यो। त्यसैले अक्टोबर १, १९५० मा मैले बप्तिस्मा गरेँ। त्यसको एक महिनापछि मैले नियमित अग्रगामी सेवा सुरु गरेँ र मलाई कापुस्‌कासिङमा खटाइयो। त्यो सहर म बसेको गाउँभन्दा निकै टाढा थियो।

आन्द्रे “द वाचटावर” लिएर उभिरहेका छन्‌।

क्युबेकमा सेवा गर्दै

सन्‌ १९५१ को वसन्त ऋतुमा क्यानाडा शाखाले फ्रेन्च भाषा बोल्ने भाइबहिनीलाई क्युबेक प्रान्तको फ्रेन्च भाषा बोल्ने इलाकामा सर्न निम्तो दियो। त्यहाँ प्रकाशकहरूको आवश्‍यकता धेरै थियो। मलाई फ्रेन्च अनि इङ्‌गलिस दुवै बोल्न आउँथ्यो। त्यसैले मैले त्यो निम्तो स्विकारेँ र मलाई रोएनमा खटाइयो। म त्यहाँ कसैलाई चिन्दिनथेँ। मैले सुरुमा बताएजस्तै मसित एउटा ठेगाना मात्रै थियो। तर पछि मार्सेल दाइ र म राम्रो साथी बन्यौँ। मैले क्युबेकमा जम्माजम्मी चार वर्ष सेवा गरेँ। त्यो चार वर्षको अन्ततिर मैले विशेष अग्रगामीको रूपमा सेवा गरेँ।

गिलियड स्कुल र छिट्टै पूरा नभएका चाहनाहरू

क्युबेकमा छँदा मैले गिलियड स्कुलको २६ औँ कक्षामा बस्ने निम्तो पाउँदा म असाध्यै खुसी भएँ। सन्‌ १९५६ फेब्रुअरी १२ मा स्नातक गरेपछि मलाई घानामाb खटाइयो। तर त्यहाँ जानुअगाडि कागजपत्र मिलाउन म केही हप्ताको लागि क्यानाडा फर्कनुपर्ने भयो।

म केही हप्ताको लागि भनेर फर्केको थिएँ तर सात महिनासम्म पर्खनुपऱ्‍यो। त्यतिबेला म क्रिप्स परिवारको घरमा बसेँ र उहाँहरूकी छोरी शिलासित मेरो चिनजान भयो। हामीले एकअर्कालाई मन पराउन थाल्यौँ। मैले उनलाई विवाहको प्रस्ताव राख्ने विचार गरिरहेको बेला मेरो घानाको भिसा आयो। शिला र मैले त्यसबारे प्रार्थना गऱ्‍यौँ र मैले घाना जाने निर्णय गरेँ। तर हामीले एकअर्कालाई चिठी-पत्र लेख्दै गर्ने अनि पछि विवाह गर्न सकिन्छ कि सकिँदैन, विचार गर्ने भनेर पनि निर्णय गऱ्‍यौँ। त्यसरी छुट्टिनुपर्दा निकै गाह्रो भयो। तर फर्केर हेर्दा हामीले गरेको त्यो निर्णय सही थियो भनेर महसुस भयो।

नक्सामा आन्द्रे बसेका र सेवा गरेका केही ठाउँहरू देखाइएका छन्‌: क्यानाडाको मनिटोबा, ओन्टारियो र क्युबेक अनि अफ्रिकाको क्यामरून, कोट डे’भ्वा, घाना, नाइजेरिया र टोगो

एक महिनासम्म रेल, पानीजहाज अनि प्लेनबाट यात्रा गरेपछि म घानाको राजधानी आक्रामा पुगेँ। त्यहाँ मलाई जिल्ला निरीक्षकको रूपमा खटाइयो। मैले घाना अनि नजिकैको देश आइभरी कोस्ट (अहिले कोट डे’भ्वा) र टोगोल्याण्डमा (अहिले टोगो) पनि भ्रमण गर्नुपर्थ्यो। म धेरैजसो समय शाखाले दिएको जीपमा एक्लै यात्रा गर्थेँ। मेरा ती दिनहरू निकै यादगार रहे।

सप्ताहन्तहरूमा म क्षेत्रीय सम्मेलनहरूको कामकुरामा व्यस्त हुन्थेँ। हाम्रो आफ्नै सम्मेलन भवन थिएन। त्यसैले भाइहरूले बाँसको खामो गाडेर छाप्रो बनाउँथे र घामबाट जोगिन त्यसको माथि खजूरको हाँगा छाउँथे। अनि खानेकुरा राख्नको लागि फ्रिज पनि थिएन। त्यसैले जिउँदो जनावरहरू नै ल्याएर राखिन्थ्यो र आवश्‍यकताअनुसार काटिन्थ्यो।

त्यतिबेलाको सम्मेलनहरूमा कहिलेकाहीँ हाँसउठ्‌दो कुराहरू हुन्थ्यो। एकचोटि मेरो मिसनरी साथी हर्बर्ट जेनिङजलेc भाषण दिइरहेको बेला अचानक एउटा गाई मञ्चमा आइपुग्यो। त्यो गाई मञ्चमा यताउता दौडन थाल्यो। त्यो गाई निकै अत्तालिएको देखिन्थ्यो। हर्बर्ट भाइले भाषण रोक्नुभयो। अनि हाम्रा चार जना हट्टाकट्टा भाइहरू आए र त्यो गाईलाई झ्यापझुप समातेर त्यसलाई ठाउँमा पुऱ्‍याए। श्रोताहरूचाहिँ दङ्‌ग परेर त्यो रमिता हेरिरहेका थिए।

सम्मेलनबाहेक अरू दिनहरूमा म नजिकैको गाउँका मानिसहरूलाई यहोवाको सङ्‌गठन गतिशील छ (अङ्‌ग्रेजी) भन्‍ने फिल्म प्रोजेक्टरबाट देखाउँथेँ। त्यसको लागि म दुइटा पोल वा दुइटा रूखमा सेतो कपडा टाँग्थेँ। तिनीहरूलाई त्यो भिडियो असाध्यै मन पर्थ्यो। थुप्रैको लागि त्यो फिल्म नै जीवनमा हेरेको पहिलो फिल्म थियो। बप्तिस्मा गरेको सिन आउँदा तिनीहरू जोडले ताली बजाउँथे। त्यो फिल्म हेर्नेहरूले यहोवाका साक्षीहरू संसारभरि छन्‌ र उनीहरू एकताबद्ध छन्‌ भनेर बुझे।

आन्द्रे र शिलाको विवाहको दिन।

हामीले १९५९ मा घानामा विवाह गऱ्‍यौँ

दुई वर्ष अफ्रिकामा बसेपछि म १९५८ मा न्यु योर्कमा आयोजित अन्तरराष्ट्रिय अधिवेशन गएँ। त्यहाँ मैले फेरि शिलालाई भेटेँ। म असाध्यै खुसी भएँ। तिनी क्युबेकमा विशेष अग्रगामी गर्दै थिइन्‌। हाम्रो चिठीमार्फत कुराकानी भइरहेको थियो। यसरी भेटेको बेला मैले तिनलाई विवाहको प्रस्ताव राखेँ र तिनले त्यो स्विकारिन्‌। मैले नोर दाइलाई शिला पनि गिलियड गएर मसँगै अफ्रिकामा सेवा गर्न सक्छिन्‌ कि भनेर सोधेँ।d उहाँले ‘हुन्छ’ भन्‍नुभयो। शिला पनि पछि घाना आइन्‌। हामीले अक्टोबर ३, १९५९ मा आक्रामा विवाह गऱ्‍यौँ। हामीले यहोवालाई आफ्नो जीवनमा पहिलो स्थान दिएकोले उहाँले हामीलाई थुप्रै आशिष्‌ दिनुभयो।

क्यामरूनमा सँगै सेवा गर्दै

आन्द्रे क्यामरूनमा अफिसमा बसिरहेका छन्‌।

क्यामरून शाखामा काम गर्दै

सन्‌ १९६१ मा हामीलाई क्यामरूनमा खटाइयो। मलाई नयाँ शाखा कार्यालय स्थापना गर्ने काम दिइएकोले म त्यसमा निकै व्यस्त भएँ। क्यामरूनको कामको निरीक्षण गर्नुपर्ने भएकोले मैले सिक्नुपर्ने कुरा थुप्रै थिए। सन्‌ १९६५ मा शिला गर्भवती भइन्‌। हामी आमाबुबा बन्‍न लागेका छौँ भन्‍ने कुरा स्विकार्न हामीलाई केही समय लाग्यो। हामी यो नयाँ जिम्मेवारीको लागि मन तयार गर्दै थियौँ र क्यानाडा फर्कने योजना बनाउँदै थियौँ। त्यति नै बेला हामीले असह्‍य चोट सहनुपऱ्‍यो।

शिलाको गर्भ तुहियो। त्यो बच्चा छोरा रहेछ भनेर हामीले पछि थाह पायौँ। त्यो घटना भएको ५० वर्षभन्दा धेरै भइसक्यो तर हामीले त्यो घटना कहिल्यै बिर्सन सकेनौँ। मनमा गहिरो चोट लागे पनि हामीले त्यहीँ सेवा गरिरह्‍यौँ। त्यो असाइनमेन्ट हामीलाई एकदमै मन पर्थ्यो।

सन्‌ १९६५ मा शिलासित क्यामरूनमा

राजनीतिमा भाग नलिएकोले क्यामरूनका भाइबहिनीले निकै खेदो भोग्नुपर्थ्यो। राष्ट्रपतिको चुनावको बेला अवस्था निकै तनावपूर्ण थियो। हामीलाई जुन कुराको डर थियो, त्यही भयो। मे १३, १९७० मा यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइयो र सरकारले हाम्रो शाखा कार्यालय जफत गऱ्‍यो। हामी त्यहाँ सरेको पाँच महिना मात्र भएको थियो। एक हप्ताभित्रै हामी अनि अरू सबै मिसनरीहरूलाई देशनिकाला गरियो। त्यहाँका भाइबहिनीलाई छोडेर जान हामीलाई निकै गाह्रो भयो किनभने हामी उहाँहरूलाई असाध्यै माया गर्थ्यौँ। पछि उहाँहरूले कस्तो अवस्थाको सामना गर्नुपर्ने होला भनेर हामीलाई चिन्ता लाग्यो।

त्यसपछिको छ महिना हामीले फ्रान्स शाखामा बितायौँ। मैले त्यहीँ बसेर क्यामरूनका भाइबहिनीको ख्याल राख्न सक्दो कोसिस गरेँ। त्यही वर्षको डिसेम्बरमा हामीलाई नाइजेरिया शाखामा खटाइयो। नाइजेरिया शाखाले क्यामरूनको कामकुराको रेखदेख गर्न थाल्यो। नाइजेरियाका भाइबहिनीले हामीलाई न्यानो स्वागत गर्नुभयो। हामीले त्यहाँ केही वर्ष सेवा गऱ्‍यौँ।

एउटा कठिन निर्णय

हामीले १९७३ मा एउटा असाध्यै कठिन निर्णय गर्नुपऱ्‍यो। शिला केही गम्भीर स्वास्थ्य समस्याहरूको सामना गर्दै थिइन्‌। हामी न्यु योर्कको एउटा अधिवेशनमा हुँदा तिनले रुँदै मलाई भनिन्‌: “म बिरामी परिरहन्छु। त्यसैले अब म यो सेवामा लागिरहन सक्दिनँ। म थाकिसकेँ।” तिनले अफ्रिकामा मसँगै १४ वर्षभन्दा धेरै सेवा गरिन्‌। म तिनको वफादार सेवाको निकै कदर गर्छु तर अब भने हामीले केही छाँटकाँट गर्नुपर्ने थियो। हामीले आफ्नो अवस्थाबारे सँगै छलफल गऱ्‍यौँ, यहोवालाई व्यग्र प्रार्थना गऱ्‍यौँ अनि क्यानाडा फर्किने निर्णय गऱ्‍यौँ। त्यहाँ शिलाले राम्रो उपचार पाउने थिइन्‌। आफ्नो मिसनरी असाइनमेन्ट अनि पूर्ण-समय सेवा छोडेर जान निकै गाह्रो भयो।

क्यानाडा पुग्नेबित्तिकै मैले काम पाएँ। मेरो पुरानो साथीले टोरोन्टोको उत्तरतिरको सहरमा एउटा कार शोरूम खोलेको थियो। मैले त्यहीँ काम पाएँ। हामीले एउटा फ्ल्याट भाडामा लियौँ। सेकेन्डह्‍यान्ड फर्निचर पनि किन्यौँ। क्यानाडामा बसाइँ सर्न हामीले कुनै ऋण लिनुपरेन। अवस्थाले दियो भने हामी फेरि पूर्ण-समय सेवामा फर्कन चाहन्थ्यौँ। त्यसैले हामीले सरल जीवन बितायौँ। अचम्मको कुरा, हाम्रो त्यो इच्छा सोचेको भन्दा छिट्टै पूरा भयो।

मैले ओन्टारियोको नोर्भल भन्‍ने ठाउँमा निर्माण भइरहेको सम्मेलन भवनमा शनिबार-शनिबार स्वयंसेवा गर्न थालेँ। पछि मलाई त्यही सम्मेलन भवनको निरीक्षकको रूपमा खटाइयो। शिलाको स्वास्थ्य राम्रो हुँदै थियो। त्यसैले हामीले यो नयाँ असाइनमेन्ट स्विकाऱ्‍यौँ। हामी जून १९७४ मा सम्मेलन भवनको फ्ल्याटमा सऱ्‍यौँ। फेरि पूर्ण-समय सेवा गर्न पाएकोमा हामी असाध्यै खुसी थियौँ।

शिलाको स्वास्थ्यमा सुधार आएकोले दुई वर्षपछि हामीले परिभ्रमणकार्यको असाइनमेन्ट स्विकार्न सक्यौँ। हामीलाई खटाइएको क्षेत्र क्यानाडाको मनिटोबा थियो। त्यो ठाउँ असाध्यै चिसो थियो। तर त्यहाँका भाइबहिनीसितको सरसङ्‌गति भने निकै न्यानो थियो। हामी जहाँसुकै भए पनि मुख्य कुरा भनेको यहोवाको सेवामा लागिरहनु हो भनेर हामीले सिक्यौँ।

मैले एउटा महत्त्वपूर्ण पाठ सिकेँ

परिभ्रमण कार्य गरेको केही वर्षपछि हामीलाई १९७८ मा क्यानाडा बेथेलमा सेवा गर्न बोलाइयो। त्यसको केही समय नबित्दै मैले नमीठो तरिकामा एउटा महत्त्वपूर्ण पाठ सिकेँ। मैले मन्ट्रिअलको विशेष सभामा फ्रेन्च भाषामा डेढ घण्टाको भाषण दिएको थिएँ। मेरो भाषणले श्रोताको ध्यान खिचिरहन सकेन। त्यसैले सेवा विभागको एक जना भाइले मलाई त्यसबारे सल्लाह दिनुभयो। म एकदमै राम्रो वक्‍ता होइन भनेर मैले त्यतिबेला नै बुझ्नुपर्ने थियो तर मैले उहाँको सल्लाह स्विकारिनँ। मलाई उहाँको कुरा चित्तै बुझेन। उहाँले मेरो केही प्रशंसा नगरी बढ्‌तै आलोचना गर्नुभएको जस्तो लाग्यो। मैले उहाँप्रति नकारात्मक सोचाइ राखेँ अनि उहाँले सल्लाह दिएको तरिका पनि ठीक छैन जस्तो लाग्यो। त्यो मेरो ठूलो गल्ती थियो।

आन्द्रे भाषण दिँदै छन्‌।

फ्रेन्च भाषामा भाषण दिएपछि मैले एउटा महत्त्वपूर्ण पाठ सिकेँ

केही दिनपछि शाखा समितिको एक जना भाइले मसित त्यसबारे कुरा गर्नुभयो। मैले त्यो सल्लाह नस्विकारेर ठूलो गल्ती गरेँ र त्यसो गरेकोमा मलाई पछुतो लागेको छ भनेर उहाँलाई बताएँ। त्यसपछि मैले त्यो सल्लाह दिने भाइसित माफी मागेँ र उहाँले मलाई खुसीसाथ क्षमा दिनुभयो। त्यस घटनाबाट नम्र हुनु कत्ति महत्त्वपूर्ण छ भनेर मैले सिकेँ। म त्यो पाठ कहिल्यै बिर्सनेछैनँ। (हितो. १६:१८) मैले त्यसबारे यहोवालाई थुप्रै चोटि प्रार्थना गरेको छु र कसैले सल्लाह दिँदा त्यसप्रति कहिल्यै नकारात्मक नहुने सङ्‌कल्प गरेको छु।

मैले क्यानाडा बेथेलमा सेवा गरेको ४० वर्षभन्दा धेरै भइसक्यो र १९८५ देखि मैले शाखा समितिमा सेवा गर्ने सुअवसर पाएको छु। फेब्रुअरी २०२१ मा मेरी प्यारी शिलाको मृत्यु भयो। बिछोडको पीडा त छँदै छ। साथै मेरो आफ्नै स्वास्थ्य समस्याहरू पनि छन्‌ तर म यहोवाको सेवामा यत्ति व्यस्त र आनन्दित छु कि मलाई “दिनहरू बितेको पत्तै हुँदैन।” (उप. ५:२०) हुनत मेरो जीवनमा थुप्रै चुनौतीहरू आए तर त्यसको तुलनामा मैले कता हो कता धेरै आशिष्‌ पाएको छु। आफ्नो जीवनमा यहोवालाई पहिलो स्थान दिँदा र पूर्ण-समय सेवामा ७० वर्ष बिताउँदा मैले थुप्रै आशिष्‌हरू पाएको छु। हाम्रा जवान भाइबहिनीले यहोवालाई आफ्नो जीवनमा पहिलो स्थान दिइरहन सकून्‌ भनेर म प्रार्थना गर्छु। यहोवाको सेवा गर्दा पाइने आनन्दलाई अरू कुनै कुरासित तुलना गर्न सकिँदैन। ती जवानहरूले त्यस्तै आनन्द अनि आशिष्‌ पाएको म चाहन्छु।

a फेब्रुअरी १, २००० अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित मार्सेल फिल्टोको जीवनी “यहोवा मेरो शरणस्थान र बल हुनुहुन्छ” हेर्नुहोस्‌।

b सन्‌ १९५७ सम्म अफ्रिकाको यो ठाउँ बेलायती उपनिवेश थियो र यसलाई गोल्ड कोस्ट भनिन्थ्यो।

c डिसेम्बर १, २००० अङ्‌कको प्रहरीधरहरा-मा प्रकाशित हर्बर्ट जेनिङजको जीवनी “भोलि के हुने हो तिमीहरू जान्दैनौ” हेर्नुहोस्‌।

d त्यतिबेला नेथन एच. नोरले हाम्रो कामको नेतृत्व लिइरहनुभएको थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने